कुखुराका पालन वाट फाइदा लिन यिनलाई लाग्न सक्ने रोगहरुलाई वेलैमा नियन्त्रणमा राख्नु आवश्यक हुन्छ । यदि रोगहरु वारे बेलामै ध्यान पुगेन भने छोटो समय मा नै बथान मासीन सक्छ । रोगको सहि पहिचान रोगको रोकथामका लागी महत्वपुर्ण कदम मानिन्छ । लोकल कुखुरापालनमा निम्नानुसारका विभिन्न रोगहरु देखिन सक्छन् ।

  • विषाणु जन्य रोगहरु : मरेक्स, इन्फेक्सियस ब्रोन्काइटिस (आइवी), रानीखेत, फल पक्स (विफर), एभियन इन्सेफालोमाइलाइटिस
  • जीवाणुद्वारा लाग्ने रोगहरु : साल्मोनेलोसिस, कोलिबेसिलोसिस (ई कोलाई), माइकोप्लाज्मा (सी आर डि)
  • ढुसिजन्य रोगहरु : एस्पर्जिलस,फेभस
  • बाह्य र आन्तरिक परजीवीहरु

इन्फेक्सियस ब्रोन्काइटिस (आइ.बी)


इन्फेक्सियस ब्रोन्काइटिस (आइ.बी) अचानक, तीव्र देखिने अत्यधिक संक्रामक रोग हो । कोरोना भाइरस नामक विषाणु द्वारा सबै उमेरका कुखुराहरुलाई यो रोग लाग्न सक्दछ तर चल्ला अवस्थामा बढी संक्रमण देखिन्छ । संक्रमित हावा, मानीस तथा संक्रमित उपकरणहरु यो रोगलाई सार्ने माध्यम हुन् । श्वासप्रश्वासको समयमा विषाणु शरीर भित्र प्रवेश गर्दछ र विभिन्न लक्षणहरु देखाउंछ ।

कोरोना भाईरसका कारण कुखुराको शरीरमा ३ वटा भिन्न असरहरु देखिन्छन् :

१) श्वासप्रश्वास सम्बन्धी समस्या : यो सबै उमेरका चराहरुमा व्याप्त समस्या हो । असामान्य किसिमको श्वास आवाज, श्वस्न संकट, स्वांस्वां गर्नु, हाच्छिउं गर्नु, पानी जस्तो पदार्थ नाक तथा आंखाबाट बग्नु तथा अनुहार सुन्निनु यो रोगका लक्षणहरु हुन् ।

२) प्रजनन् सम्बन्धी समस्या : अन्डा उत्पादनमा ५० प्रतिशत भन्दा बढी गिरावट हुन जान्छ । ३-४ हप्ता पछी अन्डा उत्पादन सामान्य अवस्थामा फर्किए पनि अन्डाको गुणस्तर भने राम्रो हुंदैन । अन्डाहरु सानो विरुप तथा पातलो बोक्रा सहित उत्पादन हुन्छन् । अण्डाको सेतो भाग पानी जस्तो तरल हुने गर्दछ ।  

३) म्रिगौलामा समस्या : यो अवस्थामा श्वासप्रश्वास समस्या सहित अवसाद हुने र ३० प्रतिशत सम्म मृत्युदर हुन्छ । 

रानीखेत रोग


रानीखेत रोग (न्यु क्यासल डिजिज) व्यापक रूपमा प्रचलित, र आर्थिक रूपमा बढी महत्वपूर्ण भाईरल रोग हो । यो रोग अत्यन्तै गम्भीर, अचानक र छिटो फैलने गर्दछ । विशेष गरी ६-७ दिन उमेर देखिका कुखुरामा यो रोगको संक्रमण देखिन्छ । वर्षै भरी देखिए पनि गर्मी मौसममा बढी देखिन्छ । पारमिक्जो भाईरस नामक विषाणुको कारणले लाग्ने यो रोग भाईरसका प्रकार अनुसार भिन्न भिन्न लक्षण देखाउंछ

संक्रमित दाना, पानी, सोत्तर, हावा, मानिसको आवतजावत तथा भांडाकुंडा मार्फत रोग सर्छ ।श्वास लिंदा तथा दानापानी खांदा रानीखेत रोगका विषाणु कुखुराको शरीर भित्र प्रवेश गर्दछन र अनेक किसिमका लक्षणहरु देखाउंछन्

  • धेरै हानिकारक भाइरसले देखाउने पहिलो संकेत अचानक मृत्यु हो । त्यसपछि, अवसाद, कम्जोरीपना, हरियो सुली, भुइमा पल्टिने, अनुहार सुन्निने र स्नायु सम्बन्धी लक्षणहरु देखाउंछन् । घांटी बटार्ने, खुट्टाको पक्षघात, यो रोगका लक्षण हुन । चल्ला अवस्थामा रानिखेत रोगको मृत्यु दर शत प्रतिशत सम्म हुन्छ । बोक्रा नभएका अथवा पातलो बोक्रा भएका अन्डा उत्पादन हुने समस्या गराउंछ
  • सामान्य हानिकारक विषाणुहरुको कारणले श्वास-प्रश्वास सम्बन्धी समस्या देखाउंछन् ।

फल पक्स (विफर)


फल पक्स (विफर) एक एभिपक्स भाईरस विषाणु बाट लाग्ने विशेष गरी छाला संग सम्बन्धित रोग हो । मुख तथा माथिल्लो श्वास नलिमा पनि यसले असर गर्दछ । खोपको प्रयोग पछी यो रोग पहिले जस्तो व्याप्त छैन तर केहि स्थानहरुमा यसले आर्थिक महत्व राखेको छ ।

कुखुराहरु बिच हुने प्रत्यक्ष सम्पर्क यो रोग फैलिनुको मुख्य उपाए हो । कुखुराहरु एक आपसमा ठुंगाठुंग गर्दा, लड्दा घाऊ बन्छ र त्यही घाऊ मार्फत विषाणु शरीर प्रवेश गर्दछ । लाम्खुट्टेको टोकाइ बाट पनि यो रोग सर्ने गरेको पाइएको छ । संक्रमित खोर, भुत्लाहरु, उपकरणहरु पनि रोग फैलाउने माध्यम हुन् ।

कुनै पनि उमेरका कुखुरामा विफर देखिन सक्छ । यो रोगका दुई वटा प्रकार हुन्छन ।

  • छाला सम्बन्धी (ड्राइ पक्स)
  • दिपथेरिक (वेट पक्स)

प्वांख नभएका स्थान जस्तै गर्दन, टाउको, शिउर, लोती, पटल, खुट्टा र पाउमा पहेंलो देखी काला मुसा जस्ता गिर्खा देखिन्छन । उपल्लो श्वास तथा पाचन नलीमा साना सेता गिर्खा देखा पर्छन् । यि गिर्खाहरु पछि जोडीएर पहेला सेता ठुला गिर्खा बन्छन् जसभित्र पिप जमेको हुन्छ । मुख, कन्ठ, ट्रेकिआमा हुने यी गिर्खाले गर्दा शास फेर्न अफ्ट्यारो गराउंदछ । अण्डा उत्पादन क्षणिक रुपमा बन्द हुन्छ । छाला मात्रा असर हुंदा मृत्युदर थोरै (१-२%) हुन्छ भने मुख तथा श्वास नलीमा गिर्खा देखिएको अवस्थामा ५०% सम्म मृत्युदर हुन्छ 

एभियन इन्सेफालोमाइलाइटिस


यो पिकोर्ना भाईरस बाट कुखुरामा लाग्ने सरुवा रोग हो । धेरै जसो १—२ हप्ता उमेरका कुखुरा बढी प्रभावित हुन्छन् र स्नायु सम्बन्धी समस्या देखाउने गर्दछन् ।  यो भाईरसका कारण कुखुरामा भिन्न लक्षणहरु देखिन्छन् : पहिलो हप्ता उमेरका चल्लामा अत्यधिक संख्यामा पक्षघात देखिने, टाउको तथा घांटिका मांशपेशीमा कम्पन हुन गई घांटी बटार्ने , कतिपय चल्ला अन्धो हुन सक्छन्, कोल्टे परि लङडाउने भइ चल्ला पल्टिने गर्दछ । वयस्क कुखुरामा अन्डा उत्पादन घट्ने बाहेक अरु लक्षण देखिंदैन ।

रोकथाम तथा नियन्त्रण

सबै किसिमका विषाणुजन्य रोगहरुलाई आवश्यकता अनुसार खोप लगाउनुपर्ने हुन्छ । सबै रोगका विरुद्ध खोपको तालिका हुने हुनाले चिकित्सकको सल्लाहमा खोप लगाउनु पर्दछ । जैविक सुरक्षाका उपाएहरु रोग रोकथामका हतियार हुन् ।  मरेका कुखुराहरुको उचित व्यवस्थापन गर्नुपर्छ ।

उपचार

विषाणु जन्य रोगहरुको उपचार खासै प्रभावकारी  हुदैन । शरीरको जस्ले रोग संग लड्ने शक्तिको बिकाश गर्न इम्युनोमोडुलेटर प्रयोग गर्नु पर्छ । अवस्था हेरेर, अवसरबादी जीवाणुहरुको आक्रमण रोक्न एन्टिबायोटिक प्रयोग गर्दा राम्रो हुन्छ ।

पुलोरम रोग (साल्मोनेलोसिस)


पुलोरम रोग अत्यन्त संक्रामक रक्त संक्रमण गराउने रोग हो । साना चल्लामा सेतो छेरौटी देखिनु यो रोगको प्रमुख लक्षण हो । साल्मोनेला पुलोरम नामक जीवणुले गर्दा लाग्ने यो रोगको मृत्युदर पहिलो २-३ हप्तामा धेरै हुन्छ । कहिलेकाहिं बयस्क उमेरका कुखुरा पनि प्रभावित हुन्छन् र अन्डा दिने कुखुरा पनि प्रभावित हुन्छन् । खोरका १०-९० प्रतिशत कुखुराहरु प्रभावित हुन सक्छन्, अन्य रोगको संक्रमण भएमा मृत्युदर शत प्रतिशत पनि हुन सक्छ । रोगबाट संक्रमित हुने मुख्य माध्यम नाइटोको संक्रमण वा दानापानीबाट हुने गर्दछ । माउ कुखुराबाट अण्डाको माध्यमबाट चल्लामा सर्ने गर्दछ तथा सुलिको माध्यमबाट रोगी कुखुराबाट अन्य कुखुरामा पनि सर्न जान्छ ।

कुखुराले देखाउने लक्षणहरु : मुख्यत चल्लाको रोग भएकोले अन्डा भित्रै चल्ला मर्ने अथवा ह्याच भएको केही समयमै धेरै मृत्युदर देखिन सक्छ । संक्रमित चल्लाहरु झोक्राउने, चिप्रचिप्र गरी जोरजोरले कराउने, सानो ठांउमा भिड्भाड गरेर बस्ने, मुख खोलेर सास लिने, दानपानिमा अरुची, मलद्वारको वरीपरी बाक्लो दिशा टांसिने गरेको देखिन्छ ।  ठुला कुखुराहरुमा झोक्राउने, हल्का फुस्रो शिउर, प्वांख गुजमुजिएको वा जिङ्रिङ्ग हुने, अन्डा उत्पादनमा गिरावट जस्ता लक्षण देखिन्छन् ।

रोकथाम तथा नियन्त्रणको लागि प्यारेन्ट कुखुराहरुको रगत जांच नियमित गर्नु पर्छ ।  पुलोरम नलागेका कुखुराका अन्डा मात्र ह्याच गराउनु पर्दछ । जैविक सुरक्षा अपनाउने ।

इन्रोफ्लोक्सासिन, एमोक्सीसिलिन, कट्रिमोक्साजोल जस्ता एन्टिबायोटिकहरुको प्रयोग गरी उपचार गरिन्छ । उपचार कार्यक्रममा एंटीबायोटिक संवेदनशीलता परीक्षण उत्तम औषधि पहिचान गर्नको लागी प्रयोग गर्न आवश्यक छ ।

कोलिबेसिलोसिस (.कोली संक्रमण)


कोलिबेसिलोसिस (ई.कोली संक्रमण) विश्व भर व्याप्त सबै भन्दा बढी भेटिने तथा आर्थिक रुपले ज्यादै महत्वपूर्ण रोग हो । एक दिने चल्लाको उमेर देखिनै जुन सुकै उमेरका कुखुरामा यो रोगको संक्रमण हुने गर्दछ । वर्षको जुनसुकै मौसममा यो रोग देखिन सक्छ ।

इस्चेर्चिआ कोली नामक जीवणुले यो रोग लगाउने गर्दछ । ई.कोली पाचन नलीमा सामान्य वासिन्दाको रुपमा रहेको हुन्छ, तर रोगका कारक चाँहीं हुँदैनन् । कुखुराको शरीरलाई तनाब भएमा यि जिवाणुको संख्या व्रिद्धी हुन्छ र रोग लगाउंदछन् । चल्ला अवस्थामा रक्त संक्रमण (कोलिसेप्टिसेमिआ) तथा अण्डाको पहेंलो भागमा संक्रमण भने ठुला कुखुरामा एग पेरिटोनाइटिस गराउंदछन् । यि सबै अवस्थालाई सामुहिक रुपमा कोलिबेसिलोसिस भनिन्छ ।

अण्डाको पहेंलो भागमा संक्रमण : पहेंलो भागको संक्रमण नै चल्ला मृत्युदरको प्रमुख कारण हो ।  संक्रमित सुली अथवा प्रजनन अङ्ग मार्फत अण्डाको संक्रमण भई जीवणु ह्याच हुने अन्डा भित्र संख्या व्रिद्धी गर्छन् । संक्रमण हुने परिपाटी ह्याच हुंदा बित्तिकै बढ्दै जान्छ र ६ दिनको उमेर पछी घत्ट्दछ । चल्ला अवस्थामा नाभी मार्फत संक्रमण भई चल्लाको पेट माथी रहेको पहेलो भागको संक्रमण गराउंदछ । यस कारण पहिलो हप्ताको उमेरमा शत प्रतिशत सम्म मृत्युदर हुन सक्छ । संक्रमित चल्लाहरु उदास रहन्छन, पेट फुलेको देखिन्छ तथा एकै ठाउँ झुम्मेर बस्न रुचाउंछन ।  योल्क स्याकको रक्त नलीहरु फुलेका र रगतले भरिएका देखिन्छन । फोक्सो र म्रिगौला सुन्निएको र काला देखिन्छन । चल्लामा पहेलो भाग पचेको हुंदैन र गनाएको हुन्छ । आन्द्राको बाहिरी भागमा रक्तश्राब देखिन्छ । 

रक्त संक्रमण (कोलिसेप्टिसेमिआ): चल्ला अवस्थामा रक्त संक्रमण पनि अत्यन्तै देखिन्छ र ई कोली संक्रमणको गम्भिर रुप हो । जिवाणु संक्रमित धुलो श्वासप्रश्वास माध्यमबाट शरीर भित्र प्रवेश गर्नु यो रोगको प्रमुख संक्रमणको श्रोत हो भने संक्रमित दाना अथवा पानी सेवन बाट पनि रोग लाग्दछ । चल्लालाई आवश्यक ठाउं,उचित भेन्टिलेशन, उचित सोत्तर, तापक्रम, तनाब, अमोनियाको एक्सपोजर, दाना र पानी प्रतिबन्ध लगायतका व्यवस्थापकिय कमजोरीका कारणले यो रोग सार्न मद्धत पुग्छ । त्यसैगरी, भाइरल संक्रमण र माइकोटोक्सिन जस्ता विषाक्त पदार्थले शरीरको प्राकृतिक प्रतिरक्षा प्रणालीलाई हानी पुर्याउने भएकोले शरीरले ई.कोली विरुद्ध लड्न सक्दैन र रोग लाग्छ । मुटु तथा कलेजो माथि फाइब्रिनको सेतो जालो देखिन्छ । एयर स्याक (हावा थैली) धमिलो तथा बाक्लो हुने

एग पेरिटोनाइटिस : कुखुराको पेटमा फुटेको अन्डाको कारणले पेरिटोनियमको सूजन, पहेलो भाग फैलिएको, दुध जस्तो पदार्थ फैलिएको देखिन्छ जहाँ ई.कोलीले आफ्नो बासस्थान बनाउंछ । प्रजनन अंगहरु सुन्निएको तथा अण्डाको बिकास अनुपयुक्त भएको देखिन्छ ।

रोकथाम तथा नियन्त्रणको लागि व्यवस्थापन तथा स्वच्छतामा अत्यन्त ख्याल पुर्याउने, कुखुरालाई आवश्यक क्षेत्रफल प्रदान गर्ने, आवश्यक भेन्टिलेशनको व्यवस्थापन, अमोनिया नियन्त्रण गर्ने, सोत्तरको अवस्था उत्तम राख्ने, तापक्रमको उतार चडाब बाट कुखुराहरुलाई बचाउने, सफा र स्वच्छ पानीको व्यवस्था गर्न आवश्यकता अनुसार पानी जांच गराइ पानी सफा गर्ने औषधी प्रयोग गर्ने, ब्रुडिङ व्यव्स्थापनमा हेल्चेक्राइ नगर्ने, आवश्यक मात्रामा भिटामिन ए, भिटामिन ई, भिटामिन सि, प्रोटिन तथा जिन्कको मात्रा पुर्याउने, कुखुराले पहिलो दिनमा पिउने पहिलो पानी देखी नै प्रोबायोटिकको प्रयोग गरी एक हप्ता सम्म पानीमा र त्यसपछी दानामा निरन्तरता दिने

कुनै पनि उपचार पूर्ण स्वच्छता कार्यक्रम (खोर, पानी)को साथ सुरु हुनु पर्छ किनकी धेरै ई.कोली संक्रमण फोहोर पानी, सोत्तर आदिको कारण सुरु हुन्छ । क्लोराम्फेनिकल, क्लोरटेट्रासाइक्लिन, नियोमाइसिन, नाइट्रोफ्युरान, जेन्टामाइसिन, अक्सीटेत्रासाइक्लिन, इन्रोफ्लोक्साकिन जस्ता ब्रोड स्पेक्ट्रम भएका एन्टिबायोटिकको प्रयोग गर्न सकिन्छ । उपचार कार्यक्रममा एंटीबायोटिक संवेदनशीलता परीक्षण उत्तम औषधि पहिचान गर्नको लागी प्रयोग गर्न आवश्यक छ । पिउने पानीमा एसिडिफायरको प्रयोग गरेमा जीवणु नियन्त्रणमा सहयोग पुग्छ ।

यो पनि पढ्नुहोस

नेपालको सन्दर्भमा अर्गानिक कुखुरापालन

 

क्रोनिक रेस्पाइरेटरी डिजिज (सि.आर.डि.)


क्रोनिक रेस्पाइरेटरी डिजिज अर्थात सि.आर.डि., माइकोप्लास्मा ग्यालिसेप्टिकम नामक सुक्ष्म जिबाणुबाट लाग्ने रोग हो । यो रोग बिशेष गरि ४ देखि १० हप्ताको ब्रोइलरमा र टर्किमा लाग्ने गर्छ ।  रोग लागेको कुखुराले लामो समय पछि मात्र लक्षण देखाउने हुनाले यो जिर्ण किसिमको रोग अन्तर्गत पर्छ । सानो ठाउमा अत्याधिक कुखुरा पाल्नाले, उचित तापक्रमको अभाव, खोरको सरसफाई तथा कुखुराको पोषणमा ध्यान नपुर्याउनाले कुखुरामा यो रोग प्रतिको समबेदनशीलता बढ्न जान्छ । मुख्यरुपमा यो रोगले कुखुराको स्वाशप्रश्वासमा असर पुर्याउंछ । यो रोग लागेमा बथानको ३० देखी ४० प्रतिशत सम्म मृत्युदर हुन सक्छ ।

हावाको माध्यमबाट जिबाणुहरु एक कुखुरा बाट अर्कोमा अथवा एउटा फार्मबाट नजिकै रहेको अर्को फार्ममा सर्ने गर्छन् । रोगी कुखुराको नाकबाट निस्किने सिगान र कुखुराले खोक्दा निस्कने छिटा बाट यो रोग एकबाट अर्को कुखुरामा सर्छ । रोगी कुखुराबाट निस्किएका चल्लामा यो रोग अनिवार्य रुपमा लागेको हुन्छ । त्यसै गरि जिबाणुबाट सङ्क्रमित भएको दानापानी बाट पनि रोग सर्ने सम्भावना रहन्छ ।

धेरै जसो अवस्थामा सि.आर.डि लागेका कुखुराहरुमा भिन्न स्तरको स्वासप्रश्वास सम्बन्धी समस्या देखा पर्छन् । ख्यार-ख्यार गर्नु, श्वासप्रश्वास गर्न गाह्रो हुनु, खोक्नु, मुख खोलेर श्वास फेर्नु, आच्छ्यू गर्नु , झोक्र्याउनु, नाकबाट सिगान बगिरहनु, आखामा कचेरा देखिनु, शारीरिक वृद्धिदरमा ह्राश आउनु, दाना पानीमा रुची नराख्नु , दाना खपत कम हुनु, उत्पादन घट्नु, चल्ला काढ्न भनि राखिएको अण्डा बाट कम चल्ला निस्कनु, अण्डा बाट निस्कने जिबित चल्लाको संख्या कम हुनु ।

रोकथाम तथा नियन्त्रणको लागि खोरमा उचित जैविक सूरक्षाको व्यवस्थापन, उचित भेन्टिलेशन, सवैभित्र – सवैबाहिरको सिद्धान्त अनुरुप कुखुराको उत्पादनको व्यबस्था, टियामुलिनको प्रयोग बाट यो रोगलाई रोकथाम गर्न सकिन्छ ।

यो रोगको उपचारको लागी टाइलोसिन, टेट्रासाइक्लिन जस्ता एन्टिबायोटिकको प्रयोग गर्न सकिन्छ । समयमै उपचार नगरिएको खण्डमा फार्ममा थप जटिलता आउन सक्छ । रोगको रोकथामको लागि निवारक औषधीहरु पनि चलाऊने गरिएको छ तर व्यवस्थापकिय सुधार नगरि औषधी प्रयोगले मात्र रोग निर्मुल पार्न सकिंदैन ।

एस्पर्जिलोसिस


एस्पर्जिलस फ्युमिगेटस नामक ढुसीबाट ब्रुडिङ्ग चल्लाहरु (प्राय १० दिन भित्रका) यो रोग लाग्ने गर्दछ । धेरै जसो ३ दिनका ब्रुडिङ्ग चल्लाहरुमा देखिने भएकोले यसलाई ब्रुडर न्युमोनिया पनि भनिने गर्दछ । बर्षातको समयमा सोत्तर बाट उत्पन्न चिसोका कारण यो रोग बढी देखिन्छ ।

कुखुराले देखाउने लक्षणहरु : चल्ला मुख खोलेर श्वास फेर्ने, झोक्रिने, बढी तिर्खाउने, कम्जोर हुने, दुब्लाउने, एक्कासी मृत्यु हुने प्रभावीत कुखुराको २४ देखि २८ घण्टामा मृत्यु हुने ।

यो रोगको उपचारको लागि सोत्तर सुख्खा एवं न्यानो गरी राख्ने, निलो तुथो पानीमा दिने तथा स्प्रे गर्ने व्यवस्था मिलाउनु पर्दछ ।  सोत्तरको निम्ती प्रयोग हुने सामाग्रीहरु सुख्खा हुनुपर्दछ । खोरमा उचित मात्रामा प्रकाश, भेन्टिलेसनको व्यवस्था मिलाउनु पर्दछ । 

फेभस


माइक्रोस्पोरम ग्यालिनेइ नामाक ढुसी बाट लाग्ने यो रोगलाई गोलो दाद, सेतो शिउर भनेर पनि चिनिने गर्दछ । रोगी कुखुराहरुको शिउरमा साना, सेता, चक जस्ता डिपोजिटहरु देखिन सक्छ । यि साना गिर्खाहरु ठुला र बाक्ला बन्न पनि सक्छन् । केही महिना पछी यो रोग हराएर जान्छ र शिउर साधारण हुन्छ ।

परजीवी


परजीवीहरु विशेषतः दुइ प्रकारका हुन्छन्: बाह्य परजीवी र आन्तरिक परजीवी । ठुलो जुका र फित्ते जुका कुखुरामा लाग्ने अन्तरिक परजीवीहरु हुन् । त्येस्तै सुलसुले, किर्ना र उंपिया कुखुरामा हुने बाह्य परजीवीहरु हुन् । परजीवीग्रस्त कुखुराले दानापानी कम खाने, झोक्र्याउने, शारीरिक वृद्धि दर घटाउने, फुल उत्पादन घटाउने, पखाला लाग्ने, कमजोरी हुने, रक्तअल्पता जस्ता लक्षणहरु देखाउने गर्दछन् । जुकाहरुको रोकथामका लागि प्रत्यक १-१.५ महिनाको अन्तरमा अल्बेन्डाजोल, पिपराजिन, लिभामिजोल, जस्ता औषधीहरु खुवाउनुपर्दछ ।

#यो पनि हेर्नुहोस ......

आइमेरिया नामको परजिवीले कुखुरामा रातो छेर्ने (कक्सिडियोसिस) संक्रमण गराउंदछ । यसले पाचन तन्त्रमा असर पुर्याई पोषण तत्व र तरल पदार्थको शोषणमा कमी ल्याउदछ । कोक्सिडीयोसिस भएको बेला आन्द्रा सुनिने, पखाला लाग्ने, सुलीमा रगत देखिने, तौल घट्ने, प्वाँखहरु खजमजिने, ओलास्य देखिने, झोक्र्याउने जस्ता लक्षणहरु देखिन्छन । एम्प्रोलियम,तोल्टाजुरिल जस्ता औषधी यसका विरुद्ध प्रयोग गर्न सकिन्छ ।