जाडोयाममा व्यवसायिक कुखुरापालन व्यवस्थापन

पशुपालन मध्यमा सबैभन्दा धेरै शारिरीक तापक्रम कुखुराहरुको हुन्छ । त्यसैले, मौसम अनुरुप तापक्रमको घटबढले गर्दा कुखुरामा हुने तनाबलाई न्यूनीकरण गर्न सक्नु कुखुरा व्यवसायीहरुको लागि चुनौतिको विषय हो। कुखुरालाई चाहिने तापक्रम त जुनसुकै मौषममा एउटै हो तर जाडोमा वातावरणिय तापक्रम घट्ने हुंदा सोही अनुसार व्यवस्थापन मिलाउनु पर्ने हुन्छ । जाडो मौषमले कुखुरा उत्पादनमा अतुलनिय प्रभाव पार्दछ । तापक्रम घट्नाले अण्डा उत्पादनमा गिरावट, पानीको उपभोगमा कमी, ह्याचाबिलिटीमा कमी जस्ता समस्या विभिन्न जातका कुखुरामा देखिन्छन् । वातावरणिय प्रतिकुलताका कारणले न्युन तापक्रम, कमजोर भेन्टिलेसन तथा घट्दो फोटोपिरेड (सुर्यको प्रकाशको कमी)को समस्या झेल्नु पर्दछ, त्यसैले आर्थिक घाटाबाट बच्न कुखुरापालक किसानले चिसो कम गराउने अभ्यासहरु लागु गर्नु पर्ने हुन्छ ।

तापक्रम ५५ डिग्री फर्हेन्हाइट भन्दा मुनी जांदा बित्तिकै ब्रोइलरमा एफ् सि आर बढ्ने, शारिरिक व्रिद्धिमा कमी, अन्डा उत्पादनमा गिरावट, फर्टिलिटी र ह्याचाबिलिटीमा ह्रास जस्ता समस्या उत्पन्न हुन्छन् । तसर्थ, उच्चतम् उत्पादन लिनका लागि चिसो मौषममा निम्न कुराहरुलाई ध्यानमा राख्न जरुरी हुन्छ ।

खोरको वनावट

कुखुराको खोरले सबै किसिमको सुविधा प्रदान गर्ने गरी निर्माण गरिनु पर्दछ । वायु तथा सुर्यको प्रकाशलाई ध्यानमा राखेर खोरको आकार मिलाउनु पर्दछ, किनकी यसले तापक्रम तथा प्रकाश व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउंछ । दिवा समयमा अत्यधिक प्रकाश पर्ने गरी खोरको लम्बाइ को भाग पुर्व पश्चिम हुने गरी निर्माण गर्नु पर्दछ ।  अत्यधिक चिसो वायु बाट जोगाउन जुटका बोराहरु झुंडाउन सकिन्छ जसलाई रातभर लगाइदिनुपर्दछ ।

भेन्टिलेसनको व्यवस्था

जाडो मौषममा खोरलाई प्रत्यक्ष हावाको वहावबाट जोगाउनु पर्दछ, यद्दपी प्रशस्त भेन्टिलेशनको आवश्यकता भने अपरिहार्य छ । चिसो मौषममा धेरै दाना उपभोग हुन्छ र धेरै अक्सिजन पनि माग हुन्छ । खोर भित्रको हावामा अक्सिजनको मात्रा १९.६ प्रतिशत भन्दा माथि, कार्बन्डाइअक्साइड ०.३% भन्दा कम, एमोनिया १० पिपिएम भन्दा थोरै हुनुपर्दछ । कुखुराहरुको श्वास तथा दिशा पिसावले गर्दा खोरमा ओसिलोपन बढ्छ र यस्तो अवस्थामा भेन्टिलेसन प्रतिवन्ध भएमा एमोनिया ग्यास संचय भई पंछी स्वास्थ्यमा नकरात्मक प्रभाव पर्दछ । खोरमा अत्यधिक कार्बन्डाइअक्साइड ग्यास भरिएमा चल्लामा दानापानी सेवनमा कमी, डिहाइड्रेट हुने, वजन लिन नसक्ने, पेटमा पानी जम्ने जस्ता समस्या उत्पन्न हुन्छन् । त्यसैले, चिसो मौषम बाट बचाउन खोज्दा भेन्टिलेसनलाई ख्याल गरिनुपर्दछ । अशुद्ध हावा हटाउनको लागि एक्झस्ट पंखा खोरमा स्थापना गर्न सकिन्छ ।  खोरमा लगाइने त्रिपाललाई पुरै नढाकी उपल्लो भागबाट १.५ - २ फुट भन्दा मुनिबाट टांग्नु पर्दछ । राती चिसो समयमा त्रिपाल लगाइदिने तथा घाम लागेको बेला उघारिदिनु पर्दछ ।

सोत्तर व्यवस्थापन

चल्लालाई खोरमा ल्याउनु भन्दा पहिले नै भुईंमा पर्याप्त सोत्तर व्यवस्था गर्नुपर्दछ । जाडो मौसममा चल्ला आउनु २४ घण्टा अगावै सोत्तर तताउनुपर्छ । सोत्तरको तापक्रम ३०-३३ डिग्री से. हुनुपर्दछ ।   गर्मिको बेलामा भन्दा जाडो समयमा ओछ्याउने सोत्तर बाक्लो हुनुपर्दछ । ढलान भुई भएमा ३-५" सम्मको सोत्तर राख्ने तर भुई माटोको छ भने ४-८" मौषम अवस्था अनुरुप राख्नुपर्दछ । चिसो सोत्तर भएमा रोग निम्तिने भएकाले, आधा किलो चुना अथवा सूपरफस्फेट प्रति वर्ग मिटर छर्कनु पर्दछ । बेलाबेलामा सोत्तर चलाइदिने, खोरभित्र प्रकाश तथा हावाको संचार व्यवस्था गरेमा सोत्तर सुख्खा राख्न सकिन्छ । राम्रो सोत्तरले कुखुरालाई आराम दिन्छ, समान तापक्रम बनाउन मद्धत गर्छ, ओसिलोपन सोस्छ र खोर सुख्खा बनाउन मद्धत गर्दछ । भुईंको चिसोले कुखुरालाई प्रभाव नगरोस भनी उचित व्यवस्था गर्नु पर्छ । खोरमा किरा तथा कृन्तक नियन्त्रणको लागि प्रभावकारी उपाए अपनाउनुपर्छ किन भने उनिहरुले पनि न्यानो बातावरण खोजिरहेका हुन्छन् र त्यसको लागि खोर उपयुक्त हुन सक्छ । खोरलाई पुरै रित्तै बनाउन भन्दा पनि आवश्यक परेमा सोत्तरको केही अंश मात्र हटाएको राम्रो हुन्छ किन भने चाङ्ग लागेर बसेको सोत्तरले तातोपन बचाई रहेको हुन्छ ।

दाना व्यवस्थापन

पंछिले दाना दुई उद्देश्यको लागि उपभोग गर्छन् : शक्तिको श्रोतको रुपमा शारिरिक तापक्रम मिलाई राख्न र शरीरका विभिन्न प्रकृयाहरु संचालन गर्न, तथा हड्डी, प्वांख, मासु तथा अण्डा उत्पादन र व्रिद्धी गर्न । त्यसैले दाना पर्याप्त, पौष्टिक तथा स्वस्थ हुनुपर्दछ । दानालाई ओसिलो स्थानमा भन्डारण गर्नु हुंदैन । शरीरको तापक्रम मिलाई राख्न अतिरिक्त शक्ती चाहिने भएकोले तुलनात्मक रुपमा बढी दाना उपलब्ध गराउनुपर्छ । यस्तो बेलामा धेरै चिल्लो पदार्थ भएको दाना दिन सकिन्छ जसले शक्ती संचयलाई सघाउंछ । दाना दिने भांडाहरु आवश्यकता अनुसार बढाई भांडा कहिले पनि खाली (समस्या परेको बेला बाहेक) गर्नुहुंदैन ।

पानी व्यवस्थापन

जाडो मौषममा कुखुराको पानी आहार कम भएको हुन्छ, यद्धपी शरीरको बिभिन्न मेटाबलिक प्रकृयाहरुको लागि स्वच्छ पानी पर्याप्त हुनुपर्दछ । विशेष गरी साना चल्लालाई ब्रुडिङ्ग गर्ने बेला पानी चिसो भएमा मनतातो पानी पिउन दिनु पर्दछ । खोप, औषधी तथा तनाव कम गर्ने भिटामिनहरु पानीको माध्यम बाट दिइने भएकोले चिसो मौषममा थोरै पानीमा मात्र यस्ता कृयाकलाप गरेको राम्रो हुन्छ, जसले गर्दा सबै कुखुराले पुरै पानी उपभोग गर्न सक्छन् र औषधी तथा खोपले काम गर्न पाउंछन् । धेरै पानीमा औषधी बनाउंदा सबै पानी सकिन नपाउंदा औषधी र खोप खेर जान्छ, साथै सबै कुखुराले खाए भन्ने निर्क्योल गर्न सकिंदैन ।

जाडो याममा ब्रुडिङ्ग व्यवस्थापन

सानो उमेरका चल्लालाई तापक्रमले अत्यन्तै महत्वपूर्ण भूमिका खेल्ने हुंदा ब्रुडिङ्गलाई कुखुराको अत्यन्तै सम्बेदनशील समय मानिन्छ । १४ दिनको उमेर सम्म चल्लाले आफ्नो शरीरको तापक्रम नियमन गर्न असक्षम हुने हुनाले, जाडो मौसममा १४ दिनसम्म ब्रुडिङ्ग गर्नु अत्यन्तै जरूरी हुन्छ।  उचित तापक्रमको व्यवस्थापनले चल्लाको शारीरिक वृद्धि राम्रो भइ रोग प्रतिरोधात्मक क्षमता बढाउन सघाउंछ । पहिलो हप्ताको चल्लाको वृध्द्धि अनुसार नै कुखुराको वृध्द्धि  विकास हुने भएकोले पनि ब्रुडिङ्ग अत्यन्तै प्रभावकारी हुनु आवश्यक छ । अझ चिसो मौषममा झन् ध्यान पुर्‍याउनु पर्दछ । जाडोको बेला चल्ला आउनु ४८ घण्टा अगावै ब्रुडरको व्यवस्था गरी २४ घण्टा देखी सोत्तर तताउनु पर्दछ । खोर भित्रको तापक्रम ९५ डिग्री फर्हेन्हाइट हुनुपर्दछ र प्रत्यक साता ५ डिग्री फर्हेन्हाइटले घटाऊंदै ७० डिग्री पुर्‍याउनु पर्दछ ।  ब्रुडिङ्गको बेलामा प्रत्येक दिन बिहान ३ देखि ४ बजे चल्लाको अवस्था अनिवार्य रुपमा हेर्नु पर्दछ । तापक्रम व्यवस्थापनको लागि भुखारी, विद्धुतिय बत्ती, ग्यास ब्रुडर आदिको प्रयोग गर्न सकिन्छ । कोईला वा काठको भुसबाट चल्ने भुखारी १ वटा प्रति ५००-१००० कुखुरा, बत्ति १०० वाट प्रति २५ कुखुरा, कम्पनीको निर्देशन अनुरुप ग्याँसको प्रयोग गर्न सकिन्छ ।

जाडो समयमा हुने विमार उती समस्याजनक हुंदैनन् तर बेवास्ता गरेमा समस्याग्रस्त बनाउंछन् । उचित व्यवस्थापनको कमीको कारणले कुखुरामा मौसम अनुरुप विभिन्न किसिमको रोगहरु लाग्ने गर्दछन् । जाडोयाममा देखिने रोगहरु भने खासगरी व्यवस्थापकिय त्रुटिकै उपज हुन्छन् । भेन्टिलेसनको कमिले गर्दा देखिने समस्याहरुमा एसाइट्स (पेटमा पानी जम्ने), ख्यार ख्यार मुख्य हुन् । त्यस्तै, पानीको सेवन कम हुंदा गाउट रोग देखिने गर्दछ । प्राय गरी तापक्रम व्यवस्थापनका लागि जाडो याममा खोरका त्रिपाल पूर्ण रुपमा बन्द गर्दा स्वच्छ हावा प्रवाहमा अवरोधको साथै खोरमा पैदा भएको अमोनिया ग्यासको पनि उचित निकास हुन पाउदैन । कुखुराले आफ्नो शारीरिक तापक्रम व्यवस्थापनको लागि जाडो याममा दानाको खपत धेरै गर्छ र पाचन प्रक्रियामा अक्सिजनको मात्रा पनि बढी चाहिन्छ । फलस्वरूप दानाको पाचन प्रक्रियामा असर पर्न गइ पेटमा पानी जम्ने गर्छ र एमोनियाको प्रभावले श्वास प्रश्वासमा समस्या देखिन्छन् । उपचारको रुपमा लक्षणका आधारमा पशु चिकित्सकको सल्लाहमा औषधी चलाऊने र व्यवस्थापकिय अभ्यासमा परिवर्तन गर्नुपर्दछ ।