गर्भिणी (Pregnancy): गाई, भैसीपालन व्यवसायबाट कृषकले बढी भन्दा बढी फाईदा लिन एक बर्षमा एक पटक गाई, भैसी व्याउनु पर्दछ  भनिन्छ । यस किसिमले व्यवस्थापन गर्न सक्दा मात्र व्यवसायिक कृषकले फाईदा प्राप्त गर्न सक्दछन् । गाई, भैसीलाई बाली लगाई सके पछि ब्याउने भयो/भएन भनि प्राबिधिकले छुट्याउन सक्नु पर्दछ । साधारणतया गाई, भैसीलाई बाली लगाए पछि १९–२१ दिनमा पुन बाली खोज्दछ र तर यसरी पुन बाली नखोजेको अवस्थामा गाई, भैसी व्याउने भएको अनुमान गर्न सकिन्छ । व्याउने भए पछि गाई, भैसीको स्वभावमा परिवर्तन आउने, फाँचो विकसित हुने आदी जस्ता लक्षणहरु व्याउने गाई, भैसीले देखाउने गर्दछन् । तर कहिले काँही बाहिरबाट हेरेर गरेको परीक्षणले काम नदिई धोका पाउन सकिन्छ । त्यसैले गाई, भैसी व्याउने÷नब्याउने छुट्याउन बिभिन्न तरीकाहरु विकास भएका छन् । गर्भ परीक्षण गर्नाले गाई, भैसी व्याउने नव्याउने समयमा नै पत्ता लागी नव्याउने भएमा उपचार गर्न सहयोग पुग्दछ । व्याउने भएको अवस्थामा व्याउने गाई भैसीको आहारा व्यवस्थापन गर्न सकिन्छ जसले गर्दा आउने बेतमा गाई, भैसीले बढी दुध उत्पादन गर्दछ ।

गर्भ परीक्षण गरीने बिभिन्न बिधिहरुः

क्र.सं.    गर्भ परीक्षण बिधिहरु                                                                            परीक्षणको अवधि

  1. बाली लगाए पछि पुनः हिटमा नआउनु र डिम्बाशयमा कर्पस ल्युटियम भेटीनु ।    २१ दिन
  2. प्लाज्मा र दुधमा भएको प्रोजेस्टेरोनको मात्रा परीक्षण गरेर ।                                 १ देखी २४ दिन
  3. अल्ट्रासाउण्ड परीक्षणबाट ।                                                                                  २८ दिन
  4. एलान्टोकोरियन मेम्ब्रेन छामेर ।                                                                          ३३ दिन
  5. पाठेघरको हर्नमा आएको परिवर्तनबाट ।                                                               ३५ दिन
  6. पाठेघरमा विकसीत हुदै गएको भु्रणको आकारबाट ।                                           ४५–६० दिन
  7. क्यारुङकल्स र कोटिलेडन, सालनाल स्थापना भएको ।                                        ८० दिन
  8. मिडिल यूटेराईन आर्टरीमा आएको परिवर्तन ।                                                     ८५ दिन
  9. रगत र दुधमा Oestrone Sulfate को मात्रा मापनबाट ।                                     १०५ दिन
  10. पाठेघरमा बच्चाको उपस्थित पत्तालगाएर ।                                                        १२० दिन

गर्भावस्थाको विभिन्न समय अनुसार प्रजनन् अंग भ्रुणमा आउने परिवर्तनः पाठेघरमा आएको परिवर्तन पत्ता लगाउन मलाशयमा हात हाली प्रजनन अंग छाम्ने (रेक्टल पाल्पेसन) बिधिको सहायता लिनु पर्दछ । जस अनुसार गर्भावस्थाको विभिन्न समयमा भ्रुण तथा प्रजनन अंगमा आउने परिवर्तन देहायको तालीकामा उल्लेख छ ।

  1. पहिलो महिना: गर्भाशयका दुई मध्ये एक पाठेघरको हर्न केही ठूलो अकारको हुन्छ । पहीलो महिनामा पहिलो बेतको बाच्छीहरुमा यो तरीकाबाट पत्ता लगाउन सकिन्छ भने ठूलो गाईहरुमा कठीन हुन्छ ।
  2. दोश्रो महिना : दुई भध्ये एक पाठेघरको हर्न ठूलो हुन्छ । भ्रुणको झिल्ली र पाठेघरको भित्ता दुई तह भएको छाम्न सकिन्छ । पाठेघरलाई अलि माथि तान्दा भ्रुणको झिल्ली तल झरेको महशुस गर्न सकिन्छ ।
  3. तेश्रो महिना : गर्भाशयमा रक्त संचार गर्ने मिडिल यूटेराईन आर्टरीलाई औलाले थिच्दा  मुटुको चाल सँगै धड्कन (फ्रेमिटस) थाहा पाउन सकिन्छ । तेस्रो महिनाको अन्यतिर पाठेघरको हर्न भित्र बिस्तारै चलेको (फिटल बम्प) अनुभव  गर्न सकिन्छ । गर्भ रहेको र नरहेको पाठेघरको हर्न मा धेरै भिन्नता आउँदछ । 
  4. चौथो महिना : भ्रुण भेट्टाउन सकिन्छ । मिडिल यूटेराईन आर्टरीमा फ्रेमिटस प्रष्टसँग थाहा पाउन सकिन्छ ।
  5. पाँचौ महिना : गर्भाशय पेटको तल तिर झर्न शुरु गर्दछ ।
  6. छैठौ महिना : गर्भाशय भित्र सालको कटिलेडन बढ्ने भएकोले सजिलै छामेर पत्तालगाउन सकिन्छ ।
  7. सातौ महिना : बच्चा लाई छामेर पत्ता लगाउन सकिन्छ साथै थुन र फाँचोको आकारमा बृद्धि हुन्छ ।
  8. आठौ महिना : पेट निकै ठूलो हुने भएकोले बाहिरबाट हेरेर पनि गर्भावस्थाको पहिचान गर्न सकिन्छ ।
  9. नवौं महिना : सुत सुन्निएको जस्तो देखिन्छ, थुनमा दुध भरिदै आउँछ । व्याउने अवस्थामा सुतबाट केही फोहर निस्कन थाल्दछ ।

गर्भावस्थामा सँग झुक्किन सकिने अवस्थाहरु

  • पिसाव भरिएको मुत्र थैलीः कहिलेकाँही पिसाव भरिएको मूत्र थैलीको कारणले पाठेघर ठूलो भएको जस्तो लाग्दछ र गर्भावश्था जस्तो लाग्न सक्दछ । यस्तो अवस्थामा मुत्र थैलीलाई हलुका ढंगले चलाउने र थिचि दिनाले गाई भैसीले पिसाव फेर्छ ।
  • गर्भाशयमा पीप जमेको अवस्थाः गर्भाशयमा संक्रमण भई पीप जमेमा पाठेघर ठूलो हुन्छ । यसको पहिचान दुई महिनाको गर्भावस्था पछि मात्र गर्न सकिन्छ । दुई महिनापछि गर्भाशयका हर्नको आकारमा भिन्नता आउनु पर्दछ । पायोमेट्राको अवस्थामा दुवै हर्न एकै आकारका हुन्छन् । पायोमेट्राको अवस्थामा भ्रुणको झिल्ली र कोटीलेडन पाईदैन ।
  • गर्भाशयमा बच्चा मरेर सुकेको अवस्थाः यस्तो अवस्थामा गर्भाशयभित्र छाम्दा साह्रो बस्तु भेटिने भएकोले गर्भ सँग झुक्किन सकिन्छ । राम्रोसँग परीक्षण गरेको खण्डमा बच्चा चलेको अनुभव गर्न सकिदैन र झिल्ली, साल आदी हुदैन । यस्तो अवस्थामा सुक्दै गएको बच्चाको हाडको कडापन सहजै महसुस गर्न सकिन्छ ।

©लेखन तथा संकलनः डा. खगेन्द्रराज सापकोटा