संरक्षणका दृष्टिले खतरामा लोपोन्मुख नौमुठे गाई

 

संरक्षणका दृष्टिले खतरामा लोपोन्मुख नौमुठे गाई: नेपालमा मात्र पाइने र विश्वकै सानो घरपालुवा रैथाने जनावरको रूपमा परिचित आछामी गाई नेपालको महत्वपुर्ण सम्पदा हो । नेपालको सुदुरपश्चिम क्षेत्रको आछाम जिल्लाबाट उत्पति भएको मानिने यो गाईको नाम पनि जिल्लाको नाम सँग जोडेर आछामी राखिएको छ । 

केही संख्यामा वझाङ, वाजुरा र डोटी जिल्लामा पनि पाउन सकिन्छ । यसको आकार तथा तौलका हिसावले विश्वकै सवैभन्दा सानो जातको गाईमा गणना गरिएको छ । स्थानिय भाषामा यसलाइ "नौमुठे गाई" भनेर पनि चिनिन्छ । यसको शारीरिक विशेषतामा कसिएको सिंग पातलो र तिखो भएको, चन्चल, रंग प्रायः कालो वा खैरो र छाला नरम हुन्छ । यिनीहरूको अधिकतम तौल १४४–१४५ के.जी. भएको पाईएको छ  भने यसको औषत दूध उत्पादन १.५ –२ के.जी प्रति दिन सम्म छ । प्रजननको लागि व्यस्क हुने उमेर ४ वर्ष हो भने ५ वर्ष को उमेरमा पहिलो पटक व्याउछ र वेतान्तर १२–२४ महिनाको हुन्छ ।औषत दूध दिने अवधी २२५ दिनको हुन्छ । औषत शारीरिक तौल १२५ के.जी. रेकर्ड गरिएको छ । (डाटा साभारः रूद्र प्रसाद पौडेल, व्यवसायिक गाइ भैसी पालन)

अवस्था के छ ?

यिनीहरूको संख्या घट्ने क्रममा छ र संरक्षणका दृष्टिले खतरामा छन् । हाल यो गाई लोप हुन नदिन संरक्षणका कार्यक्रमहरु संचालन गरिएका पनि छन् । यस गाइलाई पछिल्लो समयमा पर्यटकीय महत्व (Agro tourism) को हिसावले पनि हेर्न थालिएको छ । यि गाईहरु अत्यन्त प्रतिकुल वातावरणमा पनि वाँच्न सक्ने हुन्छन् । नेपालको पहिचानसँग जोडिएको यो गाई आज संरक्षणको पर्खाइमा रहेको छ । जिल्लाको रेकर्डमा यो गाईको जम्मा संख्या ४४७ रहेको छ । यद्यपी यो संख्या गत वर्षको हो । यो गाई संख्यामा मात्र हैन यसको जातीय शुद्धतामा पनि कम हुदैं गएको देखिन्छ । आछामका पहिले देखि नै आछामी गाई पाल्दै आएका कृषकहरूसँगको अन्तर्कृयामा आजकल यो गाईको संख्या कम हुदै गएको, जुरो हराउन थालेको, आकारमा पनि वृद्धि हुँदै गएको र उत्पादनमा पनि केही सुधार भएको बताउँछन् । यसको अर्थ आछामी गाईको सुधार भएको होइन, बरू यसको जातीय शुद्धतामा ह्रास हुदैं गएको भन्न सकिन्छ । तस्वीरमा देखाइएको गाई कृषकहरूले शुद्ध नश्लको हो भनेता पनि यसमा अरू नश्लको मिसावट छ। हाल यो भन्दा  शुद्ध नश्लको आछामी गाई पाउन मुस्किल छ, तसर्थ हाल यसको संख्या निकै घटेर लोपोन्मुख अवस्थामा पुगेको छ ।

किन खतरामा छ ?

विश्वकै सानो गाईको रूपमा मानिने यसको संरक्षणको लागी विभिन्न NGOs/INGOs तथा नेपाल सरकारका विभिन्न निकायहरू सक्रिय रहेतापनि यसको संख्या बढ्न सकेको छैन, बरू दिनानुदिन संख्या तथा जातीय शुद्धतामा ह्रास हुदैं गएको छ । भौगोलिक विकटता, कृषकहरूमा जनचेतनाको कमी, न्यून उत्पादन क्षमता, दलित बस्तिहरू सम्म पहुँचको कमी संरक्षण नहुनका प्रमुख कारणहरू हुन सक्छन् । कृषकहरूको भनाइ अनुसार जाडो याममा मुगु, बाजुरा, हुम्ला लगायतका हिमाली जिल्लाहरूबाट जाडो छल्न तथा व्यापार गर्न आउने मानिसहरूले अवैधानिक रूपमा मासुको प्रयोजनका लागी यो गाई तिब्बत तर्फ लाने गरेको बताउछन् भने अर्कातिर उक्त गाइबाट आर्थिक रूपमा कम फाइदा हुने हुनाले किसानहरू व्यवसायिक रूपमा यो गाइको पालन गर्न रूचाउँदैनन् । अवैध रूपमा तिब्बतसम्म गाइको निकासीमा स्थानीय पराम्परा, धार्मिक तथा सामाजिक आस्था प्रमुख कारण रहि आएको छ । स्थानीय परम्परा अनुसार परिवारको कुनै सदस्यको मृत्यु भएमा सो घर जुठो हुने मान्यता अनुसार घर चोख्याउनका लागि ब्राह्मिण पुरोहितलाइ गाइ दान गर्ने चलन छ । यसरी दान बाट प्राप्त गाइहरूलाइ पुरोहितले पालन गर्न नसकि तिब्बबत तर्फ मासु प्रयोजनका लागि निकासी भएको पाइन्छ । तराई बाट खेत जोत्नका लागि ल्याइका हरियाणा साँढे तथा अन्य उन्नत जर्सी तथा होलस्टेन साँढेसँग क्रस भइ यसको जातीय शुद्धता ह्रास हुँदै गएको हुनाले शुद्ध नश्लको आछामी गाई पाउन पनि कठिन भइसकेको अवश्था छ । यहि किसिमबाट क्रस हुदैं जानेहो भने, यसरी नै अवैधानिक रूपमा तिब्बत तर्फ निकासी हुने हो भने र संरक्षणको लागि कुनै बिषेश पहल नगर्ने हो भने विश्वकै सानो गाईको रूपमा परिचित नेपालको पहिचानसँग जोडिएको महत्वपुर्ण सम्पदा लोपोन्मुख आछामी गाई पनि सिरी गाई जस्तै नेपालबाट लोप भइ इतिहासमा सिमित नरहला भन्न सकिंदैन । हामीले नेपालको रैथाने सिरी गाई नेपालबाट लोप भइसकेको भनेका छौं, तर आजकल सिरी गाई नेपालको नभइ भारतको रैथाने गाई हो र भारतमा यसको संख्या प्रशस्त रहेको छ भन्ने कपोलकल्पित कुरा पनि सुन्न नआएको होइन । यहाँ पनि आजकल यो आछामी गाई भन्दा आकार तथा तौलका हिसावले सवैभन्दा सानो जातको गाई त लुलु गाई पो रहेछ भन्ने भनाइ पनि सुन्न थालिएको छ र सोही अनुसार तालीममा पनि प्रशिक्षण दिन शुरू गरिएको छ । शुद्ध नश्लका आछामी गाईहरू नभइ क्रस हुदैं गएका गाईहरूको डाटाका आधारमा आछामी गाई भन्दा  लुलु गाई सानाे रहेछ भन्नु भन्दा शुद्ध नश्लका आछामी गाईहरू पहिचान गरी अनुषन्धान गर्नु उत्तम हुनेछ । यो हाम्रो लागी बिडम्बनाको कुरा हो।

चुनौतीहरू के के छन् ?

  • शुद्ध नश्लको संख्याको एकिन नहुनुः  यो गाइको यथार्थ संख्या अझपनि एकिन हुन सकेको देखिदैन । अन्दाजीकरणमा मात्र भनिएको छ 
  • प्रजनन् रणनीति नहुनुः यस किसिमको नश्लको गाइको प्रजननको कुनै किसिमको रणनीति रहेको छैन्, त्यसैले अन्य नश्लसँग क्रस प्रजननको सम्भावना अत्याधिक रहन्छ ।
  • आफ्नै बाहुल्य रहेको क्षेत्रमा पनि उपेक्षित हुनुः अन्य नश्लका तुलनामा यस नश्लको उत्पादकत्व कम हुने हुदाँ आफ्नो बाहुल्य रहेको क्षेत्र अछाममा पनि यो उपेक्षित हुँदै आएको छ । कसैको चासो देखिदैन ।

संरक्षण कसरी ?

आछामका कृषकहरूसँग गरिएको अन्तर्कृया र स्थलगत अध्यायनमा आधारित भएर भन्नुपर्दा यसको संरक्षणको लागि निम्न कुराहरुमा ध्यान दिनु पर्ने आवश्यक देखिन्छ ।

  • संरक्षणको लागी विभिन्न NGOs/INGOs तथा सरकारी निकायहरू सक्रिय रहेका छन् तर एउटै गाइको संरक्षणको लागी तिनीहरूले गर्ने कार्य शैली तथा कार्य योजनामा एकरूपता छैन । संरक्षणका लागी छनौट गरिएका स्थान पनि एउटै छैनन् । जसले गर्दा संरक्षणको काम प्रभावकारी भएको पाइदैन । यसको संरक्षणको लागि विशेष कार्य योजना बनाइ अगाडि बढ्नु पर्ने र विभिन्न कार्यरत NGOs/INGOs तथा सरकारी निकायहरूको एउटै कार्य योजना हुनुपर्ने आवश्यकता देखिन्छ ।
  • आछामी गाइको संरक्षणको लागी पर्यटकीय महत्वलाइ लिएर स्रोत केन्द्र स्थापना गर्ने प्रयास गरिएता पनि हाल निरन्तरता नपाएको यसमा आवद्द समूह, समितीहरू बताउँछन् । यसको लागी शुद्ध नश्लका आछामी गाईहरूको दीगो रूपमा स्रोत केन्द्र स्थापना गर्ने र Agro tourism को रूपमा विकास गर्ने सोचका साथ अगाडी बढ्नुपर्ने आवश्यकता देखिन्छ ।
  • आछामी गाईलाई स्वः स्थानमै संरक्षण गर्न र आछामी गाइको वास्तविक संरक्षणको लागी पहिले देखि नै आछामी गाई पाल्दै आएका र रोजगारीको अर्को विकल्प नभएका दलित बस्तिहरू सम्म भौगोलिक विकटता र परम्परागत सोचाइका कारणले पहुँच नपुगेको सन्दर्भमा सर्वप्रथम त्यस्तो सोचको परिवर्तन गरी त्यस्ता बस्तिहरूमा पनि दृष्टि पुर्याइ कार्यक्रम सञ्चालन गर्नुपर्ने टट्कारो आवश्यकता देखिन्छ ।
  • यसको जातीय शुद्धतामा ह्रास हुदैं गएकोले शुद्ध नश्लको भाले पहिचान गरी समूह वा स्थानीय संस्था मार्फत् संरक्षणको कार्य अगाडी बढाउनु आवश्यक देखिन्छ । साथै छनौट भएका समूह, समिती तथा स्थानीय संस्थासँग आवद्ध कृषकहरूलाइ संरक्षण तथा यसको महत्व बारे ब्यापक रूपमा जनचेतना दिनुपर्ने हुन्छ । कृषकहरूलाइ व्यावस्थापन (खोप, डिवर्मिङ्ग, जैविक सुरक्षा आदि) मा लाग्ने खर्चमा विशेष सहयोगका कार्यक्रम सञ्चालन गर्ने र प्रभावकारी सर्वसुलभ पशु स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाउनुका साथै संरक्षणको कार्यलाइ निरन्तर रूपमा दिगो र परिणाममुखी बनाउनुपर्ने आवश्यकता देखिन्छ ।
  • यदि यसलाइ नेपालको गाैरवको रूपमा स्थापित गरिरहने हो भने नीतिगत कार्यादेश सहित जिल्ला पशु सेवा कार्यालय अाछामलाइ अाछामी गाइको संरक्षण गर्नु नै प्रमुख कार्यका रूपमा जिम्मेवारी दिनुपर्ने र सो अनुसार कार्य गर्नुपर्ने देखिन्छ ।

कृषि अनलाइन खबरमा प्रकाशित 

 

लेखन तथा संकलनः डा. खगेन्द्रराज सापकोटा ।