पोल्ट्री उत्पादनमा खनिज पदार्थको महत्व
शरीरको हरेक भागमा खनिज तत्व रहेको हुन्छ र शारिरिक मेटाबलिजममा विभिन्न खनिजको आआफ्नै कामहरु हुन्छन् । खनिज तत्वले विशेषत हड्डी बनावट, अस्मोटिक प्रेसर सन्तुलन, विभिन्न रासायनिक प्रकृयामा आफ्नो भूमिका निर्वाह गर्दछन् । पशुपंछिको शरीरमा बिभिन्न भागमा करीब ४० वटा खनिज तत्वहरु पाईन्छन् जसमध्य १४ वटा अत्यन्त आवश्यक हुन्छन् । लिड, सेलेनियम, कपर, आर्सनिक जस्ता कतिपय खनिजहरु आवश्यक्ता भन्दा भएमा विषाक्तको रुप लिन्छन् ।
चुन्ढुङ्गा (Limestone), मार्बल चिप्स (Marble Chips), हाडको चुर्ण (Bone Meal), ग्रिट, ओस्टर सेल (Oyester Shell), नुन, डिसिपी (Di-Calcium Phosphate), एम् सि पी (Mono-Calcium Phosphate), आदी दानामा खनिज तत्वको मात्रा पुरा गर्न समावेश गरिन्छ । खनिज पदार्थहरु प्रमुख र थोरै मात्रामा चाहिने खनिज तत्वहरु गरी दुई प्रकारका हुन्छन् ।
 
  प्रमुख खनिज तत्वहरु :
  • क्याल्सियम
  • फस्फोरस
  • म्याग्नेसियम
  • सोडियम
  • क्लोरिन
  • पोटासियम
  • सल्फर
 थोरै मात्रामा चाहिने खनिज पदार्थहरु :
  • म्याग्निज
  • क्रोमियम
  • आइरन
  • कोबाल्ट
  • कपर
  • आयोडिन
  • सेलेनियम
  • जिङ्क
  • मोलिब्डेनम
  • सिलिकन
  • फ्लोरिन
 विभिन्न खनिज पदार्थको कमिले उत्पन्न हुने समस्याहरु :

 ) क्याल्सियमः शरीरको अस्थिपन्जर (हाड)मा क्याल्सियमको फस्फोरस संगै ठुलो हिस्सा रहेको हुन्छ । हड्डिको बिकास, अन्डाको बोक्रो बनाउन, मुटुको धड्कन सामान्य अवस्थामा राख्न, शरीरमा अम्लिय तथा क्षारियपन मिलाउन, रगत जम्न आवश्यक पर्ने सबैभन्दा महत्वपूर्ण खनिज हो । ब्रोइलर कुखुराको आहरामा १.० देखी १.२ प्रतिशत, लेयर्स कुखुराको आहरामा १ देखी ४.५ प्रतिशत, ब्रोइलर ब्रिडर कुखुराको आहरामा १ देखी ३ प्रतिशत र लेयर्स ब्रिडर कुखुराको आहरामा १ देखी ४.५ प्रतिशत सम्म क्याल्सियमको आवश्यकता पर्दछ । क्याल्सियम अभाव भएमा रिकेट्स (साना चल्लामा), अण्डा पातलो हुने, उत्पादनमा कमी आउने, दानापानी प्रती अरुची, लङ्गडाउने, केज लेयर फ्याटिग सिन्ड्रोम (आफ्नो खुट्टामा उभिन नसक्ने) जस्ता लक्षण देखिन्छन् । Cage layer fatigue syndrome; Source: http://www.thepoultrysite.com/publications/6/diseases-of-poultry/234/cage-layer-fatigue/
Cage layer fatigue syndrome; 
Source: http://www.thepoultrysite.com/publications/6/diseases-of-poultry/234/cage-layer-fatigue/
 
) फस्फोरसः शरीरको अस्थिपन्जर (हाड)मा क्याल्सियमसंगै फस्फोरसको ठुलो हिस्सा रहेको हुन्छ । क्याल्सियम संगै हड्डिको बिकास, शरीरमा अम्लिय तथा क्षारियपन मिलाउन आवश्यक पर्ने महत्वपूर्ण खनिज हो । फसफोरसले कार्बोहाइड्रेट्स तथा चिल्लो पदार्थलाई टुक्राउने काम पनि गर्दछ । ब्रोइलर र लेयर्स कुखुराको आहरामा ०.३८ देखी ०.४५ प्रतिशत, ब्रोइलर ब्रिडर कुखुराको आहरामा ०.४५ प्रतिशत र लेयर्स ब्रिडर कुखुराको आहरामा ०.३७ देखी ०.६६ प्रतिशत सम्म एभाइलेबल फस्फोरसको आवश्यकता पर्दछ ।
फस्फोरस अभाव भएमा रिकेट्स (साना चल्लामा), अण्डा पातलो हुने, उत्पादनमा कमी आउने, दानापानी प्रती अरुची जस्ता लक्षण देखिन्छन् ।
क्याल्सियम र फस्फोरसको उप्लब्धता २:१ को अनुपातमा हुनु पर्दछ । यो अनुपात नमिलेमा शरीरलाई असहज हुन्छ । क्याल्सियम र फस्फोरसको श्रोतको रुपमा चुन्ढुङ्गा, ग्रिट, मार्वल चिप्स, डिसिपी, हड्डिको धुलो, माछाको धुलो, एमसिपी, आदी दानामा प्रयोग गर्न सकिन्छ । कुखुराको दानामा क्याल्सियम र फस्फोरसको मात्रा अत्यधिक बढी भएमा म्याग्निज तत्वको शोषणमा कमी हुन जान्छ ।
 
 ) म्याग्नेसियमः शरीरमा म्याग्नेसियम हड्डी बन्न, विभिन्न रसायनिक प्रकृयाका इन्जाइमहरुलाई सकृय पार्न, सोडियम र पोटासियमको मेटाबलिजम, शारिरिक व्रिद्धी, शरीरको प्राकृतिक रक्षा प्रणाली, मांशपेशी संकुचन, स्नायु प्रसारण, क्याल्सियम र भिटामिन डि सन्तुलन जस्ता महत्वपूर्ण कृयाकलापको लागि आवश्यक पर्छ । गहुंको चोकर, कपासको बियांको पिना, चुन्ढुंगा, म्याग्नेसियम अक्साइड,आदिलाई यसको श्रोतको रुपमा दानामा मिसाउन सकिन्छ । ब्रोइलर कुखुराको आहरामा ६०० मिलिग्राम र लेयर्स कुखुराको आहरामा ३७० देखी ५७० मिलिग्राम प्रती केजी सम्म म्याग्नेसियम आवश्यकता पर्दछ ।
म्याग्नेसियमको कमी भएमा कुखुरामा मुर्छा पर्ने, शारिरिक व्रिद्धीमा कमी हुने, अण्डा उत्पादनमा गिरावट, केही समय छट्पटाउने र त्यस्पस्चात हल्चल नगरि मर्ने लक्षण देखाउंछन् ।
 
 ) पोटासियमः शरीरमा इलेक्ट्रोलाइट सन्तुलन गर्न, मांशपेशी संकुचन, मुटुको धड्कन सामान्य अवस्थामा राख्न, स्नायु प्रसारण, विभिन्न रसायनिक प्रकृयाका इन्जाइमहरुलाई सकृय पार्न, कार्बोहाइड्रेट्स र प्रोटिन मेटाबलिजम, पाचन प्रकृयामा पोटासियम आवश्यक पर्दछ । मकै, गहुं, सुर्यमुखी, हरियो घांसपात, मासुको धुलो पोटासियमका श्रोतहरु हुन् । ब्रोइलर कुखुराको आहरामा ०.३ प्रतिशत, लेयर्स कुखुराको आहरामा ०.२५ प्रतिशत, ब्रोइलर कुखुराको आहरामा ०.६ प्रतिशत पोटासियमको आवश्यकता पर्दछ । पोटासियमको कमी भएमा अस्मोरेगुलेसन (अम्लियपन क्षारियपनमा) असन्तुलन, शारिरिक व्रिद्धीमा रोकावट, मृत्युदर बढी हुने, कमजोर भई मर्ने जस्ता लक्षण देखिन्छन् ।
 
 ) सोडियमः शरीरमा इलेक्ट्रोलाइट सन्तुलनमा सोडियमको मुख्य भूमिका रहेको हुन्छ । यसले मांशपेशीहरुलाई मजबुत राख्ने, पेटमा हाइड्रोक्लोरिक एसिड बनाउन सहयोग गर्ने, खानामा रुची जगाउने, कार्बोहाइड्रेट्स सोस्न सहयोग पुर्याउने काम गर्दछ । नुन नै सोडियमको प्रमुख श्रोत हो । मकै, जै, गहुंको ढुटोमा पनि सोडियम पाईन्छ । सानो उमेरका चल्लालाई ०.१५ प्रतिशत र लेयर्स कुखुराको आहरामा ०.१७ देखी ०.१९ प्रतिशत, ब्रोइलर ब्रिडर कुखुराको आहरामा ०.१५ देखी ०.२ प्रतिशत र लेयर्स ब्रिडर कुखुराको आहरामा ०.१६ देखी ०.१८ प्रतिशत सोडियमको आवश्यकता पर्दछ । सोडियम र क्लोराइड अनुपात १:१ हुनुपर्दछ ।
शरीरमा सोडियमको कमी भएमा कुखुराहरु नबढ्ने, अन्डा उत्पादनमा ह्रास, हड्डीहरु नरम हुने, आँखामा धब्बा पर्ने, प्रजनन कार्यमा अवरोध पुग्ने, ठुंगाठुंग बढ्ने जस्ता लक्षण देखिन्छन् । कुखुराको दानामा सोडियमको मात्रा बढी भएमा विषाक्त भई शरीरलाई बढी पानी चाहिन्छ, फलस्वरुप इलेक्ट्रोलाइट असन्तुलन, अन्डाको बोक्रो कम्सल बन्ने, अण्डा प्रजनन् मा ह्रास आउने समस्या देखिन्छन् ।
 
 ) क्लोराइड (क्लोरिन)ः पेटमा हाइड्रोक्लोरिक एसिड बन्न, कार्बन्डाइोक्साइड बोक्न, सोडियमसंगै कार्य गर्न शरीरमा क्लोरिन आवश्यक पर्दछ । नुन, फिश मिल दानामा क्लोराइडका श्रोत हुन् । ब्रोइलर कुखुराको आहरामा ०.१२ देखी ०.२  प्रतिशत, लेयर्स कुखुराको आहरामा ०.११ देखी ०.१२ प्रतिशत, ब्रोइलर ब्रिडर कुखुराको आहरामा ०.१५ देखी ०.२ प्रतिशत र लेयर्स ब्रिडर कुखुराको आहरामा ०.१६ देखी ०.२ प्रतिशत क्लोराइडको आवश्यकता पर्दछ । सोडियम र क्लोराइड अनुपात १:१ हुनुपर्दछ ।
क्लोराइडको कमी भएमा शारिरिक व्रिद्धिमा अत्यन्तै कमी, कमजोर खुट्टाहरु, हड्डिमा खनिज नपुग्ने, मृत्युदर बढ्ने, निर्ज्लिकरण हुने जस्ता समस्या देखिन्छन् ।
 
 ) सल्फरः सल्फर प्रोटिनको रुपमा कुखुराले खाने हुनाले कार्टिलेज, प्वांख र नंग्रा बन्नमा यसको भूमिका हुन्छ । शरीरमा भएको विषाक्तलाई हटाउने र रगत जम्न नदिने काम गर्दछ ।
सल्फरको कमिले प्रोटिनको कमी हुन्छ, जस्ले गर्दा प्वांख, नंग्रा र कार्टिलेजको व्रिद्धिमा कमी आउंछ ।
 
 ) आयोडिनः आयोडिन थायराइड ग्रन्थिमा थाइरक्सिनको रुपमा रहेको हुन्छ । यसले शारिरिक तथा वौद्धिक बिकास, खानालाई पचाउने र शरीरमा सोसी शरिरका तन्तुहरुमा पुर्याउने, प्रजनन अङ्गहरुको कृयाकलापमा सन्तुलन, प्वांखको व्रिद्धी काममा मद्धत गर्दछ । माछाको धुलो, मासुको धुलो, हड्डिको धुलो, खुदो, आयोडाइड साल्ट, आदी आयोडिनका श्रोतहरु हुन् । ब्रोइलर कुखुराको आहरामा मिलिग्राम, लेयर्स कुखुराको आहरामा ०.३३ मिलिग्राम, ब्रोइलर ब्रिडर कुखुराको आहरामा १.२ मिलिग्राम र लेयर्स ब्रिडर कुखुराको आहरामा ०.५ देखी १ मिलिग्राम प्रती केजी सम्म आयोडिन आवश्यकता पर्दछ ।
यसको कमिबाट थाइराइड ग्रन्थिको आकार बढ्ने, अण्डा उत्पादनमा ह्रास आउने तथा फुल पार्ने कुखुराहरु मोटाउने, चल्ला थोरै निस्किने, असामान्य र लामा प्वांख हुने, प्रजनन अङ्गहरुको कृयाकलापमा ह्रास, शरीरको प्रतिरक्षा प्रणालिमा कमी हुन्छ 
 
 ) आईरनः रगतमा हुने हेमोग्लोबिन तथा मांशपेशिमा हुने मायोग्लोबिन, शरीरका विभिन्न इन्जाइमको अङ्गको रुपमा आइरन रहेको हुन्छ । माछाको धुलो, फेरस सल्फेट, फेरस क्लोराइड, फेरस साइट्रेट, आदिलाई आइरनको श्रोतका रुपमा दानामा मिसाउन सकिन्छ । ब्रोइलर कुखुराको आहरामा ८० मिलिग्राम, लेयर्स कुखुराको आहरामा ५६ देखी ७५ मिलिग्राम, ब्रोइलर ब्रिडर कुखुराको आहरामा ६० मिलिग्राम र लेयर्स ब्रिडर कुखुराको आहरामा ३५ देखी ५०  मिलिग्राम प्रती केजी सम्म आइरन आवश्यकता पर्दछ ।
आइरनको कमी भएमा शारिरिक व्रिद्धिमा कमी, रक्तअल्पता, मुटु बढ्ने, प्वांखमा रङ्ग नआउने जस्ता समस्या देखिन्छन् ।  
 
 १०) जिन्कः प्रोटिन निर्माण तथा मेटाबलिजम, इन्सुलिन बन्न, शरीरको प्रतिरक्षा प्रणाली, एन्टिअक्सिडेन्टको रुपमा जिन्कको आवश्यकता पर्दछ । माछाको धुलो, गहुं, जिन्क कार्बोनेट, जिन्क सल्फेट जिन्कका श्रोतहरु हुन् । ब्रोइलर कुखुराको आहरामा ४० मिलिग्राम, लेयर्स कुखुराको आहरामा ३३ देखी ३८ मिलिग्राम, ब्रोइलर ब्रिडर कुखुराको आहरामा ७८ मिलिग्राम र लेयर्स ब्रिडर कुखुराको आहरामा ६५ देखी ७० मिलिग्राम प्रती केजी सम्म जिन्क आवश्यकता पर्दछ । यसको कमी भएमा शारिरिक व्रिद्धी नहुने, अन्डा उत्पादन घट्ने, प्रजनन् क्षमतामा ह्रास आउने, प्वांख कम उम्रने, लामो हाडहरु छोटा र मोटा हुने, जोर्निहरु सुन्निने, खुट्टाको डर्माटाइटिस, खाना रुचिमा कमी आउने जस्ता समस्या देखिन्छन् ।
 
 ११) म्याग्निजः म्याग्निजले शरीरका विभिन्न रसायनिक प्रकृयाका इन्जाइमलाई सकृय बनाउने काम गर्दछ । म्याग्निज सल्फेटको रुपमा दानामा मिसाइन्छ । म्याग्निज सल्फेटलाई म्याग्निजको श्रोतको रुपमा दानामा मिसाउन सकिन्छ ।  ब्रोइलर कुखुराको आहरामा ६० मिलिग्राम, लेयर्स कुखुराको आहरामा २८ देखी ५६ मिलिग्राम, ब्रोइलर ब्रिडर कुखुराको आहरामा १०० मिलिग्राम र लेयर्स ब्रिडर कुखुराको आहरामा ५० देखी ७० मिलिग्राम प्रती केजी सम्म म्याग्निज आवश्यकता पर्दछ । यसको कमिले शरिर र हड्डिको बिकास हुन पाउंदैन, चिल्लो पदार्थ मेटाबलिजममा असर पुग्छ, पेरोसिस (खुट्टाको टेन्डन स्लिप हुने) तथा अन्डाको बोक्रो राम्ररी बन्न पाउंदैन । 
Perosis; 
Source: http://www.thepoultrysite.com/publications/6/diseases-of-poultry/220/slipped-tendon-perosis/
 १२) सेलेनियमः सेलेनियमले चल्लाहरुमा पत्थरी र इन्सेफालोमाइलाइटिस हुनबाट जोगाउने, भिटामिन ई सोस्न र संरक्षण गर्न, एन्टीअक्सिडेन्ट, शरीरको प्राकृतिक प्रतिरक्षा प्रणालीमा सहयोगको काम गर्दछ । माछाको धुलो सेलेनियमको प्रमुख श्रोत हो । ब्रोइलर कुखुराको आहरामा ०.१० देखी ०.१५ मिलिग्राम, लेयर्स कुखुराको आहरामा ०.१० देखी ०.१४ मिलिग्राम, ब्रोइलर ब्रिडर कुखुराको आहरामा ०.२२ मिलिग्राम र लेयर्स ब्रिडर कुखुराको आहरामा ०.१५ देखी ०.३० मिलिग्राम प्रती केजी सम्म सेलेनियम आवश्यकता पर्दछ । यसको कमिबाट फियोमा विक्रिती, शरीरको प्राकृतिक प्रतिरक्षा प्रणालीमा असर, पत्थरी र मांशपेशिमा विक्रिती आउंछ ।
Paresis due to Vit E & Selenium deficiency; 
Source : http://www.poultrydisease.ir/atlases/avian-atlas/search/disease/521.html
 
 १३) कपरः रगतमा हुने हेमोग्लोबिन सन्तुलन, रातो कोषिकाको व्रिद्धी, विभिन्न इन्जाइमको सकृयताको लागि शरीरमा कपर आवश्यक पर्दछ । कपर सल्फेट, कपर प्रोटिनेट, कपर लाइसिनलाई कपरको श्रोतको रुपमा दानामा मिसाउन सकिन्छ । ब्रोइलर कुखुराको आहरामा ८ मिलिग्राम, लेयर्स कुखुराको आहरामा ४ देखी ५ मिलिग्राम, ब्रोइलर ब्रिडर कुखुराको आहरामा १० मिलिग्राम र लेयर्स ब्रिडर कुखुराको आहरामा ५ देखी १० मिलिग्राम प्रती केजी सम्म कपर आवश्यकता पर्दछ । रक्तअल्पता, मुटु ठुलो हुने, हड्डी कमजोर हुने तथा खुट्टाको कम्जोरिपन जस्ता समस्या कपरको कमिले देखिन्छ ।
 
 १४) कोबाल्टः कोबाल्टले शरीरमा रगत स्वस्थ राख्ने, विभिन्न इन्जाइम सकृय बनाउने काम गर्दछ । कोशे घांसपात, कलेजोको धुलो यसका श्रोत हुन् । कोबाल्टको कमी भएमा खाना रुची घट्ने, रक्तअल्पता हुने, दुब्लाउने समस्या देखा पर्छन् ।
अन्य केही ट्रेस मिनेरल (थोरै मात्रामा चाहिने खनिज पदार्थहरु) को शरीरमा आफ्नै भूमिका रहेका हुन्छन् । खनिजहरूले पोल्ट्री पोषणमा महत्त्वपूर्ण भूमिका खेल्छन् । दानामा यिनिहरुको आपुर्ती विभिन्न वर्गका कुखुराहरुको आवश्यकताहरू, श्रोत चयन र  खनिजको गुणस्तरहरुलाई मध्यनजर गरी गर्नु पर्छ । दानामा प्रयोग हुने कच्चा पदार्थहरु बाट केही खनिज तत्वहरु प्राप्त हुन्छन भने केही प्रिमिक्सको रुपमा थप्नु पर्दछ ।
माथि उल्लेख गरिए जस्तै, कुखुराको शरिरमा खनिज तत्वहरुको अभावले धेरै स्वास्थ्य समस्या उत्पन्न गर्न सक्छ, केही अवस्थामा मृत्यु समेत हुन सक्छ । यसकारण, पोषक कमजोरीहरू रोक्न वा कमजोरीका लक्षणहरू देखा पर्ना साथ, कुखुरालाई आवश्यक पर्ने मात्रा पुगे नपुगेको निर्क्योल गर्नु पर्छ ।

डा. युवराज पन्थ
Technical Officer
Lumbini Agro Industries Pvt Ltd. , Butwal