पशुपन्छीको लागि निःशुल्क टेलिपरामर्श सेवाः नेपाल भेटेरिनरी एसोसिएशन

नेपाल भेटेरिनरी एसोसिएशन (Nepal Veterinaey Association) ले यस Covid-19 को महामारी तथा बन्दाबन्दीका बीचमा समग्र पशुपन्छीपालक कृषकहरुले भोगेका समस्याहरुलाई विज्ञहरू मार्फत् सम्बोधन गर्न कृषकहरुको सहजताको लागि ११५९ अंकको निःशुल्क हटलाइन सेवा सुरु गरेको छ।  पशुपन्छी पालकका आकस्मिक समस्या विज्ञबाट समाधान होस भनेर टोल फ्रि नम्बर मार्फत् निरन्तर परामर्शको सुविधा प्रदान गर्नको लागि  नेपाल भेटेरिनरी एशोसिएसनले हटलाइन फोन सेवा सुरु गरेको छ।  

यो सेवा प्रदान गर्न नेपाल भेटेरिनरी एसोसिएशनसँग निम्बस (Nimbus) कम्पनीले सहकार्य गरेको छ।  निम्बस नेपालमा पशुपन्छीको  गोटी दाना (Pellet Feed) उत्पादन गर्ने पहिलो कम्पनि हो। नेपाल सरकारको नियमित पशु सेवा प्रसार पहुँच करीब ३० प्रतिशत कृषकहरूकोमा मात्र पुगेको परिप्रेक्षमा यस कार्यले सेवा पाउनबाट बन्चित कृषकलाई समेत विज्ञसँग सिधै जोडिदिने छ। 

गत वर्ष जस्तै यस वर्ष पनि नेपाल भेटेरिनरी एशोसिएसन र यसका सात वटै प्रादेशिक कमिटिहरुबाट टेलिमेडिसिन परामर्श सेवा संचालन समेत गरेको छ। टेलिमेडिसिन परामर्श सेवाका निम्ति नेपाल भेटेरिनरी एशोसिएसनले देशभरबाट करीब  ३०० पशु चिकित्सकहरुको सम्पर्क नम्बर सार्वजनिक गरेको छ भने टेलिमेडिसिनको परामर्श सेवा आवश्यकताका अनुसार भिडियो प्रविधि मार्फत पनि हुनेछ।  

निषेधाज्ञाको अवधिमा कृषकहरु पशु चिकित्सककोमा पुग्न समस्या पर्ने र फिल्डमा नगई नहुने उपचार बाहेकका अन्य सामान्य परामर्श, घरेलु उपचार वा व्यवस्थापकीय पक्षमा प्राविधिक परामर्शले समेत कृषकको लागि फाइदा लिन सक्नेछन्।  यो सेवा हाललाई अत्यावश्यक अवस्थामा हप्ताका सातै दिन २४ सै घण्टा उपलब्ध गराइएको  छ।