कुखुरालाई गर्मीको तनाव (हिट स्ट्रेस) बाट कसरी जोगाउने ?
आधुनिक कुखुरापालनमा ठुलो संख्यामा कुखुराहरु एकठाउँमा राखेर पालिन्छ जसले गर्दा कुखुरालाई गर्मीको तनाव हुने जोखिम उच्च रहन्छ । गर्मीको तनावलाई “हिट स्ट्रेस” भनेर चिन्ने चलन पनि छ । हिट स्ट्रेसले कुखुरालाई तनाव हुने र मृत्यु हुने मात्र हुँदैन । यसले गर्दा उत्पादन घट्ने र फलस्वरूपः फार्मलाई ठुलो आर्थिक नोक्सानी हुने पनि हुन्छ । तसर्थ गर्मि मौसममा कुखुरालाई हिट स्ट्रेसको कुप्रभावबाट सुरक्षित राख्न खोरभित्र कुखुरा तथा अन्य सर—सामान र भाँडाकुँडाको व्यबस्थापनमा पुनःमूल्यांकन गर्नैपर्छ ।
कुखुराको शरीरको ताप सन्तुलन (थर्मोरेगुलेशन) प्रणाली
वातावरणीय तापक्रम ६५ देखि ७५ डिग्री फरेनहाईट (१८ देखि २४ सेन्टीग्रेड) हुँदा कुखुराले आराम महशुस गर्छ । यसलाई कम्फोर्ट जोन (जोन अफ थर्मोन्युट्रालिटी) भनेर पनि चिनिन्छ जसभित्र तापक्रम फेरबदल हुँदा कुखुरालाई कुनै खराब असर पर्दैन । यो जोनभित्र कुखुराको वजन प्राप्ति, एफ. सी. आर., मृत्युदर र अण्डा उत्पादन सबै सामान्य अवस्थामा रहन्छ र कुखुराले सजिलै आफ्नो ज्यानको तापक्रम (१०४ देखि १०६ डिग्री फरेनहाईट) कायम गर्न सक्छ । जब वातावरणीय तापक्रम कम्फोर्ट जोन भन्दा बाहिर पुग्छ, तब कुखुराले ज्यानको तापक्रम कायम राख्न शरीरभित्र जैविक तथा रासायनिक परिवर्तन खेप्नुपर्ने हुन्छ । जब वातावरणीय तापक्रम कम्फोर्ट जोन भन्दा अत्यधिक पर पुग्छ, तब कुखुराको तापक्रम कायम राख्ने प्रयासले फेल खान्छ । फलस्वरूपः कुखुराले गर्मीको वा जाडोको तनाव (कोल्ड स्ट्रेस) झेल्नुपर्ने हुन्छ ।
हिट स्ट्रेस
जब वातावरणीय तापक्रम माथि चढ्छ, छालामा हुने ताप सेन्सरी रिसेप्टर सक्रिय हुन्छ जसले हाइपोथालामस (मस्तिष्कमा हुने एउटा ग्रन्थि) मा हुने थर्मोरेगुलेटरी केन्द्रमा स्नायु सुचना प्रवाह गर्दछ । त्यसपछि शरीरको बाहिरी खण्डमा हुने रक्त नली फुक्ने गरी हाइपोथालामसबाट अर्को स्नायु सुचना प्रवाह हुन्छ । फलस्वरूपः छालामा हुने रक्त प्रवाह बढ्दछ र छाला मार्फत शरीरको तापक्रम बाहिर जान्छ । जब वातावरणीय तापक्रम २८ देखि ३५ डिग्री सेन्टिग्रेड हुन्छ तब शरीरबाट बाहिर ताप जानको लागि कन्डकशन, कन्भेकशन र रेडियशन प्रणालीको भूमिका प्रबल रहन्छ । जब तापक्रम सो भन्दा अझ पर जान्छ यी प्रणाली समेत फेल खान्छन र ईभापोरेटिभ हिट लस (स्वास नलीबाट पानि वास्पिकरण भई पानि सँगै ताप पनि उड्ने प्रक्रिया) सक्रिय हुन्छ । यस्तो अवस्थामा कुखुराले मन्टो तन्काएर मुख खुला राख्दै स्वास लिने र फाल्ने गर्दछ जसलाई वैज्ञानिक भाषामा प्यान्टिंग भनिन्छ । जब वातावरणीय तापक्रम झनै धेरै बढेर जान्छ प्यान्टिंग प्रक्रिया समेत शरीरको तापक्रम कायम गर्न पर्याप्त हुँदैन । अनि कुखुरा लुसो र चल्न नसक्ने हुन्छ र अन्ततः मर्छ ।
हिट स्ट्रेसको दुष्प्रभाव
१. शरीरको भित्री महत्वपुर्ण अंगमा रक्त संचार घट्नु
तापक्रम बढेसँगै शरीरको बाहिरी भाग (जस्तै छाला, मासु) तिर हुने रक्त नलि फुक्छ र भित्री महत्वपुर्ण अंग (जस्तै कलेजो, मृगौला, फोक्सो, मुटु, आन्द्रा आदि) मा रक्त संचार घट्छ । यसले गर्दा अन्न पाचन प्रक्रिया गडबड हुन्छ, दाना मार्फत दिईएको पोषक तत्व खेर जान्छ । फलस्वरूपः बढ्दो उमेरको कुखुरामा शारिरिक वृद्धि राम्रोसंग हुन पाउँदैन । त्यस्तै लेयर्स कुखुराको हकमा अण्डा उत्पादन घट्ने, अण्डाको आकार र बोक्राको गुणस्तर घट्ने आदि समस्या देखापर्छ । आन्द्रामा रगतको सञ्चार घटेर जाने कारणले गर्दा आन्द्राको संक्रमण हुने जोखिम पनि बढेर जान्छ ।
पानीमा नियमित रुपमा जैविक अम्ल (एसीडिफायर) तथा वाटर सानीटाईजरको प्रयोग गरेर पानि मार्फत हुनसक्ने संक्रमणको सम्भावनालाई न्यूनीकरण गर्न सकिन्छ ।
२. शरीरमा हुनुपर्ने अम्लीय—क्षारिय सन्तुलन बिग्रनु
कुखुराले निरन्तर लामो समयसम्म प्यान्टिंग गरिराख्दा शरिरबाट अधिक (आवश्कता भन्दा धेरै) मात्रामा कार्बोन डायक्साईड ग्याँस बाहिर जान्छ । कार्बोन डायक्साईडको कमीले गर्दा रगतमा कार्बोनिक एसिड वा बाईकार्बोनेट को मात्रामा कमि हुन्छ । फलस्वरूपः रगतको पि. एच. मान बढ्छ र अल्कालोसिस हुन्छ । मृगौलाले अम्लीय—क्षारिय (एसिड—बेस) सन्तुलनलाई कायम राख्न बाईकार्बोनेटलाई फाल्ने र क्लोराईडलाई सोसेर रगतमा पठाउने गर्छ । रगतमा क्लोराईडको मात्रा बढेपछि एसिडोसिस हुन्छ । बाईकार्बोनेटसँगै सोडियम र पोटासियम पनि फालिन्छ । यसरी हिट स्ट्रेसको कारणले सुरुमा हुने क्षारियपन पछि तुरुन्तै अम्लीयपनमा रुपान्तरण हुन्छ र कुखुरा एसिड सक (Acid Shock) को कारणले मर्नसक्छ ।
हिट स्ट्रेसको बेलामा कुखुराको खुराकमा सोडियम बाईकार्बोनेट (१ देखि २ %) र अमोनियम क्लोराइड (०.३ देखि १ %) दिनु एकदमै असरदार साबित हुनसक्छ किनभने अमोनियम क्लोराइडले रगतको पि. एच. मान घटाउँछ र सोडियम बाईकार्बोनेटले अधिक अम्लियपना हुन दिदैन ।
३. शरीरमा हुनुपर्ने पानि र इलेक्ट्रोलाईटको सन्तुलन बिग्रनु
हिट स्ट्रेसको बेलामा पिसाबको माध्यम हुँदै र वृद्दि भएको स्वास—प्रस्वास (हाइपरभेन्टीलेशन) प्रक्रियाको माध्यमबाट अधिक मात्रामा पानी शरिरभन्दा बाहिर खेर गई डिहाइड्रेशनको समस्या उत्पन्न हुन्छ । यसले गर्दा रक्तनलीमा हुने रगतको आयतन पनि कम हुन्छ, ब्लड प्रेसर पनि घट्छ साथै प्लाज्माको अस्मोलालिटी पनि न्यून हुन जान्छ । यसको प्रतिक्रियामा मृगौलाको कोषबाट रेनिन भन्ने हार्मोन निस्किन्छ जसले कुखुरामा प्यास बढाउने भूमिका खेल्दछ । त्यस्तै पिट्युटरी ग्रन्थिबाट भासोप्रेसिन (एन्टी डाईयूरेटिक हार्मोन) निस्किन्छ जसले मृगौलाबाट पानि फाल्ने प्रक्रियालाई कमजोर र पानि पुनः सोस्ने प्रक्रियालाई सक्रिय बनाउँछ । कुखुराले पानि बढी खाए पनि इलेक्ट्रोलाइट (सोडियम, पोटासियम आदि) र जैविक असमोलाइट (बिटेन, सोरबिटोल, इनोसिटोल आदि) को कमीले गर्दा शरीरको कोषहरूमा पानि अडिन सक्दैन । शरीरका कोषहरुमा पानि अडिन नसकेको कारणल भित्री शितलता प्राप्त हुनसक्दैन र ज्यानको तापक्रम अझ बढेर जान्छ ।
तसर्थ गर्मीको तनावको बेलामा कुखुरालाई बिटेन र इलेक्ट्रोलाईट खुवाउनाले शरीरमा डिहाइड्रेशन घटाउन सकिन्छ र ज्यानको तापक्रम अत्यधिक धेरै हुन पाउँदैन ।
४. रोग प्रतिरोधात्मक क्षमता घट्नु
रोग प्रतिरोधात्मक क्षमता घट्नु गर्मि मौसममा एडेर्नल भन्ने ग्रन्थिबाट कर्टीकोस्टेरोईड भन्ने हार्मोन निस्किन्छ । गर्मीकै कारणल रगतमा हुने भिटामिन सि र लिम्फोसाइट पनि घट्छ । फलस्वरूपः कुखुराको रोगप्रतिरोधात्मक क्षमता घटेर जान्छ ।
"कुखुरामा हिट स्ट्रेसको लक्षण र पोस्टमार्टम चिन्ह "
वातावरणीय तापक्रम २४ देखि २६.७ डिग्री सेन्टीग्रेड हुँदा ज्यानको तापक्रम कायम गर्न थोरै मात्र शक्ति खर्चिए पुग्दछ । सो अवस्थामा एफ. सि. आर. पनि न्यून (राम्रो) रहन्छ । तापक्रम २६.७ डिग्री सेन्टीग्रेडभन्दा माथि पुग्नासाथ दाना खपतमा कमि आउन थाल्छ । त्यसपछि ३० डिग्री सेन्टीग्रेड तापक्रम पुग्दासम्म प्रत्येक १ डिग्री सेन्टीग्रेड तापक्रम बढ्दा १.५ प्रतिशतको दरले दाना खपतमा गिरावट आउँछ । त्यस्तै ३० डिग्री सेन्टीग्रेड भन्दा माथि प्रत्येक १ डिग्री सेन्टीग्रेड तापक्रम बढ्दा ४ देखि ५ प्रतिशतको दरले दाना खपतमा कमि हुन्छ । ३२ डिग्री सेन्टीग्रेड वा सो भन्दा माथि कुखुराले निरन्तर रुपमा प्यान्टिंग गर्छ, साबिक भन्दा बढी मात्रामा पानि खान्छ, ज्यान तन्काउने वा पसार्ने गर्छ र दिउँसको अन्त्यतिर अचानक धेरै संख्यामा मृत्युदर हुन्छ । हिट स्ट्रेसको कारणले कुखुरामा देखिने अन्य लक्षणहरु निम्न अनुसार छन ।
- छिटो—छिटो सास फेर्नु (प्रति मिनेट २५० पटकसम्म)
- पखेटा फिजाउनु (डिप लिटर प्रणालीमा शितलता प्राप्त गर्नको लागि फिजाएको पखेटा सोत्तरमा छुवाएर राख्नु)
- एक—आपसमा ठुगाठुंग गर्नु
- रंग फिका हुनु र छाला खस्रो हुनु
- अण्डाको आकार घट्नु र बोक्राको गुणस्तर न्यून हुनु
- अण्डा उत्पादन प्रतिशत पनि घट्छ
- मृत्युदर बढ्नु
- बढी तिर्खा लाग्नु र पानि खपत बढ्नु
- शरीरबाट बढी मात्रामा पिसाब बाहिर जानु
- बढी सोत्तर भिज्ने समस्या देखिनु
- हड्डीको मेटाबोलिजममा गडबडी हुनु (अदाहरणः टिबियल डिसकोंड्रोप्लाजिया)
- एसाइटिसको जोखिम बढेर जानु
- रोगप्रतिरोधात्मक क्षमता घट्नु
- भोक कम हुन्छ, आहारा पचाउने क्षमता र आन्द्राको चालमा ह्रास आउँछ, फलस्वरूपः पोषणको कमि हुन्छ
- आहारा बढी खुवाउने प्रयत्न गर्दा मृत्युदर झनै बढेर जान्छ
- बोसोको मात्रा वृद्दि भइ मासुको गुणस्तर घट्छ
- फ्लकमा कुखुरा ठुलो—सानो हुने समस्या पैदा हुन्छ (युनिफर्मीटी बिग्रेर भेरिएशन ज्यादा हुनु)
- प्यारेन्ट भालेको विर्यको गुणस्तर कम हुन्छ र फर्टिलिटी घट्न जान्छ
मरेको कुखुरा चिरेर हेर्दा कुहिने प्रक्रिया अरु अवस्थामा भन्दा छिटो भएको देख्न सकिन्छ । छाला मुनिका मसिना रक्त नली भरिएको हुन्छ, पेटको तथा छातीको मासुमा निलडाम (पकाएको मासु जस्तो जसकारण मासुको गुणस्तर पनि घट्छ) देख्न सकिन्छ, स्वास नली, सिउर र लोतिमा समेत निलोपना देखिन्छ ।
निदान
हिट स्ट्रेस भएको बेलामा कोष भित्र हुने क्याल्सियमको मात्रा वृद्दि हुन्छ र क्रिएटिन काइनेज भन्ने इन्जाइम कोषबाट रगत भएतिर निस्किन्छ र रक्त परिक्षण गर्दा प्लाजमामा क्रिएटिन काइनेजको मात्रा अधिक भएको देख्न सकिन्छ ।
कुखुरालाई हिट स्ट्रेसबाट जोगाउने उपायहरु
क) दिउँसोको अत्यधिक गर्मि समयमा दाना खपत हुन नदिने
दिउँसोको अत्यधिक गर्मि समयमा दाना खपत हुन नदिने दाना खपत र पाचन प्रक्रियाको समयमा शरीरमा ७ प्रतिशत जति थप ताप उत्पन्न हुन्छ जुन दाना खपत भएको ४ देखि ५ घण्टा पछि अत्यधिक हुन्छ । यसकारण दिनको अत्यधिक तातो समयमा (२ देखि ३ बजेतिर) दाना खपत भएको राम्रो हुँदैन । आहारा मेटाबोलिजमबाट निस्किने ताप र वातावरणीय ताप एकसाथ जुध्दाखेरि हिट स्ट्रेसले खतरनाक रुप धारण गरि एकैसाथ ठूलो संख्यामा मृत्युदर हुनसक्छ । ख्याल गर्नुपर्ने अर्को कुरा के छ भने हिट स्ट्रेसको प्रभाव साना कुखुरालाई भन्दा ठूला कुखुरालाई बढी हुने गर्दछ । पौने किलो (७५० ग्राम) भन्दा बढी तौल भएका ब्रोइलरलाई गर्मीयाममा दिउँसोको बेला दाना नदिई फिडर खालि नै राख्दा उपयुक्त हुन्छ । अत्यधिक गर्मि समयमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म नै खालि राख्ने । गर्मि मध्यम भएको बेलामा सो समयलाई घटाएर ११ बजे देखि ५ बजे वा १२ बजेदेखि ४ बजे बनाउन सकिन्छ । वातावरणीय परिस्थिति बमोजिम नजिकको भेटेरिनरी डाक्टरसँग सल्लाह गरि दाना नदिने समयको निर्क्यौल गर्दा उपयुक्त हुन्छ । ब्रोइलरलाई खोरमा रातभरी नै प्रशस्त प्रकाशको व्यवस्था गरेर दाना खाने वातावरण बनाइदिनुपर्छ ताकि दिउँसो खान नपाएको आहारा खपत राति परिपूर्ति होस । अन्यथा वजन कम भई किसानलाई यथोचित नाफा कमाउन मुश्किल पर्छ । गर्मीयाममा हिट स्ट्रेसको कारणले किसानलाई हुने आर्थिक नोक्शानीबाट जोगाउन बजार चेत पनि माथि उठ्न आवश्यक देखिन्छ । हिट स्ट्रेसको प्रभाव ठूला कुखुरामा बढी देखिने हुँदा अत्यधिक गर्मि मौसममा ब्रोइलरलाई दुई-अढाई किलो हुन्जेलसम्म पालिराख्दा फार्ममा बढी मृत्युदर हुनसक्छ । तसर्थ अत्यधिक गर्मि समयमा डेढ-दुई किलो पुगेका व्रोइलरलाई पनि किनबेच गर्ने परिपाटी मिलाउन सके व्रोइलर किसानको हितमा रहन्छ । लेईङ्ग अवस्थामा रहेका लेयर्स तथा प्यारेन्ट कुखुराको हकमा पनि गर्मीयाममा बिहान सबेरै दाना दिने । खोरमा बाल्नुपर्ने बत्तिको समयलाई बिहान सबेरै (वातावरणीय अवस्था हेरी ३ - ४ बजे नै) बाल्ने व्यबस्था मिलाएर घाम नचर्किदै शितल समयमै आवश्यक दाना खपत भैसक्ने व्यवस्था मिलाउने । अत्यधिक गर्मि समयमा जतिसुकै सबेरै दाना खुवाउने प्रयत्न गर्दापनि शितल समयभित्रै आवश्यक दाना खपत भैनसक्ने हुनसक्छ । आवश्यक आहारा खपत नहुँदा उत्पादनमा गिरावट आउनु स्वाभाविक नै हो । यस्तो अवस्थामा अधिक उत्पादनको लोभमा जसरीपनि तोकिएको दाना खपत गराईछाड्ने (दिउँसो खुवाएर भएपनि) भन्दा पनि उत्पादनमा आउनसक्ने गिरावटलाई स्वीकार गरेर कुखुरालाई हिट स्ट्रेसको कारणले हुनसक्ने मृत्युबाट जोगाउने कुरा बढी बुद्धिमानी हुन्छ । दक्ष भेटेरिनरी डाक्टर वा न्यूट्रीशनिष्टसँग सल्लाह गरेर गर्मीयाममा अधिक पोषण घनत्व भएको दाना बनाउँन उपयुक्त हुन्छ ताकि कम दाना खपत हुँदापनि आवश्यक पौष्टिक तत्वको सकभर परिपूर्ति भैराखोस ।
ख) स्वच्छ, सफा, ताजा र शितल पानीको निरन्तर सप्लाई
ठण्डा पानीले ज्यानलाई भित्रबाट शितल बनाउँछ र गर्मीको तनावबाट मुक्ति दिलाउँन प्रभावकारी भूमिका खेल्दछ । उच्च तापक्रम भएको बेला ज्यानको पानि आवश्यकता पनि बढेर जान्छ । वातावरणीय तापक्रम २१ डिग्री सेन्टीग्रेड हुँदा पानि खपत र दाना खपतको अनुपात २:१ हुन्छ । त्यस्तै ३८ डिग्री सेन्टीग्रेड हुँदा ८:१ हुन्छ । तसर्थ गर्मीको समयमा कुखुरालाई पानिको आवश्यकता पूर्ति भए—नभएको कुरामा विशेष हेक्का राख्नुपर्छ । गर्मीको समयमा खोरमा पानीको भाँडा (ड्रीङ्कर) को संख्या बढाउनु (प्रत्येक १०० कुखुरालाई ३ वटा को दरले) उपयुक्त हुन्छ । सम्भव भएसम्म गर्मीयाममा पानीमा वरफ राख्नसक्दा निकै फलदायी हुन्छ ।
गर्मीयाममा पानीको तापक्रम पनि बढेर ३५ देखि ४० डिग्री सेन्टीग्रेडको आसपासमा पुगेको हुन्छ जुन संक्रामक जीवाणुको वृद्दि-विकासको लागि उपयुक्त तापक्रम हो । गर्मीयाममा पानीमा संक्रामक जीवाणुको वृद्दि-विकास र आन्द्राको संक्रमण सजिलै हुनसक्ने कारणले गर्दा वाटर एसीडिफायर तथा वाटर सानीटाईजर प्रयोगको उपादयता झनै बढेर जान्छ । कुखुराले खाने पानीमा वरफ मिसाएर वा अन्य कुनै उपायबाट पानि चिस्याउने व्यवस्था मिलाउनसके पनि संक्रामक जीवाणुको वृद्दि-विकास धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ ।
ग) दिनको अत्यधिक गर्मि समयमा कुखुरालाई डिस्टर्ब नगर्ने
कुखुरालाई डिस्टर्ब हुने खालको नियमित व्यबस्थापकीय कामहरु (जस्तै भ्याक्सिनेशन, चुचो काट्ने, ग्रेडिंग, खोर ट्रान्सफर आदि) दिनको तातो समयमा नगरेर बिहान सबेरै वा साझ परेपछि गर्नु उचित हुन्छ ।
घ) पानीमा प्रशस्त मात्रामा इलेक्ट्रोलाईट र भिटामिन सी दिने
पानीमा प्रशस्त मात्रामा इलेक्ट्रोलाईट र भिटामिन सी दिने गर्मि मौसममा कुखुराले खाने दाना वा पानीमा प्रशस्त मात्रामा इलेक्ट्रोलाईट मिसाउनु उपयुक्त हुन्छ । यसले गर्मीको समयमा शरीरमा हुने इलेक्ट्रोलाईट असन्तुलन, पानि असन्तुलन, अम्लीय—क्षारिय असन्तुलन र पि.एच. असन्तुलनलाई सन्तुलनमा ल्याउन महत्वपूर्ण भूमिका खेल्दछ । भिटामिन सी लाई एन्टीस्ट्रेस (तनाव प्रतिरोधक) भिटामिन पनि भनिन्छ । पिउने पानीमा भिटामिन सी मिसाउँदा कुखुरालाई गर्मीको तनाव झेल्न र हिट स्ट्रेसको कारणले हुनसक्ने मृत्युदर घटाउँन निकै सहयोगी सिद्ध हुन्छ ।
ङ) खोरमा कुखुराको घनत्व घटाउने
खोरमा जति धेरै संख्यामा कुखुरा भयो त्यति नै बढी मात्रामा ताप उत्पन्न हुन्छ । यसरी उत्पन्न हुने तापलाई न्यूनीकरण गर्नको लागि गर्मि मौसममा खोरमा थोरै संख्यामा कुखुरा राख्न सकिन्छ । यसरी कुखुरालाई हिट स्ट्रेसको दुष्प्रभावबाट जोगाउन सहयोग पुग्दछ । गर्मि मौसममा व्रोइलरलाई १.५ स्कवायर फिट र लेयर्सलाई २ स्कवायर फिट प्रति कुखुरा हुने गरि क्षेत्रफल व्यबस्थापन गर्दा राम्रो हुन्छ ।
च) खोरमा पर्याप्त भेन्टीलेशनको व्यबस्था मिलाउने
भेन्टीलेशनले खोर भित्रको दुषित एवं तातो हावा बाहिर फाल्ने र बाहिरको स्वच्छ एवं ठण्डा हावा भित्र ल्याउने भूमिका खेल्दछ । यसरी खोरभित्र स्वच्छ हावा संचार भईराख्दा वस्पिकरण प्रक्रियाबाट सोत्तर पनि स्वच्छ भइराख्ने र कुखुरालाई पनि शितल महशुस हुने हुन्छ । भेन्टीलेशनको उचित प्रबन्ध गर्नको लागि खोर निर्माण तथा व्यबस्थापन सम्बन्धि केहि कुराहरुमा विशेष ख्याल गर्नुपर्छ । खोरको साईडको उचाई कम्तिमा ९ देखि १० फिट हुनुपर्छ । उचाई कम भएमा हावाको संचार कम हुन्छ साथै छानोको तातोको कारणले कुखुरालाई गर्मीको तनाव बढी हुन्छ । खोरको बीचको उचाई कम्तिमा १३ देखि १४ फिट हुनुपर्छ । उत्तर र दक्षिण साईडको छोटो दिवाल जम्मा एक देखि डेढ फुट उठाई त्यसमाथि तार जाली लगाउने । साईडको दिवाल ठूलो भएमा पनि भेन्टीलेशनको कमि हुन्छ । साथै बन्द कोठामा कुखुरापालन गर्नुहुँदैन । ओपेन हाउस प्रणालीमा लेयर्स तथा प्यारेन्ट कुखुराको हकमा उत्तर—दक्षिण चौडाई २८ देखि ३० फिट भन्दा लामो बनाउन हुदैन । अनावश्यक धेरै चौडाई भएको खोरमा हावाको संचार राम्रोसँग हुन पाउदैन । व्रोइलर कुखुराको हकमा चौडाई २० देखि २२ फिट मात्र राख्न सके अझै राम्रो हुन्छ । एकै फार्मभित्र एक भन्दा बढी खोर भएको अवस्थामा, एक खोर देखि अर्को खोरबीचको दुरी कम्तिमा पनि ४० फिट हुनुपर्छ । खोरमा पर्दा लगाउदा माथि छानो पट्टि डेढ देखि दुई फिट खुला छोड्ने गरि लगाउनुपर्छ । हावाको निकास नै नहुने गरि पुरै ड्याम्म लगाउन हुदैन । गर्मीयाममा र आद्रता बढि भएको समयमा एक्जस्ट पंखा प्रयोग गर्नु फलदायी हुन्छ । ओपेन हाउस प्रणालीको खोरमा एक्जस्ट पंखा (Exhaust Fan) जडान गरेर हावाको संचारलाई वृद्दि गर्न सकिन्छ । जालीमा माकुराको जालो र धुलो लाग्नसक्छ जसले हावाको संचारलाई कम गर्दछ । जालीको नियमित सरसफाई गरेर माकुराको जालो र धुलो हटाउनु पर्दछ ।
छ) छानोको व्यबस्थापन
गर्मि मौसममा कुखुरालाई हुने हिट स्ट्रेसको प्रभावबाट जोगाउन छानो छाउने बेलामा नै टिनको बाहिरी भागलाई सेतो रंगले पोत्दा उपयुक्त हुन्छ । सेतो रंगले प्रकाशलाई आकाश तिर नै फर्काउँछ । फलस्वरूपः खोर भित्रको तापक्रम धेरै बढ्न पाउँदैन । टिनलाई खर वा परालले ढाकेर पनि गर्मीको तनावलाई न्यूनीकरण गर्न सकिन्छ । त्यस्तै छानोको मुनितिर पनि प्लाई वा बाँसको छोयला प्रयोग गरि छाउन सकिन्छ (False Ceiling) जसकारण तातिएको छानोबाट तापक्रम कुखुराको सतहसम्म कम भन्दा कम मात्रामा पुगोस । साथै पंखा पनि झुन्ड्याउन सकिन्छ । खोरको छेउमा बुट्यान (तल झाडी नहुने र माथि झाङ्गिने खालको) लगाउने ताकि त्यसको छाँया टिनको छानोमा परोस र खोर धेरै तातिन नपाओस । गर्मि मौसममा टिनको छानोमा पानि पाईप र स्प्रिङ्कल जडान गरि पानीको फोहोराले छानो भिजाउने व्यबस्था गर्नसके पानि वाश्पिकरण हुँदा खोरभित्र शितलता कायम हुन्छ । तातो हावा चलेको बेला पानि पाईपले निरन्तर भिज्ने गरी जुटको बोरा बलेनी छानोबाट तल पट्टी झुन्ड्याउन सकिन्छ । भिजेको जुटमा ठोक्किएपछी तातो हावा चिसोमा परिणत हुन्छ र खोरभित्रको कुखुरालाई शितलता प्रदान गर्दछ । तर हावा नचलेको बेला भने भिजेको जुटको बोरा झुन्ड्याउन हुँदैन किनकि त्यस्तो अवस्थामा खोरभित्रको आद्रता वृद्दि हुन्छ ।
ज) पानीको ड्रमको व्यबस्थापन
पानीको ड्रम उचाइमा तर छायाँ पर्ने गरी राख्नुपर्छ ताकि गर्मीमा घामको किरणले तातिन नपाओस । सकभर खोरभित्रै राख्ने व्यवस्था मिलाउन सके उचित हुन्छ । तातिएको पानि कुखुराले कम खान्छ । पानि खपत कम हुनाले गर्मिको तनाव बढी हुन्छ । पानिको खपत कम भएपछी दानाको खपत पनि कम हुन्छ र उत्पादनमा ह्रास आउछ । साथै घामले तातिएको पानीमा ब्याक्टेरियाको वृद्दि पनि व्यापक हुन्छ । पानीको ड्रमलाई पनि सेतो रंगले पोत्दा उपयुक्त हुन्छ । साथै जुटको बोरा भिजाएर भिजेको बोराले ड्रम ढाकेर राख्नु पनि राम्रो उपाय हो ।
झ) सोत्तर व्यबस्थापन
गर्मि मौसम सुरु हुनुभन्दा अगाडी खोरभित्र भएको पुरानो सोत्तर हटाई नयाँ र ताजा सोत्तर राख्दा उपयुक्त हुन्छ किनभने पुरानो सोत्तर कुहिने क्रममा निस्कने तापले खोर भित्रको तापक्रम झनै वृद्दि गराउँछ ।
ञ) फोगर एवं मिस्टिंग प्रणाली जडान
केजमा पालिएका कुखुराले डिप लिटरमा पालिएकाले भन्दा बढी मात्रामा गर्मीको तनाव महशुस गर्दछन । यस्तो अवस्थामा खोरभित्र फोगर र मिस्टिंग प्रणाली जडान गरेर कुखुरालाई शितलता प्रदान गर्न सकिन्छ । तर डिप लिटरमा फोगर र मिस्टिंग प्रणालीबाट निस्केको पानीको फोहराले सोत्तर भिजेर उल्टो कुखुराको स्वास्थ्य बिग्रन सक्ने कुरामा ख्याल गर्नुपर्छ ।
ट) पानीमा एन्टी हिट स्ट्रेस फर्मुला
ठ) ढुवानी व्यबस्थापन
कुखुरालाई ढुवानी गर्नपरे विहान वा रातिको शितल समयमा मात्र गर्ने । ढुवानी केजमा थोरै संख्यामा कुखुरा राख्ने र ढुवानी साधनमा बीच—बिचमा खाली केज पनि राख्ने ताकि पर्याप्त मात्रामा स्वच्छ हावाको संचार भैराखोस ।
ड) दाना फर्मूलेशन बदल्ने
गर्मि मौसममा कुखुराको ज्यानलाई तापक्रम कायम गर्न दानाबाट प्राप्त हुने इनर्जी (शक्ति) खर्चिनु नपर्ने हुनाले दाना खपत कम हुने गर्दछ । तसर्थ कुखुराको पोषण आवश्यकता परिपूर्ति गर्नको लागि गर्मीयाममा दानामा विविध पोषण तत्वहरुको घनत्व बढाउनुपर्ने हुन्छ ताकि कम दाना खपत भएको अवस्थामा पनि शरीरको पोषण आवश्यकता पूर्ति होस । गर्मि मौसममा दानामा गर्नुपर्ने पोषण फेरबदल निम्न अनुसार छन ।
- अत्यधिक गर्मि समयमा दानमा दिईने भिटामिन र मिनिरल तत्व २० प्रतिशतको दरले वृद्धि गर्दा उपयुक्त हुन्छ ।
- बनस्पतिजन्य प्रोटिन (प्लान्ट प्रोटिन) श्रोत मात्र प्रयोग गर्ने ।
- प्रोटिनको मात्रा नबढाइकन महत्वपूर्ण एमिनो एसिडको मात्रा बढाउने ।
- इनर्जी (शक्ति) को मात्रा उही रहने गरि २ देखि ३ प्रतिशत फ्याट बढाउने ।
- दानामा भिटामिन सि को मात्रा सामान्य अवस्थामा भन्दा वृद्दि गर्ने ।
- दानामा एन्टीअक्सिड्यान्ट सामान्य अवस्थामा भन्दा बढी राख्ने ।
- दानामा सोडियम बाईकार्बोनेट मिसाउने ।
- दानामा बिटेन (ओस्मोलाइट) र इलेक्ट्रोलाईट मिसाउने ।
- बायोटिन १५० माइक्रो ग्राम प्रति किलोग्राम दानाको दरले दिँदा उपयुक्त हुन्छ ।
- गर्मीयाममा निकारबेजिन र मोनेनसिन जस्ता वर्गका एन्टीकक्सीडियल औसधि दिनु उपयुक्त हुँदैन ।
- गर्मियाममा रगत जम्न बढी समय लाग्ने हुँदा दानामा (विशेष गरी चुचो काट्ने बेलामा) भिटामिन के को मात्रा बढाउँदा राम्रो हुन्छ ।
- जाडोको तुलनामा गर्मि समयमा दानामा छिट्टै टकसिसिटी विकास हुने हुँदा टकसिन बाइनडरको मात्रा बढाउँदा ठिक हुन्छ ।
- गर्मीको तनाव भएको बेला फस्फोरस आवश्यकता बढी हुने हुनाले दानामा ५ प्रतिशतको दरले फस्फोरसको मात्रा वृद्धि गर्नुपर्छ ।
- दानामा अर्गानिक जिङ्क प्रयोग गर्नसके अण्डाको बोक्राको गुणस्तर राम्रो हुन्छ र अर्गानिक कप्पर प्रयोग गर्नसके शरीरले कप्पर र जिङ्कको पाचन राम्रोसँग गर्नसक्छ ।
नोट : "गर्मि मौसममा व्यवसायिक कुखुराको पोषण व्यवस्थापन" विषयक लेखमा गर्मीयाममा दाना फर्मूलेशन गर्दा ख्याल गर्नुपर्ने विविध पक्षहरुको विषयमा विस्तृत रुपमा वर्णन गरिनेछ ।
निष्कर्षः गर्मि मौसम कुखुरापालनको लागि निकै चुनौतीपूर्ण छ । कुखुरालाई हिट स्ट्रेसको दुष्प्रभावबाट जोगाउन