स्वादिष्ट मासुका लागि लोकल कुखुराको व्यवसायिक पालन तरीका
 
हेमन्त के. सी.
प्रोप्राइटर तथा संचालक : एन्जेल्स पोल्ट्री एण्ड गोट फार्म, सतबरिया, लमही-८, देउखुरी, दाङ, फोन नं. 9822561415
डा. विवेक बन्धु रेग्मी
कंशलटेन्ट भेटः मध्यपश्चिम पोल्ट्री डायग्नोसिस एण्ड भेट फर्मा, तुलसीपुर, दाङ
प्राविधिक निर्देशकः हाइजिन एग्रो प्रा लि, घोराही, दाङ
१. जग्गा छनौट र खोर निर्माण
- व्यवसायिक रुपमा धेरै संख्यामा लोकल कुखुरा पाल्नको लागि उन्नत जातका कुखुरालाई जस्तै खोर निर्माण गर्नुपर्ने हुन्छ । खोर निर्माण बारे विस्तृत रुपमा बुझ्नको लागि "कुखुरापालनको लागि जग्गाको छनौट तथा खोर बनाउने तरिका" विषयक लेख पढ्न सक्नुहुनेछ ।
- खोर बाहिर कम्तिमा ५ फिट अग्लो जालीले बाउन्ड्री गरिएको घाँस र बुट्यान लगाइएको खुला जमिन पनि भएमा राम्रो हुन्छ । खुला छोडेर पालिएको लोकल कुखुराको मासु बोशो रहित, कसिलो र बढी स्वादिष्ट हुन्छ ।
- परम्परागत रुपमै सानो खोरमा सिमित संख्यामा मात्र पाल्ने हो भने पनि पर्याप्त मात्रामा भेन्टीलेशन पुग्ने गरी लोकल कुखुराको खोरको वनावटमा सुधार गर्नुपर्ने हुन्छ । सुली दिन दिनै सफा गरी सफा र ओभानो राख्नुपर्छ ।
 
 २. ब्रुडिंग व्यवस्थापन
- उन्नत जातका कुखुरालाई जस्तै ब्रुडिंग गर्नुपर्ने हुन्छ । यसबारे विस्तृत रुपमा जान्नको लागि "खोरमा नयाँ चल्ला ल्याउन अगाडी र ल्याउने वित्तिकै गर्नुपर्ने काम" विषयक लेख पढ्न सक्नुहुनेछ ।
 
३. क्षेत्रफल आवश्यकता
- प्रति वयस्क कुखुरा बराबर खोरभित्रको क्षेत्रफल २ वर्ग फिट उपलब्ध गराउनुपर्ने हुन्छ । ब्रुडिंग अवस्था देखि वयस्क अवस्था सम्म क्षेत्रफललाई कसरि क्रमिक रुपमा वृद्दि गर्दै लैजाने भन्ने बारेमा पनि "खोरमा नयाँ चल्ला ल्याउन अगाडी र ल्याउने वित्तिकै गर्नुपर्ने काम" विषयक लेखमा उल्लेख गरिएको छ । खोर बाहिर कम्तिमा ५ फिट अग्लो जालीले बाउन्ड्री गरिएको घाँस र बुट्यान लगाइएको खुला जमिन पनि भएमा राम्रो हुन्छ । खुला छोडेर पालिएको लोकल कुखुराको मासु बोशो रहित, कसिलो र बढी स्वादिष्ट हुन्छ ।
 
 ४. दाना पानीको भाँडा आवश्यकता
- चिक फिडर ट्रे : ७५ चल्ला बराबर एउटा (सुरुको ५ दिन मात्र)
- चिक ड्रिंकर : ४० चल्ला बराबर एउटा (सुरुको पच्चीस दिन)
- चिक फिडर : ४० चल्ला बराबर एउटा (छैठौं दिनदेखि पच्चीस दिनसम्म)
- ठूलो ड्रिंकर : ५० कुखुरा बराबर एउटा (पच्चीस दिनपछि)
- ठूलो फिडर : ५० चल्ला बराबर एउटा (पच्चीस दिनपछि)
 
 ५. दाना व्यवस्थापन
- सुरुको २ हप्ता : B0 दाना
- तेस्रो र चौथो हप्ता : L1 वा B1 दाना
- पाँचौं हप्तापछि : K2 (क्रोइलरको ग्रोइङ्ग दाना) नभए L2 (लेयर्सको ग्रोइङ्ग दाना) । पछिसम्म व्रोइलरको दाना खुवाउँदा उत्पादन लागत अनावश्यक बढी हुन आउँछ ।
- महिना दिन भएपछी दिनको समयमा खोर बाहिर जाली बाउन्ड्री गरिएको परिसरमा छोड्ने । उक्त परिसरमा घाँस र बुट्यान लगाउने जसकारण कुखुराले छाहरी पाओस् । साथै बुट्यान तथा घाँस भएमा किरा-फट्यांग्रा आकर्षित हुन्छन जुन लोकल कुखुराको लागि गतिलो आहाराको श्रोत बन्नसक्छन । घाँस खुवाएर दाना लागतमा करिब २५ प्रतिशत कटौती गर्न सकिन्छ । रातको समयमा खोरभित्र बास बसाउने ।
- घरको भान्साबाट निस्कने तरकारी लगायत अन्य खाद्यवस्तुको रहलपहललाई लोकल कुखुराको आहाराको रुपमा प्रयोग गरी उत्पादन लागतमा व्यापक कटौती गर्न सकिन्छ ।
 
६. भ्याक्सिन तालिका
- छैठौं दिन – B1 भ्याक्सिन आँखामा थोपा
- बाह्रौँ दिन – IBD Intermediate Plus भ्याक्सिन आँखामा थोपा
- अठारौँ दिन – IBD Intermediate भ्याक्सिन आँखामा थोपा
- पच्चीसौँ दिन - Lasota भ्याक्सिन पिउने पानीमा वा आँखामा थोपा
- पैतालिसौँ दिन – Fowl Pox भ्याक्सिन पखेंटामा खोस्रेर
- पैसठ्ठीऔँ दिन – R2B भ्याक्सिन साप्राको मासुमा
- त्यसपछि प्रत्येक ४५ दिनको अन्तरमा Lasota भ्याक्सिन पिउने पानीमा वा आँखामा थोपा
 
७. जुकाको औसधि तालिका
- पाँच हप्ता उमेर भएपछी पहिलो डोज जुकाको औसधि चलाउने 
- त्यपछि खुला छोड्ने कुखुरालाई प्रत्येक महिनाको अन्तरालमा खुवाईराख्ने
- पूर्णतया खोरभित्र पालिएको हो भने २ महिनाको अन्तरालमा खुवाउने  
- जुकाको औसधि चलाउँदा सधैभरी एकै किसिमको औसधि मात्र नचलाएर Albendazole, Piprazine र Levamisole लाई चक्रिय प्रणालीमा चलाउनु उपयुक्त हुन्छ ।
 
 ८. चुच्चो व्यवस्थापन
- चल्लाको उमेर ९-१० दिन हुँदाखेरि चुच्चो डाम्दा (Beak Touching) उपयुक्त हुन्छ ।
- ठुलो भएपछी खोर बाहिर छोडेर पाल्ने हो भने चुच्चो नकाटेपनि हुन्छ । तर यदी बन्द खोरमै पाल्ने हो भने लेयर्स कुखुरामा जस्तै ठुगाठुंगको समस्या देखिन सक्ने भएकाले भ्याक्सिन दिएको एक हप्तापछि करिब ५०-५५ दिनतिर डिबिकर मेसिनको सहायताले चुच्चो काट्दा (Debeaking) उपयुक्त हुन्छ ।
 
९.  अन्य जानकारी
- कुखुरालाई लामखुट्टे झिंगा र भुसुनाबाट वचाउनका लागि खाली खोरमा निम, तुलसी र सुर्तीको पातको धुंवा दिन सकिन्छ ।
- कुखुरालाई २४ सै घण्टा सफा भांडामा सफा पिउने पानीको ब्यवस्था गर्नुपर्छ । रोगको रोगथामको लागि पिउने पानीमा थोरै वेसार अथवा पोटास मिलाउनु उपयुक्त हुन्छ ।
- जाडो र वर्षातको समयमा कुखुराको खानामा लसुन र गर्मीको समयमा खानामा मसिनो गरी प्याज काटेर मिसाउदा कुखुराको प्रतिरोध क्षमता उच्च रहन्छ।
- लोकल कुखुरालाई निम्न किसिमको खानाको उपलब्धता गराउन सकिन्छ : 
१. टुक्राईएको मकै, चामलको कनिका, गहुंको चोकर, कोदो ईत्यादि (शक्तिको लागि) ।
२. किरा, फट्यांग्रा, लार्भा (शारीरिक बृद्धिको लागि) ।
३. हरियो घांसपात जस्तै वदामे घांस, सागपात, मसिना ढुंगा तथा हड्डीका टुक्राहरु, शंखे किराका खपडाहरु (पाचन प्रणालीमा सुधार तथा रोग संग लड्न सक्ने क्षमता विकासका लागि)
 - जुकाको औषधि खुवाएको हप्ता-दश दिनपछि मात्र कुखुराको रानीखेत र विफर (Fowl Pox) रोग विरुद्धको खोप लगाउन उपयुक्त हुन्छ ।
 

नोट : हुन त लोकल कुखुरालाई अण्डा उत्पादन गर्ने हेतुले पनि पाल्न सकिन्छ । तर लोकल कुखुराका पोथी कमर्सियल लेयर्सका पोथी जस्ता उत्पादनशील भने हुदैनन् । लोकल कुखुराद्वारा उत्पादित अण्डालाई कमर्सियल लेयर्सद्वारा उत्पादित अण्डा भन्दा फरक भाउ (यथोचित बढी) मा बिक्रि गर्न सकेको खण्डमा मात्रा लोकल कुखुराबाट अण्डा उत्पादन गर्ने व्यवसाय नाफामुलक हुनसक्छ । लोकल कुखुराको मासुमा पाइने तिख्खर स्वादप्रति ठूलो आकर्षण रहेकोले मासुको लागि लोकल कुखुरालाई व्यवसायिक ढंगबाट पालन गरेर आय-आर्जन गर्न सकिने प्रशस्त सम्भावना रहेको छ । यस लेखमा मासु उत्पादन गर्ने हेतुबाट लोकल कुखुरालाई कसरि व्यवसायिक ढंगबाट पाल्न सकिन्छ भन्ने पक्षलाई उजागर गर्न खोजिएको छ ।

विस्तृत सम्पर्क / जानकारीको लागि  https://madhypaschim.wixsite.com/poultry/localfarmer

प्रोप्राइटर : हेमन्त के. सी., ठेगाना : सतबरिया, लमही-८, देउखुरी, दाङ, सम्पर्क नम्बर : ९८२२५६१४१५
पालन क्षेत्रफल : कुल ४,२०० वर्ग फिटको खोर क्षमता र जाली बाउन्ड्री गरिएको करिब एक बिघा जति खुला जमिनको प्रयोग गरेर पालिएको
उत्पादन गर्ने वस्तु : मासुको लागि खाने विभिन्न जातका लोकल कुखुराहरु
उपलब्ध कुखुराका जातहरु : अस्ट्रोलप, न्यू-ह्याम्पसायर, साकिनी, घाँटी खुइले, प्वाँख उल्टेका छ्यासमिस क्रसहरु, गिरिराज, न्यू-ह्याम्पसायर र अस्ट्रोलप
 सन्दर्भ सामाग्री :
१. Heifer International द्वारा लमहीमा राखिएको जानकारीमुलक Hoarding Board
२. लोकल कुखुरा व्यवसायी हेमन्त के. सी. (9822561415), गिरिराज रेग्मी र डा. विवेक बन्धु रेग्मीको पालन व्यवस्थापन सम्बन्धि अनुभव