पशुमा गर्मीको कारणबाट हुने तनाव र गर्भाधारण दर

 

गाइभैंसीमा गर्मीको कारणबाट हुने तनाव र गर्भाधारण दरः वातावरणको तापक्रम बढी र कम भएको अवस्थामा धेरै पशुहरु विशेष गरी भैसी वाली जादैनन् । गाइभैंसीमा गर्मीको कारणबाट हुने तनावबाट गाइभैंसीको डिम्वोसर्ग (Ovulation) मा प्रत्यक्ष असर पार्ने हुनाले प्रजनन् कुशलतामा पनि गम्भिर असर पर्छ । 

गर्मीको बेला ल्युटिनाइजिङ हर्मोन (Luteinizing Hormone) तथा इस्ट्राडिओल (Estradiol) हर्मोनहरुको उत्पादनमा गडवडी हुनगई प्रजनन् सम्वन्धि समस्या उत्पन्न हुन्छ जसले गर्दा भाले खोजेको लक्षणहरू (Expression of Estrus Signs) पनि प्रष्ट देखाउँदैनन् ।

तापक्रम बढी भएको अवस्थामा शरीरमा Cortisol हर्मोनको उत्पादन बढ्दछ जसले गर्दा Estradiol हर्मोनको उत्पादनलाइ रोक्दछ र ऋतुकालमा देखिने लक्षणहरू अप्रष्ट हुन्छन् । Cortisol हर्मोनले रगतमा Progesterone हर्मोनको मात्रालाइ बढाइ दिन्छ जसको नेगेटिभ पृष्ठपोषणले हाइपोथालामस (Hypothalamus) बाट पनि कम GnRH उत्पादन हुन्छ फलस्वरूप रगतमा ल्युटिनाइजिङ हर्मोन र इस्ट्राडिओल हर्मोनहरुको मात्रामा पनि कमि आउँछ । इस्ट्राडिओल हर्मोनले भाले खोजेको लक्षण देखाउनमा सहयोग पुर्याउँदछ भने ल्युटिनाइजिङ हर्मोनले डिम्वोसर्गमा प्रत्यक्ष भुमिका खेलेको हुन्छ । इस्ट्राडिओल हर्मोनले कमिले गर्दा डिम्वासयको ग्रानुलोसा सेल (Granulosa Cell) मा FSH र LH को रिसेप्टल्सहरू (Receptors) मा पनि कमि आउँदछ । यसका अलावा इस्ट्राडिओल हर्मोनले कमिले करपस ल्युटियम (Corpus luteum) लाइ प्रत्यावर्तन (Regression) हुनबाट रोक्दछ ।

हालसालै अमेरिकाको फ्लोरीडामा गरिएको एक अनुसन्धानका अनुसार गर्मी मौषमा ७६ देखि ८२ प्रतिशत गाइहरूमा मन्द ऋतुकाल हुने देखाएको छ, जुन सामान्यतः ४४ देखि ६५ प्रतिशत रहेको छ । गर्मीले गाइको शारिरीक क्रियाकलापमा कमि ल्याउने हुनाले पनि भाले खोजिएको लक्षण प्रष्ट देखिदैंन ।  यस्तो बेला पशु ऋतुकालमा आउने तर ऋतुकाल कमजोर, छोटो तथा मन्द भई पत्ता लगाउन गाह्रो हुन्छ । यदि शरीरको तापक्रम ४० डिग्री सेन्टिग्रेड भन्दा बढी छ भने यसको असरले भ्रुणको मृत्यु हुन जान्छ । गर्मीको कारणबाट हुने तनावले गाइलाइ गर्भाधान गरिसकेपछि प्रजनन् क्षमतामा खासै असर पार्दैन तथापि डिम्वको गुणस्तरमा कमी हुन गइ भ्रण विकासमा नकारात्मक प्रभाव पार्दछ । अनुसन्धानका अनुसार यदि गाइको पाठेघरको तापक्रम सामान्य भन्दा 0.9oF ले वृद्धि भएमा गर्भाधान दरमा 6.9 प्रतिशतले कमि हुन जान्छ । त्यसै कारण गर्मी मौषममा प्रजनन् दर निकै कम हुन्छ । यस्तो अवस्थामा प्रायः गाइभैंसी ४० देखि ६० दिनमा पुनः ऋतुकालको लक्षण देखाउने गरेको पाइन्छ । उचित व्यवस्थापनको कारणबाट मात्र यसको समाधान गर्न सकिन्छ ।

गर्मीको कारणबाट हुने तनाव व्यवस्थापनका उपायहरुः (Heat Stress Management)

@ यदि शरीरको तापक्रम ४० डिग्री सेन्टिग्रेड भन्दा बढी छ भने पाठेघरमा हुने तातो रक्त सञ्चारको कारणले शुक्रकिटको चालमा कमी हुन जाने हुनाले पशुलाई चिसो पानीले नुहाईदिएर तापक्रम घटिसके पछि मात्र कृत्रिम गर्भाधान गर्नु पर्दछ । कृत्रिम गर्भाधान कार्य र सम्पूर्ण तयारी जहिले पनि छाँयामा गर्नु पर्दछ । कृत्रिम गर्भाधान गरेको दिन देखि ४ दिनसम्म (भ्रुण मर्ने समस्या कम गर्नको लागी) दिनको २–३ पटक नुहाई दिनु पर्दछ यसो गर्दा गर्भाधारण दर (Conception Rate)  राम्रो पाईएको छ । विशेष गरी अरु समयको तुलनामा दिनको ४ बजे गाईको शरीरमा तापक्रम बढी हुने गर्दछ ।

@ गर्मी र आद्रता बढी भएको मौसममा पशुलाई भिटामिन ए को आवश्यकता बढी हुन्छ । यसको आवश्यकता पुरा गर्न भिटमीन ए को सूई, दाना र अन्न भन्दा घाँस पराल र पानी बढी मात्रामा दिने गर्नुपर्छ ।

@ गोठको छानामा खरले छाउने तथा इन्सुलेटर प्रयोग गर्ने, रुखविरुवाहरु गोठ छेउ—छाउमा लगाउने गर्दा गर्मीको तनाव केही कम हुन्छ ।

@ गोठ बनाउदा खोच, हावा नचल्ने ठाउँमा बनाउनुको सट्टा उच्चा, हावा चल्ने ठाउँमा भएमा गर्मीको तनाव कम हुन्छ ।

@ गर्मी यामको तनावलाई न्यूनिकरण गर्न गोठमा बिद्युतिय पंखाको ब्यवस्था गर्नु पर्दछ ।

लेखन तथा संकलनः डा. खगेन्द्रराज सापकोटा