"प्यारेन्ट कुखुराको फ्लकमा मोल्टिंग कार्यक्रम"

सामान्यतया, अण्डा उत्पादन क्षमतामा ह्राश आइसकेको बुढी पोथी कुखुराहरुको उत्पादकत्व वृद्दि गर्न भनि मोल्टिंग गर्ने गरेको पाइन्छ । तर कहिलेकाहिँ अचानक आइपर्ने दुरघटनाजन्य परिस्थिति जस्तै: अण्डा/चल्ला को मुल्यमा व्यापक गिरावट, दानाको मुल्यमा व्यापक बढोत्तरी, ढुवानी अवरुद्ध भई दाना तथा अण्डा ओसार-पोसार गर्न नसकेको अवस्था (बन्द, हड्ताल, कर्फ्यु, भुकम्प, अन्य प्राकृतिक प्रकोप, लकडाउन आदि) मा पनि किसानवर्गले पोथीलाई मोल्टिंग गर्ने गरेको वा मोल्टिंग गर्न चाहेको पाइन्छ । किनकि मोल्टिंग गर्दा दाना खपत कम भई उत्पादन लागत न्यून हुन आउँछ साथै अण्डा उत्पादन शुन्यमा झर्नाले ढुवानीको झन्झट पनि हुँदैन - यसरि परिस्थिति अनुकुल नबन्दासम्म फार्मको खर्चलाई जसोतसो धान्न सहयोग पुग्छ । यद्दपी सो किसिमको प्रतिकुल परिस्थिति धेरै नै लामो समयसम्म लम्बिन गएको सन्दर्भमा चाहिँ मोल्टिंग प्रक्रियाले चाहेजस्तो राहत नदिन पनि सक्छ किनकी पोथीको तौलमा २५ देखि ३० प्रतिशत गिरावट आउँदासम्म मात्र दाना बन्द गर्न सकिन्छ, त्यहाँ भन्दा बढी समय होइन । पोथीको तौलमा २५ देखि ३० प्रतिशत गिरावट आइसकेपछि बिस्तारै दाना खपतमा वृद्दि गराउँदै लैजानुपर्छ र प्रकाश अवधि पनि बढाउदै लैजानुपर्छ । दाना खपत नभएको बखतमा प्रकाश पनि बन्द गरिएको हुन्छ ।

तन्नेरी अवस्थामा रहेकै पोथिहरुलाई माथि उल्लेख गरेजस्तो प्रतिकुल परिस्थिति आइपरेमा मोल्टिंग गर्ने कि नगर्ने भन्ने विषयमा पोल्ट्री विशेषज्ञबीच मतैक्यता रहेको पाइदैन । पशुपंछी अधिकारको विषयमा कडा नियम-कानुन भएका कतिपय युरोपेली मुलुकमा त मोल्टिंग पूर्णतया वर्जित नै छ । संसारभर पोल्ट्री विशेषज्ञहरुले आवश्यक परेको बखतमा विभिन्न किसिमको मोल्टिंग प्रोटोकल प्रयोग गर्ने गरेको पाइन्छ । कसैले दाना पूर्णतया बन्द गर्ने किसिमको मोल्टिंग कार्यक्रम (Fast Molting) लागु गर्ने गर्छन भने कसैले दाना पूर्णतया बन्द नगरी पोषण तत्वमा फेरबदल गरेर मोल्टिंग कार्यक्रम (Non-fast Molting) लागु गर्छन । लकडाउनको यस विषम परिस्थितिमा दाना उपलब्धता तथा दाना-अण्डाको ओसार-पोसार निकै चुनौतिपूर्ण बनेको छ । महामारीको सन्दर्भमा पन्छीजन्य उत्पादन खान हुँदैन भन्ने किसिमको बेतुकको भ्रमले गर्दा पनि अण्डाको मुल्यमा गिरावट आएको देखिन्छ, अण्डा जाम भएर भण्डार कक्षमा थन्किएर बसेको छ । यस परिप्रेक्क्षमा लेयर्स कुखुराका पोथीहरुलाई मोल्टिंग गरि केहि राहत लिन सकिन्छ कि भन्ने जिज्ञाशा हरेक अण्डा उत्पादक किसानको मनमा उब्जेकै छ । चल्ला उत्पादन गर्ने ह्याचरी व्यवसायीहरुको मनमा पनि उत्पादित चल्ला राम्रोसङ्ग बिक्रि नभैरहेको अवस्थामा यस किसिमको कौतुहलता रहेकै छ । यद्दपी यस बखतमा महामारीको अवस्था र लकडाउन कतिसम्म लम्बिने हो भनि यकिन गर्न गाह्रो भैरहेको हुनाले मोल्टिंग गरेर यथोचित राहत प्राप्त गर्नसक्ने वा नसक्ने विषयमा पनि प्रश्नचिन्ह खडा भएको छ ।

बजार अवस्थाको कारण कहिलेकाहि ब्रोइलर प्यारेन्ट कुखुरालाई मोल्टिङ गर्नुपर्ने हुन्छ। प्राविधिक रुपमा प्यारेन्ट पोथीलाई मोल्टिङ गर्न सकिन्छ तर प्यारेन्ट भालेलाई मोल्टिङ गर्न सकिदैन। तसर्थ मोल्टिङ गर्नु अगाडि नै भालेलाई पोथिबाट छुट्ट्याएर अलग्गै राख्नुपर्छ र मोल्टिङ पश्चात मिसाउनु पर्छ।


प्यारेन्ट फ्लकलाई मोल्टिङ गर्ने साधारण सिद्धन्त भनेको दाना-पानि नदिएर पोथीको तौललाई छिटो भन्दा छिटो छिटो २५ प्रतिशत घटाई घटाएएइ २.६ देखि २.७ किलोग्राम पुर्याउने हो।

⇒ मोल्टिङ सुरु गर्नुभन्दा अगादि बथानलाई जुकाको ओखति दिएर आई बि +लासोटा भ्याक्सिन दिने।

⇒ सुरुको दुई दिन पानि नदिने, तेस्रो दिनबाट पानि दिने।

⇒ दश देखी बाह्र दिनसम्म दाना नदिने ताकि पोथीको तौल झरेर २.६ देखि २.७ किलोग्राम सम्म पुगोस्, घट्दो तौलको निरन्तर निग्रानि गर्नि ताकि लक्षित तौलभन्दा बढि वा घटी नहोस्।

⇒ पोथिलाई ८ घण्टासम्म प्रकाश दिने; ओपेन हाउस प्रणालिमा प्राक्रितिक प्रकाश मात्र - क्रित्रिम प्रकाश नदिने।

लक्षित तौल प्राप्त गरिसकेपछि निम्नानुसार दाना दिने:

⇒ पहिलो हप्तामा हप्तामा, पचास ग्राम ग्रोवर दाना प्रति पोथी प्रति दिन।

⇒ दोस्रो र तेस्रो हप्तामा, साठि ग्राम ग्रोवर दाना प्रति पोथी प्रति दिन।

⇒ चौथो, पाचौ र छैठौ हप्तामा, असि ग्राम ग्रोवर दाना प्रति पोथी प्रति दिन।

⇒ सातौ हप्तामा, सय ग्राम ग्रोवर दाना प्रति पोथी प्रति दिन र चौध घण्टा प्रकाश दिने ।

⇒ आठौ हप्तामा, एक सय बीस ग्राम ग्रोवर दाना प्रति पोथी प्रति दिन र भालेलाई पोथीसङ्ग मिसाउने।

⇒ तत्पश्चात विस्तारै प्रकाश अवधि पनि बढाउँदै लैजाने । प्रति हप्ता एक घण्टाको दरले बढाएर पून: १६ घण्टाको प्रकाश अवधि कायम गराउने।

⇒ पाँच प्रतिशत उत्पादन भएपछि ब्रिडर दाना दिने र म्यानुअल बमोजिम उत्पादन अनुसार मात्रा बढाउदै लैजाने (म्यानुअल भन्दा केहि छिटो पनि बढाउन सकिन्छ)।

नोट:

  ⇒ मोल्टिङपछि उत्पादन लिनु अगाडि आइ बि + आइ बि डी + एन डि + रियो भाइरस विरुद्धको किल्ड भ्याक्सिन दिनु उप्युक्त हुन्छ।

  ⇒ मोल्टिङ गरेपछि कुनैपनि फ्लकबाट कम्तिमा आठ हप्ता उत्पादन लिन सकिदैन।

  ⇒ पोथीलाई दाना नदिएको समयमा शरिरमा क्याल्सियमको कमि भई कामजोरि नहोस् भन्नको लागि मार्बल ग्रिट पाच ग्राम प्रति पोथीको दरले दानाको भाडामा हालिदिनुपर्छ। फस्फोरस कमि नहोस् भन्नको लागि डिसिपिको धुलो तेहिपनि दिन सकिन्छ।

  ⇒ दाना नदिएको समयमा शरिरमा भिटामिन तथा खनिज तत्व कमि भईरहेका रोग प्रतिरोधक क्षमता कम नहोस् र अन्य स्वास्थ्यजन्य समस्या नहोस् भन्नको लागि तिनलाई कुखुराले पिउने पानिको माध्यामबाट दिनुपर्ने हुन्छ ।

कोरोनाको पहिलो छालको बेला वि.स. २०७७ साल बैसाख महिनामा हाइजिन एग्रो प्रा. लि., घोराही, दाङमा डा. विवेक बन्धु रेग्मीको प्रत्यक्ष निगरानीमा माथि उल्लेखित तरिका बमोजिम एउटा ५१ प्रतिशत दैनिक उत्पादन दिईरहेको प्यारेन्ट फ्लकमा गराइएको मोल्टिंग कार्यक्रमको नतिजा निम्न अनुसार देखियो: -

दाना बन्द गरेपछि अण्डा उत्पादन पूर्णतया बन्द हुन लागेको समय : ७ दिन

दाना बन्द गरेपछि पोथीको तौल साबिक भन्दा २५ प्रतिशत कम हुन लागेको समय : १२ दिन

१३ औँ दिनबाट बिस्तारै दाना दिन थालियो, क्रमिक रुपमा दानाको मात्रा बढाउँदै लगियो; तत्पश्चात (१३ औँ दिनबाट गन्दा) पहिलो अण्डा उत्पादन हुन लागेको समय : ४९ दिन अर्थात मोल्टिंग सुरु भएबाट गन्दा ६१ दिन

अण्डा उत्पादन सुरु भएपछि ५० प्रतिशत दैनिक उत्पादन आउन लागेको समय : ६ हप्ता

मोल्टिंग गरेपश्चात आएको पिक दैनिक उत्पादन : ६५ प्रतिशत

मोल्टिंग (दाना बन्द) गरेको समयमा भएको मृत्युदर : १ प्रतिशत

मोल्टिंग पश्चात दाना दिन सुरु गरेपछि पोथीको तौल साबिकको अवस्थामा पुग्दासम्म भएको मृत्युदर : २.७५ प्रतिशत

मोल्टिंग सुरु गरेपछि पोथीको तौल साबिकको अवस्थामा पुग्दासम्म भएको मृत्युदर : ३.७५ प्रतिशत