अण्डाको बोक्राको गुणस्तरमा प्रभाव पार्ने कारक तत्वहरु
अण्डाको बोक्राको गुणस्तर कायम गर्न विभिन्न कारक तत्वहरुले प्राभाव पारेको हुन्छ । बोक्राको मोटोपना धेरै हदसम्म यो कुरामा निर्भर गर्दछ कि - अण्डा बन्ने प्रक्रियाको दौरानमा बोक्रा उत्पादन गर्ने ग्रन्थि भएको पाठेघरमा कति समय व्यतित गर्दछ र ग्रन्थिबाट क्याल्सियम प्रवाह कत्तिको हुन्छ । उक्त ठाउँमा कम समय व्यतित भएमा अण्डाको बोक्रा पातलो रहन्छ । त्यसैगरी दिनको उज्यालो समयमा जति छिटो अण्डा पारिएको हुन्छ अण्डाको बोक्राको मोटाई त्यति नै हुने गर्दछ । अण्डाको बोक्राको गुणस्तर प्रभाव पार्ने विभिन्न कारक तत्वहरु निम्न अनुसार छन् ।
१. कुखुराको जात
कुनै जातका लेयर्सले अरु जातका पोथीले भन्दा बोक्रा उत्पादन गर्ने ग्रन्थिबाट बढी मात्रामा क्याल्सियम प्रवाह गराउने क्षमता राख्दछ । जस्तो कि गाडा खैरो-ब्राउन रङको अण्डा उत्पादन गर्ने जातका लेयर्सले फिक्का खैरो-ब्राउन रङको अण्डा उत्पादन गर्ने जातका लेयर्सले भन्दा बाक्लो बोक्रा भएको अण्डा उत्पादन गर्ने क्षमता राख्दछन ।
२. रोगव्यादी
पोथीलाई रोगहरु जस्तै आइ. बि., एन डी., ए. आइ., र इ. डि. एस. को संक्रमण भएको खण्डमा अण्डाको बोक्राको गुणस्तर कमसल हुन्छ । आई. बि. संक्रमणको कारणले अण्डाको बोक्रा पातलो हुने, फिक्का हुने, कच्याक-कुचुक हुने र खस्रो हुने जस्तो समस्या देखिन्छ । इ. डि. एस. को संक्रमण गराउने भाईरसले बोक्रा उत्पादन गर्ने ग्रन्थिलाई क्षति गरेको हुन्छ भने एन डी. र ए. आइ. संक्रमण गराउने भाईरसले सम्पूर्ण अण्डा नलिलाई जतासुकै क्षति गर्नसक्दछ ।
३. व्यवस्थापन
खराब खोरको बनौट, उच्च तापक्रम र अनुचित ह्यान्डलिंगले पनि अण्डाको बोक्राको गुणस्तरलाई प्रत्यक्ष प्रभाव पारेको हुन्छ । ठुलो आकारको अण्डा चर्किने सम्भावना बढी हुने हुँदा उचित पोषण तथा प्रकाश व्यवस्थापनद्वारा अण्डाको आकारको व्यवस्थापन गर्नुपर्ने हुन्छ । ३ दिने उज्यालो : १ दिने अँध्यारो प्रकाश प्रोग्रामबाट पाइने अण्डाको बोक्रा १६ घण्टा : ८ घण्टा अँध्यारो प्रकाश प्रोग्रामबाट पाइने अण्डाको बोक्रा भन्दा कडा र बलियो हुन्छ ।
४. मोल्टिंग
सबै किसिमका बुढा भएको लेयर्सलाई कृत्रिम तरिकाबाट मोल्टिंग गरिसकेपछि तिनबाट प्राप्त हुने अण्डाको बोक्राको गुणस्तर सधै सुध्रिढ हुने गरेको पाइएको छ । मोल्टिंग गरिसकेपछि, जुनसुकै जातका लेयर्सबाट प्राप्त हुने अण्डाको घनत्व, बोक्राको तौल, मोटाइ र प्रतिशत अनुपात कि त उस्तै कि पहिलाको भन्दा बढी हुने गरेको पाइएको छ ।
५. पोथी कुखुराको उमेर
पोथी कुखुराको उमेर बढ्दै जाँदा अण्डाको बोक्रा पातलो हुन्छ । बुढी पोथीले ठुलो आकारको अण्डा दिन्छन जसको बोक्रा सजिलै चर्किन सक्छ । वंशाणुगत रुपमा ग्रन्थिबाट अण्डामा निश्चित मात्रामा मात्र क्याल्सियम प्रवाह गर्ने क्षमता हुन्छ कुनैपनि जातको लेयर्स पोथीमा । उमेर ढल्कदै जाँदा पोथीले आफ्नो हड्डीबाट क्याल्सियमलाई रगतमा परिचालन गर्ने क्षमता ह्रास हुँदै जान्छ, तसर्थ क्याल्सियम कार्बोनेट उत्पादन गर्ने क्षमता पनि कम हुन्छ - जुन अण्डाको बोक्रा बनाउन नभई नहुने तत्व हो । ४० हप्ताको उमेरपछि क्याल्सियम सोस्ने र परिचालन गर्ने क्षमता ५० प्रतिशत भन्दा कम भएर जान्छ ।
६. एन्टीवायोटिक
सल्फा समूहको एन्टीवायोटिकको सेवनले अण्डाको गुणस्तर कमसल हुन्छ भने टेट्रासाईक्लिन समूहको एन्टीवायोटिकको सेवनले अण्डाको गुणस्तरमा केहि सकारात्मक असर गरेको पाइएको छ ।
७. पानीको गुणस्तर
थुप्रै सोधकार्यहरुले यो देखाएको छ कि - क्षारिय पानि (नगरपालिकाको धाराको पानि समेत) जसमा नुनको मात्रा बोरिङ्ग बाट निकालिएको पानीमा जत्तिकै हुन्छ त्यसले अण्डाको बोक्राको गुणस्तरमा नकारात्मक प्रभाव पार्दछ - त्यस्तै दाना खपत, अण्डा उत्पादन र अण्डाको वजनमा समेत केहि प्रभाव गर्दछ । केहि अध्ययनहरुले यो पनि देखाएको छ कि सो कारणले बोक्राको संरचना र घनत्वमा केहिपनि प्रभाव पार्दैन ।
८. तनाव
वातावरणीय तनावको कारणले डिम्ब बाहिनी नलि र पाठेघरको कोषहरूले अम्लीय पदार्थ निकाल्छ जसको कारणले गर्दा अण्डामा क्याल्सियम प्रवाह गर्ने कोषहरू ध्वस्त हुन्छन । जसकारण बढी मात्रामा क्याल्सियम प्रवाह हुन्छ र अण्डाको बोक्रामा पाउडर जस्तो पदार्थ जम्मा हुने र आकार बिग्रने गर्दछ । विशेषत: स्थानान्तरण तनाव जस्तै एकठाउँ देखि अर्को ठाउँमा कुखुरालाई सार्दा हुने तनावको कारणले गर्दा यस्तो समस्या बढी देखिने सम्भावना रहन्छ ।
९. वातावरणीय तापक्रम
अण्डाको बोक्राको गुणस्तर कमसल बनाउने अर्को महत्वपूर्ण पाटो हो - अधिक तापक्रम जसकारण दाना खपतमा कमि आउँछ । गर्मीयाममा आफ्नो शरीरमा भएको तापक्रमलाई निष्काशन गर्न कुखुराले छिटो-छिटो सास फेर्ने गर्दछ जसकारण अधिक मात्रामा कार्बोन डायोक्साईडको निष्कासन भई शरीरमा क्षारियपना उत्पन्न हुन्छ । रगतमा क्षारियपना उत्पन्न भई पि. एच. मान बढी भएमा अण्डाको बोक्रा निर्माण गर्न उपलब्ध हुने क्याल्सियमको मात्रा कम हुन् आउँछ ।
खोर भित्रको वातावरणीय तापक्रम २५ डिग्री सेन्टीग्रेड भन्दा ज्यादा हुनासाथ क्षणिक रुपमा दाना खपतमा कमि आइहाल्ने र अण्डाको बोक्रा पातलो देखिन्छ । फेरी तापक्रम क्रमश: घट्दै गएपछि दाना खपतमा सुधार आउँछ र अण्डाको बोक्राको मोटाई पनि सामान्य हुन थाल्दछ ।
श्वास-प्रश्वासजन्य क्षारियपनाको कारणले मृगौलाबाट कार्बोनेट निष्काशन हुने प्रक्रिया सक्रिय हुन्छ जसकारण अण्डा नलीको ग्रन्थि र मृगौला बीच कार्बोनेटको लागि प्रतिष्पर्धा हुन्छ । तापक्रम अत्यधिक बढी भई हिट स्ट्रेस / तनाव भएको बेला शरीरमा निम्नानुसार दुष्परिणाम उत्पन्न हुन्छ जसकारण अण्डाको बोक्रा पातलो हुन जान्छ :
क. दानाको खपतसँगै क्याल्सियमको खपत कम हुनाले हड्डीमा भएको क्याल्सियम रगतमा परिचालन हुन्छ र शरीरमा हाइपर-फस्फेटेमिया देखापर्दछ । हाइपर-फस्फेटेमियाको कारणले अण्डा नलीमा हुने ग्रन्थिमा क्याल्सियम कार्बोनेट निर्माण हुने प्रक्रिया निष्क्रिय वा अवरुद्ध हुन्छ ।
ख. अण्डा नलीमा हुने ग्रन्थिमा कार्बोनिक एनहाइड्रेज (जिङ्कमा भर पर्ने इञ्जाइम) नामक इञ्जाइमको सक्रियता व्यापक रुपमा कम हुन्छ ।
ग. ताप निष्काशन गर्नको लागि बढी मात्रामा रक्त संचार बाहिरी तन्तुहरुमा केन्द्रित हुन्छ फलस्वरूप अण्डा नलीमा हुने रक्त संचारमा केहि कमि आउँछ ।
घ. लेयर्स पोथीले भिटामिन डि-थ्री लाई त्यसको सक्रिय रुपमा रुपान्तरण गर्ने प्रक्रिया समेत अवरुद्ध हुन्छ ।
१०. पोषण
लेयर्स पोथिमा अण्डा उत्पादनको लागि क्याल्सियम, फस्फोरस, भिटामिन डि-थ्री र हार्मोनजन्य प्रक्रियाको बडो विचित्रको सम्बन्ध रहेको छ । सामान्य बोक्रा सहित समुचित अण्डा उत्पादनको लागि क्याल्सियम र फस्फोरसको सन्तुलन अत्यावश्यक हुन्छ । उत्पादनशिल लेयर्स पोथीको दानामा ३.५% देखि ४.०% क्याल्सियम र ०.३५% देखि ०.४०% उपलब्ध फस्फोरस हुन नितान्त जरुरि छ ।
क. क्याल्सियम : अण्डाको बोक्राको गुणस्तर कायम राख्न चाहिने भन्दा न्यून वा अधिक क्याल्सियम दुवै हानिकारक छ । एउटा अण्डामा करिब २ ग्राम क्याल्सियम हुने गर्दछ । तसर्थ एउटा पोथीले दैनिक रुपमा दानाबाट ४ ग्राम जति क्याल्सियम प्राप्त गर्नुपर्ने हुन्छ । किनकी प्राप्त गरेको क्याल्सियम मध्येबाट करिब ५०% देखि ६०% मात्र अण्डाको बोक्रा बनाउँन प्रयोग हुन्छ ।
अण्डा पार्नु भन्दा करिब १९ घण्टा अगाडी नै अण्डा नलीको ग्रन्थि भएको क्षेत्रमा अण्डा पुगेको हुन्छ । त्यति नै बेला प्रोटिन सँग टाँसिन बोक्राले क्याल्सियम भण्डारण गरेको हुँदैन । अन्तिम १५ घण्टाको समयमा उपरोक्त ग्रन्थिको माध्यम हुँदै व्यापक रुपमा (१००-१५० मिलिग्राम प्रति घण्टा) क्याल्सियम परिचालन हुन्छ । यस प्रक्रिया अन्तर्गत क्याल्सियम परिचालन हुने मुख्य २ श्रोत हुन आहारा र हड्डी । ३.५६% वा अधिक क्याल्सियम भएको सामान्य लेयर्स आहारा खुवाएको अवस्थामा रगतमा हुने सामान्य क्याल्सियमको मात्रा २० - ३० मिलिग्राम प्रति डेसीलिटर हुन आउँछ । पोथीलाई २% मात्रा क्याल्सियम भएको आहारा खुवाइरहेको अवस्थामा ३० देखि ४० प्रतिशत क्याल्सियम हड्डीबाट परिचालन हुने गर्दछ । तसर्थ अण्डा पार्न सुरु गर्नु भन्दा ठिक अगाडी सम्म पोथीले ज्यानमा अधिक मात्रामा क्याल्सियम सन्चित गरि भण्डारण गर्नुपर्ने आवश्यक देखिन्छ ।
तर ग्रोवर अवस्थाको लेयर्स कुखुराको आहारामा अधिक मात्रामा क्याल्सियम हुनाले पाचन नलीको पि. एच. अधिक भई पाराथाईरोइड ग्रन्थिको विकास प्रक्रियामा नकारात्मक असर पुग्छ, जसकारण आन्द्राबाट पोषक तत्व सोस्ने सामान्य प्रक्रिया प्रभावित हुन्छ । कहिलेकाहीँ पाराथाईरोइड ग्रन्थिमा स्थाई प्रकृतिको क्षति भई पछि गएर उत्पादन अवधिभर अण्डा उत्पादन गर्ने सामान्य प्रक्रिया नै अवरुद्ध हुनसक्छ ।
ख. फस्फोरस : अण्डाको बोक्रामा फस्फोरसको मात्रा (२० मिलिग्राम) अन्यत्र भाग (१२० मिलिग्राम) भन्दा निकै कम हुन्छ । बोक्राको बाहिरी र भित्रि भागमा नै फस्फोरसको वितरण असमान हुन्छ । फस्फेटले क्याल्सियम कार्बोनेटको गतिविधिलाई नियन्त्रण गरी अण्डाको बोक्रा बन्ने प्रक्रियालाई टुंग्याउँछ ।
रगतमा अधिक मात्रामा फस्फोरस भएमा हड्डीबाट क्याल्सियम परिचालन हुने प्रक्रियालाई अवरोध उत्पन्न गराउँछ । आन्द्राबाट क्याल्सियम र फस्फोरस सोसिने प्रक्रिया अन्यानोसश्रित छ र तिनलाई निम्न कुराहरुले फरक पार्दछ
- क्याल्सियम र फस्फोरसको श्रोत : क्याल्सियमको श्रोत र आकारले पाचन नलीमा रहने क्याल्सियमको मात्रालाई प्रत्यक्ष असर गर्दछ । फस्फोरस यस्तो रुपमा हुनुपर्दछ कि त्यो लेयर्स कुखुराको शरीरले सजिलै ग्रहण गर्न सकोस । जुनसुकै रुपमा हुने फस्फोरस जैविक रुपमा शारिरलाई उपलब्ध हुन्छ नै भन्ने छैन ।
- आन्द्राको पि. एच. : पि. एच. मान ५.५ - ६.० भएमा फस्फोरस सोस्ने प्रक्रिया अधिक हुन्छ । पि. एच. मान ६.५ भन्दा माथि भएको अवस्थामा सो प्रक्रियामा व्यापक अवरोध आउँछ । आहारामा अधिक मात्रामा फ्री- फ्याट्टी एसिड भएको खण्डमा पि. एच. मानमा कमि आउँछ र क्याल्सियम र फस्फोरसको सोसिने प्रक्रिया न्यूनीकरण भएर जान्छ ।
- क्याल्सियम र फस्फोरसको अनुपात : आन्द्रामा अधिक मात्रामा क्याल्सियम र फस्फोरस हुनाले एक अर्काको सोसिने प्रक्रिया अवरुद्ध हुन्छ । अधिक क्याल्सियमले गर्दा खाद्य नलीको पी. एच. मान कम हुन्छ र जसकारण फस्फोरसको सोसिने प्रक्रिया न्यूनीकरण हुन्छ साथ-साथै जिनक र म्यानग्यानिजको सोसिने प्रक्रिया पनि अवरुद्ध हुन्छ । रगतमा अधिक मात्रामा फस्फोरस हुनाले आन्द्राबाट क्याल्सियम सोसिने प्रक्रिया अवरुद्ध हुन्छ र हड्डीबाट क्याल्सियम परिचालन हुने क्रम पनि न्यूनीकरण हुन्छ । शरीरको अम्लीय-क्षारिय सन्तुलन कायम गर्न पनि बहुतै महत्वपूर्ण भूमिका खेल्दछ फस्फोरसले । हुर्कदै गरेको लेयर्स पोथिमा क्याल्सियम र फस्फोरसको अनुपात १.५ - २.० Ca : १.० P हुनुपर्दछ ।
- भिटामिन डि-थ्री : आन्द्राबाट क्याल्सियम सोसिनको लागि नभई नहुने तत्व हो - भिटामिन डि-थ्री ।
ग. भिटामिन डि-थ्री : अण्डाको बोक्रा बन्ने प्रक्रियाको दौरानमा क्याल्सियम सोस्न र परिचालन गर्न निकै महत्वपूर्ण भूमिका हुन्छ भिटामिन डि-थ्री को । स्वाभाविक नै छ अण्डा पार्ने पोथीको लागि आहारामा पर्याप्त मात्रामा भिटामिन डि-थ्री हुनुपर्दछ किनकी शरीरभित्र क्याल्सियम तथा फस्फोरसको प्रयोगको लागि यो निकै आवश्यक छ । आवश्यक भन्दा बढी मात्रामा हुँदैमा भिटामिन डि-थ्री ले अण्डाको बोक्रा बन्ने प्रक्रियामा कुनै सकारात्मक प्रभाव पार्दैन । भिटामिन डि-थ्री कै प्रभावमा क्याल्सियम-बाइन्डिंग-प्रोटिन बन्छ जसले क्याल्सियम सोस्ने प्रक्रियामा प्रमूख भूमिका खेल्दछ । भिटामिन डि-थ्री को कार्यसम्पादन १,२५-डाईहाइड्रोक्सी-डि-थ्री सँग सम्बन्धित हुन्छ जुन कलेजो तथा मृगौलामा उत्पादन हुने गर्दछ । कुनैपनि समस्या जसले यी अंगहरुलाई वा पारा थाईरोइड ग्रन्थिलाई कमजोर पार्दछ तिनको कारणले गर्दा भिटामिन डि-थ्री को काम तथा क्याल्सियम सोस्ने र परिचालित हुने प्रक्रियालाई असर गर्दछ ।
घ. दाना फर्मूलेशन : गहु वा जौ आधारित दाना भन्दा सोर्गम आधारित दाना खुवाउँदा अण्डाको बोक्रा नचर्किने शक्ति बढी हुने देखिन्छ । मकै-भटमास आधारित दाना खुवाएको खण्डमा सो शक्ति झनै कम हुने गर्दछ । आहारामा अत्यधिक मात्रामा क्याल्सियम र फाईटेट हुनाले म्यानग्यनिज र जिङ्क जस्ता शुष्म तत्वहरुको उपलब्धता कम हुन्छ जसले अण्डाको बोक्राको गुणस्तर कायम गर्न महत्वपूर्ण भूमिका खेल्दछ । दानामा फाईटेज इञ्जाईम र नन-स्टार्च-पोलिस्याकराईड भत्काउने इञ्जाईम राख्दा अण्डाको बोक्राको गुणस्तर झन् राम्रो र बलियो हुने गर्दछ ।
तोकिएको भन्दा तीन गुणा अधिक मात्रामा म्याग्नेसियम र क्लोराईड दिदा अण्डा तथा बोक्राको गुणस्तरमा खासै असर गर्दैन । अधिक क्लोरिनले गर्दा रगतमा हुने बाइकार्बोनेटको मात्रा कम हुन्छ जसले गर्दा अण्डाको बोक्रामा क्याल्सियम जम्मा हुने प्रक्रिया अवरुद्ध हुन्छ । आहारामा क्याटआयोनिक-एनायोनिक असन्तुलन, नन-स्टार्च-पोलिस्याकराईड, माइकोटकसिन र अन्य रसायनिक प्रदुषण हुँदा पनि अण्डाको बोक्राको गुणस्तर कमसल हुन्छ ।