विश्व अण्डा दिवसको पृष्ठभूमीः वर्षेनी अक्टुबर महिनाको दोश्रो शुक्रवार विश्वभरी नै विभिन्न कार्यक्रम गरि विश्व अण्डा दिवस मनाउने प्रचलन छ । सन् १९९६ मा अस्ट्रीयाको भियनामा भएको विश्व अण्डा आयोगको सम्मेलनले निर्णय गरेपछि यो प्रचलन सुरु भएको हो । पहिलो विश्व अण्डा दिवस सन् १९९६ कै अक्टुबर महिनाको दोश्रो शुक्रवार मनाइयो । अण्डाको वहुआयामिक उपयोगिता र मानव जीवनमा यसको महत्वबारे जनचेतना फैलाउने अवसरको रुपमा विश्व अण्डा दिवस मनाउने गरिएको हो । यो वर्ष विश्व अण्डा दिवस परेको छ अक्टुबर १३ मा, नेपाली मिती अनुसार असोज २७ गते । पछिल्लो केहि वर्षमा नेपालमा पनि पोल्ट्री व्यवसायीहरुले विविध कार्यक्रम आयोजना गरेर विश्व अण्डा दिवस मनाउने गरेको पाइएको छ । तर समग्र मानव स्वास्थ्यमा अण्डाको महत्व जति गहन र जति व्यापक त्यो स्तरमा नेपालमा मनाइने विश्व अण्डा दिवसका कार्यक्रमहरु उठ्न नसकेको प्रतित हुन्छ ।

अण्डाको अविश्वसनीय स्वास्थ्यवर्धक गुणः एउटा अण्डाले ७० किलोक्यालोरी शक्ति, करिब ६.३ ग्राम उच्च गुणस्तरको प्रोटिन, ५ ग्राम चिल्लो पदार्थ (Fat), भिटामिन-ए, भिटामिन-बि २ (Riboflavin), भिटामिन-बि ५ (Pantothenic Acid), भिटामिन-बि ६, भिटामिन-बि ७ (Biotin), भिटामिन-बि ९ (Folic Acid), भिटामिन-बि १२ (Cyanacobalamin), भिटामिन-डी, भिटामिन-इ, भिटामिन-के, कोलिन (Choline); फस्फोरस (Phosphorus), जिंक (Zinc), सेलेनियम (Selenium), फलाम (Iron), आयोडिन (Iodine), गरि विभिन्न  प्रकारका आवश्यक भिटामिन र खनिजहरु उपलब्ध गराउछ । एउटा करिब आधा सय ग्रामको डल्लो भित्र यतिका पौष्टिक तत्व हुने कुरा साचै नै अदभूत छ, अविश्वसनीय छ । त्यसैले त आजकल अण्डालाई वयान गर्दा Incredible Egg (अर्थात् अविश्वसनीय अण्डा) भन्ने प्रचलन अन्तराष्ट्रिय रुपमा नै निकै व्यापक भएको छ । 

अण्डामा पाइने समग्र प्रोटिन मध्ये करिब ३.६ ग्राम सेतो भाग (Albumen) बाट र करिब २.७ ग्राम पहेलो भाग (Yolk) बाट प्राप्त हुन्छ । मानिसलाई दैनिक आवश्यक पर्ने प्रोटिनको मात्राको १७ देखि २० प्रतिशत प्रोटिन एउटा अण्डाले परिपूर्ति गर्न सक्छ । काँचो (नपकाइएको) अण्डामा रहेको प्रोटिन मध्ये ५१  प्रतिशत मात्र शरिरको लागि उपलब्ध (Bioavailable) हुन्छ भने पकाइएको अण्डा बाट ९१ प्रतिशत उपलब्ध हुन्छ । पकाइएको अण्डामा सालमोनेलाको संक्रमण (Salmonellosis) को डर पनि कम हुन्छ । अण्डाबाट मानव शरिरलाई आवश्यक पर्ने सम्पूर्ण एमिनो एसिड प्राप्त गर्न सकिने हुनाले अण्डालाई कम्प्लिट प्रोटिन (Complete protein) भनिन्छ । साथै वर्तमान समयमा अरु खानाको प्रोटिन मापनको लागि अण्डालाई मापन सूचकको रुपमा प्रयोग गरिएको पाइन्छ ।

 अण्डामा भिटामिन (Vitamin) र खनिज (Mineral) जस्ता पौष्टिक तत्व प्रचूर मात्रामा पाइन्छ । मानव शरीरमा अण्डामा पाइने भिटामिन र खनिज तत्वहरुको को भूमिका निम्न अनुसार रहेका छन्   ।

  • भिटामिन-ए :- स्वस्थ छाला, रोग प्रतिरोधात्मक क्षमता वृद्धि, स्वस्थ दृस्टी ।
  • भिटामिन-बि २ (Riboflavin) :- शक्तिसन्तुलन, रातो रक्तकोष निर्माण, दृस्टी, स्नायु प्रणाली स्वस्थ बनाउँछ ।
  • भिटामिन-बि ५ (Pantothenic Acid) :- शक्तिसन्तुलन, दिमागको कार्यसम्पादनमा सहयोग पुर्याउँछ ।
  • भिटामिन-बि १२ (Cyanacobalamin):- शक्तिसन्तुलन, रातो रक्तकोष निर्माण, स्नायु प्रणाली र रोग सग लड्ने प्रणाली स्वस्थ बनाउँछ ।
  • भिटामिन-डी :- दात तथा हड्डी बलियो राख्ने, शरीरमा क्याल्सियम सोस्न सहयोग पुर्याउँछ ।
  • भिटामिन-इ :- कोषहरुलाई अक्सिडेटिब बिकार (Oxidative Damage) हुनबाट रोक्छ, प्रजनन प्रणाली, स्नायु प्रणाली र माशपेशी स्वस्थ राख्छ । सेलेनियम र भिटामिन इ एन्टी-एजिंग तत्व (Anti-ageing) पनि हुन जसले बुढोपन चाडै आउन दिदैन ।
  • भिटामिन-बि७ (Biotin) :- शक्ति सन्तुलन, छाला र कपाल स्वस्थ राख्छ ।
  • कोलिन (Choline) :- चील्लो पदार्थ पाचन प्रक्रिया, कलेजो र दिमागकोको कार्यक्षमतामा सहयोग गर्छ । एउटा अण्डामा लगभग १४७ मिलिग्राम कोलिन पाइन्छ । कोलिन मष्तिस्कको कार्यक्षमताको लागि महत्वपूर्ण भिटामिन हो । कोलिनले मुटुरोगलाई र स्तन क्यान्सरलाई दुर गराउने भूमिका पनि खेल्दछ । कोलिनले मुटु रोगको कारक Homocysteine लाई टुक्राउने काम गर्छ र राम्रो कोलेस्टेरोलको मात्रा बढाउछ । गर्भिणी महिलाले अण्डा सेवन गरेमा अण्डामा हुने कोलिनले जन्मजात अपाङ्गता (Congenital abnormalities) न्यूनीकरण गर्न सहयोग पुर्याउँछ ।
  • भिटामिन-बि९ (Folic Acid) :- रगत बनाउन सहयोग गर्ने, गर्भको शिशुको शरीर बनाउन सहयोग गर्छ ।
  • आयोडिन :- थाइरोइड (Thyroid) ग्रन्थी कार्यक्षमता सम्पादन, स्वस्थ छाला, स्वस्थ स्नायु प्राणाली बनाउँछ ।
  • फलाम (Iron) :- रातो रक्तकोष निर्माणमा सहयोग, शरीर भरि अक्सिजन पुर्याउँन महत्वपुर्ण भूमिका खेल्छ ।
  • लुटिन (Leutin) र जिजान्थिन (Zeaxanthin) :- बढ्दो उमेर संग हुने आखाको खराबीहरु (मोतिबिन्दु, जलबिन्दु) बाट जोगाउँछ । लुटिन र जिजान्थिन तत्व अण्डाको पहेँलो भागमा प्रचूर मात्रामा पाइन्छ । दैनिक तीन वटा अण्डाको पहेँलो भाग एक महिनासम्म लगातार सेवन गर्दा रगतमा लुटिनको मात्रा २८ देखि ५० प्रतिशत सम्म र जिजान्थिन को मात्रा ११४ देखि १४२ प्रतिशत सम्म वृद्धि हुने तथ्य एउटा वैज्ञानिक परिक्षणले देखाएको छ ।
  • फसफोरस :- हड्डी तथा दात स्वस्थ राख्छ । शक्ति सन्तुलन गर्छ ।
  • सेलेनियम :- कोषहरुलाई अक्सिडेटिब बिकार (Oxidative Damage) हुनबाट रोक्छ, रोग प्रतिरोधात्मक क्षमता बनाइराख्छ, थाइरोइड (Thyroid) ग्रन्थी कार्यक्षमता सम्पादन गर्छ । एउटा अण्डाको खपतबाट दैनिक सेलेनियम आवश्यकताको २८ प्रतिशत पूर्ति हुन्छ ।
  • भिटामिन के :- घाउ भएको ठाउँमा रगत जमाउने भूमिका खेल्छ ।
  • जिङ्क :- रोग प्रतिरोधात्मक प्रणाली (Immunity) लाई मजबुत बनाउँछ ।

 ३०० मिलिग्राम कोलेस्टेरोल मानव शरिरको दैनिक आवश्यकता हुनेमा अण्डाको पहेलो भागमा रहेको बाट २१२ मिलिग्राम परिपूर्ति हुनसक्छ । अण्डामा रहेको कोलेस्टेरोलले स्वास्थ्यमा पार्ने असर बारे फरक-फरक अध्ययन अनुसार भिन्न धारणा छन् । केहि अनुसन्धान अनुसार यसले समग्र र राम्रो कोलेस्टेरोल (HDL) को अनुपात बढाई नकारात्मक असर गर्दछ भन्ने पनि छ भने केहि अनुसन्धान अनुसार दिनको एउटा अण्डा सेवनले कुनै हानि गर्दैन भन्ने छ । एक अध्ययन अनुसार अण्डाले राम्रो कोलेस्टेरोल (HDL) को मात्रा वृद्धि गराई मुटु रोग लगाएतका रोगहरु कम हुन्छन भन्ने पनि छ तर अनुसन्धानकर्ताका अनुसार सेवन गरेको कोलेस्टेरोलले रगतमा हुने कोलेस्टेरोलको मात्रा बढाउछ नै भन्ने छैन । त्यसैले त्यस्तो डर लागेमा अण्डाको पहेलो भाग हटाई खाने गर्न सकिन्छ, तर समग्र क्यालरीको आधा भन्दा बढी शक्ति पहेलो भाग बाट प्राप्त हुने हुनाले मात्रा मिलाएर १ ओटा पुरै अण्डा र अर्को अण्डाको पहेलो भाग हटाई सेवन गर्न सकिन्छ । सन् २००६ मा फर्नान्डेजले गरेको अध्ययन अनुसार प्रत्यक १० जना अण्डा सेवन गर्ने व्यक्तिमा ७ जनामा कोलेस्टेरोलको मात्र बढ्दैन भने ३ जनामा केहि हदसम्म बढ्न सक्छ । दिनको २ वटा को दरले ६ हप्ता सम्म अण्डाको सेवनले एच.डि.एल. १० प्रतिशत सम्म वृद्धि हुने कुरा एक अध्ययनले देखाएको छ । उच्च मात्रामा एच.डि.एल. भएको मानिसमा मुटु रोग तथा विभिन्न स्वास्थ सम्बन्धि समस्याहरु कम हुन्छ । खराब कोलेस्टेरोल अर्थात् एल.डि.एल. (LDL) तत्वले मुटुको रोगको जोखिम वृद्धि गर्छ ।

 एउटा अण्डाबाट जम्मा ७० ग्राम जति क्यालोरी प्राप्त हुन्छ । मोटोपना दुर गर्नको लागि राम्रो खुराक वा डाइट (Diet) हो अण्डा । अण्डामा हुने उच्च गुणस्तरको प्रोटिनले दिमागको भोक केन्द्र (Satiety Centre) लाई नियन्त्रण गरी भोक नलाग्ने बनाई समग्र क्यालरी लिने काम घटाउँछ । फलस्वरूप: वजन नियन्त्रणको लागि निकै असरदार खुराक मानिन्छ अण्डा । अत्याधिक मोटोपना भएका महिलाहरु मथि अध्ययन गर्दा बिहानको खाजाको बदलामा अण्डा खाँदा पूर्ण सन्तुष्ट भएको र त्यसको ३६ घण्टा भित्र क्यालोरीयुक्त खाना खाने इच्छा नभएको पाईएको थियो । क्यलोरीयुक्त खाना कम खानाले शरिरको तौल घट्न मद्दत गर्छ । त्यस्तै मधुमेहका रोगीहरुको लागि पनि राम्रो डाइट हो अण्डा । अण्डामा स्याचुरेटेड फ्याटको मात्रा कम हुन्छ । तसर्थ मुटुरोगी हरुको लागि पनि राम्रो डाइट हो अण्डा । अण्डा पार्ने लेयर्स कुखुरालाई घाँस वा ओमेगा ३ ले भरिपूर्ण अनाज प्रयोग भएको दाना खुवाएमा उक्त कुखुराबाट उत्पादित अण्डामा पनि प्रशस्त मात्रामा ओमेगा ३ प्राप्त गर्न सकिन्छ । ओमेगा ३ भनेको गुणकारक फ्याटी एसिड हो जसले रगतमा ट्राईग्लिसेराईड (Triglyceride) को मात्रा न्यूनीकरण गर्दछ । ट्राईग्लिसेराईडले मुटुरोगको जोखिम बढाउँछ । यसरी ओमेगा ३ ले भरिपूर्ण अण्डाको सेवन गरेर मुटुरोगको जोखिमलाई कम गर्न सकिन्छ ।  

 यिनै बहुमुल्य स्वस्थकर गुणहरुको कारणले आजकल भन्न थालिएको छ, An egg a day keeps doctor away अर्थात्  दैनिक एउटा अण्डाको सेवनले डाक्टरलाई टाढा राख्दछ । इनर्जी, कार्बोहाईड्रेड र फ्याट जस्ता तत्व कम भएको र प्रोटिन, भिटामिन र मिनिरल जस्ता आवश्यक तत्व बढी भएको कारणले पोषण विज्ञानले अण्डालाई विश्वको सर्वोत्कृष्ठ डाईट मध्ये एक मानेको छ ।    

 तालिका १: अण्डा र आलु चिप्सको तुलनात्मक पोषक मात्रा (प्रति १०० ग्राम)

क्र..

पोषक तत्व 

अण्डा

आलु चिप्स 

इनर्जी (किलो क्यालरी)

१७०.०

५७७.०

प्रोटिन (ग्राम)

१३.०

५.१८

कार्बोहाईड्रेड (ग्राम)

०.९

५०.०

कुल फ्याट (ग्राम)

११.४

३९.५४

बजार मुल्य (रुपैया)

२५.०

३०.००

अविभावकले स्कुले नानि बाबुलाई खाजाको रुपमा आलु चिप्स जस्ता ड्राई फुड होइन, दैनिक एउटा अण्डा खान किन प्रेरित नगर्ने? माथिको तालिकाबाट सजिलै बुझ्न सकिन्छ - वास्तवमा आलु चिप्सको तुलनामा अण्डा बढी पौष्टिक र स्वास्थ्यकर पनि छ, साथ-साथै सस्तो पनि छ । कम मुल्य तिरेर स्वास्थ्यवर्धक खाजा पाइन्छ भने स्वास्थ्यलाई गुणकारक नहुने खानेकुरामा किन बढी खर्च गर्ने?  

 अण्डाको वर्गीकरणः US डिपार्टमेन्ट अफ एग्रिकल्चर (USDA) का अनुसार अण्डालाई निम्नानुसार वर्गीकरण गरिएको छ:

  • US ग्रेड AA : अण्डाको सेतो भाग बाक्लो र पक्का; पहेलो भाग गोलो र दाग रहित; बोक्रो नफुटेको । फ्राई गर्न र पोच बनाउन उत्तम ।
  • US ग्रेड A: अण्डाको सेतो भाग AA भन्दा कम बाक्लो र पक्का; बोक्रो नफुटेको ।
  • US ग्रेड B: अण्डाको सेतो भाग पातलो; पहेलो भाग बाक्लो; बोक्रो नफुटेको तर दाग हुन सक्ने, B ग्रेड वाला अण्डा सुपरमार्केटमा विक्री गरिदैन । तिनबाट धुलो वा झोल बनाएर औधोगिक प्रयोजनको लागि प्रयोग गरिन्छ । जस्तै बेकरी उद्योगमा ।

 अण्डाको आकारको आधारमा पनि यसको वर्गीकरण सानो, मध्यम र ठुलो गरि गर्ने चलन छ । जस्तै क्यानाडामा तौल अनुसार अण्डालाई निम्न अनुसार वर्गीकरण गर्ने गरिन्छ ।

  • ७० ग्राम वा सो भन्दा बढी तौल भएमा - जम्बो अण्डा
  • न्युनतम ६३ ग्राम देखि ७० ग्राम भन्दा कम तौल भएमा - एक्स्ट्रा (अधिक) ठूलो अण्डा
  • न्युनतम ५६ ग्राम देखि ६३ ग्राम भन्दा कम तौल भएमा - ठूलो अण्डा
  • न्युनतम ४९ ग्राम देखि ५६ ग्राम भन्दा कम तौल भएमा - मिडियम अण्डा
  • न्युनतम ४२ ग्राम देखि ४९ ग्राम भन्दा कम तौल भएमा - सानो अण्डा
  • ४२ ग्राम भन्दा कम तौल भएमा - पि वी अण्डा

 अण्डाको भण्डारण, पकान र परिकार

USDA का अनुसार अण्डाहरु बाहिरि तापक्रममा राख्दा पसिना आई किटाणुलाई अण्डा भित्र प्रवेश गर्न र फैलिन सहयोग गर्दछ । खाने अण्डालाई उचित हिसाबले भण्डारण नगरीए Salmonella जिवाणुको विकास भई फुड पोइजनिंग हुन सक्ने भएकोले United States Department of Agriculture (USDA) को अनुसार अण्डालाई रेफ्रिजेरेसन गरि भण्डारण गरेमा उक्त जिवाणुको विकास रोक्न सकिन्छ । साथै रेफ्रिजेरेसनले अण्डाको स्वाद तथा संरचना (Texture) बचाई राख्छ ।

 स्वास्थ्य विज्ञका अनुसार अण्डालाई रेफ्रिजेरेसन गर्ने, २ हप्ता भित्र खपत गर्ने, उचित तापक्रममा पकाउने र नपाकेको अण्डा सेवन नगर्ने गर्नुपर्दछ । काचो तथा राम्रोसँग नपाकेको अण्डाले हानिकारक किटाणु र खानाबाट हुने बिमार (Food Borne Illness) निम्त्याउने हुनाले, स्वस्थ पकान प्रकृया अपनाई अण्डा सेवन गर्नु पर्दछ । अण्डा पकाउँदा तेलको प्रयोग कम गरि अरु स्वाद जस्तै च्याउ, रातो खोर्सानी अथवा अन्य तरकारीहरु मिसाएर सेवन गर्न सकिन्छ ।

फ्राई गर्न, उमाल्न, स्क्राम्बल गर्न, पोच बनाउन, सेक्न मिल्ने र विभिन्न परिकार बनाउने सकिने भएकाले अण्डालाई बहुमुखी आहाराको रुपमा लिन सकिन्छ । विश्वभरि अण्डाका धेरै प्रकारका परिकार बनाउन चलन छ जसमध्ये तल दिईएका केहि हुन् । केहि बारे त हामी पनि जानकार नै छौँ । 

"बोइल गरेको अण्डा, पोच, टोस्ट, Huevos rancheros, Pancake, Kedgeree, Quiche, Egg Sandwich, Eggs over Pasta, Classic Egg Salad, Frittata etc............. "

 Image from: diversified-foods.com (The copyright goes th the respective site)

निष्कर्ष

अमेरिकन अण्डा बोर्डको रिपोर्ट अनुसार सन् २०१३ मा अमेरिकामा प्रति व्यक्ति प्रति वर्ष अण्डा खपत २५१ गोटा रहेको थियो । त्यस्तै विश्व अण्डा आयोगको रिपोर्ट अनुसार सन् २०१४ मा विश्वभरी प्रति व्यक्ति प्रति वर्ष औषत अण्डा खपत १७९ गोटा रहेको थियो । नेपालको राष्ट्रिय तथ्यांक विभागले विक्रम सम्बत् २०७१/७२ मा गरेको पोल्ट्री व्यवसाय सम्बन्धि अध्ययनले २०७३ मा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा भने प्रति व्यक्ति प्रति वर्ष अण्डा खपत ४४ गोटा मात्र रहेको छ । विविध मुलुकका जनताको शारीरिक तथा मानसिक तन्दुरुस्ती र उनीहरुको आहार-विहार बीच सिधा सम्बन्ध रहेको प्रस्ट बुझ्न सकिन्छ । यसरी सबल र सक्षम जनशक्ति निर्माण गर्नको लागि नेपालि जनताले आफ्नो आहार-विहारमा गुणात्मक तथा मात्रात्मक फड्को मार्नैपर्ने देखिन्छ । हाम्रो देशको जनताको कुखुराको अण्डाको खपत विश्व मापदण्ड र एसियाली मापदण्ड भन्दा निकै पछाडी रहेको छ । कुखुराको अण्डाको पौष्टिक महत्व बुझेर यसको खपत बढाउन नितान्त आवश्यक छ । सक्षम र सबल जनशक्तिको आडमा नै सम्मुनत राष्ट्रको निर्माण हुनसक्दछ । आउनुहोस् विश्व अण्डा दिवसको परिप्रेक्क्षमा अण्डाको महत्वबारे जनचेतना फैलाउन लागिपरौँ, अण्डा उत्पादक किसानको व्यवसायिक सुरक्षाको ग्यारेन्टी कसरि गर्न सकिन्छ भन्नेबारे मनन् गरौँ साथै यसमा राज्यले खेल्नुपर्ने भूमिका के-कस्तो हुनुपर्दछ, त्यसको लागि राज्यलाई झक्झक्याऔँ । विश्व अण्डा दिवस भब्यताका साथ मनाऔँ । आम नेपालीको अण्डा खपतको अवस्थालाई विश्व मापदण्डको स्तरमा पुर्याउँने र राष्ट्रमा सबल-सक्षम जनशक्तिको निर्माण गर्ने दिशामा अगाडी बढौँ । अण्डा उत्पादक किसान, कमर्सियल लेयर्स चल्ला उत्पादन गर्ने ह्याचरी कम्पनि, लेयर्सको आहारा उत्पादन गर्ने दाना उद्योगी, लेयर्सको लागि आवश्यक औसधि, भ्याक्सिन र फिड सप्लिमेन्टको माग परिपूर्ति गर्न लाग्नुहुने औसधि व्यावसायी, अण्डा सप्लायर्स, अण्डा उत्पादन प्रवर्धनको लागि टेवा पुर्याउँन खट्नुहुने सरकारी पदाधिकारी, साथै यस क्षेत्रमा लाग्नुहुने भेटेरिनरी डाक्टर तथा अन्य प्राविधिक र कामदार लगायत आम उपभोक्ता सबैमा विश्व अण्डा दिवसको हार्दिक शुभकामना । Happy World Egg Day 2017!!


 लेखक द्वयः
डा. विवेक बन्धु रेग्मी, प्राविधिक निर्देशक
हाईजिन एग्रो प्रा. लि.
 
डा. युवराज पन्थ, जिविकोपार्जन अधिकृत (पशु सेवा)
CDECF, चौतारा