फार्म देखि कोल्ड स्टोर लैजाँदासम्म गर्नुपर्ने ह्याचिंग अण्डाको हेरचाह र  रेखदेख

उदेश्य - ह्याचिंग अण्डा सफा राखी तथा उचित तापक्रम र आद्रता प्रदान गरेर उच्चतम ह्याचविलिटी र गुणस्तरीय एकदिने चल्ला प्राप्त गर्न  ।

सरसफाई तथा हाइजिन


- पोथीले गुणमा नपारेर भुईमा पार्ने अण्डाको कडा निगरानी गर्ने र व्यवस्थापकीय पक्षहरु सुधार गरेर तीनको संख्यालाई न्युनतम भन्दा न्युनतम बनाउने ।

- गुणमा जम्मा भएका फोहरलाई सफाई गर्ने र त्यहाँ राखिने भुस पुरानोलाई नयाँले निरन्तर फेर्ने ।

- सुली टाँसिएको अण्डालाई नरमसँग पेपर टावेलले पुछ्ने ।

- धेरै सुली टाँसिएको तथा भुईमा पारिएको अण्डाहरुलाई अन्य सफा अण्डा देखि अलग्गै भण्डारण गर्ने ।

- बल प्रयोग गरि अण्डाको अत्याधिक सफाई गर्नु उचित हुँदैन - यसले गर्दा अण्डाको बाहिरी भाग क्युटिकल नष्ट हुनसक्छ ।

तापक्रम


- कम्तिमा पनि दिनको चार पटक अण्डा टिप्ने र फ्युमिगेशन गरी कोल स्टोरभित्र हुलिहाल्ने - अन्यथा तापले गर्दा मेसिनमा नहाल्दै अण्डाभित्रको भ्रुण विकास हुनसक्छ ।

- अण्डा पारेको चार घण्टा भित्र नै कोल्ड स्टोरमा भण्डारण गरिहाल्नुपर्द्छ - जति सक्दो छिटो त्यति नै राम्रो, कोल्डस्टोरको तापक्रम पनि स्थिर हुन आवश्यक छ ।

- लामो भण्डारण समयको लागि भण्डारण तापक्रममा केहि फेरबदल गर्नुपर्ने हुन्छ ताकि कुनैपनि भ्रुण कोषको मर्ने सम्भावना न्युन भएर जाओस अर्थात बढी भन्दा बढी भ्रुण कोष जीवित रहुन ।

- फार्म देखि दुवानी साधन र ह्याचरी पुग्दासम्म स्थिर तापक्रम होस् ताकि कंडेनसेसन भई अण्डामा पसिना (बोक्रा बाहिर पानिका फोका/शीत जस्तै) आउने सम्भावना नहोस ।

- अण्डालाई भित्ता देखि टाढा हुनेगरी भण्डारण गर्ने, अण्डाको खात/पेटी बीच पनि हावा पास हुनेगरि उचित दुरी कायम गर्ने, सिधै भुईमा नराख्ने ।

आद्रता ह्याण्डलिङ्ग


- ७० देखि ८० % सापेक्षिक आद्रता कायम गरी अण्डा भण्डारण गर्ने ताकि वस्पिकरण भएर पानिको मात्रा कम नहोस ।

- अण्डा पारेको ७ दिनभित्रै सेटर मेसिनमा अण्डा सेटिङ्ग गर्ने ताकि उच्चतम ह्याचविलिटी प्राप्त गर्न सकियोस ।

- अण्डालाई अधिक हल्लाउने कार्य गर्नहुँदैन - अन्यथा भित्रको भ्रुणको मृत्यु हुनसक्छ  ।