सामान्यतया सबै जसो पशु वस्तुहरुमा प्रजनन् योग्य उमेर र तौल पुगेपछि भाले खोज्ने र निश्चित समयावधिको फरकमा उमेरको निश्चित हदसम्म सन्तान जन्माई रहनु पर्नेमा विभिन्न कारणवश भाले नखोज्ने तथा खोजे पनि गर्भाधारण नभई उल्टिरहने अवस्थालाई बाँझोपन भनिन्छ । बाँझोपनको उचित कारण पत्ता लगाई समयमा उपचार गर्न सकेको खण्डमा पशुले सन्तान जन्माउन सक्ने क्षमताको विकास हुन्छ । आर्थिक दृष्टिकोणबाट बाँझोपन हाम्रो देशको पशुधनमा महत्वपूर्ण समस्याको रुपमा रहेको छ । भेटेरीनरी हस्पिटल वा भेटेरीनरी क्लिनिकमा आउने समस्याहरु मध्ये करीव ५० प्रतिशत समस्या बाँझोपन नै रहेको पाईन्छ ।

बाँझोपन (Infertility)  को प्रकार

) कारणको आधारमा

  • संक्रमण रहितको बाँझोपन (Infertility without Infection)
  • संक्रमण सहितको बाँझोपन (Infertility with Infection)

२)लक्षणको आधारमा

(क) भाले नखोज्ने वा थारो रहने (Anestrus): बिभिन्न कारणहरुले गर्दा वा पशु ब्याएको ६० देखि ९० दिन सम्म पनि, डिम्वाशयमा डिम्व बन्ने वा बनेको डिम्व परिपक्व हुने क्रम रोकिन गई पशुले भाले खोजेको लक्षण देखाउन छोड्छ जुन अबस्थालाई भाले नखोज्ने वा थारोपन (Anestrus) भनिन्छ ।

(ख) गर्भ नरहने र उल्टिरहने (Repeat Breeding): तीन पटकसम्म पनि सामान्य अवस्थाको वीर्य प्रयोग गरी सहि तरीकाले कृत्रिम गर्भाधान गर्दा वा सामान्य अवस्थाको प्रजनन योग्य रांगो साढेबाट प्राकृतिक गर्भाधान गराउँदा पनि गर्भाधारण नहुने अवस्थालाई उल्टिरहने भनिन्छ ।

(क) भाले नखोज्ने/थारो रहने (Anestrus): पोथी पशुको शारीरिक तौल तथा निश्चित उमेर पुगेपछि शरीरमा उत्पादन हुने बिभिन्न हर्मोनहरुको असरले गर्दा ती पशुको डिम्वाशयमा भईरहेका प्रारम्भिक डिम्बहरु (Primary Follicles) मध्ये एक डिम्ब (Follicle) परिपक्व हुन्छ र त्यसबाट ईस्ट्रोजेन हर्मोन उत्पादन हुन्छ । यो हर्मोनको असरस्वरुप पोथी पशुले सेप फाल्ने, कराउने आदि भाले खोजेका लक्षणहरु देखाउँछ । परिपक्व भएको केही समयमा त्यो डिम्व डिम्वाशयबाट छुटिन्छ र त्यस ऋतुकालको सही समयमा भाले लागेमा वा कृत्रिम गर्भाधान गरिएमा डिम्व र शुक्रकीटको संगमबाट गर्भ रहन जान्छ । तर बिभिन्न कारणहरुले गर्दा वा पशु ब्याएको ६० देखि ९० दिन सम्म पनि, डिम्वाशयमा डिम्व बन्ने वा बनेको डिम्व परिपक्व हुने क्रम रोकिन गई पशुले भाले खोजेको लक्षण देखाउन छोड्छ जुन अबस्थालाई भाले नखोज्ने वा थारोपन (Anestrus) भनिन्छ । भाले नखोज्ने अवस्थाको वारेमा अध्ययन गर्नु पूर्र्व निम्न लिखित तथ्यहरुको वारेमा जानकारी लिनु आवस्यक हुन्छ ।

  • सर्वप्रथम पशुको उमेर अनुसारको तौल पुगेको छ वा छैन हेर्नु पर्दछ । सामान्यतया जात अनुसार आमाको तौलको २÷३ भाग तौल पुगेको हुनु पदर्छ ।
  • पशुको शारीरिक स्कोर (Body Condition Score)  सामान्य भन्दा कम वा बढी भएमा भाले खोजेको लक्षण देखाउँदैन ।
  • नेपालमा आन्तरीक तथा बाह्य परजीवि र जीर्ण रोगहरु (Chronic Diseases) को कारणबाट यो समस्या बढी भएको पाईन्छ ।
  • रगतमा हुने परजीविको लागी रगतको स्मेयर (Blood Smear)  परीक्षण गरी लिम्फ नोड (Lymph node) सुनिएको छ वा छैन अध्ययन गर्नु पर्दछ ।
  • यदि कोरली बाच्छीहरु बाच्छा सँग जुम्लिहा जन्मेमा हुन् वा होईनन् सोधपुछ गरी फ्रि मार्टिन (Freemartinism)  को यकिन गर्नु पर्दछ ।
  • यदि रगतमा रक्क्त कणिकाहरु / हेमोग्लोविन (Haemoglobin)  को मात्रा कम छ भने पनि पशुहरुमा भाले खोजेको लक्षण नदेखाउने हुन्छ ।
  • शुद्ध जर्सी (Pure;100%) र शुद्ध होलस्टेन (Pure;100%)बाट जन्मेको वर्णशंकर (F1 Cross)मा सामान्यतया बाँझोपन बढी हुन्छ ।
  • यदि शुद्ध होलस्टेन (Pure; 100%) जातको गाईमा एउटा वा दुबै कानमा केही भाग वा पूरै भाग सेतो रगंको छ भने यस्तो अवस्थामा सो पशुमा बाँझोपन हुन्छ । सेतो रगं कानको तलबाट टुप्पातिर बड्दै गएको भए पशुमा बाँझोपन (Hypoplasia of Ovaries) पनि बढ्दै जान्छ । यसको कुनै उपचार छैन ।
  • यदि पशु गर्भिणी हुँदा (Prepartum), ब्याउँदा (Parturation)  वा ब्याईसकेपछि (Postpartum) केही समस्या आएको भए सो को अग्रीम जानकारी लिनु आवश्यक हुन्छ ।
  • मलद्धारबाट पाठेघरको स्पर्शीकरण गरी डिम्वाशयमा करपस ल्युटियम छ वा छैन भनि यकिन गरीसकेपछि भाले नखोज्ने अवस्थालाई करपस ल्युटियम सहितको भाले नखोज्ने  अवस्था (Functional Anestrus) र करपस ल्युटियम रहितको भाले नखोज्ने अवस्था वा वास्तबिक थारोपन (True Anestrus)  गरी निम्नानुसार दुई भागमा विभाजन गर्न सकिन्छ ।

(ख) गर्भ नरहने र उल्टिरहने (Repeat Breeding): सामान्य अवस्थाको पशु (१४ बर्ष ननाघेको) लाई तीन पटक वा सो भन्दा बढी पटकसम्म पनि गुणस्तरीय वीर्यको प्रयोग गरी कृत्रिम गर्भाधान वा स्वस्थ्य तथा प्रजनन योग्य भालेद्धारा प्राकृतिक गर्भाधान गराउँदा पनि गर्भाधारण नहुने अवस्थालाई उल्टिरहने भनिन्छ । यो कृत्रिम गर्भाधान गरेको १७ देखि २४ दिन भन्दा कम समयमा उल्टिने (Early Repeat) र २५ दिन भन्दा बढी समयमा उल्टिने (Late Repeat) गरी २ प्रकारको हुन्छ ।

©लेखन तथा संकलनः डा. खगेन्द्रराज सापकोटा