रेबिज रोग र जनस्वास्थ्य
रेबिज (Rabies) मानिस र अन्य स्तन्धारी प्राणिमा, रेबिजबाट ग्रसित जनावरको टोकाइबाट सर्ने एउटा प्राणघातक रोग हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर प्रत्यक वर्ष ५९००० भन्दा बढी मानिसहरु यो रोग लागेर मर्दछन् र रेबिज रोग लागेर मृत्यु हुनेमा ९५ प्रतिशत मानिस एसिया र अफ्रिकाका बासिन्दा पर्दछन् । रोगी पशुको टोकाइ पछि मृत्यु हुनेमा ४० प्रतिशत १५ वर्ष मुनिका बालबालिका पर्दछन् । तथ्यांक अनुसार नेपालको सन्दर्भमा प्रति वर्ष १० देखि १०० व्यक्ति, १०० पशुको रेबिज रोग लागेर मृत्यु हुने र १००० पशु एवं ३५००० व्यक्तिले शंकास्पद रोगी जनावरको टोकाइ पछि रोगबाट बच्न खोप लिने गरेको अनुमान छ । विश्वका १५० भन्दा बढी देशहरुमा व्याप्त रहेको यो रोग लागि सकेपछी कुनै पनि हालतमा रोगिलाइ बचाउन सकिँदैन तर बौलाहा पशुले टोक्नासाथ समयमै रोकथामका उपायहरु (साबुन पानीले घाउ धुने, रेबिज विरुद्धको खोप लगाउने र आवश्यकता अनुसार थप हाइपरइम्युन सिरम लगाउने) गरेमा शतप्रतिशत नै रोगबाट वच्न सकिन्छ । रेबिज रोगका विषाणुहरु रोगी पशुको मुख, मस्तिष्क, स्नायु, नसा, फोक्सो, मृगौला, छाला र आंखामा प्रशस्त मात्रामा हुने हुंदा यस्तो पशुको मासु काट्दा र छुंदा रोग सर्ने डर हुन्छ ।
रेबिज रोग सर्ने तरिका
रेबिज ग्रसित जनावरको टोकाइ अथवा उक्त भाइरस संक्रमित पशुहरुको र्याल वा अन्य पदार्थ मानिसको शरिरको घाउ भएको वा छाला खोस्रीएको ठाउँ वा नाक, मुख र आंखामा लागेमा वा रोगी मानिसको आंखाको नानि निरोगी व्यक्तिमा प्रत्यारोपण गर्दा रेबिग रोग सर्दछ । रेबिजका श्रोत र सम्वाहक पशुहरु जस्तै कुकुर, स्याल, ब्वांसो, फ्याउरो, न्याउरीमुसो र मांशहारी चमेरोको टोकाइ बाट सर्ने यो रोगद्वारा सबै भन्दा धेरै मृत्यु (९९ प्रतिशत सम्म, विश्व स्वास्थ्य संगठनका अनुसार) बौलाहा कुकुरबाट नै हुन्छ ।
जनावर र मानिसमा रेबिजका लक्षणहरु
रेबिज रोग लागेका जनावरहरु रिसाहा, झोक्रीने, झम्टिने, जे पायो त्यही टोक्ने जस्ता लक्षण हरु संगै अनौठो व्यवहार देखाउंछन् । मानिसमा रेबिज भाइरस प्रवेश गरेको एक हप्ता भित्र देखि एक वर्ष पश्चात् पनि लक्षण देखा पर्दछन् । जनावरले टोकेको ठाउंमा दुख्ने, झम्झमाउने, एक्कासी चिलाउने जस्ता लक्षण सुरुमा देखिन्छन् भने त्यसपछी ज्वरो आउने, जाडो लाग्ने, थकित हुने, शरिरका मांशपेशीहरु दुख्ने र झर्कने जस्ता लक्षण बिरामीमा देखा पर्दछन् । रेबिजको अन्तिम अवस्थामा श्वास फेर्न, पानी पिउन र खानेकुरा निल्न पनि नमिल्ने भइ मृत्यु हुन्छ ।
शंकास्पद जनावरले टोकेमा के गर्ने
शंकालु पशुले टोकेको ठाउंमा साबुन पानीले १५ मिनेटसम्म धुने, आयोडिनको झोलले सफा गरि रेबिजको खोप तथा टिटानसको सुइ लगाउनुपर्दछ । जनावरको प्रकृति, घाउको आकार तथा शरिरको कुन ठाउंमा टोकेको हो, त्यसअनुसार चिकित्सकको सल्लाह बमोजिम टोकेको २४ घन्टा भित्रै रेबिजको खोप तथा इम्युनोग्लोबुलिनको सुइ लगाउनु पर्दछ । त्यससँगै उक्त पशुलाइ कम्तिमा १० दिन नियन्त्रण अथवा निगरानीमा राख्ने व्यवस्था गर्नुपर्दछ र उक्त दिन भित्र पशुको मृत्यु भएमा रोग निदानको लागि प्रयोगशालामा पठाउने अथवा नजिकको पशु स्वास्थ्य केन्द्रमा जानकारी गराउनुपर्दछ । प्रयोगशालाको नतिजाको आधारमा चिकित्सकको सल्लाह बमोजिम खोपलाइ निरन्तरता दिनु वा बन्द गर्नु पर्दछ । रेबिज रोग संवाहक पशुहरु (विशेष गरि बौलाहा कुकुर) ले टोक्नु भन्दा अगाडि ०,७,२१ वा २८ दिनमा ३ ओटा खोप लगाइ रोकथाम गर्न सकिन्छ भने टोकेपछि ०,३,७,१४,२८ दिनमा ५ ओटा खोप लगाएर यो रोगबाट बच्न सकिन्छ ।
भरपर्दो उत्पादन कर्ताबाट उत्पादित, म्याद ननाघेको, उपयुक्त गुणस्तर कायम रहेको र चिसोमा भण्डारण गरेको खोप मात्र प्रयोगमा ल्याउनु पर्दछ । हाल विश्व स्वास्थ्य संगठन (WHO), विश्व पशु स्वास्थ्य संगठन (OIE), FAO र GARC ले संयुक्त रुपमा यो रोग नियन्त्रणको लागि काम गर्दै आएका छन् । त्यस अन्तर्गत प्रत्यक वर्ष सेप्टेम्बर २८ को दिनलाइ विश्व रेबिज दिवसको रुपमा मनाइ एउटा नारा बनाइ रेबिज रोग उन्मुलनको दिशामा अघि बढिएको अवस्था छ । यो वर्षको नारा “Rabies: Zero by 30” यानकी सन् २०३० भित्र रेबिज रोगद्वारा मानिसको मृत्युलाई विश्व भर शुन्य बनाउने लक्ष्य अनुरुप जनचेतनामूलक कार्यक्रम, निशुल्क खोप कार्यक्रम, भुस्याहा कुकुरको बिगबिगी नियन्त्रण जस्ता कार्यहरु विभिन्न सरकारी, गैरसरकारी संस्थाहरु मार्फत भैरहेको छ ।
स्मरण रहोस् रेबिज शतप्रतिशत घातक हो भने शत प्रतिशत रोकथाम गर्न सकिने रोग पनि हो । यसबाट बच्न आफ्ना कुकुर बिरालालाइ यस विरुद्धको खोप प्रत्यक वर्ष लगाऔं, समुदायमा जंगली जनावारको प्रवेश रोकौं र यदि संकास्पद पशुले टोकेमा माथी उल्लेखित उपचार पद्धती अपनाऔं ।