पृष्ठभूमि

सिस्टीसरकोसीसलाई सुँगुर प्रजातिमा हुने टिनिया सोलियम नामक फित्ते जुकाका कारण जनसमुदायको सम्पूर्ण शरीरमा परजीवीजन्य सङ्क्रमण गराउने रोग मानिन्छ । यो परजीवी मानिसको शरीरमा प्रवेश गरेपछि विकशित हुने विशिष्ठ पानीका थैला जसलाई सिस्ट भनिन्छ, जुन शरीरका विभिन्न भाग जस्तैः केन्द्रीय स्नायु प्रणाली, शरीरका विभिन्न भागका मासुजन्य तन्तु, आँखा अनि छालामा अवस्थित हुन पुगेमा सोही अनुसारका विविध खाले लक्षण बिरामीमा देखापर्छ । धेरै व्यक्तिमा भने उपरोक्त अनुसारको सङ्क्रमण भए पनि रोग लक्षणविहीन अवस्थामा हुन्छ । ल्याटिन अमेरिका, एसिया तथा सवसहारा अफ्रिका जस्ता विकशित मुलुकमा यो रोग नियमित रूपमा स्थापित भएको मानिन्छ ।

विकशित औद्योगिक मुलुकमा कम विकशित मुलुकबाट कामदार आप्रवासनका कारण ती मुलुकका जनसमुदाय यस रोगबाट ग्रसित हुने गरेको तथ्य भेटिन्छ । संयुक्त राज्य अमेरिकामा बर्सेनि एक हजार जना यस रोगका प्रभावित जनसमुदाय भेटिने गरेको प्रयोगशालाजन्य परीक्षणमा प्रमाणित हुने गरेको तथ्यले पुष्टि गर्छ । ज्येष्ठ नागरिकमा देखापर्ने छारे रोगजन्य रोग विश्वव्यापी रूपमा न्युरो सिस्टीसरकोसीकको कारणले भएको मानिन्छ । दई हजार बि.सी. तिर नै इजिप्टका चिकित्साकर्मीले यो रोग मानिसमा पहिचान गरेका थिए भने त्यसैताका एरिस्टोटलले बुँगुरमा यसको उपस्थिति बारे वर्णन गरको अभिलेख पाइन्छ । मुस्लिम समुदायका चिकित्साकर्मीले पनि यो रोग पहिचान गरेको तथ्य भेटिन्छ, यसकै कारण यो समुदायमा सुँगुर प्रजातिको मासु उपभोग गर्न वर्जित गरेको अनुमान गरिन्छ । ई.सं. १८५० तिर जर्मन अन्वेषणकर्ताहरूले टिनिया सोलिएमको जीवन चक्र वर्णन गरेको प्राज्ञिक अभिलेख पाइन्छ ।

सिस्टीसरकोसीसको कारक तŒव 
टिनिया सोलियम प्रजातिको फित्ते जुकाको लार्भा शरीरको विभिन्न अङ्गको तन्तुहरूमा छरिन पुग्यो भने सिस्टीसरकोसीस रोग लाग्छ । जब यो फित्ते जुकाको फुल खानेकुरा, पानीसँग मिसिएर मानिसको पेटमा पुग्छ, त्यहाँ ती फुलबाट भ्रुण कोरलिन पुग्छ अनि यिनीहरू आन्द्राका पर्खालका मासु छेडी रक्त सञ्चार प्रणालीमा मिसिन पुग्छन् । यसरी रक्त सञ्चारका माध्यमबाट शरीरका विभिन्न अङ्गका तन्तुमा पानीका थैला जस्ता सिस्टको विकास हुन्छ । यस्ता सिस्टहरूले शरीरका जुन अङ्गका तन्तुमा स्थायी अवस्थिति देखाउँछन् र यीनको सङ्ख्याका आधारमा बिरामीमा लक्षण पनि सोही अनुसार देखिन्छ ।

सिस्टीसरकोसीसको प्रसारण जनसमुदायमा कसरी हुन्छ  
टिनिया सोलियम प्रजातिको फित्ते जुकाका लागि मानिस दयालु भद्र पाहुना घर मानिन्छ । यिनीहरूको आन्द्रामा यो जुका भए पनि प्रायःजसो रोगको लक्षण लेखाउँदैनन् । मानिसले बेला बेलामा आफ्नो दिसामा यस जुकाका फुल प्mयाल्ने गर्छन् । मानव मलमूत्रबाट प्रदूषित खानेकुरा तथा पानीबाट सुँगुर प्रजातिमा ती फुल शरीरमा प्रवेश गर्छन् । कालान्तरमा सुँगुर प्रजाति यस परजीवीबाट सङ्क्रमित हुन पुग्छन् । अनि यीनको शरीरको मांसपेसीजन्य तन्तु तथा अन्य अङ्गका तन्तुमा सिस्टीसरकाई (पानीका मसिना थैला) विकसित हुँदै जान्छन् । जब मानव जनसमुदायले यसरी सङ्क्रमित सुँगुर प्रजातिको काँचो वा अधकल्चो गरी पकाएको मासु सेवन गर्छन्, यस फित्ते जुकाको जीवन चक्र अन्त हुन्छ, तर रोग चक्र निरन्तर चलिरहन्छ । मानिसले टिनिया सोलिएमको फुल खानेकुरा तथा पानीमा मिसिएर खान पुगे सिस्टीसरकोसीस मानिसमा देखिन्छ । यी जुकाका फुल खानेकुरा, पानी तथा सङ्क्रमित दिसाबाट प्रदूषित सतही वातावरणबाट प्रसार हुन्छन् । कहिलेकाहीँ खाद्यान्न, तरकारी, मासुजस्ता उपभोग्य वस्तु तयार पार्ने, बिक्री गर्ने व्यवसायी तथा कामदारले राम्रो सित व्यक्तिगत सरसफाइ खास गरी हातको ध्यान नदिएमा सङ्क्रमित मानव मलमूत्रबाट प्रदूषित ढलको पानीबाट सिँचाइ गरिएका तरकारी राम्रोसँग निःसङ्क्रमण तथा निर्मूलीकरण नगरिएमा यस रोगको प्रशारणमा मद्दत पुग्छ ।

सिस्टीसरकोसीसको लक्षण के हो 
प्रारम्भिक सङ्क्रमणपछि यो रोगको लक्षण देखिन धेरै महिना वा धेरै वर्ष लाग्न सक्छ । रोगका लक्षण सिस्टीसरकाइको अङ्ग तथा तन्तुजन्य अवस्थिति अनि यिनको सङ्ख्यात्मक मात्रामा भर पर्छ । केही व्यक्तिमा त लक्षण नदेखिन पनि सक्छ । प्रायःजसो सिस्टीसरकोसीसका शङ्कास्पद बिरामी स्वास्थ्य उपचार संस्थामा जाँच गराउन पुग्दा केन्द्रीय स्नायु प्रणालीजन्य प्रभावी न्युरो सिस्टीसरकोसीस भएका हुने गर्छन् । तीनमा मुख्यतः निम्न लक्षण भेटिने गर्छः
वाक वाक लाग्ने, वान्ता गर्ने, टाउको दुख्ने, रिँगटा लाग्ने, लोसेपन वा टोलाएको जस्तो गर्ने, दिग्भ्रमित हुने, मधुरो देख्ने, कमजोरी हुने, स्पन्दन शून्य हुने, छारे रोगझैँ मुर्छा पर्ने, काम्ने आदि । शरीरका अन्य अङ्ग प्रभावित भएको अवस्थामा मांसपेसी, छालामा पानीका थैलासहित सुन्नीने र आँखामा सिस्ट भएमा प्रस्ट देख्न नसक्ने हुन्छ ।

सिस्टीसरकोसीसको निदान 
बिरामीको दिसा जाँच गरेमा जुकाको फुल वा जुकाका शरीरका केही भाग देखिन सक्छ । मस्तिष्क तथा भित्री अङ्गको अल्ट्रा साउण्ड, एक्स रे, सिटी स्क्यान, एम.आर.आई. गरेमा पानीका थैला, सिस्टीसरकाइको अवस्थिति थाहा पाउन सकिन्छ । बिरामीको भौगोलिक बसोबास, खानपिनको व्यवहार, पेसा अनि लक्षणको समग्र विश्लेषण पछि निश्चित रोग निदान गर्न सकिन्छ ।

सिस्टीसरकोसीसको उपचार 
यस रोगको उपचार व्यक्तिले देखाउने रोगको लक्षण, सिस्टीसरकाइको अङ्ग, तन्तुमा अवस्थिति अनि तीनको सङ्ख्या, सिस्टको विकास क्रमको स्थिति वा तहजस्ता विभिन्न कुरामा भर पर्छ ।
यस रोगको सामान्य गरिने उपचारमा जुका प्रतिरोधक औषधि, करटिकोस्टेर्वाइड, काम्ने, छारे रोग लागि मुर्छा पर्ने अवस्था रोक्ने औषधि वा शल्यक्रिया आदि हुन् ।

प्रायःजसो जुका प्रतिरोधक औषधिमा एलवेन्डाजोल प्रयोग गरिन्छ भने न्यून रूपमा प्राजिक्वान्टल औषधिले कहिले काहीँ प्रतिक्रियात्मक असर पनि पार्न सक्छ । क्रियाशील सिस्ट निर्मूल पार्न औषधि दोहोर्याउनुपर्ने हुन्छ ।

सिस्टीसरकोसीस रोगको जटिलता 
रोग लागि मुर्छा पर्ने, काम्ने, हृदयघात, दृष्टिदोष, विभिन्न खालका शारीरिक समस्या, मृत्यु, आदि ।
सिस्टीसरकोसीस रोगको रोकथाम कसरी गर्न सकिन्छ ः
(१) यस परजीवी तथा यसका प्रसारण पथबारे जनचेतना कार्यक्रम सञ्चालन गर्ने ।
(२) काँचो वा अधकल्चो गरी पकाएको सुँगुर प्रजातिको मासु नखाने, खान पर्यो भने १६० डिग्री फरेन्हाइटमा पकाएर मात्र खाने ।
(३) मासुजन्य तथा अन्य काँचो खानेकुरा चलाएपछि हात राम्रो सित धुने, व्यक्तिगत सरसफाइमा उचित ध्यान दिने ।
(४) खानेकुरा सावधानीपूर्वक चलाउने तथा उचित तरिका तथा तापमानमा पकाउने ।
(५) नियमित मासु जाँचको व्यवस्था तथा सङ्क्रमित मासु उचित तरिकाले नस्ट पार्ने ।
(६) सहरी फोहरमैला तथा ढलको सरसफाइ व्यवस्थापनमा वैज्ञानिक सुधार गर्ने ।
(७) सिस्टीसरकोसीसका विरुद्ध प्रयोग हुने खोपको विकास गर्ने प्रविधिको व्यवस्थापन गर्ने ।

Source: http://www.ratopati.com/bichar-dristikon/90867/