हामी मात्र होइन विश्व नै कोभिड १९ विरुद्ध युद्ध लडिरहेको छ । सबैको आ-आफ्नो क्षेत्रबाट सकिने सहयोग गर्नु पर्छ र संसारनै एकजुट छ । स्वास्थ्य मन्त्रालममा केही स्रोत र साधानको सीमितता होला, तैपनि यो एक्लो प्रयासबाट समस्या समाधान गर्न सकिने महामारी पनि होइन । यसका लागी सबै क्षेत्रको उत्तिकै सहयोग र साथ आवश्यक रहन्छ । यो समयमा स्वास्थ्यको सबै भन्दा नजिक रहेको क्षेत्र भनेको पशु स्वास्थ्यको क्षेत्र हो । पशु स्वास्थ्य क्षेत्रसँग भएको जनशक्ति र स्रोतशाधानहरुको प्रयोग यो सङ्कटको वेला गर्नुपर्छ । विश्व नै “एकीकृत स्वास्थ्य” रणनीति अनुरूप अगाडी बढिरहेको छ ।

पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले आफूसँग भएका प्रयोगशाला लागायतका स्रोतसाधन प्रयोग गर्न सकिने कुरा भनी रहनुभएको छ । कृषि तथा वन विश्वविद्यालयका प्रा.डा. होम बहादुर बस्नेत लगायतले पनि प्रयोगशाला सेवामा सहयोग गर्न सकिने बताइ राख्नु भएको छ । यही चैत्र ५ गते विश्व पशु स्वास्थ्य सङ्गठनले भेटेरिनरी सेवालाई अत्यावश्यक सेवा घोषणा गरी जनस्वास्थ्य क्षेत्रको एक महत्त्वपूर्ण अङ्ग भएकाले क्षेत्रीय र राष्ट्रिय समन्वय र सहकार्य गरी कोभिड १९ विरुद्ध सरिक हुन अपिल गरेको छ । अतः पशु र मानिसमा उपचार गर्ने तरिकाहरू फरक भए पनि रोग निदान, सामान्य स्वास्थ्यको ज्ञान र निसंक्रमण तथा जैविक सुरक्षा जस्ता विषयहरू पशु र मानवस्वास्थ्यकर्मीहरु माझ एउटै तरिका र प्रविधिबाट गरिन्छन् । भेटेरिनरी सेवा भित्रका निम्न जनशक्ती र स्रोतसाधानहरु प्रयोग गरी जनस्वास्थ्य र पशु स्वास्थ्य एकठाउँमा उभिएर काम गर्न सकिएको अवस्थामा कोभिड १९ विरुद्ध लड्न घेरै सहयोग पुग्न सक्छ ।

यो पनि पढ्नुहोस्ः अत्यावश्यक सेवा घोषणामा छुटेको ‘भेटेरिनरी सेवा’

पशुपन्छी प्रयोगशालाहरुको प्रयोग
पशु सेवा विभाग अन्तर्गतको केन्द्रीय पशुरोग अन्वेशण प्रयोगशाला लगायत अन्य सङ्घ र प्रदेश स्तरका प्रयोगशालाहरू रहेका छन् जसले RT-PCR प्रविधिबाट रोग निदान गर्दै आइरहेका छन् । यो प्रयोगशाला प्रविधि कोरोना जस्ता भाइरसहरूको अन्तिम निदान गर्ने प्रविधि हो । हामी प्रकोपको सुरुवाती चरणमा छौ, सावधानी अपनाउदैम जाँदा थप समस्या सृजना नहुन सक्ला । तर भोलिको तयारीका लागी यी प्रयोगशालाहरूमा रहेका जनशक्तिको क्षमता अभिवृद्धि गरी केही अपुग स्रोत साधानहरु थप गर्न सकियो भने प्रति दिन दुई देखी तिन हजार नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको बुझिन्छ । यस्तै गरी कृषि अनुसन्धान परिषद् र कृषि तथा वन विश्व विद्यालय सँग पनि यस्तो किसिमको जनशक्ति र प्रविधि रहेको छ । यस्ता खाले प्रयोगशालाहरू उपत्यका बाहिर पनि रहेकाले नमुना सङ्कलन र ढुवानीमा पनि सहज हुन जान्छ । वेलैमा सबै पूर्वाधारहरू दुरुस्त राखी भविष्यमा प्रयोग गर्न सकिने व्यवस्था गरिनु पर्दछ ।

यो पनि पढ्नुहोस्ः कोरोनाको पाठ सबल पशु स्वास्थ्य

भेटेरिनरी जनशक्तिको परिचालन
पशु सेवा विभाग, कृषि तथा वन विश्वविद्यालय र कृषि अनुसन्धान परिषदहरुमा RT-PCR गर्ने आफ्नी जनशक्ति पनि छ । २४ सै घण्टा प्रयोगशालाहरूलाई सञ्चालनमा ल्याउनु पर्ने अवस्थामा भेटेरिनरी र जनस्वास्थ्यको संयुक्त टोली बनाइ नमुना परीक्षण गर्न सकिन्छ । देशका सबै गाउँ वा वडा स्तरमा केहिमात्रामा भए पनि पशु स्वास्थ्यकर्मिहरु रहेका छन् तिनीहरूलाई गाउँमा जनचेतना र निसंक्रमणका कार्यमा परिचालन गराउन सकिन्छ ।

२६ वटा पशु क्वारेन्टाइन चेकपोस्टहरू परिचालन
भारतको सीमा क्षेत्रमा २३ र चीन तर्फ २ र अन्तर्राष्ट्रिय विमानस्थलमा एक वटा गरी २६ वटा नाकाहरूमा पशु क्वारेन्टाइन चेकपोस्टहरू रहेका छन् । चेकपोस्टहरू र कार्यरत कर्मचारीहरूलाई देश प्रवेश गर्ने मानिस र सवारीहरूको निसंक्रमण कार्यमा परिचालन गर्न सकिने अवश्था रहेको छ । यसबाट विशेष गरी सवारी मार्फत रोग भित्रिने जोखिम न्यूनीकरण गर्दै मौजुदा जनशक्तिलाई प्रयोग गर्न सकिन्छ । विभिन्न सार्वजनिक स्थलको निसंक्रमण गर्ने कार्यमा पशुस्वास्थ्यकर्मीहरुलाई परिचालन गर्न सकिन्छ ।

अन्य स्रोत र साधना प्रयोगमा सहकार्य:पशु सेवा विभागले करिब २००० भन्दा बढी पिपिई सङ्घ र प्रदेश मार्फत सम्बन्धित स्वास्थ्य मन्त्रालयलाई प्रदान गरेको छ । यस्ता केही स्रोत साधानहरु हुन सक्छन् जुन दुवै सेवालाई काम लाग्न सक्छ । यस्ता क्षेत्रमा थप समन्वय गर्दै जानु पर्दछ ।

क्षमता अभिवृद्धि र अनुभव साटासाट
पशु चिकित्सकहरूको वर्ड फ्लु लगायतका महामारी नियन्त्रणमा राम्रो अनुभव रहेको छ जुन मानव स्वास्थ्यका महामारी रोकथाममा सहयोगी हुन सक्छन् । जस्तै सबै स्वास्थ्यकर्मीहरु पिपिई प्रयोगमा अभ्यस्त नहुन सक्छन्, उपचारमा खटिदा अपनाउनु पर्ने सावधानी जस्ता विषयहरूमा पशु चिकित्सकहरूले तालिम दिने जस्ता कार्यहरू गर्न सकिन्छ ।

खाद्य प्रणालीमा सुरक्षित पशुजन्य पदार्थहरूको प्रवेश
विश्वमाको पशु तथा पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्रीहरू जस्तै पशु, दूध, माछा, मासु, मह तथा ओखटापाहर तथा वन्यजन्तुको कानुनी व्यापार गर्दा भेटेरिनरी डक्टरहरूले स्वच्छ वा स्वस्थ छ भनी प्रमाणित गरे पछि मात्र व्यापार हुने हुँदा पशुबाट सर्ने रोग वचावटमा पशु चिकित्सकको महत्त्वपूर्ण भूमिका हुन्छ ।जसमा पशु क्वारेन्टाइन प्रणालीलाई मजवुद बनाइ भविष्यमा हुने यस्ता मानवीय सङ्कटहरू न्यूनीकरण गर्न सकिन्छ । यसका साथै देश भित्र पनि पशुपन्छीहरू वध गर्नु भन्दा अघि र पछि मासु जाँच गरिमात्र वेच्न सकिने कानुनी प्रावधान मासु जाँच तथा पशु वधशाला ऐन, २०५५ मा गरिएको छ । जुन प्रत्यक्ष जनस्वास्थ्य सँग सरोकार राख्ने विषय हो ।

खोज तथा अनुसन्धानका कार्यमा सहकार्य
विश्वका खोज अनुसन्धानकर्ताहरुले अझै यो भाइरस कताबाट आएको हो पत्ता लगाउन सकेका छैनन् । केही समय अगाडी हङ्गकङ्गमा कुकुरमा यो भाइरस देखिएको विश्व पशु स्वास्थ्य सङ्गठनले पुष्टि गरेको थियो । कुकुर मालिक कोभिड १९ सङ्क्रमित भएका कारण कुकुरमा सरेको अनुमान गरे पनि पशुबाट मान्छेमा सर्छ कि सर्दैन भन्ने कुरा हाल सम्म पुष्टि हुन सकिरहेको छैन । यस्ता विषयमा खोज अनुसन्धान जस्ता कार्यहरू पनि समन्वय र सहकार्यमा गर्न सकिन्छ ।

तसर्थ: भेटेरिनरी सेवालाई अत्यावश्यक सेवा घोषणा गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समन्वय र सहकार्यमा एकीकृत स्वास्थ्य रणनीति अनुरूप जान सकिएको खण्डमा नेपाल कोभिड १९ विरुद्धको अभियानमा सफल हुने कुरामा मद्दत पुग्नेछ। विश्वले अङ्गीकार गर्दै आइरहेको “एकीकृत स्वास्थ्य” को अभ्यास नेपालको पशु स्वास्थ्य जनस्वास्थ्य क्षेत्रले गर्न सक्दछ । जसको सफल उदाहरण हामी विश्व सामु गर्भका साथ पेस गर्न सकौँ ।