खोरेत रोगः एक परिचय
खोरेत रोगः एक परिचय (FMD: An Introduction)खोरेत खुरफट्टा पशुहरूमा विषाणुबाट लाग्ने संक्रामक रोग हो। नेपालमा यो रोग देखा परिरहने (Endemic) रोग हो। यसले दूध उत्पादनमा गिराबट ल्याउने, पशुको मृत्यु भई क्षति पुर्याउने गर्दछ। चाडपर्वहरूमा पशुको ओसारपसार तथा खुल्ला सिमानाका कारण भारतबाट नेपालमा भित्रिने पशुसँग यो रोग भित्रिने तथा फैलिने जोखिम रहेको छ। बर्षभरीनै रोग देखा पर्न सक्ने भएता पनि बर्षायामको वरिपरी बढी मात्रामा देखिन्छ।
रोगको इतिहास
यो रोगको बारेमा सन् १५१५ मा इटालियन पुजारी हाइरोनिमस फ्राकास्टोरीयस (Hieronymus Fracastorius) ले इटालिको भेनिस शहरमा देखिएको भनि बिश्लेषण गरेको पाईन्छ, तर त्यसताका यो रोग खोरेत हो भनि नामाकरण तथा रोगको कारक तत्व पत्ता लागेको भने थिएन। सन् १८९८ मा दुई बैज्ञानिक लोफ्लेर (Loeffler) र फोर्स (Frosch) ले बिषाणुबाट लाग्ने खोरेत रोग हो भनि पत्ता लगाए। अमेरीका, बेलायत, अस्ट्रेलिया, न्यूजिल्याड जस्ता विकसित देशहरूबाट यो रोग उन्मुलन भइसकेको छ। बेलायतले यो रोग उल्मुलन गर्न संक्रमित सबै पशुहरु मार्ने नीति अवलम्बन गर्यो त्यस अभियानमा ४ देखि ५ अरब रकम बराबरको ६० लाख गाई र भेडा मारिएको थियो।
रोगको कारक तत्व
यो रोग एप्थो प्रजातिको बिषाणुबाट लाग्दछ। यसका ७ वटा प्रकार रहेका छन् जसमा ए, ओ, सि, स्याट १, स्याट २, स्याट ३, एसिया १ रहेका छन्। जस मध्ये नेपालमा ओ प्रकारको विषाणु बढी देखिन्छ।
रोग लाग्न सक्ने पशुहरु
सम्पुर्ण खुरफट्टा पशुहरूमा यो रोग लाग्दछ। गाई, भैसी, भेडा, बाख्रा र बंगुर लगायत ७० प्रकारका जंगली पशुहरूमा यो रोग लाग्न सक्दछ। यो रोगमा साना पशुहरूमा मृत्युदर बढी भए पनि ठुला पशुहरुमा कम हुने गरेको पाइएको छ। रोगको विषाणु शरीरमा प्रवेश गरेको २ देखि १४ दिनमा रोग देखा पर्दछ।
सर्ने माध्यम
यो सजिलै फैलन सक्ने संक्रामक रोग हो। यो रोग निम्न माध्यमबाट सर्दछ।
- संक्रमित पशुहरूसँगको सम्पर्कबाट
- संक्रमित पशुसँग सम्पर्कमा आउने बस्तुहरु जस्तैः गोठमा लगाउने जुत्ता, गोठमा काम गर्दा लगाएको कपडा, दाना बोक्ने गाडीहरु, गोठमा काम गर्दा संक्रमित हात, पशु आहारा जस्तै पराल, दानापानीको भाडाकुडा आदिबाट
- रोग लागेको पशुहरूको दूध तथा मासुबाट
- संक्रमित पशुसँगको प्राकृतिक मैथुन संसर्ग तथा कृत्रिम गर्भाधानबाट
- सिंगान तथा र्यालका छिटाबाट
- हावाको माध्यमबाट (जमिनमा ६० कि मि सम्म र समुन्द्रमा ३०० किलोमिटर पर सम्म फैलिन सक्दछ)
- यो रोगको विषाणु दूध, मासु, स्वास, र्याल, दिशा, पिसाब तथा वीर्यमा ४ दिन सम्म जिवित रहन्छ र रोग लागेका तथा रोग लागेर निको भएका पशुहरूले २८ दिन सम्म रोग सार्न सक्दछन्।
- रोगको फैलाबट दर १०० प्रतिशत सम्म पुग्न सक्दछ भने मृत्यु दर १ देखि २ प्रतिशत सम्म हुन्छ तर बंगुरका पाठापाठीमा मृत्युदर २० प्रतिशत सम्म पनि हुन सक्दछ।
रोगका लक्षणहरु
यो रोगले मुख्यतया मुख र खुट्टामा असर गर्दछ। रोगको लक्षण तथा तिब्रता (severity) विषाणुको प्रकार, शरीरमा प्रवेश गरेको मात्रा, पशुको उमेर, बेत, शारीरिक अवस्था तथा प्रतिरक्षा क्षमता आदिमा भर पर्दछ।
मुख्य लक्षणहरु
- ज्वरो आउने, काम्ने
- मुख च्यापच्याप गर्ने
- दात किटकिट गर्ने
- र्याल बगाइरहने
- खुट्टाको घाउको कारण खुट्टा खोच्चाउने
- मुख, जिब्रो, गिजा, माथिल्लो दात घर, गाला, मुखको भित्रि तालु, ओठ, नाकको प्वाल, थुतुनो, खुरको कापा, थुन, कल्चौडो, खुर र मासु जोडिएको स्थान, छोटा खुर आदिमा घाउ तथा फोकाफोकि आउने र फोका फुटेर घाउ हुने
- रोग बढ्दै जादा बच्चाहरुको मुटुको मासु सुन्निने रोग (Myocarditis) भई मृत्यु हुने
- गर्भ तुहिने
- ठुला पशुहरुमा जिब्रो खुइलिने, खुर उक्किने, घाउ पाक्ने, तुहिने, दीर्घकालिन रूपमा दूध उत्पादन क्षमता घट्ने आदि हुन सक्दछ।
- रोग निको भएका पशुहरूमा चाडो धक्ने, तातो तथा घाम सहन नसक्ने (Panters) खालका दीर्घ समस्या देखा पर्दछ।
रोग निदान
- रोगको इतिहासका आधारमा
- रोगको लक्षणका आधारमा (मुख र खुट्टाको घाउ अध्ययन गरेर)
- प्रयोगशालामा जाँच गरेर (Antigen ELISA, CFT, Virus Isolation, RT PCR,VNT, Electrone microspic examination)
प्रयोगशालामा नमूना लिने तरीका
- प्रयोगशालाका लागि एक ग्राम तन्तु पठाउनु पर्दछ। भर्खरै फुटेको घाउ वा घाउ भएको तन्तु पठाउने
- उक्किएको घाउको लोप्रा (Epithelial tissue)
- मुखको भित्रिभागबाट र्यालको नमूना लिने (Esophagial - pharyngeal Fluid)
- रगत
खोरेत रोगसँग मिल्दोजुल्दो लक्षण भएका अन्य रोगहरू
भेसिकुलर स्टोमाटाइटिस, स्वाइन भेसिकुलर डिजिज, भेसिकुलर एक्जान्थेमा, गंगौटी, बोभाइन म्युकोजल डिजिज, बोभाइन भाइरल डाइरिया, इन्फेक्सियस बोभाइन राइनोट्राकाइटिस, निल जिब्रे, इपिजोटिक हेमोरेजिक डिजिज, बोभाइन म्यामिलाइटिस, बोभाइन प्यापुलर स्टोमाटाइटिस, म्यालिग्नेन्ट क्याटेरल फिबर
उपचार
- यो रोगको खास उपचार नभएको हुँदा रोगको लक्षणहरूका आधारमा उपचार गर्नुपर्दछ।
- संक्रमित पशुको मुख, खुट्टा तथा संक्रमित स्थानमा दिनमा तिन चार पटक १ प्रतिशत पोटासको घोल, १ प्रतिशत पोभिडीन आयोडिनको घोल, २ प्रतिशत निलोतुथोको घोल वा फिटकिरीको घोलले सफा गर्ने
- घाउमा झिगाँ बस्न र औशा पर्नबाट जोगाउन घाउ वरिपरी मलहमहरू लगाउने
- र्याल बढी बगाईरहेमा एन्टीहिस्टामिनिक औषधि (Chlorpheniramines malate) प्रयोग गर्ने
- दुखाई कम गर्ने औषधिहरु (meloxicam 0.5 mg per kg body weight)
- अन्य थप संक्रमण (Secondary Infection) हुन नदिनका लागि पशु चिकित्सकको सल्लाहमा एन्टीबायोटिक औषधिहरूको प्रयोग गर्ने (बाहिरी घाउहरुमा पेनिसिलिन ग्रुपका औषधिहरु प्रभावकारी हुन्छन्)
- हरियो पोषिलो तथा कमलो घाँसपात दिने
साबधानिका उपायहरु
- संक्रमित पशुलाइ खुल्ला चरन तथा पानीको श्रोतमा नलैजाने
- संक्रमित क्षेत्रबाट पशुहरू ओसारपसार नगर्ने
- फार्ममा अनावश्यक मानिसको आवतजावत नगर्ने
- संक्रमित पशुको दूध पाडाबाच्छालाई नखुवाउने
- संक्रमित पशुको दूध राम्रोसंग उमालेर मात्र प्रयोग गर्ने
- संक्रमित पशुको प्रयोगमा आएका भाडाकुँडाहरू नियमित सफा गर्ने
- संक्रमित पशु र अन्य पशुलाई एउटै डुँडमा दानापानी नदिने
- संक्रमित पशुलाइ अलग्यै राखेर उपचार गर्ने
- संक्रमित पशु मरेमा पशुलाई सुरक्षित साथ खाल्डो खनेर गाड्ने साथै उक्त पशुसँग सम्पर्कमा आएका बस्तु जस्तै सोत्तर दिशा पिसाब दाना पराल आदिलाई सुरक्षित साथ नष्ट गर्ने
- संक्रमित क्षेत्रबाट पशुको किनबेच नगर्ने तथा गर्नु परेमा रोगको प्रकोप देखा परेको ६ महिना पछि मात्र गर्ने
- नयाँ पशु किनेर ल्याएपछि १४ दिनसम्म अलग्यै राखेर मात्र बगालमा मिसाउने
- उमेर पुगेका पशुहरू लाई प्रत्येक ६।६ महिनामा खोरेत बिरुद्धको खोप लगाउने
- गोठ वरिपरी सफा राख्ने, गोठमा चुना तथा फिनेल छर्कने तथा जैबिक सुरक्षाका बिधिहरू पालना गर्ने