सबै कुखुराको खोर भित्रको हावामा हुने ग्याँस हो एमोनिया । कुखुराको सुलीमा युरिक एसिड हुन्छ । सोत्तरमा भएको ब्याक्टेरियाको प्रभावमा सुली कुहिने क्रममा युरिक एसिड एमोनिया ग्याँसमा परिवर्तन हुन्छ । एक पटक राखिएको सोत्तर लामो समय सम्म प्रयोग गरिने खोरमा एमोनियाको मात्रा बढी हुन्छ । कुखुराको खोरभित्र हुने एमोनियाको मात्रा मुख्यतया दुईवटा कुरामा भर पर्छ १) सोत्तरको अवस्था र २) खोर भित्र हावाको वहाव (अर्थात भेन्टीलेशन) ।

सुलीमा हुने जलाम्शको मात्रा (लिटर मोइस्चर), सुलिको पी. एच. र तापक्रमबाट ब्याक्टेरियाले युरिक एसिड कुहाउने प्रक्रिया प्रभावित हुन्छ । खोरमा पर्याप्त भेन्टीलेशन नभएको अवस्थामा, कुखुराले पातलो दिसा गरेको अवस्थामा, ड्रीङ्करमा गडबडी भएको अवस्थामा वा ड्रीङ्करको सतह धेरै तल भएको अवस्थामा सोत्तर भिज्ने समस्या पैदा हुन्छ ।

 एमोनिया ग्यासको असर

विशेष प्रकारको अमिलो गन्ध हुन्छ एमोनिया ग्याँसको । एमोनिया ग्याँसको मात्रा बढी भएको खण्डमा स्वास नली र आँखामा पोल्ने र चिलाउने समस्या पैदा हुन्छ । एमोनिया ग्याँसको मात्रा अधिक भएको अवस्थामा स्वास नलीको उपरी सतहमा क्षति हुन्छ र स्वास—प्रस्वास प्रणालीमा लाग्ने रोग (जस्तै सी. आर. डी., आई. बि., आई. एल. टि., फल कोलेरा, कोराइजा, एन. डि. आदि) लाग्ने र ई. कोलाईको संक्रमण हुने सम्भावना बढेर जान्छ । कुखुराले घ्यार घ्यार गर्नुको प्रमुख कारण मध्यको एक खोरमा उच्च एमोनियाको मात्रा पनि हो । अत्यधिक एमोनियाको मात्राले रोग प्रतिरोधात्मक क्षमता, बाँच्ने क्षमता, बढ्ने र वजन प्राप्त गर्ने क्षमता, खाएको दानालाई मासु वा अण्डा उत्पादनमा रुपान्तरण गर्ने क्षमता (एफ. सी. आर.) मा पनि नकारात्मक असर पु¥याउछ । खोरमा एमोनियाको मात्रा २० देखि ३० पी. पी. एम. भएको अवस्थामा मानिसले सुँघेर नै थाहा पाउछन । ३० पी. पी. एम. भन्दा माथि भएमा कुखुराको उत्पादन र स्वास्थ्यमा नकारात्मक देखिन्छ । एमोनियाको मात्रा ५० पी. पी. एम. हुँदा खोरमा काम गर्ने मानिसको समेत आँखा पोल्ने र चिलाउने क्रम सुरु हुन्छ । अत्यधिक एमोनिया ग्याँसको प्रभावमा कुखुरामा अन्धोपना भई उचित मात्रामा दाना पानि खान नसक्ने समस्या पनि उत्पन्न हुनसक्छ । फलस्वरूपः उत्पादनमा ह्राष आउँछ । खोरभित्र अत्यधिक मात्रामा एमोनिया ग्याँस भएको खण्डमा कुखुराले सजिलै अक्सिजन ग्याँस प्राप्त गर्न सक्दैन साथै एमोनिया टकसिसिटी भई मृगौला फेल हुने सम्भावना पनि रहन्छ । अन्ततः कुखुराको पेटमा पनि जम्ने समस्या (एसाईटिस) देखिन सक्छ । मृगौला फेल भएको अवस्थामा गाउट रोग पनि लाग्नसक्छ ।

 खोरमा एमोनियाको मात्रा मापन गर्ने विधि

हाईड्रेशन एमोनिया टेस्ट पेपरको प्रयोगले हावामा एमोनियाको मात्रा पत्ता लगाउन सकिन्छ । उक्त टेस्ट पेपरलाई डिस्टिल पानिमा भिजाई करिब १५ सेकेण्ड जति खोरभित्रको हावामा एक्स्पोज गरिन्छ र टेस्ट पेपरमा देखिने रङ्गको परिवर्तनको आधारमा एमोनियाको मात्रा निक्र्याैल गर्न सकिन्छ । यसबाहेक विभिन्न किसिमका एमोनिआ डिटेक्सन सेन्सर पनि अन्तराष्ट्रिय बजारमा आएका छन जुन उच्च मुल्यको कारणले नेपाली बजारमा लोकप्रिय हुनसकेको छैन । एमोनियाको मात्रा पत्ता लगाउने सबैभन्दा भरपर्दाे र सस्तो माध्याम मानिसको नाक नै हो । अनुभवी किसान स्वयंले नै गन्ध कै आधारमा एमोनियाको मात्रा अनुमान लगाई नियन्त्रणमा राख्न सक्छन ।

 एमोनियाको मात्रा न्यूनीकरण गर्ने विधि

खोरभित्र एमोनियाको मात्रा कम गर्न दुईवटा कुरामा विशेष ध्यान दिनुपर्छ — १) खोरभित्रको सोत्तरलाई भिज्न दिनुहुदैन र २) खोरमा पर्याप्त मात्रामा हावाको वहाव (भेन्टीलेशन) हुनुपर्छ । सोत्तर भिजेको खण्डमा विभिन्न ब्याक्टेरियाले घर गर्दछ । कुहिने प्रक्रिया तिव्र र अधिक हुन्छ । फलस्वरूपः खोर भित्र अत्यधिक मात्रामा एमोनिया ग्याँस उत्पादन हुन्छ । भेन्टीलेशन पर्याप्त नभएको भएको अवस्थामा खोरभित्र उत्पादित एमोनिया ग्याँस बाहिर जान पाउदैन । कुखुराको खोरभित्र एमोनिया ग्याँसको मात्रा न्यूनीकरण गर्न निम्न अनुसारको निर्माण र व्यवस्थापकीय विधि तथा सावधानी अपनाउनुपर्छ ।

  • खोर बनाउदा खेरि नै हावाको वहाव राम्रो हुने जग्गा छनोट गर्नुपर्छ । ढिस्को वा अन्य कुनै अग्लो संरचनाले छेकेको जग्गा उपयुक्त हुदैन । केहि उच्च परेको भूभाग राम्रो हुन्छ ।
  • खोरको लम्बाई पुर्व—पश्चिम र चौडाई उत्तर—दक्षिण हुनेगरी निर्माण गर्नुपर्छ । लम्बाई पुर्व—पश्चिम बनाई सुर्यको ताप सिधै खोरमा पर्नबाट जोगाउन सकिन्छ अर्थात सुर्यको तापलाई अधिकतम रुपमा छल्न सकिन्छ । पुर्व—पश्चिमको मुखमा दिवाल लगाउने (घाम छेक्न) र उत्तर दक्षिणको मुखमा तार जाली लगाउने (स्वच्छ हावा संचारको लागि) । उत्तर र दक्षिण साईडको छोटो दिवाल जम्मा एक देखि डेढ फुट उठाई त्यसमाथि तार जाली लगाउने ।
  • ओपेन हाउस प्रणालीमा उत्तर—दक्षिण चौडाई २८ देखि ३० फिट भन्दा लामो बनाउन हुदैन । अनावश्यक धेरै चौडाई भएको खोरमा हावाको संचार राम्रोसँग हुन पाउदैन । व्रोइलर कुखुराको हकमा चौडाई २० देखि २२ फिट मात्र राख्न सके अझै राम्रो हुन्छ ।
  • खोरको साईडको उचाई कम्तिमा ९ देखि १० फिट हुनुपर्छ । उचाई कम भएमा हावाको संचार कम हुन्छ । खोरको बीचको उचाई कम्तिमा १३ देखि १४ फिट हुनुपर्छ ।
  • एकै फार्मभित्र एक भन्दा बढी खोर भएको अवस्थामा, एक खोर देखि अर्काे खोरबीचको दुरी कम्तिमा पनि ४० फिट हुनुपर्छ । सो भन्दा नजिक भए हावाको संचार पर्याप्त नभई अनेक किसिमका स्वस्थजन्य समस्या आइपर्छ ।
  • खोरमा पर्दा लगाउदा माथि छानो पट्टि डेढ देखि दुई फिट खुला छोड्ने गरि लगाउनुपर्छ । हावाको निकास नै नहुने गरि पुरै ड्याम्म लगाउन हुदैन ।
  • होचो खोर बनाउने किसानको लागि ठुलो दोधार पैदा हुन्छ जाडो मौसममा । एमोनिया ग्याँस फाल्न माथि भेन्टीलेशन राखूँ भन्दा कुखुरालाई चिसो लाग्ने डर, पर्दा पुरै लगाएर चिसोबाट जोगाऊँ भन्दा एमोनिया ग्याँसको मात्रा बढ्ने डर । तसर्थ होचो खोर हुने किसानले निरन्तर एक वा अर्काे समस्या झेलिराख्नु पर्ने हुन्छ, कुखुरालाई एक वा अर्काे रोगले संक्रमण गरिराखेको हुन्छ । यो विडम्बनाबाट मुक्ति पाउन खोरको उचित उचाई कायम गर्नुपर्छ । अथवा एमोनिया ग्याँस फाल्न एक्जस्ट पंखा जडान गर्नसक्नुपर्छ वा खोरको तापक्रम कायम गर्न कुखुरा ठुलै हुुँदासम्म बाहिरी श्रोतबाट तापक्रम दिईराख्नुपर्छ जुन निकै खर्चिलो हुन्छ । इन्धनको अभाव भएको नेपाल जस्तो मुलुकमा खोर बनाउदा खेरि नै उचित उचाई भएको खोर बनाउनु नै सर्बोत्तम बिधि हो ।
  • खोरमा सोत्तर व्यवस्थापन राम्रोसँग गर्नुपर्छ । सोत्तरलाई भिज्न दिनुहुदैन । भिजेको सोत्तरबाट बढी एमोनिया उत्पादन हुन्छ । सोत्तर भिज्न नदिनको लागि पानीको भाँडाको उचित व्यवस्थापन गर्नुपर्छ । पानिको भाँडाको उचाई कुखुराको बढ्दो उमेर अनुरुप क्रमश बढाउदै लैजानुपर्दछ । सामान्यतया कुखुराले ठाडो घाँटी लगाएर तन्कदा पानि भेटिने गरि राख्नुपर्दछ । धेरै तल गरी राख्दा पानि पोखिने संभावना हुन्छ ।
  • नियमित रुपमा सोत्तर पल्टाउनुपर्छ । पल्टाउदा तल भिजेर बसेका सोत्तर समेत माथि आउँछन । खोरमा हावाको वहाव हुँदा माथिपट्टिका भिजेका ओषिला सोत्तरबाट वश्पिकरण भई पानि उडेर जान्छ र सोत्तर सुख्खा हुन्छ । सुख्खा सोत्तरबाट एमोनिया ग्याँसको उत्पादन न्यून रहन्छ । सोत्तर नपल्टाउदा तलबाट भिज्ने क्रम बढ्दै जान्छ र अन्ततस् केक जस्तो डल्लो पर्छ । यस्तो सोत्तर कुखुराको स्वास्थ्यको लागि समेत अत्यन्त हानिकारक हुन्छ ।
  • सोत्तर डल्ला पर्न दिनुहुदैन । केक जस्तो डल्ला परेको सोत्तर फुटाई खुकुलो बनाउनुपर्छ । नफुट्ने जस्ता डल्ला हटाउनुपर्छ ।
  • भिजेको सोत्तर तुरुन्त हटाई नयाँ सोत्तर थप्नुपर्छ । भर्खरै भिजेको तर डल्लो नपरेको सोत्तरलाई घाममा सुकाई सुख्खा भएपछी पूनः प्रयोग गर्न सकिन्छ ।
  • खोरको क्षमता भन्दा बढी कुखुरा पाल्नुहुदैन । सामान्यतया व्रोइलरको लागि १ वर्ग फिट प्रति कुखुरा र लेयर्सको लागि १.८ वर्ग फिट प्रति कुखुरा दिनुपर्छ भनिन्छ । स्मरण रहोस् खोर भित्र दाना पानीको भाँडा तथा अण्डा पर्ने गुणले समेत केहि क्षेत्रफल ओगटेको हुन्छ जुन कुखुरालाई उपलब्ध हुदैन । तसर्थ खोरको क्षेत्रफल निर्धारण गर्दा ठ्याक्क पुग्ने जति भन्दा केहि बढी हिसाब गर्नु उचित हुन्छ । व्रोइलरको लागि १.२५ वर्ग फिट प्रति कुखुरा र लेयर्सको लागि २ वर्ग फिट प्रति कुखुरा क्षेत्रफल दिनसके उपयुक्त हुन्छ । 
  • दाना फर्मुलेसन पनि उचित हुनुपर्छ । दाना फर्मुलेसनको गडबडीले पनि सोत्तर भिज्ने समस्या उत्पन्न हुन्छ । दानामा बढी मात्रामा फाइबर, सोडियम वा पोटासियम भएको खण्डमा साथै अन्य किसिमको फर्मूलेशन गडबडी भएको खण्डमा पनि कुखुराको सुली पातलो भई सोत्तर भिज्ने समस्या उत्पन्न हुन्छ । दक्ष भेटेरिनरी डाक्टर वा न्युट्रीशनिष्टको सल्लाहमा मात्र दाना फर्मूलेशन गर्नुपर्छ ।
  • सुली कुहिने क्रममा युरिक एसिड एमोनिया ग्याँसमा परिवर्तन हुन्छ । युरिक एसिड कुखुराको शरीरमा प्रोटिनको मेटाबोलिजम भई निस्किने अन्तिम तत्व हो । कुखुराले सोत्तरमा फाल्ने युरिक एसिडको मात्रा नै कम गराउन प्रोटिनको मात्रा कम गराउन सकिन्छ । यसो गर्दा कुखुराको शरीरलाई आवश्यक एमिनो एसिडको मात्रा भने पुगिराख्नु पर्छ । यदी प्रोटिनको मात्रा घटाउदा एमिनो एसिडको मात्रा पनि न्यून हुन गए सम्बन्धित एमिनो एसिडलाई छुट्टै मेडीसिन प्रिमिक्ससँग मिलाएर दानामा हाल्न सकिन्छ । स्मरण रहोस् विभिन्न एमिनो एसिडको समिश्रणबाट नै शरीरमा प्रोटिन बनेको हुन्छ । बजारमा लाईसिन, मेथियोनिन, थ्रीयोनिन, ट्रीप्टोफ्यान, आर्जिनिन र भ्यालिन जस्ता सिन्थेटिक एमिनो एसिड छुट्टा छुट्टै प्याकिङ्गमा किन्न पाइन्छ ।     
  • कुखुरालाई पाचन नलीमा हुने रोग संक्रमणबाट जोगाउनुपर्छ । पाचन नाली वा आन्द्रामा हुने संक्रमणको कारणले सुली पातलो भई सोत्तर भिज्ने समस्या उत्पन्न हुन्छ । रोग संक्रमणबाट जोगाउनको लागि फार्मको वायोसेक्युरिटी चुस्त राख्नुपर्छ, स्वस्छ दाना तथा पानि खुवाउनुपर्छ, समय समयमा भिटामिन ए, ई, सी र सेलेनियम खुवाएर कुखुराको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुपर्छ, तोकिएको तालिका बमोजिम भ्याक्सिन दिनुपर्छ, समय समयमा निसंक्रमण झोल छिट्नुपर्छ, पानि दुषित भएको खण्डमा पानि शुद्धिकरण झोल या ट्याब्लेट (सानिटाईजर) र एसिडीफायर प्रयोग गर्नुपर्छ ।
  • खोरमा एक्जस्ट पंखा जडान गरेर पनि एमोनियाको मात्रा न्युनुकरण गर्न सकिन्छ ।
  • कतिपय किसानले जालीदार खोर नबनाई घरको कोठामा समेत ब्रोइलर पाल्ने गरेका छन । कोठामा भेन्टीलेशन कम भई एमोनिया ग्याँसको मात्रा उच्च हुन्छ । फलस्वरूप कुखुरामा पेटमा पानि जम्ने समस्या, घ्यार—घ्यारे रोग लगायत अन्य संक्रामक रोग (गम्बारो, रानीखेत आदि) देखिईराख्छ । यसरी कुखुरापालन गर्दा व्यवसाय नाफामुलक हुनसक्दैन । घरको कोठामा कुखुरा पाल्ने चलन बन्द गर्नु नै उपयुक्त हुन्छ । 
  • सोत्तर भिज्न नदिनको लागि (सुख्खा राखिराख्न) र खोरभित्र उत्पादन हुनसक्ने एमोनिया ग्यास न्यूनीकरण गर्नको लागि एक किलोग्राम प्रति एक हजार वर्ग फुट क्षेत्रफलको दरले सोत्तरमा एमोब्लास्ट (Ammoblast) वा केनोलिट (Kenolit) जस्ता एमोनिया अक्सिडाईजर रसायन छर्कन सकिन्छ । 

 अन्त्यमा

हुन त एमोनियाको मात्रा पुरै शुन्य भएको संसारमा कुनै कुखुराको खोर छैन र जस्तोसुकै प्राविधिक विकास भएपनि यो असम्भवप्राय नै छ । ख्याल राख्नुपर्ने कुरा के छ भने एमोनिया ग्याँसको मात्रा खोरभित्र २० पी. पी. एम. भन्दा तल राख्नसके एमोनियाको कारणले कुखुरालाई खासै समस्या पैदा हुदैन । माथि उल्लेख गरे बमोजिमको विधि, प्रक्रिया र सावधानी अपनाएर एमोनिया ग्याँसको मात्र धेरै कम राख्न सकिन्छ । तसर्थ कुखुरापालक किसानवर्गले आफ्ना कुखुरालाई एमोनिया ग्याँसको दुष्प्रभावबाट जोगाउन माथि उल्लेख गरेका वुदाहरुलाई गम्भीरताका साथ मनन गर्दै आफ्नो फार्ममा लागु गर्न हार्दिक अनुरोध छ ।