कुखुरापालनमा सोत्तर ब्यवस्थापन

 

खोरको भुईमा छोडेर कुखुरापालन गर्ने प्रणाली (Dip Litter System) मा भुईमा राखिने सोत्तर र सोत्तर ब्यवस्थापनको ठुलो महत्व हुन्छ । सोत्तर भन्नाले कुखुराको खुट्टाले सिधै खोरको भुईमा नटेकोस् भन्नको लागि खोरको भुईमा राखिने भुष, काठको धुलो, पराल आदि भन्ने बुझिन्छ । नेपालको सन्दर्भमा सजिलोसँग उपलब्ध हुने कारणले गर्दा सोत्तरको रुपमा धानको भुष प्रयोग गर्ने चलन व्यापक छ ।

 खोरमा सोत्तरको महत्व

  • कुखुरालाई खोरको भुईमा हुने चीसोको सिधा सम्पर्कबाट जोगाउने ।
  • सुलीमा टाँसीएर कुखुराको शरिर र सुलीबीचको सिधा सम्पर्कलाई कम बनाउने ।
  • खुट्टालाई कुसन प्रदान गरि हिड्न डुल्न सजिलो बनाउने ।
  • भुईको कडा सतहमा टेकिदा हुनसक्ने खुट्टाको दुखाईबाट मुक्त गराउने ।
  • कडा सतहमा टेकिदा हुनसक्ने घाउबाट जोगाउने ।
  • सिधा भुईमा टेक्दा हुनसक्ने संक्रमणको सम्भावना न्युनिकरण गर्ने ।
  • बिभिन्न बैज्ञानिक अनुसन्धानबाट कुखुराले खोरको सोत्तरबाट फसफोरस भन्ने मिनरल प्राप्त गर्छ भन्ने पनि देखिएको छ ।
  • गर्मीयाममा सोत्तरमा खोस्रेर र पखेटा पैmलाएर कुखुराले आफुलाई केहि हदसम्म शितलता प्राप्त गर्छ । जाडोयाममा सोत्तरबाटै न्यानो प्राप्त गर्छ ।
  • खोरमा विविध कारणबाट पैदा हुने चिस्यानलाई शोस्ने र वास्पिकरण प्रक्रियाद्वारा खोरबाट मुक्त गराउने ।
  • खोरको तापक्रम र सापेक्षिक आद्रता नियन्त्रण गर्ने (सुख्खा हँुदा हावामा आद्रता छोड्ने र उम्सो हुदा हावाबाट आद्रता सोस्ने) ।

 सोत्तर राख्ने प्रकृया

  • सानो चल्ला अवस्थामा ३ इन्च जति बाक्लो र ठुलो वयस्क अवस्थामा ५ इन्च जति बाक्लो हुनेगरी सोत्तर राख्ने ।
  • कहिँ बाक्लो कहिँ पातलो नहुनेगरी चारैतिर एकनास रुपले सोत्तर विछ्याउने ।
  • सोत्तर राख्दा सोत्तरसँगै मिसिएर आउनसक्ने कागज, प्लाष्टिक, ढुङ्गा, डोरी आदीको टुक्राटाक्री छानेर हटाउने ।
  • सोत्तर ताजा, सुक्खा र ढुसि एवं बिषादी मुक्त हुनुपर्ने ।
  • एक लट कुखुरा पलिसकेर नयाँ लट पाल्ने तयारि गर्दै गर्दा खोरको विशेष प्रकारको सरसफाई, कम्प्लिट हाउस क्लिन आउट र टर्मिनल डिसइन्फेक्शन (Complete House Clean Out and Terminal Disinfection) गरेपछि मात्र सोत्तर विछ्याउने । किनभने अघिल्लो लटको वयस्क कुखुराले खोरमा अनेक संक्रमणका किटाणुहरु छोडेर गएका हुन्छन ।
  • सोत्तर बिछ्याएपछी ५ ग्राम प्रतिलिटर पानीको दरले वायो−बुस्टर प्लस (Bio-buster Plus) वा भि−अक्स (V-Ox) जस्ता भाईरुसाईडल औषधि छिट्ने अनिमात्र त्यसमा कुखुरा राख्ने ।

 सोत्तर भिज्ने समस्या समाधान

कुखुराको खोरमा हुने सोत्तर सुक्खा र बुरबुराउदो हुनुपर्छ । तर धेरै सुक्खा भई धुलो उड्ने खालको पनि हुनुहुदैन । धुलो उड्ने खालको सुक्खा भएमा कुखुरालाई स्वास प्रस्वास सम्बन्धि रोग लाग्छ । मसिनो पानिको  फोहोराले छिटेर धुलो कम बनाउन सकिन्छ । सोत्तर भिज्ने समस्या कुखुरापालन व्यवसायमा ठुलो समस्याको रुपमा रहेको छ जसले गर्दा खोरमा बिभिन्न ब्याक्टेरीयाजन्य संक्रमण पैदा हुन्छ । सोत्तर भिज्ने कारणहरु निम्नअनुसार रहेका छन ।

  • ड्रिङ्करमा पानिको सतह अत्याधिक धेरै हुनु ।
  • ड्रिङ्करको उचाइ साह्रै कम हुनु । पानिको भाँडाको उचाई कुखुराको बढ्दो उमेर अनुरुप क्रमश बढाउदै लैजानुपर्दछ । सामान्यतया कुखुराले ठाडो घाँटी लगाएर तन्कदा पानि भेटिने गरि राख्नुपर्दछ । धेरै तल गरी राख्दा पानि पोखिने संभावना हुन्छ ।
  • ड्रिङ्कर कमसल हुनु वा बिग्रेको हुनु ।
  • पाइप चुहिनु ।
  • सिमित ठाँउमा क्षमता भन्दा बढि कुखुरा राख्नु । सामान्यतया व्रोइलरको लागि १ वर्ग फिट प्रति कुखुरा र लेयर्सको लागि १.८ वर्ग फिट प्रति कुखुरा दिनुपर्छ भनिन्छ । स्मरण रहोस् खोर भित्र दानापानीको भाँडा तथा अण्डा पार्ने गुणले समेत केहि क्षेत्रफल ओगटेको हुन्छ जुन कुखुरालाई उपलब्ध हुदैन । तसर्थ खोरको क्षेत्रफल निर्धारण गर्दा ठ्याक्क पुग्ने जतिभन्दा केहि बढी हिसाब गर्नु उचित हुन्छ । व्रोइलरको लागि १.१५ वर्ग फिट प्रति कुखुरा र लेयर्सको लागि २ वर्ग फिट प्रति कुखुरा क्षेत्रफल दिनसके उपयुक्त हुन्छ ।
  • दाना फर्मुलेसन ठीक नहुनु । दानामा पोटासीयम, सोडियम, क्लोरिन म्याग्नेसियम र फाईवरको मात्रा अनावश्यक धेरै भएको खण्डमा दिसा पातलो हुन गई सोत्तर भिज्ने समस्या उत्पन्न हुन्छ । चिस्यान हुन नदिन दाना फर्मुलेसन उचित हुन आवश्यक छ । दक्ष भेटेरिनरी डाक्टर वा न्युट्रीशनिष्टको सल्लाहमा मात्र दाना फर्मूलेश नगर्नुपर्छ ।
  • फोगरको प्रयोग गर्दा पानीको मात्रा धेरै छोड्नु वा स्प्रे कुनै बस्तुमा ठोकिएर एकै ठाउँमा पानी खस्नु ।
  • खोरको चौडाई बढि भएको खण्डमा पनि सोत्तरको चिस्यान बास्पिकरण भई उडेर जाने प्रक्रियामा अवरोध उत्पन्न हुन्छ । Open House प्रणालीमा उत्तर—दक्षिण चौडाई २८ देखि ३० फिट भन्दा लामो बनाउन हुदैन । अनावश्यक धेरै चौडाई भएको खोरमा हावाको संचार राम्रोसँग हुन पाउदैन । व्रोइलर कुखुराको हकमा चौडाई २० देखि २२ फिट मात्र राख्न सके अझै राम्रो हुन्छ ।
  • एउटा खोर देखि अर्काे खोर बीचको दुरी कम भयो भने पनि हावाको वहाव कम भई सोत्तरमा चिस्यान कायम रहन्छ । खोरमा जति राम्रो हावाको वहाव भयो त्यत्ति नै राम्रोसँग वास्पिकरण प्रक्रिया भई चिस्यान हट्छ । एकै फार्मभित्र एक भन्दा बढी खोर भएको अवस्थामा एक खोर देखि अर्काे खोर बीचको दुरी कम्तिमा पनि ४० फिट हुनुपर्छ ।
  • खोरमा अत्याधिक पुरानो सोत्तर भएको खण्डमा पनि सोत्तरको सोस्ने क्षमतामा नास हुनगई भिज्ने समस्या रहन्छ । यस्तो अबस्थामा पुरानो सोत्तर हटाई नयाँ र पुरानो मिलाएर राख्ने गर्न सकिन्छ ।
  • प्रयाप्त भेन्टिलेसन नहुनु ।
  • खोर को उचाई कम भएमा । खोरको साईडको उचाई कम्तिमा ९ देखि १० फिट हुनुपर्छ । उचाई कम भएमा हावाको संचार कम हुन्छ । खोरको बीचको उचाई कम्तिमा १३ देखि १४ फिट हुनुपर्छ ।
  • पर्दा खोल्न हेल्चेक्राई गरेमा । Open House प्रणालीमा खोरमा पर्दा लगाउदा माथि छानो पट्टि डेढ देखि दुई फिट खुला छोड्ने गरि लगाउनुपर्छ । हावाको निकास नै नहुने गरि पुरै ड्याम्म लगाउन हुदैन ।
  • साईडको दिवाल अनावश्यक ठुलो बनाएमा । उत्तर र दक्षिण साईडको छोटो दिवाल जम्मा एक देखि डेढ फुट उठाई त्यसमाथि तारजाली लगाउने ।
  • ठुला खोरमा गर्मीयाममा र आद्रता बढि भएको समयमा एक्जस्ट पंखा (Exhaust fan) प्रयोग गर्न कन्जुसाई गर्नु ।
  • अत्याधिक आद्रता र अत्याधिक तापक्रम भएको अबस्थामा । यस्तो अवस्थामा खोरमा बास्पिकरणको प्रक्रिया अवरुद्द हुन्छ साथ साथै आन्द्रामा संक्रमण हुनगई दिसा पातलो पनि हुन्छ ।
  • पानि परेको अबस्थामा । यस्तो अवस्थामा खोरमा कहिँ कतै प्वाल वा चुहिने अवस्था छ भने समस्या झन विकराल बन्दछ ।
  • नियमित ¥याकिङ्ग नगर्नु । नियमित रुपमा सोत्तर पल्टाउनुपर्छ । पल्टाउदा तल भिजेर बसेका सोत्तर समेत माथि आउछन । खोरमा हावाको वहाव हुँदा माथि पट्टिका ओषिला सोत्तरबाट वश्पिकरण भई पानि उडेर जान्छ र सोत्तर सुख्खा हुन्छ । सुख्खा सोत्तरबाट एमोनिया ग्याँसको उत्पादन न्यून रहन्छ । सोत्तर नपल्टाउदा तलबाट भिज्ने क्रम बढ्दै जान्छ र अन्ततः केक जस्तो डल्लो पर्छ । यस्तो सोत्तर कुखुराको स्वास्थ्यको लागि समेत अत्यन्त हानिकारक हुन्छ ।
  • कुखुराको आन्द्रामा संक्रमण गर्ने खालको रोग लागेको खण्डमा दिशा पातलो भई सोत्तर भिज्ने समस्या आउछ। आन्द्रामा हुनसक्ने संक्रमण न्यूनीकरण गर्न पानिमा Quatrena, Aquaquat-super जस्ता सानिटाईजार र Elimin-8, H-plus जस्ता जैविक अम्ल (Acidifier) प्रयोग गर्न सकिन्छ ।

 सोत्तर भिज्ने समस्या समाधान गर्नको लागि माथी उल्लेख गरे बमोजिम जुन—जुन कारणले सोत्तर भिज्ने अवस्थ पैदा हुन्छ ति सबैलाई निमिट्यान्न पार्ने । साथै निम्न उपायहरु अपनाउने । 

  • नियमित सोत्तर पल्टाउने अथवा ¥याकिङ्ग गर्ने (बिशेष गरी दाना—पानीको भाँडामुनी रहेको सोत्तर) ।
  • भिजेको सोत्तर हटाउने र नयाँ थप्ने ।
  • नियमित रुपमा भिजेको सोत्तर (जुन केक जस्तो डल्लो परिसकेको छैन र भिजेको पनि धेरै समय भैसकेको छैन) लाई घाममा सुकाउँदै पुनःप्रयोग गर्न सकिन्छ ।
  • जमेर डल्ला परेको सोत्तर लाई फुटाउने । नफुट्ने केक जस्तो सोत्तर हटाउने । केक जस्तो सोत्तरको डल्लो खोरमा संक्रमणको जननी हो जहाँ ढुसी र ब्याक्टेरियाले घर गर्दछ
  • भिजेको सोत्तरमा १ किलो प्रति २० स्क्वायर फिटको दरले चुना छर्किन सकिन्छ ।

 खराब सोत्तर ब्यवस्थापनको कारण हुने समस्याहरु

खराब सोत्तर ब्यवस्थापनको कारण हुने समस्याहरु निम्न अनुसार छन । 

  • छालाको समस्या र घाउ संक्रमण ।
  • मासुको गुणस्तर घट्ने ।
  • भिजेको दुर्गन्धित सोत्तरको कारणले कुखुरा पनि दुर्गन्धित नै हुन्छन । फलस्वरूपः फार्मबाट कुखुरा विक्री गर्दा किन्नेले आनाकानी गर्ने वा कम भाउ लगाउने पनि गर्नसक्छन ।
  • भिजेको सोत्तरमा पालिने कुखुरामा डायरिया (पातलो दिसा) को शिकायत बढी हुन्छ । फलस्वरूपः कुखुराको एफ सी आर (FCR) खराब हुन्छ र व्रोइलरमा समुचित तौल आउन पनि ढिलो हुन्छ ।
  • खुट्टाको समस्या (बम्बल फुट) । लंगडोपना हुने सम्भावना पनि अधिक रहन्छ ।
  • सोत्तर ज्यादा भिजेको अवस्थामा भएमा कक्सिडियोसिस रोग लाग्ने सम्भावना अधिक हुन्छ किनकि सोत्तरमा ओसिलोपना भएमा कक्सीका उसिस्ट (अण्डा) ले मौलाउने उपयुक्त वातावरण प्राप्त गर्छन ।
  • कक्सिडियोसिस रोग लागेर आन्द्राको तन्तु ध्वस्त भैसकेपछि त्यसमा नेक्रोटिक इन्टेराईटिसको संक्रमण हुने सम्भावना पनि ज्यादा हुन्छ ।
  • कोलिब्यासिलोसिस्, सि.आर. डी., ब्रुडर निमोनिया हुने सम्भावना पनि बढी नै हुन्छ ।  
  • माखा तथा किरा–फट्याङ्गग्राको समस्या । माखाको लार्भा कुखुरामा चप्किएर कुखुराको मृत्यु पनि हुनसक्छ । माखा, किरा–फट्याङ्गग्रा भनेका एक खोर देखि अर्को खोरसम्म रोग संक्रमण सार्न सक्ने माध्याम पनि हुन ।
  • खोरमा एमोनिया ग्यासको समस्या । अत्यधिक एमोनिया ग्यासले स्वास प्रस्वास सम्बन्धि समस्या, पेटमा पानि जम्मा हुने समस्या र आँखाको समस्या निम्त्याउँछ । खोरभित्र उत्पादन हुने एमोनिया ग्याँसलाई न्यूनीकरण गर्न अक्सिडाईजर रसायन भएको औसधि जस्तैः एमोब्लास्ट (Ammoblast), केनोलिट (Kenolit) आदि प्रयोग गर्न सकिन्छ ।
  • सोत्तर बिछ्याउँदा असाध्यै पातलो गरि राख्दा सानो चल्ला अवस्थामा ब्रुडिंग तापक्रम कायम गर्न पनि मुश्किल पर्दछ र डिहाईड्रेशनको शिकायत पनि आउनसक्छ ।

 तसर्थ  Dip Litter प्रणालीमा सफल कुखुरापालन ब्यवसायको निम्ति सोत्तर ब्यवस्थापनमा विशेष ध्यान दिन अत्यन्त आवश्यक छ ।

Photo from: http://agritech.tnau.ac.in/animal_husbandry/ani_chik_poultry%20rearing.html