पोल्ट्री रोग निदानको विज्ञान तथा कलाः दक्ष भेटेरिनरीयनको भूमिका

पोल्ट्री रोग निदानको विज्ञान तथा कलाः दक्ष भेटेरिनरीयनको भूमिका

डा. विवेक बन्धु रेग्मी, पोल्ट्री कंशलटेंशी एण्ड डायग्नोष्टिक ल्याब, दाङ

डा. नवराज श्रेष्ठ, केन्द्रिय भेटेरिनरी प्रयोगशाला, काठमान्डौ


 

रोगलाई अलि व्यापक सन्दर्भमा व्याख्या गर्दा स्वास्थ्यको दृष्टिकोणबाट सामान्य अवस्थामा नरहेको भन्ने बुझिन्छ। रोगलाई मूलत दुई किसिममा वर्गीकरण गर्न सकिन्छ।

  1. संक्रामक रोगः जस्तै जीवाणु, विषाणु, माइकोप्लाज्मा, ढुसी र परजीवीको संक्रमणले हुने
  2. गैर संक्रामक रोगः जस्तै व्यवस्थापनजन्य, विषाक्तताजन्य, पोषणजन्य (पोषणको कमि वा असन्तुलन)

व्यवस्थापनजन्य रोगहरु (समस्या) कुखुरापालनको दौरानमा व्यवस्थापकीय पक्षमा हुने कमि कमजोरीको कारणले हुनसक्दछ।  जस्तैः चुच्चो कटाईमा गडबडी हुनु, उपलब्ध क्षेत्रफ़लमा संख्यात्मक घनत्व बढी हुनु, पर्याप्त भेन्टीलेशनको कमि हुनु, अधिक चिसो लाग्नु, अधिक मात्रामा तापक्रम दिनु, सोत्तर खराब गुणस्तरको हुनु, अधिक एमोनियाको मात्रा हुनु, दाना र पानी खपतको लागि पर्याप्त ठाउँ र अवसर नहुनु आदि।

दुई वा दुई भन्दा बढी रोगहरुको संयुक्त संक्रमण पनि कुखुरामा भइराख्ने कुरा हो। अझ कतिपय रोगहरुको सवालमा त यो अपवाद भन्दा पनि अनिवार्य जस्तै बनेको छ। उदाहरणको लागि आई.बि., सी.आर.डी. आदि।  दुई वा दुई भन्दा बढी रोगहरुको संयुक्त असरले गर्दा कुखुराको स्वास्थ्य जटिल बन्नसक्ने कुरा व्यवसायिक कुखुरापालनमा आम कुरा हो।

उत्पादनका मानक

स्वस्थ कुखुराको बथान जसले सन्तुलित आहारा प्राप्त गर्नुको साथै व्यवस्थापन पनि उचित प्राप्त गरेको छ, त्यसले जातअनुसार तोकिएको उत्पादन लक्ष हाँसिल गर्नुपर्ने हुन्छ। व्यवसायिक कुखुरापालनमा उत्पादनका मानकहरु के के हुनसक्छन।  व्रोइलरको उत्पादन मानकहरु निम्नानुसार छन्।

  1. बाँच्ने क्षमता
  2. तन्दुरुस्ती र फुर्ति
  3. दैनिक वजन प्राप्ति
  4. एफ. सी. आर.
  5. मासु प्रोसेसिङ्ग गर्दा हुने बहिस्करण

ब्रिडर (प्यारेन्ट स्टक) को लागि उत्पादन मानकहरु निम्नानुसार हुन्छन्

१. बाँच्ने क्षमता        २. तन्दुरुस्ती र फुर्ति        ३.  अण्डा उत्पादनको गति

४. अण्डाको गुणस्तर,       ५.फर्टीलिटी,         ६. ह्याचविलिटी

७. एकदिने चल्लाको गुणस्तर

रोग निदान

स्वाभाविक रुपमा रोगव्यादिले गर्दा कुखुराको उत्पादनमा ह्रास आउँछ र यसले कुनैपनि वथानमा हुनसक्ने स्वास्थ्यजन्य समस्याले अनुसन्धानको लागि महत्वपूर्ण संकेत दिन्छ। अर्को भाषामा भन्नुपर्दा उत्पादनमा के कारणले ह्रास आयो भनेर गरिने खोज नै रोग निदानको एक अभिन्न प्रक्रियाको रुपमा जोडिन आइपुग्छ। निसन्देह, रोगलाई नियन्त्रण गर्न, उपरोक्त रोगको कारणले हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न र भविष्यमा यसप्रकारको समस्या आइनपरोस भन्नको लागि निदान महत्वपूर्ण हुन्छ। स्वास्थ्य समस्याको जरो कारक पत्ता नलगाइकन सो समस्यालाई नियन्त्रण गर्न, सोसँग सम्बन्धित क्षतिलाई न्यूनीकरण गर्न र भविष्यमा आउँन नदिन सम्भव नै छैन। व्यवसायिक कुखुरापालनको रोगको निदान गर्ने कुरा त्यति सहज छैन। निश्चित रुपमा केहि रोगहरु लक्षण, पोस्टमार्टम चिन्ह वा केहि ल्याब नतिजाबाट सजिलै पत्ता लाग्न सक्छन। तर केहि रोगहरुलाई भने गहिराईमा पुगेर धैर्यता र दृढताको साथमा अनुसन्धान र खोज गर्नुपर्ने हुनसक्छ। कहिलेकाहिँ पहिचान नै नदिएर (वा गर्न नसकेर) समस्याहरु आउँछन् र जान्छन पनि। मनन् यो पनि गर्नुपर्छ कि केहि समस्या र रोगहरुको चुरो कारण अझै निश्चित हुनसकेको छैन।         

रोग निदान प्रक्रिया भनेको वैज्ञानिक ज्ञान र कलात्मक विश्लेषण र शस्लेषणको संयुक्त सिप हो खालि अन्धाधुन्ध गरिने शंका मात्र होइन। हाल जानकारीमा भएका अधिकतम पोल्ट्री रोगहरुको सन्दर्भमा उपलब्ध निदान साधनको भरमा पोल्ट्री भेटेरिनरियनले अनुमान र निर्क्यौल गर्न केहि समय जरुर लाग्दछ। फिल्ड लेभलमा वा भनौँ फार्म स्तरमा पहिलो दिनमा नै अनुमान लगाउने कुरा हप्ता दिनपछि अन्तिम टुंगो लगाउनु वा निर्क्यौल गर्नु वा निष्कर्षमा पुग्नुभन्दा ज्यादा महत्वपूर्ण हुन्छ। सिमित ठाउँमा सयौ, हजारौँको वा लाखौँको संख्यामा कुखुराहरु, बहु खोरहरुमा एक आपासमा नजिकको सम्पर्कमा रहेको अवस्थामा रोगहरु (विशेषतः संक्रामक रोगहरु) फैलावटको दृष्टिकोणबाट विष्फोटक हुनसक्छन। प्रारम्भिक चरणमा नै गर्न सकिने अनुमानित निदान प्रक्रियाले नियन्त्रणका उपायहरु अवलम्बन गरी  सम्भावित क्षतिलाई न्यूनीकरण गर्न ठुलो टेवा दिन सक्छ। तापनि, सम्भव भएसम्म निष्कर्षमूलक (निर्यौलात्मक) निदानको खोजि गर्नैपर्छ।   

वथान (फ्लक) को समस्या

पोल्ट्री फ्लकको समस्यालाई सम्बोधन गर्ने प्रक्रियामा रोगहरुलाई वथानको रोग भनेर बुझ्नुपर्दछ नकि कुनै एक चरा विशेषको। केहि कुखुराहरुमा देखिने लक्षणहरुले प्रायः गरी सम्पूर्ण वथानको समस्यालाई नै प्रतिनिधित्व गरेको हुन्छ। एउटा सक्षम निदानकर्ता हुनको लागि वैज्ञानिक तथ्यहरुको ज्ञान र सिप र कला दुवै हुनुपर्छ। BVSc वा BVSc & AH वा DVM जस्ता भेटेरिनरी कोर्ष अध्ययन गरी पास गरेका दक्ष्य भेटेरिनरी डाक्टरसँग मात्र सो किसिमको ज्ञान र क्षमता हुनसक्छ।

पोल्ट्री वथानमा रोग निदानको लागि अपनाउनुपर्ने प्रक्रिया निम्न अनुसार छन्।


१. पूर्ण इतिहाँस प्राप्त गर्ने

कुनै कुनै स्वास्थ्य समस्याको केसमा सम्बन्धित वथानको इतिहाँसले मात्र कुनै किसिमको संकेत वा सुराग दिनसक्छ (जस्तैः औषधिको अधिक प्रयोगले हुने विषाक्तता वा मिसाउनै नहुने औषधिको मिश्रण गरेर गरिएको प्रयोग आदि)। निदान गर्ने क्रममा फ्लकको क्लिनिकल इतिहाँस कसरी लिईन्छ भन्ने कुराले पनि सहि निदान वा गलत निदान वा निदान हुन नसक्नुमा फरक पार्नसक्छ। रोग अन्वेषणकर्ताले वथानको इतिहाससँग सम्बन्धित निदानको लागि सान्दर्भिक हुने कुनैपनि प्रश्न सोध्न हिच्किचाउनु हुँदैन। एउटा सामान्य आधारभूत प्रश्नले समेत समस्याको जरो पत्ता लगाउन महत्वपूर्ण दिशानिर्देश गर्नसक्छ। कुनैपनि दक्ष पोल्ट्री भेटेरिनरीयनसँग उचित प्रश्न सोध्ने सिप र तिनीहरूको जवाफलाई विश्लेषण गर्नसक्ने क्षमता न्युनतम रुपमा हुनैपर्दछ। कुखुराको रोग निदानको सन्दर्भमा क्लिनकल इतिहाँस भन्नाले निम्न कुराहरु पर्दछन्।

  • कुखुराको उमेर
  •  क्लिनिकल लक्षण
  • समस्याको सुरुवात भएको समय र अवधि
  • विरामीको प्रतिशत
  • मृत्युदरको रेकर्ड
  • कुखुराहरु दिनको कुन समय र खोरको कहाँ नेर मर्छन भन्ने कुरा
  • उमेर अनुसार कुखुराको तौल
  • विविन्न अवस्थामा अण्डा उत्पादनको अवस्था
  • दानापानी खपत रेकर्ड
  • समस्या एउटा मात्र खोरमा हो कि बढीमारु एउटा पेनमा (खोरभित्रको खण्ड) मात्र हो कि अरुमा पनि?

२. फार्मको भ्रमण

कतिपय अवस्थामा, समस्याग्रस्त वथान भएको फार्ममै पुगेर मात्र क्लिनिकल लक्षण, समस्याग्रस्त कुखुराको संख्या, उपलब्ध क्षेत्रफलमा कुखुराको फैलावट, संख्यात्मक घनत्व, दानापानीको प्रणाली, अन्य इक्युपमेन्टको अवस्था, दानापानीको उपलब्धता, खोरको वातावरण (भेन्टीलेशन, तापक्रम, एमोनिया, धुलो, प्रकाश) र सोत्तरको अवस्थाको बारेमा यकिन गर्न सकिन्छ।

३. समस्यालाई, त्यसको अवधि र मात्रामा व्याख्या गर्ने

अब समस्याको प्रकृति के हो? कस्तो हो? (त्यसलाई यकिन गर्ने र निर्धारण गर्ने)। अर्को शब्दमा भन्नुपर्दा समस्या के हो त? के क्लिनिकल लक्षणहरु, मृत्युदर, खराब वजन वृद्दि, अण्डा उत्पादनमा ह्रास अथवा अण्डाको गुणस्तर (आकार, बोक्राको गुणस्तर) मध्ये कुनै एक वा एक भन्दा बढी हो? के के छन् त वथानको क्लिनिकल लक्षण (जस्तैस् पातलो सुली, स्वास प्रस्वासमा समस्या, नशा सम्बन्धि समस्या, आँखामा परिवर्तन, खुट्टामा कमजोरी वा लंगडोपना, अण्डा उत्पादनमा समस्या आदि)?

४. समस्याग्रस्त वथानबाट थप जानकारीहरूको उत्खनन गर्ने

समस्यालाई यकिन गरिसकेपछि, वथानको थप अन्य जानकारीहरु (यसमा मात्र सिमित नभएर) पनि लिने। जस्तैः

  •  के पहिला पनि यहि वथानमा यस्तो समस्या देखिएको थियो?
  •  के अघिल्लो वथानमा पनि यस्तो खालको समस्या देखिएको थियो?
  •  भ्याकिनेशन रेकर्ड के कस्तो छ?
  •  दानाको प्रकार र पानीको श्रोत कस्तो हो?
  • गत दुई हप्तामा दाना वा पानि मार्फत कुनै औषधि चलाइयो? कुन डोज र मात्रामा चलाइयो?
  • पानीको निसंक्रमण गर्नलाई कुनै निसंक्रमण औषधि प्रयोग गरिएको थियो कि?
  • फार्ममा कुनै किसिमको विषादी (किरा मार्ने, मुसा मार्ने, झार मार्ने आदि) प्रयोग गरिएको थियो कि?
  • व्यवस्थापन प्रणाली र दैनिक रिपोर्ट के कस्तो छ?

५. कुखुराको पोस्टमार्टम निरिक्षण  

रोग निदानको लागि भेटेरेनेरीयनलाई निकै महत्वपूर्ण साधन हो पोस्टमार्टम। धेरै केसहरूमा पोस्टमार्टम र इतिहाँसको विश्लेषण गरी अनुमानित निदान (Presumptive/Suspected/Tentative Diagnosis) गर्न सकिन्छ। कुनै रोग र समस्याहरु (जस्तैः भेन्ट पिकिङ्ग, भडार फर्किने, रगत बगिरहेको कक्सीडियोसीस, गोलो तथा फित्ते जुकाको संक्रमण आदि) मा त पोस्टमार्टम नै अन्तिम निर्धारणात्मक निदान (Definitive Diagnosis) हुनसक्छ । पोस्टमार्टमको लागि प्रतिनिधिमूलक केहि कुखुराहरुको छनौट गर्नुपर्ने हुन्छ। यति कुरा अनिवार्य हुन्छ कि पोस्टमार्टमको क्रममा छनौट गरिएका कुखुराले वथानको रोग र समस्यालाई झल्काउन पर्ने नै हुन्छ। यो कुरा मनमा सधै राख्नुपर्छ कि वथानको सबै कुखुरा समस्याग्रस्त र रोगी नै हुन्छन भन्ने होइन। फेरि पनि, प्रतिनिधि कुखुरालाई पोस्टमार्टम गर्दा देखिने रोग व्यादी र समस्या, ति कुखुराका मात्र होइनन सम्पूर्ण वथान र फ्लकको नै हो। सामान्यतया ठूला कमर्सियल फार्ममा समेत न्युनतम पनि ६ वटा कुखुरा प्रति २०,००० को फ्लकको हिसाबले पोस्टमार्टम  गर्नैपर्छ भन्ने चलन छ तथापि जति धेरै पोस्टमार्टम निरीक्षण गर्नसक्यो त्यति नै सम्बन्धित फ्लकको रोगको सहि निदानको नजिक पुग्ने सम्भावना रहन्छ। क्लिनिकल लक्षण देखिएको र कुखुराहरु मारिरहेको अवस्थामा निम्न प्रकारको कुखुराको पोस्टमार्टम गर्नेः

  • भर्खर मरेको कुखुरा
  • थोरै मात्रामा लक्षण देखाइरहेको कुखुरा
  • लक्षण प्रष्ट र व्यापक रुपमा देखाइरहेको कुखुरा

पोस्टमार्टम शुरू गरिहाल्नु अगाडी बाहिरी शारीरिक निरीक्षण गर्ने। उदाहरणको लागि, कतै बाह्य परजीवी किरा जुम्रा परेको छ कि शरीरमा? आँखामा घाउ छ कि? आँखा र नाक बाट केहि निस्केको वा बगेको छ कि? दिसा गर्ने भाग सुलीले टाँसिएको छ कि? इत्यादि।

पोस्टमार्टम अन्तर्गत निम्न लिखित महत्वपूर्ण कुराहरु पर्दछनः निश्चित प्रक्रियागत चिरफार, विविध आन्तरिक अंग प्रत्यंगको निरीक्षण, ति अंग प्रत्यंगमा भएका अस्वाभाविक चिन्हहरुको पहिचान, अस्वाभाविक चिन्हहरुको विश्लेषण र वथानको समस्यासंग तिनको के कति तादाम्यता र सम्बन्ध छ भन्नेवारे संश्लेषण।

पोस्टमार्टम गर्ने कुनै निश्चित सहि वा गलत तरिका भन्ने हुँदैन, होसियारीपूर्वक कुखुराको सबै अंग प्रत्यंग हेरिनुपर्छ भन्नेमा चाहिँ हेक्का हुनुपर्दछ। सधैभरि विना गडबड एउटा निश्चित लयमा पोस्टमार्टम होस् भन्नको लागि कोहिपनि भेटेरिनरीयनले यी यी अंग प्रत्यंगहरु चरणबद्ध रुपमा हेर्ने भनेर आफ्नै मौलिक पद्दति बनाउन सक्दछन। पोस्टमार्टम गर्दा अंग र तन्तुहरुलाई नरमसँग चलाउनु पर्दछ, अनावश्यक रुपमा बल लगाएर तान्ने र काट्ने गर्दा कहिलेकाहिँ महत्वपूर्ण चिन्हहरु मेटिन सक्छन।

६. प्रयोगशाला परीक्षण

प्रयोगशाला परिक्षणको लागि विभिन्न खाले नमूना लिन सकिन्छ। तर कस्तो नमूना लिने भन्ने कुरा पोस्टमार्टम गर्दा देखिने अस्वाभाविक चिन्हहरु र सम्बन्धित केस हेर्ने भेटेरिनरीयनले गर्ने अनुमानित निदानमा भर पर्दछ। यो कुरा असाध्यै संवेदनशील हुन्छ कि, नमूनाहरु लिने, तिनलाई चलाउने, भण्डारण गर्ने र ढुवानी गर्ने कार्य निश्चित प्रक्रियागत अनुशासन अनुसरण गरेर मात्र गरियोस। अधिकतम पोल्ट्री रोगहरुको निदानको लागि संकलन गर्ने नमूनाहरु निम्न लिखित मध्ये कुनै एक वा एक भन्दा बढी हुनसक्छन।

  • शुष्म जीवाणुलाई छुट्याउन वा पी.सी.आर. गर्नको लागि तन्तुहरु वा स्वाबहरु  
  • रगत (सेरम) नमूना सेरोलोजीको लागि
  • हिस्टोप्याथोलोजीको लागि तन्तुहरु
  • टक्सिकोलोजीको लागि रगतरसेरम, तन्तु वा पाचननलीमा हुने तत्वहरु
  • पोषण अनुसन्धान र टक्सिन अनुसन्धानको लागि दाना ररवा पानीको नमूना

ल्याबमा स्याम्पल नभई भर्खर मरेको वा झोक्राएको कुखुरा नै लिएर निदानको लागि आएको खण्डमा निम्न लिखित प्रक्रिया बमोजिम कार्य गर्नुपर्दछ।

  • कुखुरा ल्याउने व्यक्तिसँग फ्लकको इतिहाँस बुझ्ने ।
  • कुखुरा ल्याउने व्यक्तिसँग नै वथानमा बिरामी कुखुराले देखाएको लक्षणको बारेमा बुझ्ने । (नोटस् कुखुरा लिएर ल्याबमा आउने व्यक्तिले वथानको इतिहाँस र क्लिनिकल लक्षण बताउन नसकेको खण्डमा उसलाई फार्म म्यानेजर वा सुपरभाइजरलाई फोन कल गर्न लगाएर भएपनि हरसम्भव सो कुरा बुझ्ने प्रयत्न गर्ने)
  • इतिहाँस र लक्षणको आधारमा निरिक्षणकर्ता भेटेरीनरी डाक्टरलाई शंका लागे बमोजिम रेपिड एन्टीजेन एन्टीवोडी टेस्टको लागि निश्चित मापदण्ड बमोजिम स्याम्पल (नमूना) लिने । रेपिड परिक्षणको लागि प्रक्रिया अगाडी बढाउने।
  • त्यसपछि कुखुराको बाहिरी शरीरमा राम्रोसंग निरिक्षण गर्ने र पोस्टमार्टम प्रक्रिया अगाडी बढाउने। पोस्टमार्टम गर्दा सबै अंग प्रत्यंगको होसियारी पूर्वक निरिक्षण गर्ने। के कस्तो चिन्हहरु वा परिवर्तनहरु देखिएको छ? मनन गर्दै जाने।
  • जीवाणुजन्य रोगको सन्दर्भमा कन्फर्म गर्न र उपयुक्त एन्टीवायोटिक प्रयोग गर्न बारे निर्क्यौल गर्न आवश्यक परेमा निश्चित विधि अनुसार तन्तुको नमूना लिने र कल्चर र सेन्सिटिभीटीको लागि माइक्रोवायोलोजी (व्याक्टेरीयोलोजी) शाखामा पठाउने र आवश्यक निरिक्षन प्रक्रिया अगाडी बढाउने।
  • विषाणुजन्य रोगको हकमा कन्फर्म गर्न भाइरोलोजी शाखामा नमूना पठाई आवश्यकता अनुसार एच.ए., एच.आइ., एलाइजा वा मोलेकुअर चेकजाँच (पी.सी.आर.) को प्रक्रिया अगाडी बढाउने।  
  • निरिक्षणकर्ता भेटेरिनरीयन लाई माइक्रोसकोपिक लिजन (चिन्ह) बाट रोग निर्धारण (कन्फर्म) गर्न सकिने भन्ने लागेको छ भने विधिपूर्वक तन्तुको नमूना लिएर हिस्टोप्याथोलोजी शाखामा पठाउने र आवश्यक  अनुसन्धान कार्य अगाडी बढाउने।
  • माइकोटकसिसिटीको शंका भएमा वा पोषण मात्रा गडबड भएको भन्ने लागेमा विधिपूर्वक दानाको नमुना मगाई न्युट्रीशन (प्रोक्जिमेट एनालाइसिस) शाखामा पठाउने। ढुसी लागेको भन्ने शंका भएमा माइक्रोवायोलोजी शाखामा पठाउने
  • दुषित पानीको कारणले रोगव्यादी लागेको हो भन्ने लागेको खण्डमा विधिपूर्वक पानीको नमूना मगाएर माइक्रोवायोलोजी शाखामा पठाउने।
  • भ्याक्सिनेशन बारे निर्णय लिन, एन्टीवोडी टाईटर बारे थाह पाउनको लागि  विधिपूर्वक जिउंदै कुखुराबाट रगतको सेरम नमूना लिएर सेरोलोजी शाखामा पठाउने।
  • साल्मोनेला वा माइकोप्लाज्माको संक्रमण भएको हो भन्ने शंका भएमा जीवीत कुखुराबाट रगतको स्यापल लिएर प्लेट अग्लुटिनेशण टेस्ट गर्न पठाउने।   

यी मध्ये कुनै कुनै प्रयोगशाला परीक्षण निकै महँगो हुन्छ। तसर्थ कुनैपनि प्रयोगशाला परीक्षण वैज्ञानिक रुपमा न्यायोचित हुनुपर्दछ साथसाथै आर्थिक दृष्टिकोणबाट पनि। एउटा दक्ष्य भेटेरिनरी डाक्टरले मात्र सो को लागि किसानलाई सहि दिशानिर्देश गर्दछ। अन्यथा जोसुकैको सल्लाह वा निर्देशनमा  प्रयोगशाला परीक्षण गरियो भने किसानले अनावश्यक आर्थिक क्षति व्यहोर्नुपर्ने पनि हुनसक्दछ साथै त्यसले रोगव्यादी र स्वास्थ्य समस्याको सहि निदानसम्म पुर्याउन नसक्ने पनि हुनसक्छ।

७. निदान संश्लेषण

कतिपय रोगहरुको निदान जिग्स्व पजल (Jigsaw Puzzle) का टुक्राहरूलाई  एकठाउँमा जोड्नु जस्तै हुन्छ। क्लिनिकल इतिहाँस, क्लिनिकल लक्षण, पोस्टमार्टम चिन्ह र प्रयोगशाला परीक्षणका नतिजालाई एकठाउँमा राखेर तिनको अन्तरसम्बन्धलाई खोज्नुपर्ने हुन्छ। माथि उल्लेख गरेजस्तै क्लिनिकल इतिहाँस, क्लिनिकल लक्षण र पोस्टमार्टम परिक्षणले अनुमानित निदान गर्न सहयोग गर्दछ। त्यसपछि प्रयोगशाला परीक्षणको नतिजासँग तिनीहरूको तादाम्यता बारे विश्लेषण गर्ने कुरा सम्बन्धित केस हेर्ने पोल्ट्री भेटेरिनरीयन को दायित्व, सिप, कला र ज्ञानको कुरा हो। प्रयोगशाला परीक्षणको नतिजाले क्लिनिकल इतिहाँस, क्लिनिकल लक्षण र पोस्टमार्टम चिन्हलाई समर्थन गर्न पनि सक्छ वा नगर्न पनि सक्छ। समर्थन नगरेको खण्डमा प्रयोगशाला परीक्षणको नतिजालाई कसरी क्लिनिकल इतिहाँस, क्लिनिकल लक्षण र पोस्टमार्टम चिन्हसँग जोडेर हेर्नेरु जे सुकै होस् अब त सबै सूचनाहरुलाई संकलन गरेर निदानलाई संश्लेषण गर्नुपर्ने हुन्छ। प्रयोगशाला परीक्षणको नतिजा प्राप्त भैसकेपछि गरिने निदान एकदम सहि हुनसक्छ वा सम्भावित मध्ये सबैभन्दा सहि हुनसक्छ। प्रयोगशाला परीक्षणको नतिजा निष्कर्षमूलक हुन नसकेको खण्डमा निदानकर्ताको मनमा केहि रोगहरुको वुदागत रुपमा लिस्ट हुनुपर्छ जसप्रति अन्यभन्दा बढी अनुमानरशंका गर्न सकिन्छ। कहिलेकाहीँ निदान नहुन पनि सक्दछ। हर सम्भाव प्रयास गर्दापनि  निदान हुन नसक्नु लज्जाको विषय होइन, बरु यो एउटा चुनौती हो (थप अध्ययन, अनुसन्धान, खोज र अन्वेषणको निम्ति)। यस्तो अवस्थामा कहिलेकाहिँ पहिला निदान नगरेको वा फेला नपरेको रोग पनि फेला पर्न सक्दछ। यो कुरा सदैव हेक्का राखौं कि हामीले निदान गरिरहेको अहिलेको सबै पोल्ट्री रोगहरु कुनै न कुनै बेला, कुनै न कुनै स्थानमा, कुनै न कुनै निदानकर्ता विशेषज्ञलाई नयाँ वा नौलो भएर नै आएको अवस्था हो। जे होस् कुनैपनि पोल्ट्री उत्पादक किसान र उद्यमी यो कुरामा सदैव चिन्तनशील हुन्छ कि कसरी फार्मका कुखुराका स्वास्थ्यजन्य समस्या छिटो भन्दा छिटो समाधान गर्न सकिन्छ र तिनलाई भविष्यमा आउन नदिने उपायहरु अवलम्बन गर्न सकिन्छ।