कोरोना र पशुपन्छीः भ्रम र सत्य
कोरोना र पशुपन्छीः भ्रम र सत्य

डा. प्रकाश अधिकारी, पशु चिकित्सक

चीनको बुहान प्रान्तबाट शरू भएको नोवेल कोरोना भाइरस अर्थात् कोभिड १९ ले अहिले पूरा विश्वलाई नै आतंकित बनाइरहेको छ। यो लेख तयार पार्दासम्म यो भाइरसको संक्रमणबाट विश्वमा ३३ लाख ८५ हजार ४ सय ७३ (नेपालमा ५,००१) जनाले ज्यान गुमाइसकेका छन्। दुई सय बीस देशका १६ करोड ३२ लाख ५० हजार ७ सय ७२ मानिस (नेपालमा ४,५५,०२०) जना संक्रमित भएका छन्। यस्तो महामारीको पृष्ठभूमिमा उक्त भाइरस संक्रमणसँग सम्वन्धित विभिन्न किसिमका भ्रमाक समाचार, सूचना, जानकारी लगायत सामग्री फेसबुक, ट्वीटर, युट्युव जस्ता सामाजिक सञ्जालहरूमा भाइरल बनिरहेका छन्। विशेष गरी यो भाइरसको उत्पति र सर्ने माध्यम पशुपन्छी भएको तथ्यहीन समाचारहरु भाइरल बनिरहेका छन्। यस्तो अवस्थामा हामीले लिने ज्ञान वा जानकारी पनि सत्य हुनु आवश्यक छ। यसै विषयमा बुझाउने सानो प्रयास यस लेख मार्फत् गरिएको छ।


कोभिड १९, कोरोना भाइरस परिवारको एक नयाँ प्रकारको सदस्य हो। यो लगायत अन्य थुप्रै भाइरसहरू यस परिवारमा पर्दछन्। कोरोना भाइरस परिवारको विशेषता मानिस र पशुपन्छी दुबैमा संक्रमण गराउने क्षमता भएतापनि अहिले देखा परेको कोभिड १९ ले पशुपन्छीमा संक्रमण गरेको तथ्यांक हालसम्म छैन। गत फेब्रुअरी महिनामा एक कुकुरमा कोरोना भेटिएको समाचार आए पनि केही समयपछि उक्त कुकुरमा कोरोना संक्रमण नभएको प्रमाणित भएको थियो। चीनमा यो भाइरसको पहिलो लहर फैलिरहँदा यो रोगको उत्पत्ति चमेरो तथा सर्प जस्ता जङ्ली जनाबरबाट भएको भनिए तापनि हालसम्म प्रमाणित भएको छैन। यद्यपी विश्वमा देखा परिरहेका ७० प्रतिशत नयाँ रोगहरु पशुपन्छीबाटै उत्पत्ति हुने तथ्य भने सत्य हो। यो हिसाबले कोभिड १९ पनि पशुपन्छीबाटै उत्पत्ति भएको हुन सक्ने अनुमान गरिएको हुन सक्दछ।

हालसम्म पशुपन्छीबाट यो रोग सरेको प्रमाण नभएको अवश्थामा मासु, अण्डा वा दूध सेवन गर्दा यो रोग सर्छ भनेर भ्रम फैलाउने र सेवन गर्नै छाडेका पनि छन्। यसले गर्दा भारत लगायत नेपालमा पनि अहिले पशुपन्छीजन्य पदार्थको उपभोग घटेको देखिन्छ, तर कोभिड १९ लगायत जुनसुकै संक्रमणमा पनि शरीरको रोगसँग लड्न सक्ने क्षमता अर्थात् इम्युनिटी पावर को विशेष महत्त्व हुन्छ। कुनै पनि संक्रमणविरुद्ध लड्न शरीरले एक प्रकारको रसायन निर्माण गर्छ। त्यस्तो रसायनलाई इम्युनोग्लोबुलिन भनिन्छ। यो इम्युनोग्लोबुलिन बन्न शरीरलाई प्रोटिनलगायत अन्य पौष्टिक तत्वको आवश्यक पर्दछ।

विश्व स्वास्थ्य संगठनका अनुसार एक वयस्क पुरुषलाई ५३ ग्राम र महिलालाई ४१ ग्राम प्रोटिन (दैनिक प्रोटिनको आवश्यकता ०.७५ ग्राम प्रति के.जी. का दरले औषत वयस्क पुरूष तौल ७० के.जी. र वयस्क महिला ५५ के.जी. मान्दा) दैनिक रुपमा आवश्यक पर्दछ। कोविड १९ बाट रोगसँग लड्न सक्ने क्षमता अर्थात् इम्युनिटी पावर कमी भएका व्यक्तिहरू बढी प्रभावित भएका छन् भने त्यस्तै व्यक्तिको मृत्यु भएको पाइएको छ। तसर्थ यो समयमा हामी सबैले रोगसँग लड्न सक्ने आफ्नो रोगप्रतिरोधी क्षमता बलियो बनाउन आवश्यक हुन्छ। त्यसका लागि पर्याप्त मात्रामा प्रोटिन सेवन गर्नु पर्दछ। पशुपन्छीजन्य उत्पादन, मासु, अण्डा, र दूध प्रोटिनको मुख्य स्रोतहरू हुन्।

प्रति १०० ग्राम कुखुराको मासु बाट २७ ग्राम, १ अन्डाबाट ६ ग्राम र एक गिलास दूधबाट ९ ग्राम प्रोटिन प्राप्त हुन्छ। त्यसैले हरेक दिन १०० ग्राम मासु, १ अन्डा र १ ग्लास दूध सेवन गर्दा कोरोना भाइरससँग लड्न सक्ने प्रतिरोधी क्षमता विकासमा मद्दत पुग्छ। यसै तथ्यलाई मनन् गर्दै चीनमा कोरोना संक्रमणका बेला माछा मासु र अण्डाको खपत बढेको हो। कतिपय देशहरुमा कोरोना बिरामीको खानामा अण्डा र दूध अनिवार्य रुपमा प्रयोग भएको पाइन्छ तर भारत लगायत नेपालमा भने कुखुराको मासु, अण्डा र दूध सेवन गर्दा कोरोना सर्ने भन्दै मनिसले मासु, अण्डा र दूध खान छाडेका छ्न्।

 

यसले एकातिर शरीरलाई आवश्यक पर्ने प्रोटिनको परिपूर्तिमा चुनौती थपिएको छ भने अर्कातिर किसानले उत्पादन गरेको मासु, अण्डा र दूधले बजार पाएको छैन। मासु, अण्डा र दूधको सेवनबाट कोरोना भाइरस सर्ने कुनै तथ्य प्रमाणित नभएकाले यसको सेवन गर्दा कत्ति पनि डराउनु पर्ने देखिँदैन। यद्यपी कोभिड– १९ नयाँ रोग भएकाले यसको श्रोत सर्ने माध्यम लगायतका अन्य पक्षहरूको जानकारी पर्याप्त छैन। त्यसैले पशुपंन्छीबाट पनि रोग सर्न सक्ने सम्भावनालाई बिर्सन भने हुँदैन। मासु अण्डा र दूध राम्ररी पकाएर खाँदा कोरोना सर्ने कुनै सम्भावना हुदैन।  पशुपन्छीको पत्यक्ष संपर्कमा आउने किसान, मासु व्यवसायी, पशु चिकित्सक लगायत अन्यले बिशेष ध्यान पुर्याउनु पर्दछ। त्यसैले अहिलेको समयमा भ्रमहरुको पछाडि नलागि सत्य तथ्यको आधारमा बिशेष साबधानी अपनाउनु पर्छ। आशा गरौँ सबैको सहयोग र धैर्यताले विश्वले छिट्टै कोरोनालाई जित्ने छ।


कोरोना भाइरस सम्वन्धित अन्य सामाग्रीहरू

 कोरोना संक्रमण परीक्षणमा र्‍यापिड टेष्ट: यसको भ्रम र यथार्थ

⇒ कोभिड-१९ नियन्त्रण : पशु स्वास्थ्य क्षेत्रले गर्न सक्ने सहकार्य

⇒ कोरोनाको पाठ सबल पशु स्वास्थ्य