स्वस्थ्य वयस्क पोथी पशुले निश्चित समयावधिको अन्तरमा गर्भाधारण नभएसम्म भाले खोज्ने गर्दछन् । यसरी पोथी पशुले एकपटक भाले खोजेको समय देखि अर्को पटक पुनः भाले खोज्ने समयसम्मको अवधिलाई ऋतुचक्र Estrus Cycle भनिन्छ । विभिन्न जनावरहरुमा ऋतुचक्रको अवधि फरक फरक हुन्छ । यो साधारणतया गाई भैंसीमा १८ देखि २४ दिन र औषतमा २१ दिनको हुन्छ । ऋतुचक्रलाई निम्नानुसार ४ भागमा बाडिएको छ ।

१.पूर्व ऋतुकाल/प्रोइस्ट्रस (Proestrus)

यस अवस्थामा पिट्युटरी ग्रन्थीबाट उत्पन्न हुने फोलिकुलर स्टिमुलेटिङ  हर्मोन (FHS) ले अण्डाशयलाई उत्तेजित गरी फोलिकलहरुको वृद्धि गराउँदछ । यी फोलिकलहरु परिपक्व भएपछि ग्राफियन फोलिकल भनिन्छ । करपस ल्युटियमको प्रत्यावर्तन Regretion साथ साथै यो समय पनि शुरु हुन्छ । यो समयगाई भैंसीमा लगभग ३ दिन सम्म रहन्छ । गर्भाशयको ईन्डोमेट्रियम (Endometrium)  बाट प्रोस्टाग्लाण्डिन हर्मोन (Prostaglandin) उत्पादन हुन्छ, जसले करपस ल्युटियमलाई प्रत्यावर्तन गर्दछ । करपस ल्युटियम प्रत्यावर्तन हुनसाथ प्रोजेस्टेरोन हर्मोन (Progesterone Hormone Level) कम हुन्छ र फोलिकल स्टिमुलेटिङ  हर्मोन FHS ले डिम्बाशयका फोलिकलहरुलाई सक्रिय (Stimulate)  गर्दछ । यस अवस्थामा पाठेघर छाम्दा केहि कडा अनुभव हुन्छ ।

ऋतुकाल/इस्ट्रस (Estrus)

गाई भैंसीले कामना (Sexual desire) देखाउने अवस्थालाई वा पोथीले भाले खोज्ने समयलाई ऋतुकाल (Estrus)  भनिन्छ । यो लक्षण देखाउने समयलाई गाई गर्भिएको (Heat Period) भनिन्छ । यसबेला रगतमा ईस्ट्रोजन हर्मोनको मात्रा धेरै हुन्छ । त्यस समयमा FHS को मात्रा घट्दै जाने र ल्युटिनाइजिङ हर्मोन (LH) को मात्रा बढ्दै जान्छ । गर्मी वातावरणमा ऋतुकाल १२ देखि १६ घण्टा सम्म रहन सक्छ भने चिसो वातावरणमा १२ देखि २४ घण्टा सम्म पनि रहन सक्ने हुन्छ । कतिपय पशुहरुमा डिम्बोत्र्सग हुनको लागि संभोग गर्नु जरुरी हुन्छ, जस्तै खरायो, विरालो । गाईमा ईस्ट्रस सकिएको १२—१८ घण्टामा मात्र ओभुलेसन हुन्छ । ईस्ट्रस अवधि विभिन्न जनावरमा फरक फरक  हुन्छ । यो समयमा ग्राफियन फोलिकलहरुको विकास राम्रो भएकोले बढी सक्रिय हुन्छ । यस अवधिमा डिम्बाशयबाट ईस्ट्रोजन हर्मोनको उत्पादन उच्च हुन्छ ।

गाई, भैसीले भाले ऋतुकालमा आएको लक्षणहरु र पहिचान गर्ने तरीकाहरु

पशु प्रजनन् कार्यलाई सफल बनउन गाई भैसीले बाली खोजेको लक्षणहरु जानकारी राख्नु एक महत्पूर्ण कार्य भित्र पर्दछ । भाले खोजेको गाई, भैसीको शारीरिक रुपमा आएको परिवर्तन र स्वभावमा देखिएको परिवर्तनहरुको अध्ययन गरेर भाले खोजेको  पत्ता लगाउन सकिन्छ । कुनै कुनै गाई, भैसीहरुले भाले खोजेको अवस्था बानी÷स्वभावमा कुनै परिवर्तन नआउने तर शारीरिक अवस्थामा आएको परिवर्तनको मुल्याँकन गरेर भाले खोजेको अनुमान गर्न सकिन्छ । 

क) भाले खोजेको गाई भैसीको स्वभावमा आउने परीवर्तनहरु

  • घाँस, पानी खोजेको अवस्था भन्दा अस्वभाविक रुपमा छिन छिनमा कराई रहने
  • गाई भैंसी उत्तेजित हुन्छ, कहिलेकाही वथानवाट अलग रहने वा एक्लोपना खोजेजस्तो गर्ने
  • पशुले यताउता पुच्छर हल्लाउँछ र अलि माथि उठाउने ।
  • शुरुको अवस्थामा अर्को पशुमा उक्लन खोज्नु र समय बित्दै जाँदा अर्को पशु भाले खोजेको पशुमा उक्लनु ।
  • चनाखो हुनु उतेजित हुनु ।
  • कुनै कुनै गाई, भैसीले दाना कम खाने र उत्पादन घट्ने ।
  • छिन छिनमा पिसाव फेर्नु ।

ख) भाले खोजेको गाई भैसीको शारीरिक अवस्थामा आउने परिवर्तनहरु

  • गाई, भैसीको सुत सुनिनु र सुतको भित्रिभाग गुलावी रंगको हुनु ।
  • सुतबाट शुरुको अवस्थामा पातलो सेप फ्याल्नु र ऋतुकाल बढ्दै जाँदा सेपको बनावट बाक्लो हुदै जानु ।
  • पशुमा केही मात्रामा त्यो दिनमा ज्वरो आएको हुन्छ ।
  • सर्भिक्स र पाठेघर छाम्दा पानी भरिएको रवरको पाईप जस्तो कडा हुने ।
  • ऋतुकालमा आएको पशुले आफ्नो पिठ्यू होचो वनाउँदछ । 

ग) सुमारेको साढे (Teaser Bull) प्रयोग गरेर भाले खोजेका पता लगाउने ।

                        यो तरीका पोथी पशुले भाले खोजेको पत्ता लगाउने सरल तथा उपयोगी तरीका हो जुन धेरै ठूलो ठूलो बथानहरुमा गर्ने गरिन्छ । यस तरीकामा पोथीहरुको बथानमा सुमारेको साढे (Vasectomized male) छाडिन्छ र भाले खोजेको पोथीहरु साढेको सामु आउने वा साढे नै पाथीको पछि लाग्ने हुँदा भाले खोजेको पत्ता लगाउन सकिन्छ ।

घ) उपकरणको (Protable Ultrasound) प्रयोग गरी भाले खोजेको पत्ता लगाउनेः यो पोथी पशुले भाले खोजेको पत्ता लगाउने सबैभन्दा उत्तम तर महगों तरीका हो । यसमा उपकरण प्रयोग गरी भाले खोजेको पत्ता लगाउने गरिन्छ ।

३. उत्तर ऋतुकाल/मेटइस्ट्रस (Metestrus)

            यस अवस्थामा फोलिकल फुटेर ठाउँमा बन्ने करपस ल्युटियमले प्रोजेस्ट्रोन हर्मोन उत्पादन गर्दछ जस्ले गर्दा इस्ट्रोजनको मात्रा घट्ने अण्डाशयमा पुनः फोलिकल वृद्धि हुन रोक्दछ । यसको समय गाई भैंसीमा सरदर ३ दिन सम्म रहन्छ । कुनै कुनै गाईमा ऋतुचक्र अन्त्य भएको ३५–४५ घण्टा पछि रक्तश्राव (Metestrus Bleeding) भएको पाईन्छ । यो रक्तश्रावले गर्भधारण सित कुनै सम्वन्ध राख्दैन । यस्तो रक्तश्राव हुने मध्ये ५० प्रतिशतले गर्भधारण गर्दछन् ।

४. उत्तर ऋतुकाल /डाइस्ट्रस (Diestrus)

यस अवस्थामा करपस ल्युटियम पूर्ण विकसित भई प्रोजेसट्रेरोन हर्मोन यथेष्ट मात्रामा निस्कन्छ । गर्भाधान भएमा पाठेघर बाक्लो हुन थाल्दछ र भ्रुणको लागि युटेराइन मिल्क (Uterine Milk) उत्पादन गर्दछ । पाठेघरमा वच्चाको बृद्धि विकास हुंदै गएपछि थप आवश्यक प्रोजेस्टेरोन हर्मोन सालवाट पनि उत्पादन हुन्छ । गाई भैंसीमा ऋतुचक्रको पांचौ दिन देखि डाइस्ट्रसको समय शुरु हुन्छ । गर्भावस्था भरी कर्पस ल्युुटियम रहिरहन्छ तर पशु ब्याउने नभएमा करपस ल्युुटियम १४ देखि १६ दिन सम्म रहन्छ र सुक्दै जान्छ । फलस्वरुप प्रोजेस्टेरोनको मात्रा घट्दै जान्छ । यसबेला अगाडिको पिट्युटरी ग्रन्थीले पुनः FHS पैदा गर्दछ र अर्को चक्र शुरु हुन्छ । यो समय गाई/भैंसीमा लगभग १२ देखि १५ दिन सम्म रहन्छ ।

पशुहरुमा ऋतुचक्रका विभिन्न अवस्थाहरुको समयावधि

पशुको जात                 प्रोइस्ट्रस              इस्ट्रस           मेट्इस्ट्रस             डाइइस्ट्रस

गाई—भैसी                 ३ दिन                 १८ घण्टा        ३—५ दिन             १३ दिन

भेडी                            २ दिन                 २९ घण्टा     ३—५ दिन     ७—१० दिन

बाख्री                          २ दिन                 ४० घण्टा     ३—५ दिन     ७—१० दिन

बंगुर                           ३ दिन                ४५ घण्टा     ३—५ दिन     ९—१३ दिन

घोडी                           ३ दिन                ५ दिन          ३—५ दिन     ६—१० दिन

कुकुर                          ९ दिन                ७—९ दिन     २ महिना     ३ महिना

ऋतु चक्र शुरुभए पछि प्रजनन अंगमा देखिने परिवर्तन

गर्भाशयको सिंङ्ग ऋतुकालमा आउनु १ देखी ३ दिन अघि हात मलासय भित्र हालेर छाम्दा गर्भाशयको सिंङ्ग खुम्चिने तर तुरुन्तै फुकेर जस्ताको त्यस्तै अवस्थामा आउछ । ऋतुकालको समयमा मलासय भित्रवाट हातले गर्भाशयको सिंङ्ग छाम्दा रवरको पाइप जस्तो महसुस हुन्छ र खुम्चिने हुन्छ । ऋतुकाल पछिको १ देखी १७ दिन सम्मः हातले गर्भाशयको सिङ्ग छाम्दा यो खुम्चिदैन र यसलाई छामेर पत्ता लगाउन पनि सजिलो हुंदैन ।

गर्भाशय गीव्ग्रा  ऋतुकालको अघिल्लो १ देखी ऋतुकाल समाप्त भएको २ दिन पछि सम्म अलि फुलेको हुन्छ । यसवाट पातलो सेप निस्कन्छ र यसको मुख खुला रहन्छ । ऋतुकाल समाप्त भएको ३ दिन पछि देखी ऋतुकालमा आउनु भन्दा २ दिन अघि सम्म गर्भाशयको ग्रीवा सानो आकारको र वाक्लो लेसिलो सेपले टालिएकोले यसको मुख वन्द हुन्छ ।

योनि  ऋतुकालमा सतह अलि रातो भिजेको योनिद्धार अलि सुन्निएकोले चाउरिएको भाग देखिदैन । दुई ऋतुकालको वीचको समयमाः योनिको रंग फिक्का गुलाफी र सुख्खा हुन्छ ।

डिम्वाशय  ऋतुकालमा एउटा फोलिकल पूर्ण विकसित हुन्छ । इष्ट्रोजन हर्माेनको श्राव भई जनावरमा ऋतुकालको लक्षण देखा पर्दछ । डिम्वाशयमा विकसित करपस ल्युटियम पाइदैन । डिम्वोत्सर्ग भएको लगत्तै पछि डिम्वलाई छाम्दा फोलिकल फुटेको अवस्था पाइन्छ । डिम्वोत्सर्ग भएको २ देखी ७ दिन पछि फोलिकल फुटेको ठाउंमा करपस ल्युटियम अर्थात पहेंलो भागको वृद्धि हुंदै गरेको र फोलिकलहरु सुक्दै गरेको फेला पर्दछ । डिम्वोत्सर्ग भएको ८ देखी १५ दिन सम्ममा डिम्वलाई छाम्दा पूर्ण विकसित करपस ल्युटियम महसुस गर्न सकिन्छ । गर्भाधारण नभएको अवस्थामा १६ वा १७ औ दिन देखि करपस ल्युटियम सुक्न थाल्दछ र फोलिकलको वृद्धि हुंदै परिपक्व हुन गई जनावर पुनः ऋतुकालमा आउँछ । डिम्वाशयको सतहमा गर्भ रहुन्जेल करपस ल्युटियम बसिरहन्छ फलस्वरुप गर्भ हुर्कन मद्धत पुग्छ 

©लेखन तथा संकलन: डा. खगेन्द्रराज सापकोटा ।