लेईङ (अण्डा पार्ने अवस्था) चरणमा रहेको कमर्सियल लेयर्स कुखुराको दाना तथा पोषण व्यबस्थापन

 

विभिन्न जात, उमेर र उत्पादन अवस्थाका लेयर्स कुखुरालाई दैनिक दाना खपतको मात्रा अनुरुप विभिन्न पोषण आवश्यकता (Nutrient requirement) सिफारिस गरिएको छ । उदाहरणको लागि, २९ देखि ४५ हप्ता उमेर समूहको Lohmann Brown-Classic लेयर्स कुखुराको लागि विभिन्न मात्रामा दैनिक दाना खपत भएको अवस्थामा निम्न अनुसार पोषण आवश्यकता तोकिएको छ ।

दाना खपत (ग्राम/दिन)

१००

१०५

११०

११५

१२०

शक्ति (किलो क्यालोरी/के. जी.)

२७२५

२७२५

२७२५

२७२५

२७२५

प्रोटिन (%)

१९.२०

१८.७०

१७.८०

१७.००

१६.३०

क्याल्सियम (%)

४.१०

३.९०

३.७५

३.६०

३.४५

फस्फोरस (%)

०.६०

०.५७

०.५५

०.५२

०.५०

उपलब्ध फस्फोरस (%)

०.४२

०.४०

०.३८

०.३६

०.३५

सोडियम (%)

०.१७

०.१६

०.१५

०.१५

०.१४

क्लोरिन (%)

०.१७

०.१६

०.१५

०.१५

०.१४

लाइसिन (%)

०.८७

०.८३

०.७९

०.७६

०.७३

पाच्य लाइसिन (%)

०.७१

०.६८

०.६५

०.६२

०.६०

मेथिओनिन (%)

०.४४

०.४२

०.४०

०.३८

०.३६

पाच्य मेथिओनिन (%)

०.३६

०.३४

०.३३

०.३१

०.३०

मेथिओनिन + सिसटिन (%)

०.८०

०.७६

०.७३

०.७०

०.६७

पाच्य मेथिओनिन+सिसटिन (%)

०.६६

०.६३

०.६०

०.५७

०.५५

आर्जिनिन (%)

०.९१

०.८७

०.८३

०.८०

०.७६

पाच्य आर्जिनिन (%)

०.७५

०.७१

०.६८

०.६५

०.६३

भ्यालिन (%)

०.७४

०.७१

०.६८

०.६५

०.७३

पाच्य भ्यालिन (%)

०.६३

०.६०

०.५७

०.५५

०.५३

ट्रीप्टोफ्यान (%)

०.२१

०.२०

०.१९

०.१८

०.१८

पाच्य ट्रीप्टोफ्यान (%)

०.१८

०.१६

०.१६

०.१५

०.१६

थेरिओनिन (%) 

०.६४

०.६१

०.५८

०.५६

०.५३

पाच्य थेरिओनिन (%)

०.५१

०.५०

०.४७

०.४५

०.४४

आइसोलिउसिन (%)

०.७०

०.६६

०.६३

०.६०

०.५८

पाच्य आइसोलिउसिन (%)

०.५७

०.५४

०.५२

०.५०

०.४८

लिनोलेनिक एसिड (%)

२.००

१.९०

१.८०

१.७५

१.७०

(स्रोत: Layer Management Guide Lohmann Brown-Classic, Lohmann Tierzucht GmbH, 2013)

त्यस्तै ४६ देखि ६५ हप्ता उमेर समूह र ६६ हप्ता देखि बढी उमेर समूहका पोथीलाई फरक-फरक पोषण आवश्यकताको तालिका सिफारिस गरिएको छ । यसरी लेयर्स पोथीलाई विभिन्न ब्रिडिंग कम्पनिले ३ - ४ चरण को पोषण आवश्यकता तोकेको पाईन्छ जसलाई फेज १, फेज २, फेज ३, फेज ४ गरि वर्गीकरण गरिएको छ ।

फेज फिडिंग (Phase feeding) / चरणवद्ध आहाराको महत्व: वयस्क पोथीको अण्डा उत्पादनको संख्या धेरै हुन्छ भने उत्पादित अण्डाको आकार तुलनात्मक सानो हुन्छ । त्यस्तै बुढी पोथीको अण्डा उत्पादनको संख्या थोरै हुन्छ भने उत्पादित अण्डाको आकार तुलनात्मक ठूलो हुन्छ । उत्पादन अवस्था र उमेर अनुरुप उत्पादनशिल पोथीको पोषण आवश्यकता अलग-अलग नै हुन्छ । उत्पादनशिल वयस्क पोथीको प्रोटिन (Protein) आवश्यकता बुढी पोथीको तुलनामा धेरै हुन्छ । क्याल्सियम (Calcium) आवश्यकता भने तुलनात्मक रुपले कम हुन्छ । बुढी पोथीलाई वयस्क पोथिकै पोषण आवश्यकताको आधारमा फर्मूलेशन गरिएको दाना खुवाउँदा महँगो पर्न जान्छ । साथै क्याल्सियम आवश्यकता पनि पुग्दैन । फलस्वरूप: उत्पादन कम हुने, उत्पादित अण्डाको आकार सानो हुने र अण्डाको बोक्रा पातलो हुने जस्ता समस्या देखिनसक्छन । त्यस्तै वयस्क पोथीलाई बुढी पोथीको पोषण आवश्यकताको आधारमा फर्मूलेशन गरिएको दाना खुवाउँदा प्रोटिन, एमिनो एसिड (Amino acid) र लिनोलेनिक एसिड (Linolenic acid) को कमि भई उत्पादन कम हुनसक्छ । साथै क्याल्सियमको मात्रा आवश्यकता भन्दा बढी भई मृगौला खराब हुने र गाउट (Gout) हुने सम्भावना रहन्छ । प्रायगरी किसानवर्गले एउटा दाना फर्मुला उत्पादन अवधिभरी प्रयोग गर्ने गरेको पाईन्छ । पोथी बुढी भएर उत्पादन क्षमता ह्रास भैसकेको अवस्थामा पनि त्यही वयस्क पोथी कै दाना फर्मुला प्रयोग गर्दा दाना महँगो परिरहेको हुन्छ । यसको कारणले गर्दा मात्र व्यवसायिक किसानले वर्षभरिमा नगुमाउनुपर्ने लाखौँ रुपैँया गुमाईरहेको हुनसक्छन । यसरी पोषण आवश्यकताको साथ-साथै आर्थिक दृष्टिकोणबाट हेर्दा पनि पोथीलाई चरणबद्ध दाना खुवाउनुको ठूलो महत्व छ । 

अण्डा पार्नुभन्दा ठिक अगाडी प्रि-ले (Pre-Lay) दाना खुवाउनुको महत्व: अण्डा उत्पादन सुरु गर्नु भन्दा करिब २ हप्ता अगाडिबाट प्रि-ले दाना खुवाउनु उपयुक्त हुन्छ । प्रि-ले दानामा करिब २.५ प्रतिशत क्याल्सियम हुन्छ जसले मेडुलरी हड्डी (Medullary bone) बनाउँन महत्वपूर्ण भूमिका खेल्दछ । अष्टियोपरोसिस (Osteoperosis) हुन नदिन र अण्डाको बोक्राको गुणस्तर (Egg shell quality) कायम राख्न लेयर्स पोथीको मेडूलरी हड्डीको राम्रोसँग विकास हुन असाध्यै आवश्यक छ । ग्रोवर दानामा हुने १ प्रतिशत क्याल्सियम मेडुलरी हड्डीको यथोचित विकास गर्नको लागि पर्याप्त हुँदैन । त्यस्तै ४ देखि ५ प्रतिशत क्याल्सियम हुने लेयर्स दाना अण्डा पार्न अगावै पोथीलाई खुवाउँदा सोत्तर भिज्ने समस्या पैदा हुनसक्छ । अत्यधिक क्याल्सियम भएको कारणले अरुचि भई दाना कम खाने र फलस्वरूप पोषणको कमि भई प्रजनन् अंगहरुको यथोचित विकास हुन नपाउने समस्या पनि पैदा हुनसक्छ । स्मरण रहोस् खोरमा पहिलो अण्डा देखिन साथ ग्रोवर दाना वा प्रि-ले दाना खुवाउन बन्द गरेर लेयर्स दाना खुवाउन सुरु गरिहाल्नुपर्छ । अन्यथा अण्डा उत्पादनको लागि आवश्यक क्याल्सियमको मात्रा पुग्दैन । 

माथिको तालिकाबाट यो कुरा स्पष्ट हुन्छ कि दाना फर्मूलेशन गर्दा पोथीको दैनिक दाना खपतलाई मध्यनजर गर्नुपर्ने हुन्छ । दक्ष भेटेरिनरी डाक्टर (Veterinary Doctor) वा न्युट्रीशनिस्ट (Nutritionist) को प्रत्यक्ष सल्लाहमा मात्र दाना फर्मूलेशन (Feed formulation) बनाउनुपर्ने हुन्छ । फिड फर्मूलेशन बनाउनको लागि किसानले भेटेरिनरी डाक्टर वा न्युट्रीशनिस्टलाई प्रति पोथी हुने दैनिक दाना खापत (Daily feed intake per bird in grams) को मात्रा बारे जानकारी दिनुपर्ने हुन्छ । तसर्थ दैनिक दाना खपत र मृत्युदरको अभिलेखिकरण (Daily record) नराख्ने फार्मको लागि यथोचित फिड फर्मूलेशन बनाउन मुस्किल पर्दछ । अथवा पोषण विज्ञले दाना फर्मूलेशन गरिसकेपछि विज्ञकै सल्लाह बमोजिम दानाको मात्रा तय गर्नु पनि अर्को उपाय हो । तर सबै अवस्थामा विज्ञको सल्लाह बमोजिम नै कुखुराले दाना खपत गर्छ भन्ने हुँदैन (जस्तै प्रचण्ड गर्मि समयमा प्रति कुखुरा दैनिक दाना खपत १०० ग्राम हुन पनि मुश्किल पर्ने अवस्था आउँनसक्छ ।) । तसर्थ पोथीले खाने दानाको मात्रालाई आधार मानेर दाना फर्मूलेशन गर्नु नै तुलनात्मक रुपमा बढी वैज्ञानिक हुन्छ । दाना खपत कम हुँदा सोही अनुपातमा पोषण घनत्व (Nutrient density) बढाउनुपर्ने हुन्छ । विशेष गरी गर्मीयाममा बढ्दो तापक्रमसँगै दाना खपत पनि घट्न सक्छ । किनभने दाना पचाउँदा निस्किने बाई-प्रोडक्ट तापक्रम (Heat of metabolism) ले गर्दा गर्मीको तनाव (Heat stress) बढ्ने हुन्छ । यद्दपी सबै अवस्थामा पोषण घनत्व बढाउने कुरा आर्थिक रुपमा सम्भव नहुन पनि सक्छ किनकी पोषण घनत्व बढी भएको दाना तुलनात्मक रुपमा महँगो पनि हुन्छ । यस्तोमा पोषण घनत्व नबढाईकन दाना खपतलाई बढाउन सकिने वैकल्पिक उपायहरु अवलम्बन गर्नुपर्ने हुन्छ ।

लेयर्स पोथीको दाना खपतलाई बढाउनको लागि अपनाउन सकिने वैकल्पिक उपायहरु निम्न अनुसार हुनसक्छन ।
१. खोरको तापक्रम घटाउने: खोरको तापक्रम घटाउन निम्न उपायहरु अवलम्बन गर्न सकिन्छ :

  • खोरमा कुखुराको घनत्व (Stocking density) कम राख्ने ।
  • खोरमा पर्याप्त भेन्टीलेशनको व्यबस्था मिलाउने । एक्जस्ट पंखा (Exhaust fan) जडान गर्न सकिन्छ ।
  • ओपन हाउस प्रणालीमा खोरको चौडाई अनावश्यक धेरै नबनाउने ।
  • खोरको उचित उचाई कायम राख्ने ।
  • एकै फार्म भित्र खोर - खोर बीचको दुरी पर्याप्त कायम गर्ने ।
  • खोरको छानोलाई सेतो रंगले पोत्ने । छानोमा पराल वा खर राखेर ढाक्ने ।
  • खोरको मुनितिर पनि बाँसको छोयला प्रयोग गरी छाउन सकिन्छ ।
  • खोरको नजिकमा बुट्यान लगाउने (तल झाडी नहुने तर छानोभन्दा अग्लो भई माथि झाङ्गिने किसिमको) ।
  • स्प्रिङ्कल (Sprinkle) को प्रयोग गरी छानो भिजाउने व्यबस्था मिलाउने ।
  • सम्भव भए क्लोज हाउस (Close house) प्रणाली अपनाउने । इत्यादी ।

 २. दानामा तेल वा फ्याट मिसाउनेः गर्मीयाममा शक्तिको श्रोत (Energy source) को रुपमा वनस्पतिजन्य तेल वा प्राणीजन्य फ्याट हाल्दा निकै राम्रो परिणाम देखिएको छ । यसले दानामा शक्तिको मात्रा थप्ने मात्र होइन दानाको मिठास (Palatability) बढाएर थप दाना खान कुखुरालाई प्रेरित पनि गर्दछ । तेलीय पदार्थ बढी हाल्दा दानामा उचित मात्रामा एन्टीअक्सिडान्ट (Antioxidant) को  प्रयोग गर्ने कुरामा विशेष ध्यान दिनुपर्छ अन्यथा अक्सिडेटिभ रान्सिडिटी (Oxidative rancidity) भई दाना छिटै बिग्रने हुनसक्छ । समानुपातिक ढंगले नमिसिएको दानाले पोषण गडबडी  निम्त्याउन सक्छ । फ्याटको पाचन प्रक्रियामा निस्किने बाई-प्रोडक्ट ताप पनि निकै न्यून हुन्छ । फलस्वरूप: गर्मिको तनाव कम गर्न पनि यसको प्रभावकारी भूमिका रहन्छ भने अण्डाको आकार र बोक्राको मोटाईमा समेतमा गुणात्मक वृद्दि हुन्छ ।    

 ३. दाना भिजाउँनेः दानालाई भिजाउँदा पोथीको दाना खपत बढ्ने कुरा विभिन्न वैज्ञानिक अनुसन्धानले देखाएको छ । यद्दपी यो असाध्यै सावधानीका साथ मात्र गर्न सकिने कला हो, अत्यधिक भिजाएर झोलिलो बनाउनु पनि हुँदैन । स्प्रिङ्कल वा फोगरले हल्का भिजाउँन सकिन्छ । प्रयोग गरिने पानि स्वच्छ र जीवाणुमुक्त हुनुपर्छ । लामो समय भिजेको अवस्थामा रहँदा दानामा ढुसी पलाउने र ढुसीजन्य संक्रमण (Fungal infection) साथै माईकोटकसिसिटी (Mycotoxicity) हुनसक्छ । दाना खपत बढाउने लोभमा ढुसीजन्य संक्रमण र विषाक्तता लाग्नसक्ने जोखिम मोल्नु बुद्धिमत्तापूर्ण हुँदैन ।   

 ४. दानालाई पटक-पटक गरेर दिनेः गर्मीयाममा दिनको दुई पटक गरेर दाना दिनु उपयक्त मानिन्छ । एक-तिहाई विहान दिने र दुई-तिहाई दिउसो दिने । दिनको अत्यधिक तातो समयसँग जुध्ने गरि अधिकतम एक घण्टा जति बीचमा फिडर खालि रहने गरेर दाना दिने समय मिलाउने । यसरि केहि समय फिडर खालि रहँदा पोथी थप दाना खान उत्प्रेरित हुन्छे र मसिनो धुलोको कण समेत सकिने हुनाले शरीरले भिटामिन र खनिज तत्व पर्याप्त मात्रामा प्राप्त गर्दछ । साथै फिडरमा र फिडरमा हुने दानामा ढुसी पलाउने सम्भावना पनि न्यूनीकरण भएर जान्छ ।

 ५. दाना पिस्ने आकारः दानाको कणको आकार (Particle size) ले दाना खपतमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । दानाको कणको आकारको आवश्यकता पोथीको बढ्दो उमेरसँगै बढ्दै जाने हुन्छ । यो कुरा पोथीको ठूड (Beak), गिजार्ड (Gizzard) र पाचन नली (Digestive tract) को विकासमा भर पर्ने हुन्छ । अण्डा पार्ने अवस्थामा पुगिसकेको पोथीलाई ठुलो आकारको दानाको कण आवश्यक पर्दछ । आकार सानो भएमा पर्याप्त मात्रामा दाना खपत हुँदैन । यो क्रम बढ्दो उमेरसँगै बढ्दै जाने हुन्छ । सुरुको चल्ला अवस्थामा (स्टार्टर दानामा) क्रमबल्स (Crumbles) दाना उपयुक्त हुन्छ जुन गोटी दाना (Pellet feed) लाई १ देखि ३ मिलि मिटर आकारमा फुटाएर बनाइन्छ । स्टार्टर अवस्थापछि पनि क्रमबल्स दाना खुवाउँदा पोथीको गिजार्ड र पाचन नलीको गतिलो विकास हुन पाउँदैन । तत्पश्चात मास दाना (Mash feed) उपयुक्त मानिन्छ । विभिन्न अवस्थामा हुनुपर्ने मास दानाको कणको आकार निम्न अनुसार छ ।

कणको आकार

३ एमएम भन्दा बढी

२ देखि ३ एमएम

१ देखि २ एमएम

१ एमएम भन्दा कम

स्टार्टर  (Starter)

-

क्रम्बल्स

क्रम्बल्स

-

ग्रोवर (Grower)

-

१० देखि २५ %

४५ देखि ६० %

१५ % भन्दा कम

डेभलोपर (Developer)

५ देखि १० %

२५ देखि ४० %

२५ देखि ३५ %

१५ % भन्दा कम

उत्पादक (Producer)

१० देखि १५ %

३० देखि ४० %

२० देखि ३०%

१५ % भन्दा कम

(स्रोत: Feed Granulometry & Importance Of Feed Particle Size In Layers, Hy-line International, 2016)

६. खोर भित्र प्रकाश व्यबस्थापनः कुखुराको दानापानी खाने व्यवहार धेरै हदसम्म खोरभित्र हुने प्रकाशको चमक (Light intensity) र प्रकाश अवधि (Light duration) मा निर्भर हुने गर्दछ । तसर्थ लेयर्स पोथीलाई जातअनुसार तोकिएको प्रकाश अवधि र चमक प्रदान गर्नुपर्ने हुन्छ । सामान्यतया ओपन हाउस (Open house) प्रणालीमा लेयर्स पोथीलाई ग्रोइङ अवस्था भरि प्राकृतिक प्रकाश (Natural light) मात्र दिइन्छ । तत्पश्चात प्रजनन् अंगहरु विकास हुने समयमा क्रमिक रुपमा कृत्रिम प्रकाश थपिन्छ र लेइङ अवस्थामा कुल प्रकाश अवधि (प्राकृतिक र कृत्रिम दुवै जोडेर) १६ देखि १७ घण्टा कायम गरिन्छ । यसरी क्रमिक रुपमा प्रकाश अवधि बढाएर अण्डा उत्पादनार्थ प्रजनन् अंगहरुको विकासको लागि पोथीलाई उत्तेजित गराउने प्रक्रियालाई फोटो-स्टीमुलेशन (Photo-stimulation) भनेर चिनिन्छ । लेइङ अवस्थामा प्रकाश अवधि कदापि घटाउन हुँदैन । लेयर्स पोथीको जात अनुसार सम्बन्धित ब्रिडिंग कम्पनीको म्यानुअल (Manual) हेरेर प्रकाश मिलाउनु उपयुक्त हुन्छ । त्यस्तै ब्रिडिंग कम्पनीहरुले आफ्नो लेयर्स पोथीलाई आवश्यक प्रकाशको चमक पनि सिफारिस गरेका छन् । जस्तै उत्पादन अवस्थामा रहेको हाई-लाईन ब्राउन (Hy-line Brown) लेयर्स पोथीलाई ३० लक्स प्रकाशको चमक सिफारिस गरिएको छ । लक्समिटरको (Luxmeter) सहायताले खोरभित्रको प्रकाशको चमक सजिलै मापन गर्न सकिन्छ ।


 दाना बनाउँदा परिपूर्ति गर्नुपर्ने मुख्य पोषक तत्व र तिनका प्रमूख श्रोतहरु: यस खण्डमा अण्डा पार्ने पोथीलाई आवश्यक केहि प्रमुख पोषक तत्व र तीनको श्रोतको रुपमा प्रायगरी नेपालमा उपलब्ध हुने वा प्रयोग गरिने कच्चा पदार्थको बारेमा मात्र संक्षिप्तमा वर्णन गर्ने जमर्को गरिएको छ । 

१. शक्तिः लेयर्स पोथीको लागि शक्ति (Energy) आवश्यकता धेरै कुरामा भर पर्दछ । जस्तै: शारीरिक वृद्दि, मेनटिनेन्स (Maintenance: बाँच्नको लागि मात्र, उत्पादनको लागि होइन) आवश्यकता, उत्पादन अवस्था र खोरको तापक्रम । साधारण अवस्थामा पोथीले आफ्नो शक्तिको आवश्यकता (Energy requirement) परिपूर्ति हुने गरेर दाना खपत गर्दछे । उत्पादन अवधिभर अधिकतम संख्यामा अण्डा निरन्तर रुपमा पार्नको लागि दानामा शक्तिको मात्रा २७२५ किलो क्यालोरी प्रति के. जी. भन्दा न्यून हुनु हुँदैन । बढी शारीरिक क्रियाशिलता (Physical activity) हुने कारणले गर्दा डिप लिटर (Deep litter: सोत्तर) प्रणालीमा पालिने लेयर्स पोथीलाई केज (Cage) प्रणालीमा पालिने पोथीलाई भन्दा १० प्रतिशत बढी शक्ति आवश्यक पर्दछ । त्यस्तै खुला छोड्ने (Free-range) प्रणालीमा पालिने लेयर्स पोथीलाई १५ प्रतिशत बढी शक्ति आवश्यक पर्दछ । तसर्थ दाना फर्मूलेशन गर्दा कुन प्रणालीमा पालिने लेयर्स पोथीको लागि दाना बनाइएको हो भन्ने कुराको पनि राम्रोसँग विचार गर्नुपर्ने हुन्छ ।

कुखुराको दानामा शक्तिको श्रोतको रुपमा काम गर्ने मुख्य कच्चा पदार्थहरु हुन् - मकै, धानको व्रान, डि. ओ. सी. (De-oiled Rice Bran), गहुँ, गहुँको व्रान, जवार, कर्न ग्लुटन मिल (Corn Gluten Meal), वनस्पतिजन्य तेल (Vegetable oil), प्राणीजन्य फ्याट (Animal fat) आदि । मुख्यतया शक्तिको श्रोत भएपनि यीनमा केहि मात्रामा प्रोटिन र एमिनो एसिड पनि हुन्छ (वनस्पतिजन्य तेल र प्राणीजन्य फ्याटमा बाहेक) । डि. ओ. सी. र व्रानमा प्रचुर मात्रामा रेशा (Fiber: फाइबर) पाइन्छ । बढ्दो उमेरको ग्रोवर कुखुरालाई आवश्यक आहाराको फर्मूलेशन गर्दाखेरी पोषण सन्तुलन कायम गर्न डि. ओ. सी. निकै उपयोगी सिद्द हुनसक्छ । त्यस्तै वनस्पतिजन्य तेल र प्राणीजन्य फ्याटमा अत्यधिक मात्रामा शक्ति हुन्छ (करिब ८५०० किलो क्यालोरी प्रति के. जी.) तर प्रोटिन एवं एमिनो एसिड कत्तिपनि हुँदैन । कर्न ग्लुटन मिलमा शक्तिको साथ-साथै प्रोटिन र एमिनो एसिड पनि प्रचूर मात्रामा पाइन्छ ।

 २. प्रोटिन तथा एमिनो एसिडः लेयर्स पोथीको प्रोटिन (Protein) र एमिनो एसिड (Amino acid) आवश्यकता उत्पादन अवस्था अनुसार घटबढ हुनसक्ने भएपनि खोरको तापक्रम अनुसार फेरबदल हुँदैन । गर्मीयाममा जहाँ वातानुकुलित (Environment controlled) खोर हुँदैन त्यहाँ प्रोटिन र एमिनो एसिडको मात्रा बढाएर दाना बनाइन्छ ताकि कम दाना खपत भएपनि शरीरलाई आवश्यक मात्रा पुगिराखोस । एमिनो एसिडहरु सिक्री आकार (Chain structure) मा मिलेर बसेर प्रोटिन बन्ने हुन्छ । आधुनिक पोल्ट्री पोषण (Poultry Nutrition) विज्ञानमा पोल्ट्रीमा कुल कच्चा प्रोटिन (Total Crude Protein) भन्दापनि प्रत्येक एमिनो एसिड (Individual Amino Acids) को मात्रा पुग्यो वा पुगेन भनेर हेर्ने प्रचलन छ । कुल कच्चा प्रोटिन सकभर कम हुने गरेर एमिनो एसिडको मात्रा पर्याप्त भएको अवस्था राम्रो मानिन्छ । यसरी बनेको दानाको कारणले खोरभित्र एमोनिया ग्याँसको उत्पादन पनि कम हुने गर्छ । कुनै विशेष एमिनो एसिड कम भएको खण्डमा छुट्टै फिड प्रिमिक्सको रुपमा मिसाउन सकिन्छ । प्रायगरी पोल्ट्री दानामा अपुग हुने एमिनो एसिडहरु हुन् – लाईसिन (Lysine), मेथियोनिन (Methionine) र थ्रीओनिन (Threonine) जुन बजारमा छुट्टै प्याकिंगमा खरिद गर्न पाइन्छ । कुल एमिनो एसिड (Total amino acid) भन्दा पनि सुपाच्य एमिनो एसिड (Digestible Amino Acid) लाई आधार मानेर दाना फर्मूलेशन गर्नु वैज्ञानिक हुन्छ । 

 ३. क्याल्सियमः उत्पादन अवस्थामा रहेको पोथीलाई दानामा अधिक मात्रामा क्याल्सियम (Calcium) आवश्यक पर्दछ किनभने सोहि अनुरुप क्याल्सियमको प्रयोग गरेर अण्डाको बोक्रा बन्ने हुन्छ । पोथी बुढी हुँदै जाँदा क्याल्सियम आवश्यकता झनै बढेर जाने हुन्छ किनभने त्यतिबेला अण्डाको आकार ठुलो हुँदै जाने हुन्छ । अर्कोतर्फ दानामा क्याल्सियमको मात्रा बढी भएमा कुखुरालाई लाग्ने भोक र कुखुराले महशुस गर्ने दानाको मिठास (Palatability) मा नकारात्मक असर पर्न जान्छ । फलस्वरूप: दाना खपत पनि त्यसै अनुरुप कम हुन जान्छ । तसर्थ दानामा चाहिँ क्याल्सियम कम राख्ने (लगभग २ प्रतिशत जति) तथापि क्याल्सियमको परिपूर्तिको लागि खोरमा क्याल्सियम ग्रिट (Grit) छुट्टै भाँडामा राख्ने गर्दा उत्साहजनक परिणाम  प्राप्त गर्न सकिन्छ । उच्चतम उत्पादन (Peak production) हुँदा पोथीलाई दैनिक ४.१ ग्राम क्याल्सियम आवश्यक पर्दछ जुन बढ्दो उमेर क्रम सँगै वृद्दि भएर ४.५ ग्राम सम्म पुगेको हुन्छ । स्मरण रहोस् पोथीलाई क्याल्सियमको खास आवश्यकता दिउँसो र बेलुकाको समयमा हुन्छ र सोहि समयमा क्याल्सियम ग्रिट छुट्टै भाँडामा राख्न सकिन्छ । पोथीले आफ्नो शरीरको आवश्यकता अनुरुप बाकि क्याल्सियम (दानाबाट अपुग भएको मात्रा) ग्रिट खाएर प्राप्त गर्छे । यदी छुट्टै ग्रिट दिन सम्भव नभएमा दानामा हालिने क्याल्सियमको कम्तिमा ५० प्रतिशत हिस्सा मसिना गिटी आकारमा होस् (धुलोको रुपमा नहोस्) भनि हेक्का गर्नुपर्ने हुन्छ । Lohmann Brown Management Guide मा विभिन्न चरणका लेयर्स कुखुरालाई चाहिने गोटी (वा ग्रिट) तथा धुलो क्याल्सियमको श्रोतको निम्न अनुसारको अनुपात तोकिएको छ ।

दानाको प्रकार

मार्बल धुलो

मार्बल गोटी वा ग्रिट (बदलामा केहि मात्रामा सि.पि. पनि प्रयोग गर्न सकिन्छ)

स्टार्ट ले

३५%

६५%

लेयर फेज १

३०%

७०%

लेयर फेज २

२५%

७५%

लेयर फेज ३

१५%

८५%

(स्रोत: Lohmann Brown-Classic Management Guide, Lohmann Tierzucht GmbH, March 2016)

कुखुराको आहारामा क्याल्सियमको प्रमुख श्रोत हुन् - सि पि (Oyster shell) र लाइमस्टोन (Limestone: मार्वल) । हुन त डि. सि. पि. र बोन मिलमा पनि केहि मात्रामा क्याल्सियम हुन्छ तर  यिनीहरूलाइ फस्फोरसको श्रोत मानिन्छ ।

 ४. उपलब्ध फस्फोरसः उपलब्ध फस्फोरस भन्नाले दानामा हुने कुल फस्फोरस मध्ये त्यति मात्र फस्फोरस जुन पंक्षीलाई जैविक रुपमा प्राप्त हुनसक्छ (Bio-available) भनेर बुझ्नुपर्छ । कुखुराको दानामा प्रयोग गरिने अधिकांश कच्चा पदार्थ वनस्पतिजन्य हुन्छन । वनस्पतिजन्य कच्चा पदार्थमा हुने अधिकांश फस्फोरस फाईटिक एसिड (Phytic acid) को रुपमा हुन्छ जसलाई कुखुराको पाचन प्रणालीले सजिलै पचाउन सक्दैन । फलस्वरूप दानामा हुने सबै फस्फोरस कुखुराको शरीरले प्राप्त गर्न सक्दैन । जति प्राप्त गर्न सक्छ त्यति अंशलाई उपलब्ध फस्फोरस (Available phosphorus) भनेर चिनिन्छ जुन कुल फस्फोरस (Total phosphorus) भन्दा कम हुन्छ । कुखुराको दानामा गैर-जैविक (Inorganic) फस्फोरसको श्रोत (वोनमिल, डि.सि.पी. आदि) राखेर फस्फोरस आवश्यकता परिपूर्ति गर्ने चलन छ । त्यस्तै दानामा फाईटेज इन्जाइम (Phytase enzyme) राखेर फाईटिक एसिडरुपी फस्फोरसको Bio-availability बढाउँन र Inorganic फस्फोरस श्रोतको लागि हुने खर्च कटौती गर्न सकिन्छ ।

लेयर्स पोथीको जीवनचक्र भरि नै उपलब्ध फस्फोरसको आवश्यकतामा खासै धेरै फेरबदल हुँदैन । पोथीको दानामा शारीरिक आवश्यताभन्दा कम वा बढी उपलब्ध भएमा अण्डाको बोक्राको गुणस्तर खस्किन सक्छ - चाहे बढी होस् वा कम । कुखुराको दानामा फस्फोरसको प्रमुख श्रोत मानिने बोन मिल राम्रोसँग स्टेरिलाईज (निसंक्रमण) नभएको खण्डमा सालमोनेला जस्ता संक्रामक रोग सर्ने सम्भावना रहने हुनाले आजकल फस्फोरसको श्रोतको रुपमा बोन मिलको प्रयोग घट्दो र डि. सि. पि. को प्रयोग बढ्दो क्रममा छ ।

 ५. लिनोलेनिक एसिडः लिनोलेनिक एसिड (Linolenic acid) को दैनिक आवश्यकता लगभग २ ग्राम प्रति पोथी हुन्छ जुन दानामा वनस्पतिजन्य तेल वा प्राणिजन्य फ्याट मिसाएर सजिलै परिपूर्ति गर्न सकिन्छ । बुढी पोथीलाई यो मात्रा कम आवश्यक पर्ने हुँदा दानामा तेल वा फ्याट नमिसाइकन पनि यसको आवश्यकता पूर्ति गर्न सकिन्छ ।