जमाएको वीर्य (Frozen Semen) लाई –१९६ डिग्री सेल्सियस तापक्रम भएको तरल नाईट्रोजनमा डुवाएर संरक्षण गरी राखिएको हुन्छ । यस अवस्थामा शुक्रकीटहरु शुषुप्त अवस्थामा रहेका हुन्छन् । यसरी सुषुप्त अवस्थामा रहेका शुक्रकीटहरुलाई कृत्रिम गर्भाधान कार्यमा प्रयोग गर्नुअघि सक्रिय पार्ने कार्यलाई थईङ (Thawing) भनिन्छ । जमेको ठोस वीर्य विश्वको कुनै पनि मुलुकमा उत्पादन गरी धेरै वर्ष सम्म तरल नाइट्रोजन सुरक्षित साथ भण्डार गरी अर्का कुनै पनि मुलुकमा तरल नाइट्रोजनमा सुरक्षित राखेर ढुवानी गरी प्रयोगमा ल्याउन्जेल सम्म तरल नाइट्रोजनमा नै भण्डार गरेर प्रयोग गर्न सकिने हुन्छ जुन वीर्य जमेको ठोस अवस्थामा हुन्छ ।

पोथी जनावरले भाले खोजेको एकीन भएपछि कृत्रिम गर्भाधान गर्ने उपयुक्त समयमा सम्पूर्ण तयारी पछि मात्र थईङ गर्नु पर्दछ । यो कृत्रिम गर्भाधान पूर्व गरिने विशेष प्रकारको तयारी हो । थईङ्ग बिभिन्न तापक्रममा गर्न सकिन्छ । तापक्रममा फरक परे अनुसार थईङ्ग गर्ने समय पनि फरक पर्छ । कम तापक्रममा बढी समय र बढी तापक्रममा कम समयको आवश्यक पर्ने हुन्छ । सिद्धान्त यस्तो भए पनि हामीले धेरै बढी वा धेरै कम तापक्रम थईङ्ग को लागी प्रयोग गर्नु हुदैन । थईङ्ग गर्नको लागी गाईभैसीको शारीरिक तापक्रम (३५ देखि ३७ डिग्री सेल्सियस) उपयुक्त हुन्छ ।

जमेको वीर्यलाइ पगाल्ने तरीका (Method of Thawing)

  • सिमेन स्ट्र राख्न सकिने प्रकारको भाँडोमा ३५ देखी ३७ डिग्री सेन्टीग्रेडको तातो पानी लिने ÷ बनाउने । यस कार्यको लागी थईङ्ग किट (Thawing kit) पनि बजारमा उपलब्ध छ ।
  • सिमेन स्ट्रलाई रेफ्रीको स्ट्र राख्ने भाँडो (Semen goblet) बाट पहिल्यै चिस्याईएको फोरसेप (Forceps) को सहायताले निकालेर १५—२० सेकेन्डसम्म मनतातो पानीमा डुवाउने । पानीमा डुबाउदा स्ट्रको डवल सिल (Factory seal) भएको भागलाई तलतिर पारी  तुरुन्त (३ देखि ५ सेकेन्ड भित्र) पारी डुवाउने ।
  • करीव ३७ डिग्री से. तापक्रममा २० सेकेन्डसम्म थईङ्ग गरीएको वीर्यमा रहेका शुक्रकीटहरु ३ घण्टा पछि ८१ प्रतिशत र ६ घण्टा पछि ६० प्रतिशतसम्म जिवित रहेको पाईएको छ । यो नै फरक फरक तापक्रम र थईङ्ग समय मा गरेको प्रयोग मध्ये सबै भन्दा राम्रो नतीजा हो ।
  • जाडो महिनामा कृत्रिम गर्भाधान गर्दा गनलाई पनि ३५—३७ डिग्री सेन्टीग्रेडको तातो बनाउनु पर्दछ । धेरै जाडो मौषममा कृत्रिम गर्भाधान गर्ने गनको तामक्रम कम हने हुनाले थईङ गरेको शुक्रकिटलाई चिसोको तनाव (Cold Shock) हुन सक्दछ तसर्थ जाडो महिनामा कृत्रिम गर्भाधान गर्नु पूर्व गनलाई शरीरमा लगाएको ज्याकेट भित्र केहि समय राखी न्यानो बनाउनु पर्दछ ।

थईङ्ग गर्दा ध्यान दिनुपर्ने कुराहरु

  • थईङ्ग कार्य जहिले पनि छायाँमा गर्नु पर्दछ र स्ट्रलाई घाममा देखाउनु हुंदैन ।
  • सिल खोलिएका स्ट्रहरु थईङको लागी उपयुक्त हुदैनन् ।
  • थइङ्ग गर्दा स्ट्रलाई हातले छुनु हुँदैन, निर्मलीकरण गरेको फोरसेफले -कटन स्वावले पुछेको ४ सेकेण्डपछि) मात्र समात्नु राम्रो मानिन्छ ।  
  • स्ट्रको डबल सिल, कपास र प्लाष्टिकको पाउडरलाई जमाएको भागलाई जहिलेपनि तरल नाईट्रोजनको तल हुनुपर्दछ ।
  • थईङ्ग गर्ने पानीको तापक्रम नाप्नको लागी जहिले पनि रंगीन मर्करी थर्मोमिटर वा अल्कोहल थर्मोमिटर प्रयोग गर्नु पर्दछ । यसमा पनि रंगीन मर्करी थर्मोमिटरले राम्रो मानिन्छ र क्लिनिकल थर्मोमिटर प्रयोग गर्नु राम्रो हुदैंन । हातले पानीको तापक्रम परीक्षण गर्ने पुरानो तरीका उपयुक्त होईन ।
  • थइङ्ग गर्दा थइङ्ग टाइमर (Pre-set timer) प्रयोग गर्नु राम्रो मानिन्छ
  • वातावरणको तापक्रमलाई ध्यानमा राखी तातो वा चिसो हुनबाट बचाउनु पर्दछ । थईङ्ग गर्दा ३७ डिग्री को तापक्रममा ल्याईसकेपछि जति सक्यो छिटो कृत्रिम गर्भाधान गर्नु पर्दछ । जति ढीलो भयो त्यति वीर्यको गुणस्तर कम हुदै जान्छ तर थईङ्ग पछि वीर्यलाई ३७ डिग्री सेन्ट्रिग्रेड तापक्रममा नै राख्न सकेमा ९० मिनेट सम्म पनि कृत्रिम गर्भाधान गराउन सकिन्छ । तर एक पटक थईङ्ग गरिसकेपछि तापक्रम घटवड भने हुनुहुदैन ।
  • थईङ्ग गरिसकेको स्ट्रको एक छेउ तर्फ मात्र हातले समात्नु पर्दछ र यसको वीचमा समात्नु हुंदैन ।
  • कृत्रिम गर्भाधान गर्न सक्ने समय अवधिको ख्याल गरी थईङ्ग गर्ने कार्य गर्नु पर्दछ ।
  • थइङ्ग गरिसकेपछि र कृत्रिम गर्भाधान गर्ने गन (AI Gun) तयारी गरिसकेपछि मुखमा च्यापेर गर्भाधान गर्ने चलन भन्दा गनलाई शरीरमा नै घुसाएर राख्नु राम्रो मानिन्छ किनकी यसले थइङ्ग पछिको तापक्रमलाई ३७ oC मा नै स्थिर राख्न मद्धत गर्दछ ।
  • थइङ्ग गरिसकेपछि वीर्य लोड गरिएको गनलाई हावामा ५ मिनेट भन्दा बढी राख्नु हुँदैन तर तापक्रम घटबढ नगराईकन भने लामो समयसम्म राख्न सकिन्छ ।
  • थइङ्ग गर्ने बेलामा रेफ्रीबाट फोरसेफले स्ट्र निकालीसकेपछि हावामा हल्लाउने चलन छ तर यसो गर्दा शुक्रकीटको कोष बिग्रने सम्भावना हुनुको साथै स्ट्रको टुप्पोमा हावाको सट्टा वीर्य आएर जम्मा हुन जान्छ ।

लेखन तथा संकलनः डा. खगेन्द्रराज सापकोटा