व्रोइलर कुखुराको फ्लक एकरुपता खराब हुने कारणहरु
फ्लक/ बथान एकरुपता
व्रोइलर फ्लक (बथान)मा कुखुराको औषत शारीरिक तौलभन्दा १० प्रतिशतसम्म कम या बढि तौल सम्मका कुखुराको प्रतिशतलाई फ्लक एकरुपता (Flock Uniformity) भनेर चिनिन्छ । उदाहरणको लागि एउटा ३७ दिने १००० वटा कुखुराको औषत शारीरिक तौल २ किलोग्राम छ र यदी १,८०० ग्राम (१० प्रतिशत कम वजन) देखि २,२०० ग्राम (१० प्रतिशत बढि वजन) सम्मका कुखुराको संख्या ८५० छ भने यो फ्लकको एकरुपता ८५ प्रतिशत छ भन्न सकिन्छ । एउटा सन्तोषजनक एकरुपता भएको फ्लकमा कम्तिमा ७५ प्रतिशत भाले र ७८ प्रतिशत पोथी माथिको तौल माथिको उल्लेखित तौल समूहभित्र पर्छन । तर पोल्ट्री जगतमा धेरै फ्लकमा यसप्रकारको एकरुपता देख्न पाइदैन ।
एकरुपता गडबडीको थालनी
उपयुक्त व्यबस्थापन गर्न नसके चल्लालाई ब्रुडिंगमा राखेको केहि घण्टादेखि नै फ्लकको एकरुपता बिग्रन सुरु हुनसक्छ । आधुनिक वर्णशंकर व्रोइलर कुखुरालाई ६ हप्तामा २ किलोग्रामभन्दा बढि वजनको बनाई विक्री गर्ने गरी वंशाणु विकास (Genetic Improvement) गरिएको छ । यस्तो किसिमको तीव्र शारीरिक वृद्दि हाँसिल गर्नको निम्ति चल्लाको तौल, ह्याच भएको (अण्डाबाट कोरलिएको) दिनको तौल भन्दा एक हप्ताको उमेरमा ४ गुणाले बढि हुनुपर्छ । यसरी तीव्र रुपमा शारीरिक विकास हुने क्रममा फ्लकको एकरुपता पनि छिट्टै नै बिग्रन सक्छ । तसर्थ, जतिसक्दो छिटो कुखुराको एकरुपता खराब बनाउने कारणहरुको खोजि र विश्लेषण गरी एकरुपता कायम गर्ने विधि र सावधानीहरु अपनाउनुपर्छ ।
खराब एकरुपताको बेफाइदा
व्रोइलर कुखुराको फ्लकमा अधिकतम रुपमा एकरुपता कायम गर्न अत्यन्तै आवश्यक छ किनभने खराब एकरुपता भएमा निम्न बेफाइदा हुन्छन :
* कुखुरा बिक्रि गर्दा सबै एकै समयमा तयार (बिक्रि गर्न योग्य) नहुनु ।
* पटक पटक गरेर विक्री गर्नुपर्ने अवस्था आउनसक्नु ।
* कुखुराहरु कोहि सानो कोहि ठुलो हुनाले सबैले राम्रो भाउ (बिक्रि मूल्य) प्राप्त गर्ननसक्नु ।
* औषधि -उपचार गर्ने क्रममा औषत शारीरिक वजन अनुसार हिसाब गरेर औषधि दिँदा धेरै प्रतिशत कुखुरालाई गलत डोज (कम डोज वा बढि डोज) को समस्या हुनु ।
* कुखुराको दानालाई मासुमा रुपान्तरण गर्ने अनुपात अर्थात एफ. सी. आर. (FCR) खराब हुनु ।
* खराब एफ. सी. आर. को कारणले किसानलाई आर्थिक नोक्सानी हुनु ।
* आधुनिक स्वचालित मासु प्रोसेसिङ्ग प्लान्टमा मासु प्रोसेसिङ्गको लागि कुखुराको फ्लक अयोग्य हुनु ।
एकरुपता बिग्रने कारण र समाधानका उपाय
यस लेखमा कुखुराको फ्लक एकरुपता बिग्रने कारणहरुको बारेमा संक्षिप्तमा वर्णन गर्न खोजिएको छ ताकि व्रोइलर व्यवसायीले सो कारणहरुको पहिचान गर्न सकून र अधिकतम राम्रो एकरुपता कायम गर्ने उपायहरु अवलम्बन गर्न सकुन । व्रोइलर कुखुराको फ्लक एकरुपता बिग्रने कारणहरु निम्नानुसार छन् :
१. फरक लिङ्गको कारण
ह्याचारिबाट अण्डा कोरलिंदा प्राकृतिक रुपमा नै लगभग ५० प्रतिशत चल्ला भाले र लगभग ५० प्रतिशत चल्ला पोथी बनेर निस्किन्छन । कुनै विशेष प्रयोजनको लागि बाहेक व्रोइलर ह्याचारिमा Sexing (भाले र पोथी छुट्याउने प्रक्रिया) गर्ने चलन छैन । यस्तोमा व्रोइलर किसानको फार्ममा हुर्किरहेका कुखुरा पनि लगभग ५० प्रतिशत भाले र लगभग ५० प्रतिशत पोथी हुन्छन । प्राकृतिक रुपमा नै ६ हप्ताको अन्त्यमा भाले व्रोइलर कुखुरा पोथी भन्दा करिब १५० देखि २०० ग्राम जति बढि वजनको हुन्छ । यसरी प्राकृतिक रुपमा नै फरक लिङ्गको कारणले गर्दा व्रोइलरको फ्लकमा ५ देखि ८ प्रतिशत जति एकरुपता बिग्रन सक्छ । यसरी फरक लिङ्गको कारणले बिग्रने एकरुपतालाई कायम राख्नको लागि ह्याचारिमा फेदर सेक्सिंग (Feather Sexing) अर्थात प्वाँख हेरेर लिङ्ग छुट्याउने विधि अपनाएर भाले र पोथीलाई छुट्टाछुट्टै पाल्न सकिन्छ ।
२. चल्लाको माउको श्रोत फरक हुनु
जब ठुलो संख्यामा व्रोइलर चल्लाको अर्डर (माग) हुन्छ कहिलेकाहिँ ह्याचरी कम्पनिलाई एकै माउ फ्लकबाट अर्डर पूर्ति गर्न गाह्रो हुनसक्छ । फरक उमेर समूहका वा फरक जातका वा फरक व्यबस्थापन प्रणालीमा पालिएका माउबाट आएका अण्डाको तौल र गुण पनि फरक नै हुन्छ । अन्तत: फरक तौल र गुण भएका अण्डाबाट कोरलिने व्रोइलर चल्लापनि फरक-फरक तौलका नै हुन्छन । ह्याचरी कम्पनीले फरक माउ फ्लकबाट आएका चल्लालाई फरक बाक्सामा राखेर तीनलाई फरक चिन्ह लगाउन सक्छन ताकि व्रोइलर किसानले तीनलाई फरक स्थानमा ब्रुडिंग गर्न वा फरक खोरमा पाल्न सकून ।
३. फार्ममा पुर्याउन अघि नै चल्लालाई डिहाईड्रेशन हुनु
डिहाईड्रेशन हुनु भन्नाले शरीरमा पानीको मात्रा कम हुनु भन्ने बुझिन्छ । चल्लाको शरिरको ७० प्रतिशत तौल पानीले ओगटेको हुन्छ । डिहाईड्रेशनको कारणले गर्दा चल्लाको तौल ह्वात्तै घट्न सक्छ । चल्लालाई खोर / फार्ममा पुर्याउन अगाडी लामो समय ढुवानीमा खर्चिदा (विशेषगरी गर्मि महिनामा वा बढि गर्मि हुने स्थानमा) सजिलै डिहाईड्रेशन हुनसक्छ । फार्ममा पुग्ने वित्तिकै चल्लाले सफा र जीवाणुमुक्त पानी, प्रशस्त मात्रामा ग्लुकोज र इलेक्ट्रोलाईटको साथमा प्राप्त गर्नुपर्छ । ब्रुडिंग स्थानमा छोड्ने वित्तिकै सबै चल्लाले पानी खान सुरु गरिहालुन भन्ने कुरा अत्यन्तै महत्वपुर्ण हुन्छ । ह्याच भएको (मेसिनबाट कोरलिएको) लामो समयपछि मात्र पानी प्राप्त गर्ने चल्लाले ठुलो सुरुवाती तनाव बेहोर्नुपर्ने हुन्छ र दुई-तीन दिनमै चल्लाको एकरुपता व्यापक रुपमा बिग्रेको देख्न सकिन्छ । ह्याच भएपछी फार्मसम्मको ढुवानी अवधि सकभर कम भन्दा कम भएको राम्रो हुन्छ । तसर्थ, धेरै टाढा-टाढाबाट चल्ला ल्याउनु भन्दा पनि स्थानीय ह्याचरी कम्पनिबाट उत्पादित चल्ला राख्न सके डिहाईड्रेशनको समस्या कम हुन्छ । फार्ममा पुग्ने बित्तिकै चल्लाले प्रशस्त मात्रामा पानि खाऊन भन्नको लागि निम्न कुराहरु अवलम्बन गर्नुपर्छ -
* ब्रुडिंग गर्ने स्थानमा चल्ला छोड्नु अगाडी प्रत्येक चल्लाको चुच्चो पानीमा चोबेर मात्र छोड्ने ।
* पानीमा प्रशस्त मात्रामा ग्लुकोज र इलेक्ट्रोलाईट मिसाउने ।
* पानीको भाँडाको संख्या पहिलो ५ देखि ६ घण्टाको लागि सामान्य अवस्थामा भन्दा ५० देखि १०० प्रतिशतले वृद्दि गर्नसके राम्रो हुन्छ ।
४. ब्रुडिंग तापक्रम उचित नहुनु
सुरुवाती अवस्थामा चल्लाले आफ्नो ज्यानको तापक्रम आफै कायम गर्न नसक्ने हुनाले बाह्य श्रोतबाट तापक्रम दिईन्छ । मुख्यतया, ब्रुडिंग क्षेत्रफल को सबै स्थानमा समान तापक्रम हुनुपर्छ ताकि सबै चल्लाले समान तापक्रम प्राप्त गर्न सकून, साथै कतै थुप्रिने र कतै खालि हुने स्थिति पैदा नहोस । धेरैजसो किसानले ब्रुडिंगको लागि उचित तापक्रम दिनसक्ने ब्रुडरको प्रयोग गर्नुको साटो उचित तापक्रम भन्दा पनि बढि प्रकाश दिने खालको लाईट बल्ब प्रयोग गर्ने हुँदा उल्लेखित ब्रुडिंग तापक्रम कायम गर्न नसकेको अवस्था छ । फलस्वरूप: चल्लालाई चिसो हुने, काप्ने र एक ठाउँमा थुप्रिने हुन्छ । यसो हुँदा दाना नखाने (वा कम खाने) र उचित वजन प्राप्त गर्ननसक्ने हुन्छ । यसैको प्रतिफल स्वाभाविक रुपमा एकरुपता बिग्रिने हुन्छ । ब्रुडिंगको पहिलो हप्ता सोत्तरको सतहमा ९५ डिग्री फरेनहाईट (३५ डिग्री सेन्टीग्रेड) तापक्रम हुनुपर्छ । त्यसपछिको हप्तामा प्रत्येक हप्ता क्रमश: ५ डिग्री फरेनहाईटको दरले तापक्रम घटाउदै जानुपर्छ । दोश्रो हप्ता ९० डिग्री फरेनहाईट (३२.२ डिग्री सेन्टीग्रेड) र तेस्रो हप्ता ८५ डिग्री फरेनहाईट (२९.४ डिग्री सेन्टीग्रेड) हुनुपर्छ ।
५. भेन्टीलेशनको कमि
चल्ला ब्रुडिंग गर्ने बेलामा खोरभित्र उत्पादित एमोनिया (Ammonia) र कार्बोनडायोक्साईड (Carbondioxide) ग्याँस खोर बाहिर फाल्नुपर्ने हुन्छ र खोर बाहिरबाट स्वच्छ हावा खोरभित्र पस्नुपर्ने हुन्छ । यसो गर्नाको लागि खोर पूर्णतया छोपिने वा बन्द हुनेगरी पर्दा लगाउन हुदैन । ओपेन हाउस प्रणालीमा चिसो समयमा समेत पर्दा लगाउँदा हावाको संचार तथा निकासको लागि माथिपट्टि करिब डेढ देखि दुई फिट खुला छोड्ने गरी मात्र लगाउनुपर्छ । अन्यथा खोरभित्र एमोनिया ग्याँसको मात्रा अधिक हुन जान्छ । अधिक एमोनिया ग्याँसले श्वास नली क्षति गर्छ र रोग संक्रमण लाग्ने सम्भावना बढेर जान्छ । संक्रमणले कुनै चल्ला कम ग्रसित हुन्छन त कुनै बढि मात्रामा भएर फ्लकको एकरुपता बिग्रेर जान्छ । त्यस्तै एमोनिया ग्याँसको कारणले एमोनिया विषाक्तता (Toxicity) हुने, चल्लालाई खान अरुचि हुने, आँखा पिरो र धमिलो हुने जस्ता समस्या पनि देखापर्न सक्छन । विषाक्तताको कारणले मृगौलाको कार्यक्षमता कमजोर भई गाउट (Gout) र एसाइटिस (Ascites) जस्ता समस्या पनि जन्मिन सक्छन । यी सबै रोग समस्याहरुले एकरुपतामा नकारात्मक प्रभाव पार्छन ।
६. कुखुराले छानेर खाने प्रवृति
प्राकृतिक रुपमा नै कुखुराले ठूला-ठूला कण बढि खाने र मसिनो धुलो कम खाने बानी हुन्छ । मास दाना खुवाउँदा व्रोइलर चल्लाले छानेर दानाको ठूला-ठूला गेडा मात्र बढि खाने हुँदा पोषण सन्तुलन बिग्रन्छ । पोषण सन्तुलन बिग्रेपछि फ्लक एकरुपता पनि बिग्रन्छ । तसर्थ, पोषण सन्तुलनलाई कायम राख्न साना चल्लालाई प्रि-स्टार्टर चिक क्रम्बल्स र ठूला कुखुरालाई फिनिसर पेलेट (गोटी दाना) खुवाउनु उपयुक्त हुन्छ ।
७. खोरको क्षमताभन्दा बढी संख्यामा कुखुरा पाल्नु
किसानहरु प्रायगरी बढी मुनाफा लिने सोचाई सहित कुनैपनि खोरमा सकेजति बढी संख्यामा कुखुरा पाल्न लालायित हुन्छन । यो एकदम अल्पदृष्टि सोचाई हो किनभने खोरमा क्षमताभन्दा बढी संख्यामा कुखुरा भएमा यसले क्षेत्रफलको लागि मात्र नभएर दाना-पानी खाने ठाउँको लागि समेत कुखुराहरु बीच प्रतिस्पर्धा निम्त्याउँछ । साथै खोरमा बढी भिडभाड भएमा, खोरमा उपलब्ध हुने ताजा हावाको पनि कमि हुन्छ। यसरी सबै कुखुराले समान क्षेत्रफल, दाना-पानी र ताजा हावा लिने समान अवसर प्राप्त गर्न सक्दैनन् । बलिया कुखुराले पेलिराख्ने र तुलनात्मक कम बलियाहरु पेलिईराख्ने अवस्था सृजना हुन्छ । फलस्वरूप: कुखुराको एकरुपता गडबड हुन्छ । यसो भएमा बढी मुनाफाको साटो उल्टो घाटा हात लाग्ने सम्भावना बढी हुन्छ । खोरमा अनावश्यक भिडभाड भएमा कुखुरालाई तनाव पनि बढी हुन्छ र तनावकै कारणले कुखुरालाई ई. कोलाई (E.Coli) र माइकोप्लाज्मा (Mycoplasma) जस्ता जीवाणुको संक्रमण भइ कुखुराको एकरुपता गडबड हुन्छ । व्रोइलर कुखुरालाई सामान्यतया १ वर्ग फुट प्रति कुखुरा क्षेत्रफल दिनुपर्छ । गर्मीयाममा यो क्षेत्रफललाई १.२५ वर्ग फुट प्रति कुखुरा गर्नसके उपयुक्त हुन्छ ।
८. दाना पानीका भाँडा पर्याप्त नहुनु
प्रति सय कुखुरा बराबर ३ वटा फिडर र ३ वटा ड्रीङ्कर राख्दा उपयुक्त हुन्छ । दानापानी खाने ठाउँ अपुग भएमा कुखुराहरु बीच तीब्र प्रतिस्पर्धा हुन्छ र एकरुपता बिग्रन जान्छ । पर्याप्त संख्यामा फिडर र ड्रीङ्कर खरिद गर्दा हुने सुरुको लागानी राम्रो आम्दानि भएपछी छिटै नै उठाउन सकिन्छ । पर्याप्त फिडर र ड्रीङ्करको संख्याको लागि सुरुमा गर्नुपर्ने लगानीमा कन्जुस्याई गर्दा पछि राम्रो उत्पादन लिन सकिदैन । पानी सबैभन्दा महत्वपूर्ण पोषक तत्व हो । खासगरी गर्मीयाममा पर्याप्त पानी उपलब्धताको ठुलो महत्व हुन्छ । पानी खाने ठाउँ अपुग भएमा सबै कुखुराले पर्याप्त पानी प्राप्त गर्न नसकी डीहाइड्रेशन हुने, कमजोर हुने र एकरुपता बिग्रने हुन्छ । कुखुराले चौबिसै घण्टा सफा, स्वच्छ र चिसो पानि खान पाइराख्ने व्यवस्था मिलाउनुपर्छ ।
९. दानाको गुणस्तर
दाना उत्पादन एउटा वैज्ञानिक कला हो जुन विशेषज्ञ भेटेरिनरी डाक्टर वा न्यूट्रीशनिस्टको प्रत्यक्ष निगरानी र सर-सल्लाहमा मात्र गरिनु पर्दछ । कुखुराको नश्ल, उमेर र अवस्था अनुसार प्राप्त गर्नुपर्ने पोषक तत्वहरुको सन्तुलित समिश्रण बनाएर दानाको फर्मूलेशन गर्नुपर्छ । खालि दाना फर्मूलेशन मात्र गतिलो भएर पनि हुँदैन, दाना बनाउन प्रयोग गरिने कच्चा पदार्थको गुणस्तर पनि राम्रो हुनुपर्छ । त्यस्तै दानालाई उचित साईजमा पिस्नु पनि त्यत्तिकै महत्वपूर्ण छ । उल्लेखित कुनैपनि पक्षमा कमजोरी भएमा दाना सन्तुलित नहुने, कुखुराले छानेर खाने, कुपोषणको सिकार भई रोग प्रतिरोधात्मक क्षमता घट्ने साथै रोग-ब्यादी लाग्ने हुनसक्छ । फलस्वरूप शारीरिक वृद्दीदार र एकरुपतामा नकारात्मक असर पर्न जान्छ ।
१०. रोग-ब्यादी
कुखुराको फ्लकमा कुनैपनि रोग संक्रमण लागेपछि शारीरिक तौलको एकरुपतामा बिग्रन जान्छ एकरुपतालाई बिग्रह गर्दै किसानवरको आर्थिक उपार्जनलाई ठुलो धक्का दिने केहि महत्वपूर्ण रोगहरु निम्न अनुसार छन् ।
* सि. आर. डि. (CRD)
* ई. कोलाईको संक्रमण (Colibacillosis)
* नेक्रोटिक इन्टेराईटिस (Necrotic Enteritis)
* कक्सीडियोसिस (Coccidiosis)
निश्कर्ष : ब्रोइलर पालन व्यवस्थापनले फ्लक एकरुपतालाई इष्टतम उत्पादनको पर्यायको रुपमा अङ्गाल्नु पर्दछ । फ्लक एकरूपता एक दिनको उमेरमा सुरु हुन्छ, र बगालको जीवनभरि जारी रहन्छ । एकरूपता पैसा हो, जसले बजारमा पुग्ने ब्रोइलरको वजन अनुसार मुल्य निर्धारण गर्दछ । लाभ बढाउन अधिकतम एकरूपता आवश्यक पर्दछ ।
सन्दर्भ- सामग्री:
- v Toudic, C. (2007). Evaluating Uniformity in Broilers - Factors Affecting Variation. The Poultry Site. Retrieved from http://www.thepoultrysite.com/articles/725/evaluating-uniformity-in-broilers-factors-affecting-variation on 5th April 2018
-
Ali, (2014). How to improve uniformity in broiler flocks. Engormix.com. Retrieved from https://en.engormix.com/poultry-industry/forums/how-improve-uniformity-broiler-t29861/ on 6th April 2018
-
Flock uniformity in 3 simple steps. Retrieved from https://www.val-co.com/flock-uniformity-3-simple-steps on 7th April 2018
-
Cosgriff, B. (2009). Uniformity Equals Profitability. WATTAgNet.com. Retrieved from https://www.wattagnet.com/articles/610-uniformity-equals-profitability on 8th April 2018
-
Madsen, T.G. & J.R. Pedersen. (2010). Broiler flock uniformity key. FeedStuffs: Nutrition and Health
-
Flock Uniformity. Cobb-vantress.com. Retrieved from http://www.cobb-vantress.com/academy/articles/article/academy/2015/04/04/flock-uniformity on 6th April, 2018
-
कुखुरा पालन पुस्तिका. २०७३. केन्द्रिय बंगुर कुखुरा प्रवर्द्धन कार्यालय, हरिहरभवन, ललितपुर