के हो त बर्ड फ्लु?

के हो त बर्ड फ्लु?


बर्ड फ्लु कुखुरा, हाँस, टर्की लगायतका पन्छीहरूमा लाग्ने अति सक्रामक एवं घातक सरूवा रोग हो। यो रोग एभिएन इन्फ्लुएन्जा भाइरसले लाग्ने गर्दछ। कम घातक बर्ड फ्लुलाई Low Pathogenic Avain Influenza (LPAI) भन्ने गरिन्छ भने अति घातक बर्ड फ्लुलाई Highly Pathogenic Avain Influenza (HPAI) भनिन्छ। HPAI मुख्य गरी H5N1 भाइरसले लगाउँछ। यो रोगको भाइरस RNA ले बनेको हुनाले यसले आफ्नो संरचना बदलिरहन्छ जसको कारणले यसको उपचार र रोकथाम चुनौतीपूर्ण छ।

सन् १८७८ मा इटलीमा सर्वप्रथम कुखुरामा बर्डफ्लु पत्ता लागेको भएपनि मानिसमा भने पहिलो पटक सन् १९९७ मा हङकङमा बर्डफ्लु बाट ६ जना व्यक्तिको मृत्यु भएको थियो। सन् २००३ देखि हाल सम्म H5N1 नामक बर्ड फ्लुबाट ८६० जना व्यक्ति संक्रमित भएकोमा जसमध्ये ४५४ व्यक्तिको मृत्यु भएको छ।

मानिसमा बर्ड फ्लुको संक्रमण बिरलै भएतापनि यो रोग लागिसकेपछि मानिस बाँच्ने सम्भावना भने ४० प्रतिशत मात्रै हुन्छ। यो भाइरस पन्छीहरूमा एकदम चाडै सर्न सक्ने र ४८ घण्टाभित्र कुखुरा फार्मको ९० देखि १०० प्रतिशत सम्म कुखुरा मर्न सक्दछन्। हाँस र जङ्गली चराहरुमा भाइरस भएता पनि ती बिरामी नपर्न सक्छन् तर तिनले अरू पन्छीहरूमा भाइरस सार्न भने सक्दछन्।

नेपालमा कुखुरा व्यवसाय फस्टाउँदै गइरहेको अवस्थामा समय समयमा देखापर्ने बर्ड फ्लु अहिले यस व्यवसायको प्रमुख चुनौतीको रूपमा देखा परेको छ। विसं २०६५ सालमा पहिलो पटक H5N1 नेपालमा देखिएको थियो भने वि.सं. २०६९।७० मा यो रोगले महामारी रुप लिई नेपालको पोल्ट्री व्यवसायमा ठूलो क्षति पुर्याएको थियो। यो रोग अति छिटो फैलिने घातक सरुवा रोग हो। यो रोग लागिसकेपछि उपचार पनि छैन् त्यसैले यो रोग लाग्न नदिनु र लागि सकेपछि फैलिन नदिनु नै सबैभन्दा उत्तम उपाय हो।

पन्छीमा बर्डफ्लुको लक्षण

  • श्वासप्रस्वासमा समस्या जस्तै घ्यारघार गर्ने, सास फेर्न गह्रो हुने, र्याल काढ्ने
  • छेर्ने, झोक्राउने, दानापानी नखाने अण्डा उत्पादन घट्ने
  • यदी H5N1 सङ्क्रमण भएमा एक्कासी ठुलो सङ्ख्यामा कुखुरा मर्ने

बर्डफ्लु सर्ने माध्यम

  • यो रोग संक्रमित कुखुराको सुलिबाट वातावरणमा निष्कासन भई हावा तथा अन्य माध्यम बाट फैलन्छ।
  • सुलीसँग प्रत्यक्ष वा अप्रत्यक्ष समपर्कमा आउने किसान तथा जो कोहीलाई यो रोग सर्न सक्दछ।
  • यस्तैगरी हावा पानीको माध्यमबाट यो रोग एक ठाउँबाट अर्को ठाउँमा सहजै सर्दछ।
  • काँचो तथा राम्रोसँग नपाकेको कुखुराको मासु वा अण्डा सेवनले पनि यो रोग लाग्ने सम्भावना हुन्छ।

बर्डफ्लु संक्रमित क्षेत्रबाट अन्य क्षेत्रमा रोग फैलिन नदिने उपायहरु

  • बर्ड फ्लु देखापरेको अवस्थामा त्यस क्षेत्र भित्रका कुनै पनि पन्छीजन्य पदार्थहरु अन्य क्षेत्रमा ओसार पसार नगर्ने।
  • कुखुरा नष्ट गर्न आउने टोली र स्वास्थ्य टोलीहरुलाई बिरामी वा मरेका कुखुरा वा पन्छी भएको स्थानको पहिचान गर्न मद्दत गर्ने साथै निसंक्रमण गर्न सहयोग गर्ने।
  • यदि मानिसमा पनि रोग लागेको शंका भएमा स्वास्थ्य टोलीलाई तुरुन्तै जानकारी गराउने।
  • कुखुरा नष्ट गर्न आउने टोली नआएसम्म मरेका कुखुरा, हाँस, वा पन्छी जथाभावी हुन वा बच्चाहरुलाई खेलाउन नदिने।
  • संक्रमिक क्षेत्रलाई सरकारले रोग मुक्त क्षेत्र घोषण गरेर र व्यापार खुल्ला गरेपछि मात्र पन्छी वा पन्छीजन्य सामानको ओसारपसार गर्ने।

रोकथामका उपायहरु

१. आफ्नो फार्ममा जैविक सुरक्षाका उपायहरु लागू गर्ने

  • जंगली पन्छीहरु आफ्नो फार्ममा पालेका कुखुरा, हाँसहरुसँग सम्पर्कमा आउन नदिने।
  • हाँस र कुखुरालाई छुट्टाछुट्टै खोरमा पाल्ने र एकै ठाउँमा चर्न नदिने।
  • भरपर्दो स्रोतबाट मात्र चल्ला, दाना र अन्य सामग्री भित्र्याउने।
  • बिरामी कुखुरालाई अन्य पन्छीसँग लसपस हुन नदिने।
  • बजारमा बेच्न लगिएका कुखुरा फिर्ता नल्याउने।
  • खोरमा पस्दा र निस्कदा साबुन पानीले राम्ररी हात धुने।
  • मरेका हाँस, कुखुरा तथा सुली, प्वाँख आदि नथाभावी नफाल्ने।

२. अबैध ओसार पसार नगर्ने नगराउने। कसैले अबैध पदार्थ ओसार पसार गरेको थाहा पाएमा सम्बन्धित निकायमा जानकारी दिने।

३. कुखुरा, हाँस वा अन्य पन्छीहरुमा आकस्मिक रोग देखापरेमा वा मृत्यु भएमा तुरुन्तै नजिकको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र वा नजिकको भेटेरीनरी डाक्टर वा पशु सेवा विभागलाई जानकारी गराउने र खुल्ला हातले बिरामी वा मरेका कुखुरा नछुने।