अण्डा उत्पादक कृषकका समस्या : सन्दर्भ विश्व अण्डा दिवस

 

पृष्ठभूमि: वर्षेनी अक्टुबर महिनाको दोश्रो शुक्रवार विश्वभरी नै विभिन्न कार्यक्रम गरि विश्व अण्डा दिवस मनाउने गरिन्छ । सन् १९९६ मा अस्ट्रीयाको भियनामा भएको विश्व अण्डा आयोगको सम्मेलनले निर्णय गरेपछि यो प्रचलनको शुभारम्भ भएको हो । मानव स्वास्थ्यमा अण्डाको उपयोगिताबारे जनचेतना फैलाउने अवसरको रुपमा विश्व अण्डा दिवस मनाउने गरिएको हो । पछिल्ला केहि वर्षमा नेपालमा पनि पोल्ट्री व्यवसायीहरुले विविध कार्यक्रम आयोजना गरेर विश्व अण्डा दिवस मनाउने गरेका छन् । यो वर्ष विश्व अण्डा दिवस परेको छ असोज २७ गते शुक्रवारको दिन, तदअनुसार अक्टुबर १३ गते । तीव्र गतिमा वृद्दि हुँदै गएको विश्वको जनसंख्याको प्रोटिन आवश्यकता परिपूर्ति गर्नको लागि भनेर विश्वभरी नै अभूतपुर्व ढंगबाट विकास हुँदै गैरहेको छ पोल्ट्री उद्योग । यो अभियानमा कमर्सियल लेयर्स कुखुरापालन र त्यसबाट गरिने अण्डा उत्पादनको ठुलो भूमिका र महत्व रहेको छ । हाम्रै मुलुकमा पनि दैनिक हजारौ वा लाखौँको संख्यामा अण्डा उत्पादन गर्ने गरी कतिपय कर्मठ किसानहरु हामफाल्नुभएको यो व्यवसायमा । विश्व अण्डा दिवसको सन्दर्भमा यी उद्दमीहरुलाई पनि सम्झन आवश्यक छ जसको परिश्रमको प्रतिफल स्वरुप हामीले अण्डा जस्तो आदर्श प्रोटिनयुक्त आहारा सस्तो मुल्यमा खान पाएका छौँ । अण्डा दिवस मनाइदै गर्दा र अण्डाको पौष्टिक महत्वबारे जनचेतना फैलाइदै गर्दा अण्डा उत्पादक किसानको व्यवसायिक समस्या र जटिलताहरुको बारेमा पनि छलफल गर्न आवश्यक छ । जोखिम मोलेर राष्ट्रिय उत्पादन वृद्दिको लागि आफ्नो जीवन समर्पण गर्ने पौरखी किसानवर्गको समस्या कसरि समाधान गर्न सकिन्छ र व्यवसायिक सुरक्षाको ग्यारेन्टी कसरि गर्न सकिन्छ भन्ने विषयमा वहस गरी ठोस र वस्तुनिष्ठ कार्ययोजना तर्जुमा गर्न आवश्यक छ । यस प्रति राज्य संयन्त्र समेत गम्भिर हुन आवश्यक छ किनभने तीनै जोखिमसँग पौठेजोरी खेल्ने अण्डा उत्पादकको अनवरत परिश्रमको कारणले आम नेपाली जनताले अण्डा जस्तो पौष्टिक तत्वले भरिपूर्ण आहारा सस्तोमा खान पाएका छन् ।

अण्डा उत्पादक किसानका समस्या : राज्यले वहन गर्नुपर्ने जिम्मेवारी: उत्पादन गर्नु भनेको आफैमा जोखिमपूर्ण काम हो । त्यसमाथि पनि नेपाल जस्तो दशकौं लामो समयदेखि संक्रमणकालबाट गुज्रिरहेको मुलुकमा राजनीतिक अस्थिरताको कारणले औधोगिक वातावरण बन्न सकेको छैन । नेपालका उधमीहरु अनेकौ समस्यासँग भिड्दै अगाडी बढ्नुपरेको तीतो यथार्थ छ । राज्यले व्यवसायिक सुरक्षाको ग्यारेन्टी गर्न सकेको छैन । देशलाई अण्डामा आत्मनिर्भर बनाउँन र आम जनतालाई सस्तोमा प्रोटिन उपलब्ध गराउँन अण्डा उत्पादक किसानवर्गको भूमिका अतुलनीय रहेको छ जसलाई राज्यले अहिलेसम्म उचित सहयोग र सम्मान दिन सकिरहेको छैन । अण्डा उत्पादक किसानका व्यवसायिक समस्याहरु निम्न अनुसारका छन् ।

झन्झटिलो कर्जा प्रकृया र चर्को ब्याजदर: कतिपय लेयर्स कुखुरापालक किसान आफ्नो घरखेत बन्धकमा राखेर समेत यो व्यवसायमा लागेका छन् । उत्पादन कार्यमा लागि राष्ट्रको अर्थतन्त्रलाई टेवा पुर्याउने यस्ता कर्मठ किसानलाई सस्तो ब्याजदरमा सरल र सुलभ ढंगबाट कर्जा उपलब्ध गराउनुपर्ने दायित्व पूरा गर्न राज्य चुकिरहेको छ । आफ्नो सक्रिय जीवनकाललाई उत्पादन कार्यमा लगाई व्यवसायिक जोखिम मोल्ने उत्पादकहरु झन्झटिलो कर्जा प्रक्रिया र चर्को ब्याजदरबाट अझैपनि प्रताडित हुनुपरेको प्रशस्त घटना छन् हाम्रो मुलुकमा ।

सहुलियतको व्यवस्था नहुनु: पोल्ट्री उद्योगमा वर्षभरिमा भारि मात्रामा विधुत-पानीको खपत हुन्छ । नेपालका पोल्ट्री उद्योगीले आम उपभोक्ताले जस्तै विधुत-पानीको महशुल बुझाउन बाध्य छन् । छिमेकमै भएको भारतजस्तो आर्थिक रुपमा उदियमान राष्ट्रको कतिपय राज्य सरकारहरुले उत्पादनलाई बढावा दिनको लागि सरकार नै लगानीको साझेदार बन्ने, कर्जाको व्याजदर अत्यन्तै न्यून लगाउने, विधुत-पानिको महशुलमा छुट दिनेजस्ता उत्पादक किसानमुखी नीति अङ्गिकार गरिरहेको अवस्था छ । आर्थिक क्रान्तिको बहस चलिरहेको वर्तमान परिप्रेक्क्षमा हाम्रो मुलुकले पनि यसबाट केहि न केहि पाठ सिक्नै पर्दछ ।

व्यवसाय गर्नको लागि जग्गाको अभाव: बढ्दो जनसंख्या र द्रुतदर गतिमा अगाडी बढिरहेको शहरीकरण प्रक्रियाको कारणले गर्दा उत्पादनमुखी व्यवसाय गर्नको लागि जग्गाको अभाव हुँदै गैरहेको अवस्था छ । यस्तोमा प्रयोगमा नआएको सरकारी स्वामित्वमा रहेको खुला जमिनलाई वातावरणीय अनुकुलतालाई मध्यनजर गर्दै उत्पादक किसानलाई सरल ढंगबाट लिजमा दिने व्यवस्था मिलाउन नितान्त आवश्यक छ ।

कानूनी सहयोग र संरक्षणको अभाव: सबै आवश्यक वैधानिक प्रक्रिया पूरा गरेर स्थापित भैसकेका वा स्थापना हुन लागेका उत्पादनमुखी व्यवसायलाई विभिन्न बहानाबाजी गरेर स्थानीय सामाजका कुत्सित मनसाय भएका व्यक्तिहरुले दु:ख दिने र अवरोध सिर्जना गर्ने गरेको उदाहरणहरु देशव्यापी रुपमा व्याप्त छन् । त्यस्ता  कुत्सित मनसाय भएका व्यक्तिहरुलाई निरुत्साहित गरेर निर्वाध रुपमा व्यवसाय संचालन गर्ने वातावरण स्थापना गर्न राज्य कडा रुपमा लाग्नुपर्दछ । व्यवसायिक अवरोधको मुख्य विषय हुने गरेको छ - पोल्ट्री फार्मबाट निस्कने गन्ध । यसको लागि मानव वस्तीबाट फार्म कति टाढा हुनुपर्ने हो स्पष्ट कानून हुनुपर्छ र सो मापदण्ड पूरा गरेको फार्मको पूर्ण सुरक्षाको ग्यारेन्टी राज्यले लिनुपर्छ ।   

बिचौलियाको मनोमानि: कुखुराको चल्ला, मासु र अण्डा उत्पादन गर्ने कृषकले ठुलो जोखिम मोलेर उद्योग स्थापना गरेपनि त्यसको उचित मूल्य पाउन सकेका छैनन् । नत उपभोक्ताले नै सुपथ मूल्यमा प्राप्त गर्न सकेका छन् । उत्पादक र उपभोक्ता भन्दा पनि बिचौलिया बढी लाभान्वित भएका छन् । साना तथा मझौला लेयर्स कुखुरापालक जसले आफ्नो फार्ममा उत्पादन गरिएको अण्डा आफैले ढुवानी गरेर बजारसम्म पुर्याउँन सक्दैनन्, उनीहरु बिचौलियाबाट सबैभन्दा बढी प्रताडित बन्नुपरेको अवस्था छ । किसान स्वयंले ढुवानी गर्ननसक्ने लाचारीको फैदा उठाउँदै ठूला अण्डालाई पनि सानो वा मिडियम अण्डा भन्ने र सोहि अनुसार कम रेट लगाए मात्र उठाउने भनि अण्डाको मूल्य गिराउँन बाध्य पार्ने गरेको तीतो यथार्थ छ । किसानलाई बिचौलियाहरुले अण्डा उत्पादक संघले तोकेको रेट पनि प्राप्त गर्ननसक्ने विडम्बनापूर्ण अवस्था सिर्जना गरिदिएका प्रशस्त उदाहरणहरु छन् । तसर्थ राज्यले यस विषयमा हस्तक्षेप गरी मुनाफा प्रतिशत निर्धारण गर्ने र कडाईका साथ लागु गराउने, उत्पादनको वातानुकुलित भण्डारणको व्यवस्था गर्ने जस्ता उत्पादकमुखी नीती तथा कार्यक्रम अगाडी बढाउँन आवश्यक छ ।

अण्डाको वातानुकुलित भण्डारणको व्यवस्था नहुनु: प्रचण्ड गर्मि समयमा अण्डा छिटै नै कुहिन थाल्छ । उत्पादिन अण्डाको ढुवानी गर्न मिल्ने गरि निश्चित परिमाण नपुगेसम्म दिनहूँ जसो बजारमा पुर्याउँने कुरा पनि सम्भव हुँदैन । प्रचण्ड गर्मिको मौसममा ढुवानीको लागि मात्रा पुर्याउँन नसक्दै अण्डा बिग्रने र किसानलाई ठूलो आर्थिक घाटा लाग्ने सम्भावना रहन्छ । जसरि फलफुल तरकारी भण्डारण गर्नको लागि ठाउँ-ठाउँमा शितभण्डार निर्माण गरिएको छ, ठिक त्यसरी नै वातानुकुलित अण्डा भण्डारण कक्ष निर्माण गर्ने कुरामा सरोकारवाला तथा राज्यले गम्भीरता पूर्वक सोच्न आवश्यक छ । ताकि दिनहूँ बजार पुर्याउँन नसकेपनि ती भण्डारण कक्षमा पुर्याई सुरक्षित भण्डारण गर्न सकियोस ।

औषधिको मूल्यमा हुनसक्ने मनोमानिः साथै यस उद्योगमा खपत हुने औसधि, भ्याक्सिन र फिड सप्लिमेन्टहरु अधिकांश दोश्रो वा तेश्रो मुलुकबाट आएका छन् । धेरैजसो कम्पनीका औसधिमा प्रिन्ट मूल्य नै नभएको भेटिन्छ । यी वस्तुहरु कसले कतिमा पाउनुपर्ने हो भन्ने कुराको कुनै यकिन छैन । कसले कति नाफा खायो र उपरोक्त नाफा जायज हो या नाजायज छुट्याउन गाह्रो छ । तसर्थ राज्यले उपरोक्त वस्तुहरुको मूल्य निर्धारण गराउने तर्फ लाग्नुपर्छ । प्रिन्ट मूल्य अनिवार्य रुपमा राख्ने व्यवस्था मिलाउनुपर्छ । साथै नेपाली पोल्ट्री उद्योगमा खपत हुने त्यस्ता औसधि, भ्याक्सिन र फिड सप्लिमेन्टहरु स्वदेशमै उत्पादन गर्न-गराउन राज्य अग्रसर हुनुपर्ने आजको टड्कारो आवश्यकता हो । यसरी स्वदेशमै उत्पादन गराउनसके औसधिमा हुने खर्चलाई पनि व्यापक रुपमा कटौती गर्न सकिन्छ ।

 दाना उत्पादनको परनिर्भरताले निम्त्याएको र निम्त्याउनसक्ने  दुष्परिणामः लेयर्स कुखुरापालन व्यवसायमा करिब ६५ देखि ७० पतिशत खर्च हुन्छ कुखुराको आहारामा अर्थात् दानामा । दाना बनाउँन प्रयोग गरिने करिब ८०  प्रतिशत कच्चा पदार्थ नेपाली पोल्ट्री उद्द्योगले आयात गर्ने गर्छ । कच्चा पदार्थको आयातमा लाग्ने भन्सार शुल्कलाई सकभर शुन्य वा कमसेकम न्यूनतम बनाउँन आवश्यक छ ताकि नेपाली पोल्ट्री किसानले गर्ने पोल्ट्रीजन्य उत्पादनको लागत मुल्य उच्च नहोस् र आम उपभोक्ताले पनि सस्तोमा उपभोग गर्न सकून । आयातित कच्चा पदार्थमा मात्र भर पारिराख्ने हो भने नेपाली पोल्ट्री उत्पादनले कहिल्यै पनि अन्तराष्ट्रिय प्रतिस्पर्धामा उत्रन सक्दैन र कालान्तरमा वैदेशिक उत्पादनले स्वदेशी उत्पादनलाई प्रतिस्थापन गर्दै जाने सम्भावना रहन्छ । अन्तत: नेपाली पुजीपति वर्गको स्वामित्वमा रहेको पोल्ट्री उद्द्योग नै धरासायी हुनसक्छ वा वैदेशिक स्वामित्व हावी हुनसक्छ । नेपालमा संचालित उद्द्योग धन्दामा वैदेशिक स्वामित्व हावी हुने कुरा पक्कै पनि राष्ट्रिय हितमा हुँदैन । यो अवस्था आउन नदिनको लागि तत्काल मकै, भटमास, सूर्यमुखी, तिल जस्ता अनाजको वृहत्तर परिमाणमा खेति गरि राष्ट्रको आवश्यकतालाई पुग्ने गरि उत्पादन स्वदेशमै गर्ने गरि कार्ययोजना बनाई लागू गरिहाल्नुपर्छ । त्यसको लागि पकेट क्षेत्र निर्धारण, सिचाईको व्यवस्था मिलाउन, कृषि औजार तथा मेसिनरीलाई सस्तो र सुलभ तरिकाबाट उपलब्ध गराउँने व्यवस्था मिलाउन, वर्णशंकर बीउ र मलखादको जोहो गर्ने र प्राविधिक उपलब्ध गराउने कुरामा राज्य गम्भीर हुनुपर्छ । साथै मकै, भटमास, सूर्यमुखी, तिल जस्ता अनाजको खेति गर्न तत्पर हुने किसानलाई सस्तो ब्याजदरमा सरल र सुलभ ढंगबाट कर्जा उपलब्ध गराईछाड्ने र उनीहरुको व्यवसायिक सुरक्षाको ग्यारेन्टी लिने जिम्मा पनि राज्यले लिनसक्नुपर्छ । भन्दाखेरि कृषि प्रधान देश भन्ने तर आधारभूत कृषिजन्य उत्पादनको लागि पनि विदेशीको मुख ताक्नुपर्ने हाम्रो यथार्थ निकै विडम्बनापूर्ण छ ।

 भन्सार नतिरेका भारतीय अण्डा सिमाक्षेत्रमा अवैध रुपमा भित्रने गरेको अवस्थाः यो कुरा निकै अपसोचपूर्ण छ कि बेलाबखतमा स्वदेशी किसानले उत्पादन लागत उठाउन मुश्किल परिरहेको बेलामा सिमाक्षेत्रमा भने अवैध रुपमा भन्सार नतिरेका भारतीय अण्डा भित्रिरहेका हुन्छन । भारतबाट प्रायजसो भित्रने सेतो अण्डा नेपालमा उत्पादन हुने रातो अण्डा भन्दा आकारमा पनि सानो र पौष्टिक गुणमा कमसल नै हुन्छन । नेपाली किसानले भने भन्सार तिरेको कच्चा पदार्थबाट बनेको दाना खुवाएर अण्डा उत्पादन गर्नुपर्ने, सिमाक्षेत्रमा चाहिँ भन्सार नतिरेको भारतीय अण्डा भित्रने अवस्था नेपाली अण्डा उत्पादक किसानको लागि निकै पीडादायक छ । यो अवस्था कायम रहेसम्म नेपाली अण्डा भारतीय अण्डाबाट व्यापारिक प्रतिष्पर्धामा पराजित भईराख्छ र नेपाली किसानले अण्डाको समिचित मूल्य पाउँन सक्दैनन् । एकातिर गैरकानुनी रुपमा भन्सार नतिरेको भारतीय अण्डा नेपाल भित्रदै गर्दा सिमा क्षेत्रको प्रशासन निरिह र मुकदर्शक भएकोजस्तो देखिन्छ । अर्कोतर्फ नेपालमै उत्पादित अण्डा एक जिल्लाबाट अर्को जिल्ला ओसार-पोसार गर्ने क्रममा क्वारेनटाइनको नाममा प्रशासनबाट नै अनेक कठिनाई नेपाली किसानले झेल्नुपरेको छ । राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने नेपाली अण्डा उत्पादक किसानको लागि यो भन्दा ठूलो विडम्बना के हुनसक्छ ?

पोल्ट्री प्रयोगशालाको अभावः कुखुरापालन गर्ने क्रममा कुखुरालाई अनेक प्रकारका रोग व्यादी लाग्न सक्ने सम्भावना हुन्छ । बेलैमा रोगको सहि पहिचान वा निदान गर्न सकियो भने उपचार प्रभावकारी हुन्छ र क्षति त्यति धेरै हुँदैन । बेलैमा रोगको सहि निदान हुन नसकेको खण्डमा धेरै कुखुराको मृत्यु हुने वा उत्पादनमा व्यापक कमि आउने हुनसक्छ । अहिलेकाहिँ उचित रोग निदान र उपचार कै अभावमा पनि व्यवसाय नै धराशायी हुनसक्ने अवस्था आउनसक्छ । स्वयं भेटेरिनरी डाक्टरहरु आफै भन्नुहुन्छ कुखुरामा उस्तै-उस्तै लक्षण र उस्तै-उस्तै पोस्टमार्टम चिन्ह देखिने थुप्रै रोगहरु हुन्छन । यस्तोमा रोगको उचित रोग निदान र उपचारको लागि देशव्यापी रुपमा (कम्तिमा पनि प्रत्येक जिल्लामा एउटा) पोल्ट्री प्रयोगशाला हुन अत्यन्त आवश्यक छ । खासगरी ब्याक्टेरियाजन्य रोगको सवालमा एन्टीवायोटिक सेन्सिटिभिटी परिक्षण नगरी उपचारमा लाग्दा प्रयोग गरिने एन्टीवायोटिकले ठिक हुने ग्यारेन्टी नहुने र अनेक किसिमका एन्टीवायोटिक बदल्नुपर्ने दुश्चक्रमा फसिने सम्भावना हुँदो रहेछ । यसरी कुखुराको उपचार पनि नहुने र असरहीन एन्टीवायोटिकमा हजारौँ (कहिलेकाहिँ लाखौँ) रुपैया खेर जानसक्ने सम्भावना प्रवल हुँदो रहेछ । यसको बदलामा एन्टीवायोटिक सेन्सिटिभिटी परिक्षण गरेर मात्र एन्टीवायोटिक प्रयोग गर्ने निर्णय लिँदा धेरैजसो अवस्थामा एन्टीवायोटिकले ठ्याक्कै असर देखाउने, रोगि कुखुरा पनि छिटो नै ठिक भैहाल्ने र किसानको पैसा वचत हुने देखियो ।

किसानमा प्राविधिक ज्ञान र चेतनाको कमिः नेपालको सन्दर्भमा कुखुरापालन सम्बन्धि वैज्ञानिक ज्ञान हाँसिल गरेर भन्दा अरुबाट प्रभावित भई सामान्य देखासिकीको भरमा कुखुरा पाल्ने होडवाजी पनि देखिन्छ । कतिपय किसानहरुमा पालन-व्यवस्थापन सम्बन्धि प्राविधिक ज्ञान एकदमै न्यून स्तरमा रहेको छ । फार्ममा दिनहूँ जसो गर्नुपर्ने व्यवस्थापकीय पक्षहरुमा कमीकमजोरी हुँदा पनि व्यवसायमा ठूलो क्षति हुनसक्छ, यसको लागी कुनै भयङ्कर रोग नै लाग्नुपर्छ भन्ने छैन । फेरी विज्ञहरुको भनाई अनुसार व्यवस्थापकीय कमजोरी नै फार्ममा रोग निम्त्याउने प्रमुख कारणहरु मध्ये एक हो । अण्डा उत्पादनको लागि गरिने लेयर्स कुखुरापालन व्यवसायमा लाखौँ (कतिपय अवस्थामा करोडौँ) रुपैया लगानी गरिएको हुन्छ । यसरी बिना व्यवस्थापकीय ज्ञान व्यवसाय थाल्दा किसानको लागानी ठूलो जोखिममा हुन्छ, व्यवसायिक दुर्घटना भैई घर-खेत नै उठिवास लाग्नसक्ने सम्भावनालाई पनि नकार्न सकिन्न । तसर्थ देशव्यापी रुपमा किसानवर्गलाई  प्राविधिक ज्ञान र चेतनाले लैस गराउँनको लागि सेमिनार, तालिम, गोष्टी जस्ता सचेतना मूलक कार्यक्रम संचालन गर्नुपर्ने टड्कारो आवश्यकता छ । यसप्रति सरोकारवालाको ध्यान जाओस् ।

अण्डा खपतलाई प्रवर्धन गर्ने गतिविधि न्यून हुनु ः अण्डाको पौष्टिक महत्व अदभूत छ, अविश्वसनीय छ । त्यसैले त आजकल अण्डालाई वयान गर्दा Incredible Egg (अर्थात् अविश्वसनीय अण्डा) भन्ने प्रचलन अन्तराष्ट्रिय रुपमा नै निकै व्यापक भएको छ । मानिसलाई दैनिक आवश्यक पर्ने प्रोटिनको मात्राको १७ देखि २० प्रतिशत प्रोटिन एउटा अण्डाले परिपूर्ति गर्न सक्छ भन्ने विज्ञहरुको राय छ । अमेरिकन अण्डा बोर्डको रिपोर्ट अनुसार सन् २०१३ मा अमेरिकामा प्रति व्यक्ति प्रति वर्ष अण्डा खपत २५१ गोटा रहेको थियो । त्यस्तै विश्व अण्डा आयोगको रिपोर्ट अनुसार सन् २०१४ मा विश्वभरी प्रति व्यक्ति प्रति वर्ष औषत अण्डा खपत १७९ गोटा रहेको थियो । नेपालको राष्ट्रिय तथ्यांक विभागले विक्रम सम्बत् २०७१/७२ मा गरेको पोल्ट्री व्यवसाय सम्बन्धि अध्ययनले २०७३ मा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा भने प्रति व्यक्ति प्रति वर्ष अण्डा खपत ४४ गोटा मात्र रहेको छ । सबल र सक्षम जनशक्ति निर्माण गर्नको लागि नेपालि जनताले आफ्नो आहार-विहारमा गुणात्मक तथा मात्रात्मक फड्को मार्नैपर्ने देखिन्छ । हाम्रो देशको जनताको कुखुराको अण्डाको खपत विश्व मापदण्ड र एसियाली मापदण्ड भन्दा निकै पछाडी रहेको छ । कुखुराको अण्डाको पौष्टिक महत्व बुझ्न-बुझाउन र यसको खपत बढाउन नितान्त आवश्यक छ । उत्पादनको तुलनामा खपत कम भएमा उत्पादकले समुचित मूल्य प्राप्त गर्न पनि सक्दैनन् । नेपालमा अण्डाको पौष्टिक महत्व बुझाउने खालको कार्यक्रम र गतिविधि निकै न्यून हुने गरेको छ । पछिल्लो केहि वर्षमा नेपालमा पनि पोल्ट्री व्यवसायीहरुले विविध कार्यक्रम आयोजना गरेर विश्व अण्डा दिवस मनाउने गरेको पाइएको छ । यो राम्रो संकेत हो । तर समग्र मानव स्वास्थ्यमा अण्डाको महत्व जति गहन र जति व्यापक छ, त्यो स्तरमा नेपालमा मनाइने विश्व अण्डा दिवसका कार्यक्रमहरु उठ्न नसकेको प्रतित हुन्छ । यसप्रति पनि सरोकारवालाहरुको पर्याप्त ध्यान जाओस् ।

विश्व अण्डा दिवस मनाइदै गर्दा, जुन अण्डाको हामी गुणगान गाउँदै छौ, त्यो कहाँबाट, कसको मेहेनतको कारणले कसरि हामीले प्राप्त गर्दै छौँ भन्ने कुरामा पनि हेक्का राख्नुपर्ने हुन्छ । अनेकौ व्यवसायिक जोखिमसँग पौठेजोरी खेल्दै हाम्रो टेबल र थालिसम्म अण्डा पुर्याउने ती परिश्रमी कृषकवर्गलाई यस अवसरमा सम्झन सकेनौँ भने, तिनका समस्याबारे बुझ्न र छलफल गर्न चाहेनौँ भने अण्डा दिवस मनाउनुको कुनै सार्थकता रहदैन । अण्डा उत्पादक नै नरहे कहाँबाट रहला अण्डा । वर्तमानमा नेपाली अण्डा उत्पादक किसानका थुप्रै व्यवसायिक समस्या, चिन्ता र चासोहरु रहेका छन् जसको यथोचित सम्बोधन हुनसकिरहेको छैन । आउनुहोस् विश्व अण्डा दिवस मनाउँदै गर्दा ती कर्मठ कृषकवर्गको समस्याहरु बारे छलफल गर्ने हिम्मत गरौँ । तीनको समस्या समाधान गर्न र व्यवसायिक सुरक्षाको ग्यारेन्टी गर्न ठोस र वस्तुनिष्ठ कार्ययोजना तर्जुमा गरौँ । यसमा राज्यले खेल्नुपर्ने भूमिका के-कस्तो हुनुपर्दछ, त्यसको लागि राज्यलाई झक्झक्याऔँ । विश्व अण्डा दिवस भब्यताका साथ मनाऔँ । आम नेपालीको अण्डा खपतको अवस्थालाई विश्व मापदण्डको स्तरमा पुर्याउँने र राष्ट्रमा सबल-सक्षम जनशक्तिको निर्माण गर्ने दिशामा अगाडी बढौँ । अण्डा उत्पादक किसान, कमर्सियल लेयर्स चल्ला उत्पादन गर्ने ह्याचरी कम्पनि, लेयर्सको आहारा उत्पादन गर्ने दाना उद्योगी, लेयर्सको लागि आवश्यक औसधि, भ्याक्सिन र फिड सप्लिमेन्टको माग परिपूर्ति गर्न लाग्नुहुने औसधि व्यावसायी, अण्डा सप्लायर्स, अण्डा उत्पादन प्रवर्धनको लागि टेवा पुर्याउँन खट्नुहुने सरकारी पदाधिकारी, साथै यस क्षेत्रमा लाग्नुहुने भेटेरिनरी डाक्टर तथा अन्य प्राविधिक र कामदार लगायत आम उपभोक्ता सबैमा विश्व अण्डा दिवसको हार्दिक शुभकामना । Happy World Egg Day 2017!!