दूधालु पशुको शारीरिक संरचनाको आधारमा गरिने स्कोरींग र छनौट

दूधालु पशुलाइ उसको पेडिग्री रेकर्ड, समकालीन नातागोता र सन्तानको क्षमता हेरेर छान्ने विधिका अलावा आफ्नो फार्म वा वथानमा रहेका पशुहरु स्वयमको दुध उत्पादन रेकर्ड र शारीरिक संचरना हेरेर वढी दूधालु गुणहरुको आधारमा छनौट गर्ने विधि पनि पश्चिमी देशहरुमा लोकप्रिय छ। यसको लागी ति देशहरुमा यस विषयमा विशेषज्ञता हासिल गरेका डेरी जजहरुको परामर्श लिने गरिन्छ। एउटै जातमा र दूधालु भनी पालिएका पशुमा पनि अझै वढी उत्पादनशील पशुको छनौट गर्नको लागि यो विधि प्रयोग गर्ने गरिन्छ। यहाँ अमेरीकाको होल्स्टाइन फाउन्डेसन, अमेरीकाकै केन्टुकीको कलेज अफ एग्रीकल्चर, फुड एण्ड इन्भाइरोन्मेन्ट तथा क्यानडाको 4-H Monitoba ले प्रकाशन गरेको म्यानुअल र लेखकको आफ्नो अध्ययन र अनुभवका आधारमा दूधालु पशुको शारीरिक अंगहरु, आकार प्रकार, वनोट आदीको मुल्यांकन एवम् स्कोरींग गर्ने गाइनलाइन वा छनौट विधिको संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ। यि आधारहरु खासगरी होल्स्टाइन गाइहरुमा वढी लागू हुने भएपनि थप अध्ययन र अनुभवको आधारमा अन्य दूधालु गाइभैंसीको हकमा पनि उपयुक्त आधारहरु लिएर दूधालु पशु छनौट गर्न सकिन्छ। दूध उत्पादन, पेडिग्री लगायतको रेकर्ड नराखिएका वा विश्वशनीय रेकर्ड नभएका फार्महरुवाट गाइभैंसी खरिद गर्नुपर्ने वाध्यता भएका नेपाली कृषकहरुको हकमा यो विधि अझै वढी उपयोगी हुन सक्छ।

शारीरिक आकार प्रकार, अंगहरुको अवलोकन र मुल्यांकन गरेर दूधालु पशुहरुको छनौट गर्ने तरीका

दूधालु पशुको छनौटकर्ताले सबैभन्दा पहिला गाइभैंसीका विभिन्न वाह्य तथा आन्तरिक अंग वा संरचनाहरुलाइ के भनिन्छ र त्यसको दूध उत्पादनसँग के सम्वन्ध छ भनेर जानकारी लिनु आवश्यक हुन्छ। शरीरको कुन भागको मुल्यांकन कसरी गरिन्छ र त्यसवापत कति अंक छुट्याइएको हुन्छ भन्ने कुराको संक्षिप्त जानकारी तल दिइएको छ।

  • उपयुक्त शारीरिक फ्रेम वा समग्र खाका भएको: दूधालु पशुको स्कोरींग गर्दा फ्रेम अर्थात् हड्डीको वा अस्थिपन्जर प्रणालीको उपयुक्त संरचना भए सोको लागि १५ पुर्णांक भार हुने गरी नम्बर दिइन्छ। तर यसमा पनि पछाडीको खुट्टाको अलग्गै मुल्यांकन गरिने भएकोले सोको मुल्यांकन फ्रेममा समेटिंदैन। यसलाइ पनि अगाडीको भाग, रम्प, उचाइ र विभिन्न भागका हड्डिको लम्बाइ, चाक्लोपना, पछाडीको भाग तथा जातीय गुण आदीमा विभाजन गरी सो को आधारमा मुल्यांकन गरिन्छ। तथापि १५ पूर्णांकमा पूर्णांक वा १५ अंक नै चाँही सामान्यतया कुनै पनि पशुको लागि दिइंदैन। मजवुत वा राम्रो शारीरिक फ्रेम भएको पशुले शरीरको आकार, दूध उत्पादन क्षमता र लामो समयसम्म दूध दिने क्षमतातर्फ संकेत गर्दछ।
  • दूधालुपन वा वढी दूधालु पशुमा हुनुपर्ने खास खास गुणहरु भएको: यसैगरी दूधालु पशुको स्कोरींग गर्दा डेरी स्ट्रेन्थ वा समग्र डेरी सम्वन्धी गुणहरुलाइ मुल्यांकन गरी उपयुक्त शारीरिक संरचना र अंगहरु भए सो को लागि २५ पूर्णांक भार हुने गरी नम्बर दिइन्छ। तथापि २५ पुर्णांकमा २५ नै चाँही सामान्यतया कुनै पनि पशुको लागि दिइंदैन। यस अन्तर्गत खासगरी छातीको चौडापन, करङहरु बीचको ग्याप तथा लम्बाइ, करङले वनाएको एन्गुलारीटी वा फैलावट (समग्रमा अगाडी वा टपवाट हेर्दा त्रिभुजाकार देखिनेलाइ राम्रो मानिने), करंगको एंगल, वडी कन्डिसन, छाती, थाइ, पेट, घाँटी, टाउको, माल तथा छालाको गुण/आकार प्रकार, पुच्छर लामो र पातलो भए नभएको लगायतका गुणहरु हेरेर मुल्यांकन गरिन्छ।
  • पछाडीका खुट्टाहरु: अर्को महत्वपूर्ण भाग भनेको पछाडीका खुट्टाहरु र त्यसले दिएको आकार हो। यसको लागी २० पुर्णांक तोकिएको छ। यस अन्तर्गत खुर, पास्टर्न, हक ज्वाइन्ट, पिन वोन, हीप वोन आदीको अवस्थिती र आकार प्रकार तथा स्लोप र एंगल, हिंडाइको चाल वा कदम, लम्केर हिंड्दाको लम्बाइको फड्को  वा कदमको लम्बाइ, लचकता आदीको आधारमा मुल्यांकन गर्ने गरिन्छ।
  • कल्चौंडा: सबैभन्दा वढी विचार गरिने र वढी अंक दिइने अंग चाहिने कल्चौंडा नै हो। कल्चौंडाको मात्रै मुल्यांकन गर्दा ४० पुर्णांक छुट्याइएको हुन्छ। कल्चौंडाको आकार (उचाइ/चौडाइ), कल्चौंडा घुँडा वा हकभन्दा तल लत्रिएको वा तल झरे नझरेको, थुनको अवस्थिति र लम्बाइ (थुन धेरै लामो वा छोटो भए नभएको), कल्चौंडामा जोडिएका नशाहरुको अवस्था, कल्चौंडा पेटमा कत्तिको राम्ररी एट्याच भएको छ, कल्चौंडा पछाडीवाट हेर्दा २ भागमा छुट्टिएको देखिन्छ वा देखिंदैन, कत्तिको नरम छ,  दुहेपछी कत्तिको आकार घट्छ र पशु कत्तिको जवान छ आदी कुराहरु कल्चौंडाको मुल्यांकन गर्दा विचार गरिने कुराहरु हुन्।

समग्रमा एउटा उन्नत र उपयुक्त दुधालु पशुका अंगहरुको आकारप्रकार र शारीरिक स्वरुप वा गुण देहाय बमोजिम हुनुपर्दछ।

शरीरका विभिन्न भागको नाम

उक्त अंगहरुमा हुनुपर्ने गुण वा उपयुक्त आकार प्रकार

ध्यान दिनुपर्ने कुराहरु वा अपनाउनुपर्ने सावधानी

टाउको

लामो, साँगुरो र स्त्रीसुलभ। चम्किला आँखा भएको। नाकका प्वाल ठुला र खुला भएका वा नटालिएका। वलियो च्यापु भएको।

वडी कन्डिसनको मुल्यांकन गर्दा पशु व्याउने अवस्थामा छ वा दूध दिइरहेको लैनो अवस्थामा छ सो कुराको विचार गर्नुपर्छ किनकि लैनो वा दूध दिइरहेको गाइभैंसी अलि दुब्लो पातलो देखिन्छ।

घाँटी

लामो, पातलो र स्त्रीसुलभ घाँटी भएको र स्पष्ट माल तथा ब्रिस्केट भएको।

 

अगाडीका दुइ खुट्टा तथा विचको चक्लाइ

अगाडीका खुट्टा सिधा, स्क्वायर स्ट्यान्डींग भएको, दुइ खुट्टा बीचको छातीको चक्लाइ धेरै भएको

 

छातीको गहिराइ

मोटो वा वाक्लो । गहिरो छाती भएको

कति मोटोलाइ मोटो गहिरो वा वाक्लो मान्ने भन्ने कुरा अभ्यास र अनुभवमा भरपर्ने

करङ

लामो, चाक्लो हड्डीले वनेको, करङहरु बीचको ग्याप वढी भएको, घुमेको नभै फ्ल्याट, पछाडीतर्फ लम्केको

 

ढाड

चाक्लो र फराकिलो

 

रम्प

फराकिलो, लामो, सुत लगभग सिधा ठाडो र मलद्वार पनि धेरै सानो नभएको वा नखुम्चिएको।

 

चाकेहड्डी वा पिन वोन

चाक्लो। फराकिलो भै हिपवोन भन्दा उचाइमा थोरै स्लोपमा वा थोरै तल रहेको

 

पुच्छर

लामो । पातलो

 

हिप वोन

चाके हड्डितर्फ हल्का स्लोप भएको

 

समस्त आकार

अगाडीवाट हेर्दा त्रिभुजाकार

 

कल्चौंडा

पूर्ण विकसित, चाक्लो, अग्लो, अगाडी पछाडी र चारवटै क्वाटरमा राम्ररी वाँडिएको, घुँडा वा हकभन्दा तल नलत्रेको, नरम, दुहेपछी खुम्चिने खालको र अगाडीको र पछाडीको कल्चौंडाको भाग जीउमा राम्ररी टाँसिएको। तलदेखि माथिसम्म झण्डै झण्डै एकनाशले चाक्लो। कल्चौंडाको पार्टीसन ठाडो गरी स्पष्ट रुपमा दुइ भागमा छुट्टिएको। कल्चौंडाको पिंध हल्का घुमेको। कल्चौंडाको लेबल तलमाथि नभएको र एउटै लेबलमा रहेको अर्थात् न त अगाडीवाट पछाडी ढल्केको न त पछाडीवाट अगाडी ढल्केको।

अन्य गाइको हकमा पछाडीको कल्चौंडा सम्बन्धि गुणलाइ वढी अंकभार दिइने भए पनि होल्स्टाइनको हकमा अगाडी र पछाडीको कल्चौंडालाइ उत्तिकै महत्व दिइन्छ। त्यसैगरी कल्चौंडा पेटमा कतिसम्म टाँसिएकोलाइ राम्रो मान्ने भन्ने कुरा अभ्यास र अनुभवमा भरपर्ने हुन्छ। कल्चौंडा वेत अनुसार पनि सानो ठुलो हुने भएकोले सो कुरा पनि विचार गर्नुपर्छ।

पछाडीका खुट्टा

हकमा वा ज्वाइन्टमा उपयुक्त एंगल भै लचकदार भएको। हिंड्दा लमकलमक लामो कदम वा फड्का वनाएर हिंड्ने, थाइमा धेरै मासु नभरिएको (धेरै मस्कुलर नभएको)। फुट एंगल पनि राम्रो भएको।

कति सम्मलाइ उपयुक्त एंगल मान्ने भन्ने कुरा अभ्यास र अनुभवमा भर पर्ने

थुन

एकनाशका थुन भएको, सिलिन्ड्रीकल आकारको र धेरै लामो वा धेरै छोटो नभएको। थुनहरु हरेक क्वाटरको छेउछाउमा नभै विच विचतिर अवस्थित रहेको ।

 

कल्चौंडामा जाने मुख्य र सहायक नशाहरु

पुर्ण विकसीत र स्पष्ट देखिने प्रशस्त नशाहरु कल्चौंडामा भएको।

 

छाला

नरम र मुलायम

 

अन्य कुराहरु

जातीय गुण झल्किने, चार दाँत साटेको वा पहिलो वा दोश्रो वेतको, निरोगी देखिने आदी।

 

यसरी उल्लेखित गुणहरुको आधारमा दूधालु पशुको छनौट गर्न सकिन्छ। शुरु शुरुमा उपयुक्त आकार प्रकारको शारीरिक अंगहरु र वनौटको एकिन गर्न मुश्किल हुने भएपनि २ वा सोभन्दा वढी पशुहरुको तुलना गर्दै र छनौटको अभ्यास गर्दै जाँदा छनौट प्रक्रिया पनि सहज हुँदै जान्छ। यसरी दूधालु पशुको छनौट गर्न सकेको खण्डमा सिमित पशु पालेर पनि तुलनात्मक रुपमा वढी मुनाफा आर्जन गर्न सकिन्छ।