साल अड्किने कारण र उपचार

साल अड्किने (Placental Retaintion) कारणलक्षण र उपचार

        सामान्यतया गाई भैसीहरुमा ब्याएको ६—८ घण्टामा साल झर्दछ तर कुनै कारणवस यो समय लम्बिएर (१२ घण्टा भन्दा बढी) पाठेघर भित्र नै साल सड्न थाल्नुलाई साल नझर्ने अवस्था भनिन्छ । जब बच्चा जन्मन्छ, सालको काम केही हुदैन बरु बाह्य वस्तु जस्तो हुने हुनाले शरीरले जति सक्यो चाडो बाहिर फ्याक्नु राम्रो हुन्छ । उग्राउने जनावरमा भन्दा घोडा र अन्य नउग्राउने जनावरमा साल छिटो खस्दछ । 

साल नझर्ने कारणहरु (Causes)

  1. ब्रुसेल्लोसिस जस्ता रोग लागेर समय नपुगी बच्चा तुहिएमा
  2. पाठेघरको संक्रमण भएमा
  3. हर्मोनको असन्तुलन भएमा ।
  4. बच्चा अड्किएको अवस्थापछि ।
  5. कुपोषणको कारण
  6. बंशानुगत कारण

लक्षणः प्राय सुत बाहिर मासुको लुन्द्रो झुण्डिएको देखिन्छ । धेरै समय भई सकेको भए योनीबाट दुर्गन्ध आइ रहेको हुन्छ । कहिलेकाँही संक्रमण भएमा पशुले आहारा नखाने, झोक्राउने तथा ज्वरो समेत आउन  सक्छ । पशुले दुध उत्पादन समेत घटाउँदछ ।

समाधान तथा उपचारः (Prevention and Treatment):

  • गर्भावस्थाको अन्तिम समयमा पशुलाई दैनिक एक घण्टाको दरले सम्भव भए हिडाउनु राम्रो मानिन्छ ।
  • पशु व्याउनुभन्दा ५–१० दिन अगाडीबाट नै गोठमा पशु बस्ने ठाउँ वा भकारो को व्यवस्था गर्नुपर्दछ । पछाडी पट्टी धुलो, फोहोर र धानको भुस प्रयोग गर्नु हुँदैन ।
  • पशु व्याईसकेपछि ३०–५० आई.यू. अक्सिटोसिन वा ३–४ मि.ग्रा. मिर्थेजिनको सुई मासुमा लगाउनाले यो समस्या कम हुन्छ ।
  • पशु ब्याएको २४ घण्टा भन्दा बढी समय भएको छैन भने Replanta or Clinosol ५० ग्राम विहान बेलुका मन तातो पानीमा दिने । सकभर हात राखेर साल निकाल्नु हुदैन ।
  • ब्याएको धेरै समय भएको छैन भने अक्सिटोसिनको सुई (Oxytocin injection) दिएमा पनि साल निकाल्न मद्धत गर्दछ ।
  • साल निस्की सकेपछि पाठेघरलाई एक्रिफ्लेभिन पानीले सफा गरी पाठेघरमा राख्ने औषधि (Furea) चक्की ४—६ वटा पाठेघरमा राखी दिनु पर्दछ ।
  • पशु ब्याएको २ घण्टा भित्र प्रोस्टाग्याण्डिनको सुई लगाउँदा यो समस्या कम हुन्छ ।
  • धेरै समय (२४ घण्टा भन्दा बढी) भएको भए सुत भित्र हात राखेर क्यारुङकल्स (Caruncle)  बाट कोटिलेडन छुट्याई सकेपछि मात्र साल निकाली दिने गनु पर्दछ ।
  • पशु व्यायको ३ दिनसम्म ५०० एम.एल. ५% को डेष्ट्रोज (500 ml of 5% Dextrose) २ दिनसम्म ५०–१०० एम.एल. क्याल्सियम वोरोग्लुकोनेट 50–100 ml calcium borosluconate नशाबाट दिएमा अर्को बेतमा यो समस्या कम हुनसक्दछ । तर धेरैमात्रा क्याल्सियम नशाबाट दिदाँ दुध उत्पादनमा भने कमी आउँछ । 

कस्तो अवस्थामा हातले निकाल्नु हुँदैन ?

  • यदि पशुमा vaginitis वा Valvitis को संक्रमण छ भने हातले हटाउनु राम्रो मानिदैंन ।
  • यदि एउटा cotytedon लाई छुटाउन १० सेकेण्ड भन्दा बढी समय लाग्छ भने हातले हटाउनु राम्रो हुँदैन ।
  • यदि आधा मात्र साल आउने अवस्था भयो भने हातले निकाल्नु हुँदैन ।
  • यदि पशुको शरीरको तापक्रम १०२oF भन्दा बढी छ भने हातले साललाई निकाल्नु कदापी हुँदैन । किनकी यसले पशुलाई septic condition मा पु~याई पशुको मृत्यु पनि हुन सक्दछ ।

कृषकलाई सल्लाह 

  • झुण्डिरहेको सालमा कुनै किसिमको तौल झुण्डाउनु वा तान्नु हुँदैन । 
  • यदि पशुले व्याएको ८ घण्टाभित्र साल फ्याँकेन भने दक्ष पशु चिकित्सकलाई बोलाउनु पर्दछ । 
  • तुहिएको अवस्थामा यो समस्या सामान्य हो, त्यसैले तत्काल उपचार गर्नुपर्दछ । 
  • यदि पशुले ३६ घण्टासम्म पनि साल फ्याँकेन भने साल आफैं गलेर (Maceration) भई यो पूरै झर्न ७–१० दिनसम्म लाग्छ ।
  • साल नझर्ने समस्या भएको पशुमा पाठेघर सामान्य अवस्थामा आउन पनि बढी समय लाग्ने हुनाले पाठेघरको हागाँको आकार कम्तिमा ३५ मिलिमिटर र दुईवटा हागाँको फरक ५ मिलिमिटर भन्दा बढी नहुने समयमा वा कम्तिमा पनि ६० दिनसम्म पुनः गर्भाधारण गराउनु हुँदैन ।