• जीवित भ्याक्सिन किनेर ल्याएपछि प्रयोग नगरुन्जेल २ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रमको कोल्ड चेन कायम गरि राख्नुपर्छ । यसको लागि ढुवानी गर्ने क्रमममा बरफको प्रयोग गर्ने र ल्याइसकेपछि फ्रिजमा राख्ने । भ्याक्सिनलाई बरफ जमाउने माइनस २० डिग्री सेन्टिग्रेड तापक्रम भएको डिप फ्रिजमा भण्डारण गर्नुहुँदैन । साथै भ्याक्सिन दिने बेलामा पनि पानीमा भ्याक्सिन दिने भए भ्याक्सिन पानीमा बरफ राख्ने ।
  • भ्याक्सिन ढुवानी गर्दा थर्मस प्रयोग गर्ने नकि पोलिथिन झोला ।
  • भ्याक्सिन ढुवानी गर्दा वा दिँदा सिधा सुर्यको किरण नपर्ने गरेर काम गर्ने । सुर्यको किरणबाट जोगाउँनको लागि भ्याक्सिन घोललाई खोरभित्र नै बनाउने नकि बाहिर ।
  • भ्याक्सिन दिने ४८ घण्टा अगाडी र २४ घण्टा पछाडी सम्म पानि सफा गर्ने क्लोरिन र अन्य सानिटाईजर साथै खोर निसंक्रमण गर्ने औसधि प्रयोग नगर्ने । यस्ता औषधिले उल्टै भ्याक्सिनमा भएका सक्रिय तत्वको नाश गर्दछन । फलस्वरूपः भ्याक्सिनको प्रभावकारितामा ह्रास आउँछ ।
  • भ्याक्सिन पानीमा मिसाउन पुर्व भ्याक्सिन घोल बनाउन प्रयोग गरिने बाटा वा बाल्टी र ड्रीङ्कर भाँडा सादा पानीले राम्रोसँग सफा गर्ने ।
  • भ्याक्सिन घोल बनाउने बाटा वा बाल्टी धातुको नभएर प्लास्टिकको प्रयोग गर्ने ।
  • भ्याक्सिन घोल्नु भन्दा आधा घण्टा अगाडी ५ ग्राम प्रति लिटर पानीको दरले स्किम मिल्क पाउडर भ्याक्सिन दिने पानीमा घोल्ने । आधा घण्टा पछि उक्त पानीमा भ्याक्सिन मिसाउने र राम्रोसँग घोल्ने । स्किम मिल्क पाउडरको ठाउँमा गाई वा भैसीको दुध प्रयोग गर्नु हुदैन । स्किम दुध पाउडरले पानीको पी.एच. लाई अनुकुल बनाउछ र हानिकारक गुणहरु लाई कम गर्दछ साथै भ्याक्सिनमा भएको भाईरसको कणहरुलाई लेपन गरेर भ्याक्सिनको प्रभावकारिता बढाउँछ । भ्याक्सिन स्ट्याविलिटीको (stability) को लागि दुध पाउडर भन्दा पनि (Vacci-Boost) वा भ्याक–शिल्ड (Vacc-sheld) बढी प्रभावकारी हुन्छन । यीनको प्रयोग गर्न सकेको खण्डमा दुध पाउडरको प्रयोग गरिराख्नु पर्दैन ।
  • चिसो अवस्थामा नै खाओस् भन्नको लागि भ्याक्सिन मिसाइसकेपछि भ्याक्सिन पानीमा वरफ मिसाउने किनभने तातोले भ्याक्सिन निष्क्रिय बनाउँछ ।  
  • भ्याक्सिन घोल्ने पानिको मात्रा यसरी मिलाउनुपर्छ कि भ्याक्सिन दिएको १ देखि २ घण्टा भित्र कुखुराले सबै पानि खाइसकोस् । केहि मिनेटमै सकिने गरेर असाध्यै थोरै पानिमा पनि दिनुहुदैन । पानिको मात्रा अत्याधिक कम भई केहि मिनेटमा नै खाइसके सबै कुखुराले भ्याक्सिन प्राप्त गर्दैनन । पानीको मात्रा अत्याधिक धेरै भएर २ घण्टा भन्दा बढी समयमा पनि खाईनसके खाईनसकेको भ्याक्सिन निष्क्रिय हुन्छ । सामान्यतया भ्याक्सिन दिनको लागि प्रयोग गरिने पानीको मात्रा निर्क्यौल गर्दा दिनभरी खाने पानिको १० प्रतिशत मात्रा लिन सकिन्छ । जस्तै: एउटा कुखुराको फ्लकले दिनभरिमा १०० लिटर पानि खान्छ भने भ्याक्सिन प्रयोग गर्नको १० लिटर पानि लिन सकिन्छ ।
  • भ्याक्सिन पानि निर्दिष्ट समयमा खाइसकोस् भन्नको लागि गर्मीयाममा १ घण्टा अगाडी र जाडोयाममा २ घण्टा अगाडी देखि नै कुखुरालाई पानि नदिई तिर्खाउनु उपयुक्त हुन्छ ।
  • भ्याक्सिन दिईरहेको बेलामा खोरभित्र चारै तिर हिडेर कुखुरालाई चलायमान गराउने, फिडरमा प्रशस्त दाना दिने र साँझको बेलामा भ्याक्सिन दिएको भए बत्ति चम्किलो हुने गरि बालिदिनुपर्छ । यसो गर्नाले खोरमा भएका सबै कुखुरा भ्याक्सिन खान प्रेरित हुन्छन ।
  • भ्याक्सिनको घोल बनाउँन प्रयोग गरिने पानि एक दिन अगाडि नै उमालेर रातभरी चिस्याई भोलिपल्ट बिहानपख प्रयोग गर्न उपयुक्त हुन्छ । यसरी पानि उमाल्नाले पानीमा हुने भ्याक्सिनको प्रभावकारिता घटाउने हानिकारक खनिज वा लवण तत्व (जस्तै क्लोरिन, फलाम आदी) नष्ट हुन्छ । अथवा भ्याक्सिन दिने पानीमा भ्याक्सि–बुस्ट (Vacci-Boost) वा भ्याक–शिल्ड (Vacc-sheld) जस्ता क्लोरिन डिएक्टिभेटर (Chlorine deactivatior) प्रयोग गर्न सकिन्छ ।
  • नगरपालिकाले वितरण गर्ने पानीमा ब्लिचिंग पाउडरको प्रयोग गरिने हुनाले क्लोरिनको मात्रा अधिक हुन्छ । यदी भ्याक्सिन दिन सोहि पानि प्रयोग गर्नुपर्ने बाध्यता छ भने उपरोक्त क्लोरिन डिएक्टिभेशन (Chlorine deactivation) गर्न आवश्यक छ जसको लागि माथि उल्लेख गरेजस्तै भ्याक्सि–बुस्ट वा भ्याक–शिल्ड जस्ता क्लोरिन डिएक्टिभेटर प्रयोग गर्न सकिन्छ । भ्याक्सिन दिने पानीलाई घाम पर्ने गरी खुला राखेर क्लोरिन डिएक्टिभेशन (निष्क्रिय बनाउने) गर्न सकिन्छ ।
  • भ्याक्सिन घोल्न प्रयोग गरिने डाइलुयन्टलाई चिसोमा भण्डारण गर्नुपर्ने हुँदैन । तथापि भ्याक्सिन घोल्नुभन्दा अगाडी चाहिँ डाइलुयन्टलाई पनि चिस्याउनु पर्दछ । अन्यथा डाइलुयन्टको तापले भ्याक्सिनको सक्रिय तत्व निष्क्रिय हुनसक्छ । साथै घोलिसकेपछी पनि भ्याक्सिन घोलिएको पानीमा सिधै घामको ताप वा प्रकाश पर्न दिनुहुँदैन । 
  • स्मरण रहोस् जहिले पनि भ्याक्सिन बिहान वा साँझको चिसो समयमा दिनुपर्छ । तापले भ्याक्सिन निष्क्रिय बनाउँछ । बिहानको समय सबैभन्दा उपयुक्त हुन्छ किनभने बिहानको समयमा कुखुरा सबैभन्दा बढी सक्रिय हुन्छन ।
  • भ्याक्सिन दिइसकेपछि भाईलहरु खोरभन्दा टाढा खाडलमा गाड्ने वा जलाउने गर्नुपर्छ ।