जैविक सुरक्षा : सफल पोल्ट्री व्यवसायको आधार

 

जैविक सुरक्षा भन्नाले कुखुरामा कुनै प्रकारको रोगका किटाणुहरुको प्रवेश र फैलावट रोक्नको लागि अवलम्बन गरिने उपाय / विधिहरु बुझिन्छ । तसर्थ यसमा संलग्न व्यक्तिहरुले अपनाउने सोचाई तथा व्यवहारमा परिवर्तन ल्याई रोगको जोखिमलाई कम गर्नुपर्ने प्रमुख दायित्व हो ।

जैविक सुरक्षाको लागि हामीहरुले भौतिक संरचना, उपकरणहरुको प्रयोग र किटाणुनासक रसायनमा बढी महत्व दिएतापनि, सही किसिमको जैविक सुरक्षाका लागि सम्बन्धित फार्ममा जाने / आउने व्यक्तिहरुले नियमित रुपमा गरिने क्रियाकलाप बुझ्नुपर्दछ । प्रभावकारी जैविक सुरक्षाको लागि दैनिक रुपमा गरिने क्रियाकलापहरुलाई नाटकमा कलाकारले गरेको अभिनय जस्तै गरी दाज्न सकिन्छ । नराम्रो अभिनय भएमा दर्शकले तालीको बदला गाली दिएको जस्तै नराम्रो जैविक सुरक्षाले सदैव किटाणुहरुलाई प्रवेश गर्ने बाटो बनाउँदछ र खोरमा रोगले सदैव आक्रान्त पारिरहन्छ । खोरमा कुखुरा पालनमा संलग्न व्यक्तिहरुले यसलाई वेवास्ता नगरी सही तरिकाले उपयोग गर्नुको विकल्प छैन ।

उच्चतम किसिमको जैविक सुरक्षालाई पनि सामान्य मानवीय त्रृटिले भङ्ग गर्न सक्छ । जैविक सुरक्षाको प्रमुख कडी भनेको नै उत्पादनमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न व्यक्तिहरुलाई जैविक सुरक्षाको के को लागि ? र यसका फाइदाहरु सम्झाउदै / बुझाउदै फार्ममा अपनाउने पद्धतीको कार्य सुची र व्यक्तिहरुले गर्ने व्यवहार जुन उनीहरुले सजिलै गर्न सक्छन्, व्यवहारिक छन् र दिर्घकालीन छन् ।

धेरै जस्तो अवस्थामा जैविक सुरक्षा सैद्धान्तिक पक्षमा मात्र सिमिति रहेको छ । हामीहरु जैविक सुरक्षाका न्यूनतम, कम खर्चिलो र सबैभन्दा बढी प्रभावकारी पद्धति छोडेर खर्चिलो तथा कम प्रभावकारी तरिका अवलम्वन गरिरहेका छौं । यसको लागि सबैभन्दा पहिला हाम्रो सोचाईमा परिवर्तन ल्याउनु प¥यो । हिजोको समयमा कुखुराको संख्यामा विसौं / तिसौं गुणाले वृद्धि भएको तथ्य हामीहरुबाट टाढा छैन । चितवनको कुनै एकठाउँमा देखापरेको रानीखेत रोग र कोराइजाले १–२ हप्तामा पुरै चितवन भरी फैलिएको अवस्था छ । हाल आएर  Low Pathogenic Avian Influenza को संक्रमण, साल्मोनेलाको त्रासले व्यवसायलाई ठूलो जोखिममा धकेलेको तथ्य सबैमा प्रष्ट हुन जरुरी छ । यही Low Pathogenic Influenza पछि गएर कुनै बेला महामारीको रुपमा High Pathogenic Avian Influenza को नआउला भन्न सकिन्न । तसर्थ अबको समयमा जैविक सुरक्षाको लागि भौतिक संरचना भन्दापनि हाम्रो सोचाई र व्यवहारमा परिवर्तन ल्याउन नसकेमा समग्र पोल्ट्री व्यवसायलाई विस्थापित गर्न सक्छ ।

कुनै पनि जैविक सुरक्षाको पद्धतिलाई हामीहरुले सामाजिक र आर्थिक दृष्टिकोणबाट अवलम्बन गर्न कुनै कठिनाई भए / नभएको राम्ररी विचार गरेर अपनाउन सकेमा यसको कार्यान्वयन प्रभावकारी ढंगले गर्न सकिन्छ । निश्चयपनि पूर्णरुपमा जैविक सुरक्षा अपनाएर सम्पूर्ण किसिमका रोगका किटाणुहरुको प्रवेश तथा फैलावटलाई सतप्रतिशत रोक्न सकिन्न । तथापी हामे उद्देश्य सदैव त्यो जोखिमलाई न्यून गर्ने पद्धतिलाई व्यवहारिक तथा दीर्घकालीन रुपले अवलम्बन गर्न सक्नु पर्दछ । स्थापित तथ्य अनुसार हामीले गरेको जैविक सूरक्षा पद्धतिले यदी एउटा संक्रमित कुखुराको फर्मले एउटा भन्दा कम फार्मलाई संक्रमण गर्न सक्छ भने त्यो जैविक सुरक्षा विधिले सही तरिकाले काम गरेको मानिन्छ । यस्तो अवस्थामा रोग र रोगको किटाणुहरु त्यहीबाट हराएर जान्छ । तर हामीहरुकोमा ठिक विपरित अर्थात एउटा फार्मको रोग कम्तीमा २०–५० फार्ममा फैलिरहेको छ । कुखुरापालन व्यवसायले लागी यो भन्दा ठूलो चुनौती अरु केही हुन सक्दैन । हामीहरुले कुनै खोरमा देखापरेको संक्रामक रोगले अर्को रोग नलागेको खोरमा जाने क्रमलाई पूर्णरुपमा रोक्न अर्थात सुन्यमा झार्न सकिन्न तर कम गर्नको लागि धेरै काम गर्न सकिन्छ जुन आजको सन्दर्भमा ज्यादै महत्वपूर्ण पक्ष हो ।

कुनैपनि महामारीको समयमा रोगको फैलावटमा संक्रमणको शुरुको समय सवै भन्दा महत्वपूर्ण हुन्छ तसर्थ सही तरिकाको जैविक सुरक्षा पद्धतिलेमात्र यस्तो अवस्थामा रोगलाई फैलनबाट पूर्ण रुपमा रोक्न सक्छ । जैविक सुरक्षाका महत्वपूर्ण तत्वलाई ३ किसिमले विभाजन गरिन्छ जस्तैः

१. पृथकीकरण (स्वस्थ र अस्वथलाई छुट्टयाउने)
२. सरसफाई (किटाणुको संख्या घटाउने)
३. मानिसको आवतजावतलाई नियन्त्रण गर्ने ।

यो पद्धति अनुसार जैविक सुरक्षाको लागि भौतिक संरचना, सोचाइमा परिवर्तन तथा व्यवहारमा उचित तरिकाबाट लागु गर्नुपर्ने हुन्छ । यो प्राविधिक रुपमा सही भएतापनि जटिल र सैद्धान्तिक मात्र हुन्छ । साधारणतया निम्न विधिबाट जैविक सुरक्षालाई लागु गरेमा धेरै हदसम्म भनाईमा मात्र सिमिति जैविक सुरक्षालाई गराईमा लागु गर्न सकिन्छ ।

क) छुट्टयाउने (Segregation)

जैविक सुरक्षाको पहिलो आधार जुन सवै भन्दा प्रभावकारी तत्व जसले संक्रमणको रोकथाम गर्दछ । संक्रमित जनावर तथा वस्तुलाई असंक्रमित वस्तुबाट सदैव टाढा राख्नु जैविक सुरक्षाको दृष्टिकोणबाट सबैभन्दा प्रभावकारी तथा दीर्घकालीन हुन सक्छ । यो विधिबाट किटाणुहरु फार्म भित्र सम्म छिर्न पाउँदैन र कुखुरालाई रोग लाग्दैन । यो जति सरल तरिकाबाट भन्न सकिन्छ तर यसलाई व्यवहारमा ल्याउन जटिल भएको छ । यो जटीलता आर्थिक रुपमा भन्दा पनि सोचाई र व्यवहारको कमीले गर्दा भएको हो । हामीहरुमा यो सबैभन्दा सरल र सर्वश्रेष्ट विधि हो भन्ने चेतना जाग्नु पर्दछ । अनावश्यक किसिमले कुनै पनि जनावर तथा सरसामानहरु लाने वा खोरबाट लैजाने गर्नु हुन्न । र यसको नियन्त्रणको प्रभावकारी उपाय अवलम्बन गर्नु पर्दछ ।

खोरमा आवतजावत नियन्त्रण गर्न निम्न किसिमका बन्देजहरु प्रयोग गर्न सकिन्छ । 
१. भौतिक अवरोध जस्तै ढोकामा ताल्चा लगाउने खोरको वरिपरि राम्ररी कम्पाउण्ड, खोरमा चरा तथा मुसा नछिर्ने किसिमको जाली र गेट लगाउने र कुनै पनि संक्रमण हुन सक्ने बस्तुबाट टाढा राख्न कोशिस गर्ने ।
२. आवधिक अवरोधमा कुनै फार्म वा मासु काट्ने पसलमा गएको छ भने तुरुन्त खोरमा नजाने, जान परेमा उचित तरिकाले नुहाई धुवाई गरेरमात्र प्रवेश गर्ने ।
३. खोरमा प्रवेश गर्नु अगावै काम गर्ने मानिस तथा बाहिरबाट खोरमा जाने प्रत्येक व्यक्तिहरुलाई हात खुट्टा साबुन पानीले राम्ररी धुन लगाउनु पर्दछ । यसले धेरै संख्यामा किटाणुहरुलाई हटाउन मद्धत गर्दछ । यो ज्यादै सरल र सवै भन्दा बढि प्रभावकारी भएता पनि कम महत्व दिइएको तथ्य हो । हरेक फार्मले गेट नजिकै हात खुट्टा धुनको लागि उचित व्यवस्था गर्नु ज्यादै प्रभावकारी हुन्छ ।
४. खोरमा प्रवेश गराउँदा नुहाएर कपडा परिवर्तन गरी लैजानु राम्रो हुन्छ तर व्यवहारिक रुपमा संभव नभएको यथार्थ हामिहरुसंग छ । तसर्थ, कमसे कम लगाएको बाहिरी कपडा हटाएर फार्ममा राखिएको एप्रोन लगाएर, जुत्ता, चप्पल परिवर्तन गर्नु सजिलो र राम्रो हुन्छ । 
५. एउटै फार्म भित्र पनि विभिन्न खोरहरुमा जानु पर्दा कामदार तथा अन्य व्यक्तिहरुको लागि अनिवार्य रुपमा जुत्ता, चप्पल परिवर्तन गर्नु गराउनु राम्रो हुन्छ । 
६. अति आवश्यक व्यक्ति जस्तैः भेटेरिनरियन तथा कामदार मात्र जान दिने तर अनिवार्य रुपमा हात खुट्टा धोएर, कपडा तथा जुत्ता परिवर्तन गरी मात्र जान दिने । मासु र अण्डाको काम गर्ने कुनै पनि व्यक्तिलाई पूर्ण रुपमा प्रवेश निशेध गर्नु पर्दछ । 
७. गाडिलाई फार्मको गेट तथा परिसरबाट टाढै राख्ने, अति आवश्यक गाडिलाई मात्र राम्रो संग धोएर किटाणुनाशक रसायन छरेर मात्र प्रवेश गर्न दिने । 
८. फार्मको अति आवश्यक उपकरणहरु जस्तैः भ्याक्सिनेटर र क्रेटलाई राम्ररी धोएर किटाणुनाशक रसाएन छर्नु पर्दछ ।

यो कार्य सानो आकारको फार्म, ठूलो किसिमको व्यवसायिक फार्म वा ब्रिडर फार्ममा सबैमा उक्तिकै महत्व राख्दछ । विशेष गरेर ठूलो फार्महरु जैविक सुरक्षाको दृष्टिकोणबाट ज्यादै सम्बेदनशील तथा रोगको प्रकोपबाट हुने आर्थिक तथा शारीरिक क्षति उच्च रहने र उत्पादनमा पुनः आउन कठिनाई उत्पन्न रहन सक्छ । तसर्थ छुट्टयाउने (Segregation) विधि जैविक सुरक्षाको प्रारम्भिक तर ज्यादै महत्वपूर्ण मानिन्छ । हामीहरुको सन्दर्भमा धेरै थरिका उमेरका कुखुराहरुको पालन भैरहेको अवस्थामा एउटै खोरमा पनि खोरहरु वीच पालना गर्नुपर्ने विधि तथा फार्मको गेटबाट खोरसम्म समान रुपमा लागु गर्नुपर्दछ ।

ख) सरसफाई (Cleaning)

जैविक सुरक्षाको दोस्रो महत्वपूर्ण आधार जसले संक्रमित बस्तुबाट ८०% संक्रमणलाई हटाउँछ । जैविक सुरक्षाको पहिलो आधारले रोक्दा रोक्दै पनि कतिपय किटाणुहरु कुखुराको खोरसम्म प्रवेश गर्न सक्छन् । कुखुराहरुले किटाणुहरु सबैभन्दा बढी सुलि तथा नाकबाट निकाल्ने सिंगान टाँस्सिने ठाउँ, उपकरणमा रहन्छन् । यसरी संक्रमित उपकरण तथा फार्ममा प्रयोग हुने वस्तुहरुको माध्यमबाट किटाणुहरु खोरमा प्रवेश गर्दछ । सरसफाई (Cleaning) ले संक्रमित वस्तुबाट किटाणुहरुलाई पूर्ण रुपमा हटाउन मद्दत गर्दछ । यही निषेध गरिएको वा वन्देज गरिएको क्षेत्रमा यस्ता संक्रमित वस्तु लानु पर्दा अनिवार्य रुपले धोईपखाली गरीमात्र प्रवेश गराउनुपर्दछ । यसको अर्थ सरसफाई पछि कुनै प्रकारको फोहोर रहनु हुदैन । याद राखौं हामीले खोरमा लैजाने हरेक वस्तु संक्रमित हुनसक्छ किनकी किटाणु हाम्रो नाङ्गो आँखाले देख्न सक्दैनौं । सरसफाई नगरी औषधीमात्र छरेर उपकरणलाई भित्राउने हाम्रो चलन पूर्णरुपमा रोक्नु पर्दछ । सफाइलेमात्र ८० प्रतिशत किटाणु हटाउँछ भने औषधी छर्दा जम्मा १०% किटाणु मात्र हटाउँछ । तसर्थ सरसफाई मात्रले धेरै रोगका किटाणुलाई प्रवेश गर्न रोक्न सकिन्छ । सानो उपकरणमा साबुन, पानी र ब्रसले राम्ररी सफा गर्न सकिन्छ । सवारीसाधन सफा गर्न बढी चापमा कम गर्ने स्प्रे (High Pressure Spray)  मेसिनको प्रयोग गर्न सकिन्छ । सफाई गर्न नसकिने कनै साधन वा उपकरणलाई प्रवेश नै नगराउनु उत्तम हुन्छ ।

३) निसंक्रमण (Disinfection)

जैविक सुरक्षाको आधारमध्ये अन्तिम तथा धेरै जसो अवस्थामा राम्ररी नगरिने र सबैभन्दा कम प्रभावकारी पद्धती हो । तर व्यवहारमा ठिक उल्टो अर्थात जैविक सुरक्षा भन्नासाथ औषधी छर्ने भन्ने हाम्रो आम धारणामा परिवर्तन नगरी जैविक सुरक्षाको वर्तमान अवस्थामा परिवर्तन ल्याउन सकिन्न ।
आधारभूत रुपमा धेरै जस्तो संक्रमण नाशक रसायनहरुले काम गरेतापनि फिल्डमा कम प्रभाकारी हुन्छ । अधिकतम कडापन÷मात्रामा पनि संक्रमणनाशक रसायनले फोहर वस्तुको उपस्थितीमा प्रभावकारी रुपले छेडेर काम गर्न नसक्ने हुन्छ । हामीहरुले विर्सन नहुने तथ्य के हो भने जिवीत वस्तुमा वा संक्रमित वस्तुलाई सफा नगरी छरेको संक्रमणनाशक औषधी प्रभावहीन हुन्छ यो बाहिरी सतहमा औषधीले पोल्ने काममात्र हुन्छ यसको प्रभाव न्यून रहन्छ । 
अन्तमा नेपालको पोल्ट्री व्यवसाय अव्यवस्थित रहँदा रहँदै पनि हालको अवस्थासम्म आइपुगेको छ । यो व्यवसायलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन व्यवसायीहरुले जैविक सुरक्षाको आधारहरुलाई राम्ररी मनन गरेर त्यसलाई सहि ढङ्गले व्यवहारमा उतार्नुपर्ने आवश्यकता रहेको छ । उत्पादन लागत खर्च बढ्नुको प्रमुख कारणनै रोग लागेर हुने उच्च मृत्युदर र उत्पादनमा हुने कमी बाट हुने नोक्सानी प्रमुख रुपमा रहेको छ साथै उक्त रोगको कारणबाट दिर्घकालिन रुपमा उत्पादकत्वमा कमी आउँछ । रानीखेत रोग, कोराइजा रोग तथा हाल आएर Low Pathogenic Avain Influenza ले समग्र पोल्ट्री फर्महरुलाई ग्रस्त बनाइरहेको सन्दर्भमा प्रभावकारी जैविक सुरक्षा अवलम्वन नगरी कुखुरा पालन व्यवसायलाई अगाडि बढाउन सम्भव छैन ।