खुला छोडेर पालिने अर्गानिक कुखुरा (Free range organic chicken) का फाईदाहरु

 

विश्वमा बढ्दो जनसंख्याको चुलिदो प्रोटिन मागलाई परिपूर्ति गर्नको लागि कुखुरापालन व्यवसाय आजकल भिमकाय उद्योगको रुपमा रुपान्तरण भईसकेको छ । कमर्सियल कुखुराहरु आजकल ठुलो संख्यामा निश्चित बन्द कोठाभित्र पालिने गरिन्छ । बढ्दो जनसंख्याको चुलिदो प्रोटिन मागलाई परिपूर्ति गर्नको लागि यो प्रक्रिया अपरिहार्य पनि बन्दै गैराहेको छ । करोडौं-अरबौंको संख्यामा कुखुरा पालिनुपर्ने आवश्यकता छ - जसलाई खुला छोडेर साध्य नै हुने भएन । कुखुरापालनको यो औधोगिक विकासले सकारात्मक पाटोको साथ-साथै केहि नकारात्मक पक्षलाई पनि निम्त्याएको छ । परम्परागत रुपमा खुला छोडेर पालिने कुखुराका पनि केहि सकारात्मक पक्षहरु थिए जुन आज लोपोन्मुख हुँदै गैरहेको प्रतित हुन्छ । यस लेखमा खुला छोडेर पालिने अर्गानिक कुखुरा (Free range organic chicken) का फाईदाहरुको बारेमा निम्न अनुसार चर्चा गर्न खोजिएको छ ।

  १. गुणस्तरीय मासु

खुला छोडेर पालिएका कुखुराले प्रोटिनले भरिपूर्ण किरा-फट्यांग्रा समेत आहाराको रुपमा खाने हुँदा तीनबाट प्राप्त गरिने मासु तुलनात्मक रुपमा बढी गुणस्तरीय हुन्छ ।

 २. आहाराको लागत मुल्य कम हुनु

खुला छोडेर पालिएका कुखुराले प्रोटिनले भरिपूर्ण किरा-फट्यांग्रा र घाँस-पात समेत आहाराको रुपमा खाइदिने हुनाले तीनलाई चाहिने आहाराको लागत मुल्य कम पर्न जान्छ ।

 ३. वातावरण मैत्री

वातावरणमा अधिक मात्रामा रहेका किरा-फट्यांग्रा खाइदिएर खुला छोडेर पालिएका कुखुराले वातावरणीय सन्तुलन कायम गर्न मद्दत गर्दछन ।

 ४. मासु र अण्डाको तिख्खर स्वाद

खुला छोडेर पालिएका कुखुराबाट प्राप्त गरिने मासु तथा अण्डाको स्वाद स्वाभाविक रुपमा बढी तिख्खर हुन्छ ।

५. तनाव मुक्त कुखुरा

केजमा वा बन्द कोठामा थुनेर पालिने कुखुरा भन्दा खुला छोडेर पालिएका कुखुरालाई निकै कम मात्रामा तनाव (Stress) हुने गर्दछ । फलस्वरूप: तनावजन्य रोगव्यादीको समस्या पनि कम नै हुन्छ ।

 ६. कुखुरामा रोग-व्यादिको समस्या कम हुने

खुला छोडेर पाल्न सकिने स्थानीय जातका कुखुरामा रोग प्रतिरोधात्मक क्षमता औधोगिक रुपमा पालिने कमर्सियल कुखुराहरुको तुलनामा उच्च हुन्छ । त्यस्तै खुला छोडेर पाल्दा कुखुरालाई निकै कम मात्रामा तनाव (Stress) हुने गर्दछ । फलस्वरूप: यस्ता कुखुरालाई रोग-व्यादिको समस्या पनि निकै कम मात्रामा हुने गर्दछ ।

 ७. गुणस्तरीय अण्डा

खुला छोडेर पालिएका कुखुराबाट प्राप्त गरिने अण्डा निकै गुणस्तरीय हुन्छन । त्यस्ता अण्डामा एमिनो एसिड र प्रोटिनको मात्रा उच्च हुन्छ । कोलेस्टेरोलको मात्रा एक-तिहाईले कम हुन्छ । सेचुरेटेड फ्याटको मात्रा एक-चौथाईले कम हुन्छ । भिटामिन-ए को मात्रा दुई-तिहाईले बढी हुन्छ । ओमेगा-३ को मात्रा दुई गुणा बढी हुन्छ । भिटामिन-ई को मात्रा तीन गुणा बढी हुन्छ । बिटा-क्यारोटिनको मात्रा सात गुणा बढी हुन्छ ।

 ८. मासुले हार्मोन असन्तुलन नगराउने

सन २०१७ मा गरिएको एउटा अध्ययन (Pakistan Journal of Pharmaceutical Science) ले औधोगिक रुपमा पालिने कमर्सियल कुखुराको मासु खपत गर्नाले स्टेरोइड हार्मोनको असन्तुलन भई महिलाहरुमा Polycystic Ovary Syndrome हुनसक्ने भन्ने देखाएको छ । खुला छोडेर पालिएका कुखुराबाट प्राप्त गरिने मासुबाट भने यस्तो समस्या उत्पन्न हुदैन ।

 ९. मासुमा ब्याक्टेरियल संक्रमण न्यून वा नहुने

बजारमा पाइने औधोगिक रुपमा पालिने कमर्सियल कुखुराको मासुमा E. coli, Salmonella, Campylobacter, Staphylococcus, Enterococcus जस्ता विभिन्न ब्याक्टेरियल संक्रमण हुने गरेको कुरा विभिन्न वैज्ञानिक अनुसन्धानले देखाएको छ । खुला छोडेर पालिएका कुखुराबाट प्राप्त गरिने मासुमा यस्ता समस्या न्यून रहन्छ वा हुँदैन ।

 १०. एन्टीवायोटिकको अवशेष नहुने

औधोगिक रुपमा पालिने कमर्सियल कुखुराहरु उत्पादन गरिने क्रममा विभिन्न एन्टीवायोटिकको प्रयोग गरिएको खण्डमा तीनको मासु वा अण्डामा ती एन्टीवायोटिकहरुको अवशेष हुने हुन्छ । एन्टीवायोटिकहरुको अवशेषको कारणले मानव स्वास्थ्यमा समेत "एन्टीवायोटिक रेजिसटेन्स" समस्या उत्पन्न हुनसक्छ, अथवा जीवाणुहरुमा एन्टीवायोटिक प्रतिरोधी क्षमता विकास हुनसक्छ । यसो भएको खण्डमा मानवलाई समेत रोग-संक्रमण लागेको बेलामा संक्रमणको विरुद्ध चलाइने एन्टीवायोटिकले काम नगर्ने हुनसक्छ । अर्गानिक रुपमा एन्टीवायोटिकको प्रयोग नगरी खुला छोडेर पालिने कुखुराबाट यस्तो समस्या उत्पन्न हुँदैन ।

डा. विवेक बन्धु रेग्मी
कंशलटेन्ट भेटः मध्यपश्चिम पोल्ट्री डायग्नोसिस एण्ड भेट फर्मा, तुलसीपुर, दाङ
प्राविधिक निर्देशकः हाइजिन एग्रो प्रा लि, घोराही, दाङ