एकदिने चल्लाको गुणस्तर मापन तथा विश्लेषण
आजको समयमा चल्लाको मुल्य निकै आकाशिएको छ तर ह्याचरी कम्पनिबाट उत्पादन हुने चल्लाको गुणस्तरमा अनेक प्रश्न चिन्हहरु खडा भएकै छन । चल्लाको गुणस्तरको विषयलाई लिएर किसानवर्गको चेतना तथा जागरुकता अझ बढ्नुपर्ने टड्कारो आवश्यकता छ । एकदिने व्रोइलर चल्लाको गुणस्तर मापन तथा विश्लेषण गर्नको निम्ति निम्न पक्षहरुमा ध्यान दिनु अति नै आवश्यक छ ।
१. चल्लाको वजन
चल्लाको वजन लिन निकै सजिलो छ तर वजन मात्र चल्लाको गुणस्तरको भरपर्दो सूचक भने होइन । किनभने कतिपय अवस्थामा योक (अण्डाको पहेलो भाग जसबाट एकदिने चल्लाले पोषण प्राप्त गर्छ) को वजन अधिक भएको र चल्लाको शारिरिक विकास भने कम भएको हुनसक्छ । वैज्ञानिक दृष्टिकोणबाट हेर्ने हो भने योक बिनाको शरीरको तौल बढी भरपर्दो सूचक हो । तर यो सूचक मापन गर्न सम्भव नभएको अवस्थामा भर्खर ह्याच भएर निस्किने चल्लाको वजन ४० ग्राम वा सो भन्दा बढी भएको सुनिश्चित गर्नु उचित हुन्छ । चल्लाको वजनमा अधिकतम मात्रामा एकरुपता भएको राम्रो हुन्छ ।
२. चिक यिल्ड
गुणस्तरीय चल्ला उत्पादनको लागि ह्याचरी कम्पनीले चल्लाको वजनलाई मात्र मध्यनजर गरेर पुग्दैन । योकको वजनको कारणले हुनसक्ने दुविधालाई अन्त्य गर्नको लागि ह्याचरी कम्पनिले “चिक यिल्ड” आर्थात “लोड गर्ने बेलाको अण्डाको तौलबाट ह्याच हुँदा कति प्रतिशत तौल चल्ला आयो?” भन्ने कुराको ख्याल गर्नुपर्छ । चिक यिल्डको हिसाब गर्न किसानलाई सम्भव हुँदैन, तर ह्याचरी कम्पनिले चाहेमा सजिलै गर्नसक्छन । चिक यिल्ड भनेको ह्याच समय सहि भए−नभएको र इन्कुबेशन मापदण्डहरु (तापक्रम, आद्रता) सहि भए−नभएको भन्ने कुरा जाँच्ने एक गतिलो र नाप्न पनि सजिलो सूचक हो । सामान्यतया ह्याच हुँदाखेरि चल्लाको तौल लोडिङ्ग गर्ने बेलाको अण्डाको वजनको ६६ देखि ६७ प्रतिशत हुनुपर्छ । चिक यिल्ड ६६ देखि ६७ प्रतिशत भन्दा कम भएमा ह्याचरबाट चल्ला निकाल्न ढिलो गरेको वा इन्कुवेटरको आद्रता आवश्यकता भन्दा कम भएको भन्ने बुझिन्छ । यस्तो अवस्थामा चल्लालाई डिहाईड्रेशनले असर गर्ने जोखिम उच्च रहन्छ । यदी लामो समय ढुवानी गरेर मात्र किसानको खोरमा लैजाने बाध्यता छ भने चिक यिल्ड माथिको मान भन्दा १ प्रतिशत बढी हुने गरेर ह्याच निकाल्नु उपयुक्त हुन्छ । ह्याच हुने दिन बेला−बेलामा चिन्ह लगाइएको ह्याचर बास्केट बाहिर निकाली चिक यिल्डको मान निकाल्दै ह्याच निकाल्ने उचित समयको निर्क्यौल गर्न सकिन्छ ।
नोट : ह्याचारीमा चिक यिल्ड नाप्ने वैज्ञानिक तरिकाको बारेमा कुनै अर्को लेखमा विस्तृत रुपमा वर्णन गरिनेछ ।
३. चल्लाको लम्बाई
यो सूचक मापन गर्ने प्रचलन त्यति छैन । यद्दपि मापन गर्नलाई त्यति अफ्ठ्यारो पनि छैन । चल्लालाई टेबल वा अन्य कुनै समथल संरचनामा टाउको र खुट्टा लम्पसार पर्ने गरि पेटको आधारमा पल्ट्याउने र चुच्चो देखि मध्य औला सम्मको लम्बाई मापन गर्ने । चल्लाको शारिरिक विकासको एकदमै राम्रो सूचक हो शरिरको लम्बाई । सामान्यतया १८ देखि १८.३ सेन्टीमिटर लम्बाईलाई राम्रो मानिन्छ । तर यो नाप्ने व्यक्तिको तरिकामा पनि भर पर्दछ । यो सूचक लेयर्स चल्लाको लागि भने त्यति सान्दर्भिक हुँदैन किनभने सुरुवातको शारिरिक विकासमा भएको सुस्ततालाई १८ हप्ते लामो पालन (ब्रुडिङ्ग र ग्रोइङ्ग) अवधिमा सजिलै क्षतिपूर्ति गर्न सकिन्छ । तर ह्याचरी म्यानेजरले रेकर्ड गर्न चाहेको सन्दर्भमा ह्याच विन्डो (Hatch window) लाई मध्यनजर गर्नैपर्छ । किनभने लेयर्स चल्ला १ दिनको अवधिमा १ सेन्टीमिटर भन्दा बढी बढ्न सक्छन ।
४. नाभिको अवस्था र बटन
सामान्यतया नेवल (अर्थात नाभि) पूर्णतया भरिएर सुख्खा भएको अवस्थालाई राम्रो मानिन्छ । यदी नेवलको नजिकै बटन जस्तो पाप्रा (अण्डाको बोक्रा वा बोक्रा भित्रको कभर टासिएर हुने) भएमा वा यो भाग भिजेको भएमा वा तरल पदार्थ निस्किरहेको अवस्था भएमा यो स्वस्थ र राम्रो चल्लाको संकेत होइन ।
५. रिफ्लेक्स (स्नायु सक्रियता / शारिरिक सक्रियता)
चल्लालाई पिठ्युमा भार पर्ने गरेर पल्ट्याउदा ३ सेकेन्ड समय भित्रै विना कुनै अवरोध सजिलै उठेर खुट्टाको बलमा सिधा उभिन सक्नुपर्छ । यदी यसो गर्नलाई ३ सेकेन्ड भन्दा बढी समय लगाएमा यो गुणस्तरीय चल्लाको संकेत होइन । साथै नपल्ट्याईकन खुट्टाको भरमा सिधा राख्दा फुर्तीका साथ यताउति हिड्ने-दौडने खालको हुनुपर्छ ।
६. खुट्टा
चल्लाको खुट्टा सफा र चम्किलो हुनुपर्छ । खुट्टामा कुनै किसिमको घाउ वा रातोपना वा रुखोपना भएमा यो राम्रो चल्लाको सूचक होइन । चल्लाको खुट्टा साह्रै सुख्खा र नसा देखिने खालको पनि हुनु हुदैन । खुट्टा सिधा हुनुपर्छ । बांगिएको, घुमेको वा सुन्निएको हुनुहुदैन ।
७. शारिरिक विकृतिबाट मुक्त
चल्ला विविध किसिमको शारिरिक विकृति (जस्तैः अन्धोपना, लंगडोपना, खराब चुच्चो आदि) बाट मुक्त हुनुपर्दछ ।
८. आँखा र शरिरको बाहिरी देखाई
चल्लाको शरिर सफा र सुख्खा हुनुपर्छ । आँखा पनि चम्किलो र सफा हुनुपर्छ।
९. रंग
चल्लाको रंग गाढा पहेलो हुनुपर्दछ । यद्दपि ह्याचारिमा ह्याच हुने समयमा फर्मालिन र पोटासियम परम्याग्नेट प्रयोग गरि फुमिगेशन गरिने हुनाले चल्लाको रंग पहेलो हुन्छ र सेतो चल्ला कम नै देखापर्छ । यदी यसो नगरिने भए यो कुरा भन्न सकिन्छ कि पहेलो चल्लामा योक बढी घुलेको (शारिरिक विकासमा योक बढी प्रयोग भएको ) हुने सम्भावना ज्यादा रहन्छ ।
१०. रेसीडुअल योक
चल्लाको शरीर भित्र बाँकी रहेको (रेसीडुअल) योक जति कम भयो गुणस्तरको हिसाबबाट चल्ला त्यति नै राम्रो मानिन्छ । योकको संक्रमण (ओमफलाईटिस) भएमा योक सुकेर जाने भन्दा झन फुल्ने अवस्था आउनसक्छ ।
११. मानसिक चेतना र शारिरिक सक्रियता
चल्ला बढी भन्दा बढी सावधान, चुस्त र गतिशील हुनु पर्दछ । पहिलो २४ घण्टामा ९५ प्रतिशत चल्लाले दाना पानि भेटाएर खाइरहेको हुनुपर्दछ ।
१२. चल्लाको ज्यान भित्रको तापक्रम
यो तापक्रम ४० देखि ४०.६ डिग्री सेन्टीग्रेड हुनुपर्छ ।
१३. चुच्चो र जोर्नीहरू
चुच्चो र जोर्नीहरू घाउ वा अन्य विकृतिबाट मुक्त हुनुपर्छ । चुच्चो वा ठुंडमा रातो धब्बा भएमा ह्याचरभित्र तापक्रम बढी भएको भन्ने बुझिन्छ । चल्लाले ह्याचिंग प्रकृयामा अण्डाबाट छिटो बाहिर निस्किने प्रयत्न गर्दै गर्दा अण्डाको बोक्रा फोर्ने क्रममा चुच्चोको माथिल्लो भागमा घाउ हुनसक्छ । त्यस्तै जोर्नीमा घाउ हुनु भनेको इन्कुवेशन मेसिनमा रहँदा बढी आद्रता भएको कारणले हुनसक्छ । बढी आद्रता भएको अवस्थामा ह्याचिंग प्रकृयामा चल्लाले अण्डाबाट निस्किन अत्यधिक बल लगाउँछ । फलस्वरूपः जोर्नीहरूमा क्षति हुनसक्छ ।
१४. पेट
एकदिने चल्लाको पेट छाम्दा नरम र उपडफापड नभएको हुनुपर्छ । टम्म फुलिएको, साह्रो र कडा पेट भयो भने योकलाई ज्यानले राम्रोसंग प्रयोग नगरेको (योक शरीरमा राम्रोसँग नघुलेको) भन्ने बुझिन्छ । यसले ब्रुडिङको बेला समस्या निम्त्याउँछ र पहिलो हप्ता भित्र नै धेरै चल्ला मर्ने हुन्छ । योक स्याक संक्रमणको कारणले गर्दा पनि पेट कडा हुनसक्छ । त्यस्तै इन्कुवेशन मेसिनमा अत्यधिक तापक्रम भएको अवस्था वा चल्लाको ज्यानबाट उचित मात्रामा पनि वस्पिकरण नभएको अवस्थामा पनि पेट कडा हुनसक्छ ।
अन्त्यमा
एउटा सफल उद्यमी बन्नको लागि उद्योगमा चाहिने कच्चा पदार्थको गुणस्तरको विषयमा राम्रो ज्ञान राख्नैपर्छ । चल्ला भनेको पोल्ट्री उद्योगको कच्चा पदार्थ हो । गुणस्तरीय कच्चा पदार्थबाट मात्र गुणस्तरीय उत्पादन निकाल्न सकिन्छ र गुणस्तरीय उत्पादन नै सफल उद्योगको आधारशिला हो । तसर्थ सफल पोल्ट्री व्यवसायको लागि खोरमा सुरुमै गुणस्तरीय चल्ला राख्न अत्यावश्यक छ । यसको लागि किसानवर्गले गुणस्तरीय र गुणस्तरहिन चल्ला छुट्याउने ज्ञान राख्नैपर्छ । अन्यथा गुणस्तरहीन चल्लाको कारणले किसानले आर्थिक लाभ लिन नसक्ने र ह्याचरी कम्पनिले वास्तविक समस्याको समाधान गर्नलाई ढिलासुस्ती र बेवास्ता गरिरहने अवस्था आउनसक्छ । त्यस्तै ह्याचरी कम्पनीले पनि के−के कारणले चल्लाको गुणस्तर बिग्रन सक्छ भन्ने कुराको राम्रोसँग जानकारी राख्नु पर्दछ । निरन्तर रुपमा किसानवर्गको सावधानी र ह्याचरी उद्योगको जिम्मेवारीवोध र सतर्कताले मात्र पोल्ट्री उद्योगले गुणस्तरीय चल्ला प्राप्त गर्न सक्दछ । गुणस्तरीय चल्लालाई उच्च उत्पादनमा रुपान्तरण गर्दै राष्ट्रको आर्थिक विकासमा अझ बढी टेवा दिन सक्दछ ।