उच्चतम ह्याचविलिटीको लागि ह्याचिंग अण्डा भण्डारण गर्ने क्रममा ध्यान दिनुपर्ने कुराहरु

उच्चतम ह्याचविलिटीको लागि खोरमा प्यारेन्ट कुखुराको स्वास्थ्य-पोषण, भाले-पोथी संख्याको अनुपात देखि पोथीले अण्डा पारेबाट चल्ला ह्याच निस्किदा सम्म प्रत्येक विन्दुमा धेरै पक्ष र पाटाहरुमा शुष्म रुपमा ध्यान दिनुपर्ने हुन्छ । यस लेखमा अण्डा भण्डारण गर्ने क्रममा ध्यान दिनुपर्ने पक्षहरुको विषयमा मात्र प्रकाश पार्ने जमर्को गरिएको छ ।  ती पक्षहरु निम्न अनुसार छन् ।

- ह्याचिंग अण्डालाई सधै सफा-सुघर ठाउँमा राख्नुपर्ने हुन्छ । ह्याचिंग अण्डा राखिने ठाउँमा बढी आद्रता हुनु उचित हुँदैन । अण्डा राख्ने कोठाको तापक्रम उचित होस् । काम गर्ने क्रममा ढोका खोलिसकेपछि आफै बन्द हुने खालको होस् । किनभने ढोका खुला नै रहेको खण्डमा तापक्रममा बदलाव हुन्छ र त्यसकारण सजिलै ह्याचविलिटी प्रभावित हुनसक्छ ।

- अण्डा राख्नुभन्दा कमसेकम १ घण्टा पहिला देखि नै कोठाको तापक्रम सही रहनुपर्दछ ।

- अण्डा भण्डारण कोठाको तापक्रम ६० देखि ६२ डिग्री फरेनहाईट र सापेक्षिक आद्रता ७० देखि ७५ प्रतिशत हुनु उचित हुन्छ । हरेक घण्टामा भण्डारण कोठाको तापक्रम र आद्रता मापन गर्दै अभिलेख राख्ने गर्नुपर्दछ ताकि कुनै अनावश्यक  फेरबदल भएमा समयमै नियन्त्रण गर्न वा सच्याउँन सकियोस ।

- थर्मोमिटरलाई भित्तामा वा कुनै बल्बको नजिक राख्नु गलत हो ।

- भण्डारण गर्दा अण्डाको विभिन्न चाङ्गहरु बीच केहि दुरी कायम गर्ने गरी राख्नुपर्छ ताकि हावाको प्रवाह भैराखोस । सबै चाङ्ग/पेटीलाई एकै साथ बिना कुनै दुरी टाँसेर राख्ने कार्य एकदम गलत हो ।

- ह्याचिंग अण्डालाई एक देखि डेढ घण्टाको अन्तरालमै व्रिडिंग फार्मबाट चिस्यान भण्डारणमा पुर्याउनु सर्वोचित उपाय हो ।

- यो कुरामा एकदमै ध्यान दिनुपर्छ कि चिस्यान भण्डारणमा जुन अण्डा पहिला आए क्रमबद्ध रुपमा सोहि अण्डा नै पहिला निकालेर मेसिनमा लोड गर्नुपर्ने हुन्छ । अन्यथा क्रम बिगारेर पहिला आएको अण्डा पछि लोडिंग गरेमा ह्याचविलिटी प्रभावित हुनसक्छ ।

- चिस्यान भण्डारणबाट अण्डा निकालेर मेसिनमा लोडिंग गर्न अगाडी ६ देखि ८ घण्टा सम्म अण्डालाई कोठाको तापक्रममा रहन दिएर मात्र मेसिनभित्र लोडिंग गर्नुपर्दछ । तुरुन्त लोडिंग गर्नु कदापि हुँदैन । यो प्रक्रियालाई प्रि-वार्मिङ्ग भनिन्छ ।

- ह्याचिंग अण्डा भण्डारण गर्दा प्रणाली Three-tyre-rack प्रणाली अपनाउने जसले गर्दा अण्डालाई उचित हावाको संचार मिल्दछ ।

- ह्याचारिका ढोका-झ्याहरु खोल्ने बन्द गर्ने क्रममा भित्तासँग ठोकिएपनि धेरै ठुलो आवाज ननिस्किने खालको व्यवस्था भएमा उचित हुन्छ ।