पशुपन्छीमा नयां रोगहरुः बलियो पशु स्वास्थ्य प्रणालीको आवश्यकता
नेपालको कुल गाह्रस्थ उत्पादनमा पशुपन्छी र मस्त्य क्षेत्रले करीब १३ प्रतिशतजति योगदान पुर्याएकोे मानिन्छ । मानिसहरुलाई उच्च प्रोटिनयुक्त पौष्टिक आहाराको रुपमा मासु, दूध, माछा र अण्डा उपलब्ध गराउने पशुपन्छी र माछा पालनमा व्यवसायिकता बढ्दै जांदा यसले लाखौं मानिसलाई रोजगारीको अवसर समेत प्रदान गरेको छ । तर पछिल्लो समयमा गाईभैंसी, बंगूर, कुखुरा र घोडाहरुमा केहि नयां रोगहरुको जोखिम बढ्दै जांदा पशुपन्छी पालन व्यवसायमा नयां चुनौतिहरु थपिदैं गैरहेका छन् । यसरी आइसकेका वा आउने तरखरमा रहेका रोगहरुको सही व्यवस्थापन गर्न नसकेमा यसले धेरै मानिसहरुको रोजीरोटी खोसिनुका साथै राष्ट्रिय अर्थतन्त्रमा नै नकारात्मक असर पार्दछ ।
पछिल्लो केहि महिना अघि मात्र नेपालमा पहिलोपटक घोडाहरुमा ब्याक्टेरियाबाट लाग्ने ग्लान्डर्स भन्ने नयां रोग प्रमाणित भएको छ । पशु सेवा विभागले औपचारिक रुपमा विश्व पशु स्वास्थ्य संगठनलाई जानकारी गराएर यसलाई सार्वजनिक गरेको छ । बांके र ललितपुर जिल्लाहरुमा ईट्टाभट्टाहरुमा ईट्टा ओसार्न र सामान बोक्न प्रयोग गरिने घोडा खच्चडहरुमा ग्लान्डर्स रोगको प्रकोप देखापरेको हो । विश्वको धेरै विकसित देशहरुबाट लोप भैसकेको घोडा खच्चडहरुको यस घातक रोग भारतबाट ईट्टाभट्टाहरुमा काम गर्न ल्याइने घोडा खच्चड मार्फत नेपालगन्ज र ललितपुरको गोदावरीमा भित्रिएको अनुमान छ । भारतमा यस रोग बेला बेला विभिन्न राज्यहरुमा देखा परिरहेको हुन्छ । यस नयां रोग छिरेसंगै उच्च पहाडी र हिमाली जिल्लाहरुमा रहेका रैथाने घोडाहरु, तराईका जिल्लाहरुमा टांगा तान्न प्रयोग गरिने घोडा खच्चडहरु र नेपाली सेना र प्रहरीमा रहेका घोडाहरुमा पनि रोग फैलन सक्ने हुंदा सतर्कता अपनाउन र नियन्त्रणका कदमहरु चाल्न आवश्यक देखिन्छ । यो रोग जुनोटिक भएको हुंदा बिरामी घोडा खच्चडहरुको नजिकको सम्पर्कमा आउने मानिसहरुमा पनि यस रोग सर्न सक्छ । बेलैमा उपचार नगर्ने हो भने मानिसको मृत्युको जोखिमलाई नकार्न सकिन्न । त्यसकारण घोडामा रोग देखिएको क्षेत्रमा विशेष गरी ईट्टाभट्टाहरुमा काम गर्ने मजदूरहरुमा रोग सरे नसरेको सर्भिलेन्स गर्न र जनचेतना फैलाउन आवश्यक देखिन्छ ।
नेपालमा सर्वप्रथम २०६५ साल माघ महिनामा बर्ड फ्लुको एच५एन१ को संक्रमण झापा जिल्लामा देखापरेको थियो । त्यसयता नेपालका २० भन्दा बढी जिल्लामा २५० वटा भन्दा बढी बर्ड फ्लुको प्रकोप प्रमाणित भै सफलतापूर्वक नियन्त्रण हुंदै आएको छ । सन् २०१९ मा नेपालमा पहिलोपल्ट बर्ड फ्लुको एच५एन१ को संक्रमणबाट एकजना मानिसको मृत्यु समेत भएको थियो । तर २०७७÷७८ मा नेपालमा फैलिरहेको बर्ड फ्लु विगतमा निरन्तर देखिदैं आएको एच५एन१ उपसमूहको नभै एच५एन८ उपसमूहको हो । केहि वर्ष पहिले सुनसरी जिल्लामा जंगली चरामा एच५एन८ उपसमूह नेपालमा देखिएको भएता पनि घरपालुवा पंक्षीहरुमा प्रमाणित भएको भने यो पहिलोपटक हो । गत माघको मध्यताका काठ्माण्डौंको तारकेश्वरमा र सुर्खेतको विरेन्द्रनगरमा देखापरी त्यसयता जाजरकोट, ललितपुर हुंदैं फेरि काठ्माण्डौंको कीर्तिपुर र सतुगंल क्षेत्रमा यो प्रजातिको बर्ड फ्लु देखापरेको थियो । उच्च संक्रामक बर्ड फ्लु रोग रोकथाममा नेपाल एकप्रकारले अभ्यस्त समेत भैसकेको छ । उच्च संक्रामक बर्ड फ्लु देखिदा तोकिएका क्षेत्रभित्र कुखुराहरु मार्ने र केहि क्षतिपूर्ति दिने अभ्यास नेपालमा रहिआएको छ । उच्च संक्रामक बर्ड फ्लु रोग मानिसमा समेत सर्ने हुंदा जनस्वास्थ्यको दृष्टिकोणले पनि पन्छीकै तहमा यो रोग नियन्त्रणकोे कानूनी व्यवस्था हुनु राम्रो होे । तर विगत पांच सात वर्ष देखि एच९एन२ जातिको कम संक्रामक खालको बर्ड फ्लु रोगले कुखुरापालन व्यवसाय आक्रान्त छ । कम संक्रामक खालको बर्ड फ्लु रोग लाग्दा २० प्रतिशत कुखुराहरु मर्ने र लेयर्स र माउ कुखुराहरुमा अण्डा उत्पादनमा ह्रास आउंछ । यस रोग नेपालका कुखुरा पालिने मुख्य पकेटहरुमा व्याप्त छ । त्यसकारण यस रोगको कारण भएको आर्थिक क्षतिको विवरण ठूलो भएको अनुमान छ तर औपचारिक अनुसन्धान र यकिन तथ्यांकको अभावमा क्षतिको ठोस विवरण भने उपलब्ध छैन । त्यस्तै मानिसमा नसर्ने पन्छीको रैथाने रानीखेत रोगले नेपालभरिनै केहि महिनादेखि ठूलो महामारीको रुप लिइरहेको छ र साना र मध्यम किसानहरुको उठीबास लगाइरहेको छ । भ्याक्सिनले राम्ररी काम नगरेको कारण र जैविक सुरक्षा प्रणाली कमजोर भएकाले महामारीको रुप लिएको अनुमान भए पनि विस्तृत अनुसन्धान हुन सकेको छैन ।
विं.सं २०७७ असारको मध्यतिरबाट प्रदेश १ अन्तरगतका मोरङ्ग, झापा, सुनसरी लगायतका जिल्लाहरुमा गाईहरुमा “लम्पी स्किन रोग” भनिने एक प्रकारको रोग पहिलोपटक देखापरेको थियो । केहि साताभित्रै सो रोग बाग्मती, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा देखापरेको थियो । यस वर्ष पनि यो रोग पश्चिम कैलाली, कञ्चनपुर, अछाम र कर्णाली प्रदेशको सुर्खेत र दैलेखमा समेत देखापरिसकको छ । अफ्रिका महादेशको रैथाने यस रोग विशेष गरी सन् २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्वी यूरोप, रसिया, कजाकिस्तान, चीन हुंदै भारत र बंगलादेशमा प्रमाणित भइसकेको छ । रोग देखिएको ठाउंमा सरदर २० प्रतिशत जति गाईभैंसीहरु बिरामी पर्ने र १ देखि ५ प्रतिशतसम्म मर्ने भए पनि दूधालु पशुमा दूध ८० प्रतिशतसम्म घट्न सक्ने हुंदा ठूलो आर्थिक क्षति हुन्छ । रोकथामको लागि यस रोगको खोप उपलब्ध छ तर अहिलेसम्म नेपालमा भने ल्याइसकिएको छैन । नेपालमा पहिले देखिनै दूध उत्पादनमा ठूलो असर गर्ने खोरेत रोग रैथाने रुपमा रहिरहेको परिवेशमा यो नयां रोग पनि स्थापित भएमा दूधमा आत्मानिर्भर हुने सरकारी योजनामा ठूलो धक्का लाग्छ भने किसानहरुको आम्दानी घट्छ ।
त्यसैगरी केहि महिना पहिला पोखरा र धरान क्षेत्रमा बंगूर सुंगुरहरुमा “पोर्साइन रिप्रोडक्टिभ एण्ड रेस्पिरेटरी सिन्ड्रोम” भनिने भाइरसजन्य रोगको कारण ३०० बढी बंगूरहरु तुहिदा पाठापाठी बेच्न नपाउंदा किसानहरुलाई करोडौंको घाटा परेको थियो । यो रोग केहि वर्षअघि नेपालमा भित्रिएको अनुमान गरिए पनि प्रयोगशालाबाट यकिन भएको भने पहिलो घटना हो । त्यसैगरी बंगूर सुंगुरहरुको अत्यन्तै संक्रामक रोग “अफ्रिकन स्वाइन फिभर” को उच्च जोखिममा नेपाल रहेको छ । २०७७ साल बैशाख महिनामा भारतको आसाम र अरुणाचल प्रदेशमा यस रोग प्रमाणित भएपछि नेपाल उच्च जोखिममा परेको हो । तर हालसम्म यो रोग नेपालमा देखिएको छैन । यो रोग पनि विगतमा अफ्रिकामा सीमित थियो । तर सन् ६० को दशक तिर यूरोप छिरी सन् २०१८ मा चीन हुंदै एशियाका विभिन्न मुलुक घुम्दै भारतमा पनि देखिएको हो । चीनमा मात्र यो रोग नियन्त्रणको लागि १५ करोड बढी बंगूरहरु मारिएका छन् भने भियतनाममा ६० लाख बढी बंगूरहरु मारिएको थियो । आसाम र नेपालको बंगूरपालनको पकेट क्षेत्र प्रदेश १ नजिक रहेको र प्रशस्त आवातजावात हुने हुंदा नेपालमा जुनसुकै बखत पनि यो रोग देखिन सक्छ । विभिन्न अनुसन्धान र प्रयासका बाबजूद दुर्भाग्यवश यस रोग विरुद्ध औषधि र खोप दुवै उपलब्ध छैन । त्यसकारण रोग भित्रिन नदिन सरकारले पशु क्वारेन्टाइनलाई बलियो पार्ने र किसानहरुले खोरमा जैविक सुरक्षाका विधिहरुको पालना गर्ने नै एकमात्र विकल्प हो । माथि चर्चा गरिएको गाईभैंसीको रोग र बंगूरको यी रोगहरु मानिसमा भने सर्दैन ।
यी माथिका रोगका अलावा नेपालमा रैथाने रुपमा नै गाईभैंसीमा खोरेत, चरचरे, भ्यागुते, बंगूरमा हैजा, भेडा बाख्रामा पी.पी.आर लगायतका पशुपन्छीका रोगहरुबाट नेपाली किसानहरु पीडित छन् । टि.बी, ब्रुसेलोसिस, रेबिज, सिष्टिसर्कोसिस, लेप्टोस्पाइरोसिस लगायतका कैंयौ रोगहरु पशुपन्छीबाट मानिसमा पनि सर्ने हुंदा जनस्वास्थ्यको दृष्टिकोणले पनि पशुपन्छीहरु स्वस्थ्य रहन आवश्यक हुन्छ । मानिसमा देखिने संक्रामक रोगहरु मध्य ७० प्रतिशत जति रोगहरु जंगली वा घरपालुवा पशुपन्छीहरुमा उत्पत्ति हुने गरेको पृष्ठभूमिमा पशुपन्छीको स्वस्थ्यलाई नकार्न सकिंदैन । हालै नेपाल सरकारले १० वटा रोगहरुलाई प्राथमिकता प्राप्त जुनोटिक रोगको रुपमा चयन समेत गरेको छ । पशुपन्छीको स्वास्थ्य राम्रो बनाउन सके मानिसमा यी रोगहरुको जोखिम कम हुन्छ । यी रोगहरुका अलावा कोभिड महामारी जस्ता पशुमा उत्पत्ति हुने नयां नयां रोगहरु आइरहने हुंदा यस्ता चुनौतिहरुको सामना गर्न भेटेरिनरी सेवालाई राष्ट्रिय प्राथमिकतामा पारी बलियो बनाउंदै गाउं तहमा दक्ष पशु चिकित्सक सहितको र केन्द्रमा विशेषज्ञ सहितको अनुसन्धानमुखी चुस्त पशु स्वास्थ्य प्रणालीको विकास गर्न आवश्यकता छ । तीनै तहका सरकारको यसमा दायित्व हुन्छ । यसो गर्न सके कृषिप्रधान देशको राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्नुको साथै जनस्वास्थ्यको सम्बर्धन समेत हुन्थ्यो ।
लेखक पशु चिकित्सक र इपिडेमियोलोजी विषयमा विद्यावारिधि हुन् ।