रेबिज, एक प्राणघातक रोग
रेबिज परापूर्वकाल देखि नै हामीले सुन्दै र भोग्दै आएको मुख्यतः बहुला कुकुर तथा स्याल, बिरालो जस्ता प्रजातिका जंगली जनावरहरू,
न्याउरी मुसो र रगत चुस्ने चमेरो (भ्याम्पाएर ब्याट) आदिको टोकाइबाट मानिसमा सर्ने एक प्राणघातक जुनोटिक रोग हो, जुन रेब्डो समूहको
लिसा प्रजातिको भाइरसले गर्दा लाग्ने गर्दछ। मानिसमा हुने ९५ प्रतिशतभन्दा बढी रेबिज रोग कुकुरको टोकाइबाट हुने गरेको पाइन्छ।
रेबिजले १५० भन्दा बढी देशहरूमा प्रतिवर्ष ६० हजार मानिसहरूको मृत्यु हुने अनुमान गरिएको छ, जसमध्ये ९५ प्रतिशत अफ्रिका र एशियामा हुने गर्दछ।
नेपालमा हरेक वर्ष करिब करिब एक सयजना जति मानिस यस प्राणघातक रोगबाट मर्ने गरेको तथ्याङक पाईन्छ भने विगत केही वर्षयता त्यो संख्या
क्रमशः घट्दै गएको पाईन्छ।
संक्रमण हुनसक्ने समूहः मानव तथा अन्य स्तनधारी जीवजन्तुहरु यो रोगबाट संक्रमण हुने गर्दछन।
कुकुरमा देखिने रेबिज का लक्षणहरु
- कुकुरले बिस्तारै खाना र पानी खान छोड्ने
- विस्तारै अरु जनावरहरुबाट टाढा बस्न खोज्ने
- स्वरमा परिवर्तन आउने
- जो पायो त्यहिलाइ टोक्न खोज्ने
- र्याल काड्ने र पुच्छर पछाडिका खुट्टामुनि राखेर हिन्ने
- विस्तारै प्यारालाइसिस हुने
- अन्तिममा मुर्छा पर्ने र अचेत हुने
तर, कुकुरलाइ यि सबै लक्षणहरु नभैकन पनि रेबिज हुनसक्छ, जसलाई डम्ब रेबिज पनि भन्ने गरिन्छ जसमा प्यारालाइसिस हुने गर्छ र जनावर मानिसबाट डराउन छोड्छ। यो प्रायजसो शहरी क्षेत्रहरुमा धेरै देखिने गरेको पाईन्छ।
मानिसमा देखिने रेबिजका लक्षणहरु
साधारणतया मानिसको शरीरमा भाइरस प्रवेश गरेको कम्तिमा ३० देखि ६० दिन सम्म यसको लक्षण देखिने गरेको पाईन्छ तर कहिले काँही १० दिनमानै वा वर्षौ पछि पनि लक्षण देखिन सक्छन।
- शुरुमा देखिने लक्षणहरुः ज्वरो आउने, एकदमै कमजोरी महसुस हुने, टाउको दुख्ने र असजिलोपन महसुस हुने गर्दछ जुन कम्तिमा दश दिनसम्म रहन्छ।
- त्यसपछि बिस्तारै निन्द्रा नलाग्ने, दिग्भ्रमित हुने, प्यारालाइसिस हुने, पानी देखी डराउने, र्याल काड्ने, उत्तेजित हुने, जो पायो त्यहिलाइ टोक्न खोज्ने र खानेकुराहरु निल्न गाह्रो हुने जस्ता गम्भिर लक्षणहरु देखिन थाल्दछन, जसको केहि दिनमै रोगीको मृत्यु हुने गर्दछ।
सम्वन्धित जानकारीहरू
रेबिज सर्ने माध्यम
- मानिसमा रोग सर्ने प्रमुख माध्यम मुख्यतया बहुला कुकुर तथा स्याल, बिरालो, प्रजातिका जंगली जनावरहरू, न्याउरी मुसो र रगत चुस्ने चमेरो (भ्याम्पाएर ब्याट) आदिको टोकाइबाट र तिनिहरुको र्यालको छिटा बाट।
- शरीरमा भएका विभिन्न घाउमा रोगी जनावरहरुको र्याल पारेमा।
- त्यसैगरि नाक, मुख, आखा, मलद्वार, गुप्तांगमा रोगी जानावरको र्याल पारेमा।
- रोगी पशुको पदार्थको राम्रो सँग नपकाईकन उपभोग गरेमा।
- मानिस बाट मानिसमा भने अंग प्रत्यारोपण गर्दा सर्ने गर्दछ।
रोकथामका उपायहरु
- रेबिज रोग देखा परिसकेपछि यसको कुनै उपचार नहुने हुँदा यसको एकमात्र र पूर्णरुमा रोकथामको उपाय भनेको रेबिज विरूद्धको खोप नै हो।
- त्यसैले आफ्नो र समुदायमा रहेका कुकुर बिरालाहरुलाई रेबिज विरूद्धको खोप पशु चिकित्सकको परामर्श अनुसार शुरूमा ३ महिना र त्यसपछि प्रत्येक बर्षमा खोप लागाई यो रोगबाट आफु पनि बच्ने र अरूलाइ पनि बचाउने।
- यदि शंकास्पद कुकुर तथा स्यालहरुले गाई, भैसी, बाख्रा, कुकुर लागायतका अन्य जनावरहरूलाई टोकेमा तुरुन्त टोकेको (०) दिनमा, तेस्रो (३) दिनमा, सातौ (७) दिनमा, चौधौ (१४) दिनमा र अठाइसौ दिनमा गरी पाँच वटा पोस्ट एक्सपोजर खोप पशु चिकित्सकको सल्लाह बमोजिम लगाउनु पर्दछ।
- जनचेतना नै यसको प्रमुख रोकथामको हतियार भएको हुँदा यस सम्बन्धी आफ्नो परिवार, गाउँ समाजमा रेबिज सम्बन्धि जनचेतना फैलाउनु पर्दछ।
कुकुर, बिरालो लगायत स्याल प्रजातिका जंगली जानावरले टोकेमा के गर्ने?
- सर्वप्रथम त चाडो भन्दा चाडो घाउलाइ साबुन पानीले ८ देखि १० पटक जति धुने।
- जथाभावी घरेलु तथा आयुर्वेदिक औषधिको प्रयोग नगर्ने।
- तुरून्त नजिकको स्वास्थचौकि वा अस्पताल गई डाक्टरको सल्लाह बमोजिम थप उपचार सहित रेबिजको खोप लागाउने।
- टोकेको १४ दिनसम्म कुकुरको नियमित निरीक्षण गर्ने।