पोथी प्रजनन् प्रणाली (Female Reproductive System)

गाई, भैसीको उत्पादनशीलता मापन गर्न प्रजनन् प्रणालीको कार्यक्षमताले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । एक बर्षमा एउटा गाई एक पटक व्याएको अवस्थामा (One calf a year) व्यवसायिले बढी भन्दा बढी फाईदा लिन सक्दछन् भन्ने मान्यता स्थापित भएको छ । यो कुरालाई सार्थक बनाउन प्रबिधिकहरुले गाई भैसीको प्रजनन् प्रणालीले के कसरी कार्य सम्पादन गर्दछ र प्रजनन् प्रणालीका अंगमा आउने खरावीमा कस्ता किसिमका लक्षणहरु देखिन्छन् भन्ने जान्नु अत्यावश्यक छ । यसको ज्ञानले मात्र प्रजनन् प्रणालीमा आएका खरावीहरुलाई ठीक गर्न सकिन्छ । 

पोथी पशुको प्रजनन् अंगहरु

पोथी प्रजनन् प्रणाली अन्तर्गत दुईवटा अण्डाशय (Ovaries), दुईवटा अण्डवाहिनी नली (Fallopian Tube), पाठेघरको हर्न र शरीर (Uterine horn and body), एउटा गर्भासयको ग्रीवा (Cervix), योनी (Vagina) र योनीद्वार (Valva) पर्दछन् ।

१. अण्डाशय वा डिम्बाशय (Ovary) : यो पोथी प्रजनन् प्रणालीको प्रमुख अंग हो । यो अंगबाट नै डिम्ब, पोथी पशुको गुण देखाउने ईस्ट्रोजन (Estrogen)  र गर्भधारण गर्न नभई नहुने प्रोजेस्टेरोन (Progesterone)  हर्मोन निस्कन्छ । यस अंगले ग्रन्थीको रुपमा पनि काम गर्दछ । यसलाई पोथी गोनाड (Gonad) भनिन्छ । अण्डाशय लम्बर भटिब्रा (Lumber Vertebrae) को तल मृगौलाको पछाडि अवस्थित हुन्छन् । डिम्बाशय सक्रिय भएको अवस्थामा यसको आकार ठूलो हुन्छ भने निस्क्रिय भएको अवस्थामा सानो हुन्छ । डिम्वाशय साधारण तथा ०.५ देखि २.५ से.मी. को गोलाईमा हुन्छ । डिम्बाशयको आकार प्रकार पशुको जात, उमेर, ऋतुचक्रको अवस्थामा फरक पर्दछ । यिनीहरुको आकारमा, घोडीमा सिमीको आकार, गाईमा अण्डाकार, भेडामा अण्डाकार वा वदामको आकार वंगुरमा वृत्ताकार र कुकुर विरालोमा लाम्चो आकारको हुन्छ । त्यसै गरी यिनीहरुको साइज पनि जनावरको किसिम अनुसार फरक–फरक हुन्छ । ब्रोड लिगामेण्ट (Broad Ligament) को साथमा रहेका मेजो ओभारियम (Meso-ovarium) ले डिम्बाशयलाई  झुण्डिन सहयोग गरेको हुन्छ । डिम्बाशय लाई काटेर हेर्दा २ वटा भाग देखिन्छ । पहिलो भित्री भागमा रगतका नशा तथा तन्तुहरु पाईन्छ जसलाई मेडुला (Medulla) भनिन्छ  भने अर्को वाहिरी भाग जसमा विभिन्न किसिमका कोशिकाहरु र पानीको फोका जस्तो फोलिकलहरु पाइन्छ ।

फोलिकलहरु (Follicles) साधारणतया ३ किसिमका हुन्छन् ।

(क) प्रारम्भिक फोलिकल्स (Primary follicles)

 (ख) बढदै गरेको फेलिकल्स (Growing follicles)

 (ग) ऋतुमय फोलिकिल्स (Estrous/ Mature follicles)

डिम्बशयमा विकास हुने फोलिकल्सहरुको शुरुवातको कोशिकाहरु (Primary follicles) गर्भबाट नै लिएर आएको हुन्छ । भर्खर जन्मेको बाच्छीको डिम्बाशयमा करीब ७५,००० हजार फोलिकल विकास हुन सक्ने कोशिकाहरु रहेका हुन्छन् । यौवन अवस्था शुरुभएपछि अण्डाशयमा साना—साना फोलिकलहरु ठूला र परिपक्व हुन्छन् त्यसलाई ग्राफियन फोलिकल (Graafian Follicle) भनिन्छ र पछि यो फुटेर अण्डबाहिनी नलीको ईन्फन्डिबुलममा खस्दछ जस्लाई डिम्बोत्र्सग (Ovulation) भनिन्छ । अण्ड फुटेर निस्केको ठाउँमा पहेलो अ‍ैसेलु जस्तो संरचना हुन्छ जस्लाई कर्पस ल्युटियम  भनिन्छ । यसबाट प्रोजेस्टेरोन हर्मोन पैदा हुन्छ जुन गर्भावस्थालाई यथोचित राख्न नभई नहुने हर्मोन हो । अण्ड उत्पादनको अलावा अण्डाशयबाट इस्ट्रोजन, प्रोजेस्टेरोन र रिल्याक्सिन हर्मोनहरु उत्पादन हुन्छ । गाई भैसिमा दाहिने अण्डाशय बढी सक्रिय हुन्छ भने कुखुरा तथा चराबर्गमा पनि २ वटा नै अण्डाशय हुन्छन् तर दाहिने अण्डाशय अविकसित भएकोले काम गर्दैन ।

२. डिम्बबाहिनी/अण्डवाहिनी नली (Fallopian tube/Oviduct)यो नलीको रुपमा डिम्बाशयको नजिकै देखी पाठेघरसम्म जोडीएको हुन्छ । यसलाई  फिम्ब्रीया (Fimbriae) वा ईन्फन्डिबुलम (Infundibulum), एम्पुला (Ampulla)  र ईस्थमस -Isthmus_ गरी तीन भागमा बिभाजन गरिएको छ । डिम्बाशयको नजिकमा रहेको सोलीआकारको डिम्बबाहिनी नलीको भागलाई ईन्फन्डिबुलम वा फिम्ब्रीया भनिन्छ, बीचको भागलाई एम्पुला भनिन्छ भने पाठेघरसँग जोडिएको भागलाई ईस्थमस भनिन्छ । डिम्बबाहिनी नलीको एम्पुला भन्ने स्थानमा डिम्बमा शुक्र्राणुको बिलय भई निषेचन (Fertilization) कार्य पुरा हुन्छ । डिम्बबाहिनी नलीको लम्बाई करीब २० देखी ३० सेमी जती लामो हुन्छ ।

डिम्बाशयबाट निस्केको डिम्ब र कृत्रिम गर्भाधान गरिसकेपछि वा भाले लागे पछि पोथी पशुको प्रजनन् अंगमा रहेका शुक्रकीटहरुलाई अगाडी बढाउने माध्यम (Transport) को रुपमा यसले कार्य गर्दछ । डिम्बबाहिनी नलीले डिम्बलाई डिम्बाशयबाट तल ल्याउन मद्धत गर्दछ भने शुक्रकीटलाई तलबाट माथि ल्याउने बातावरण बनाएको हुन्छ । डिम्बबाहिनी नलीको कार्य शक्ति (Stimulation) ईस्ट्रोजनले गर्छ भने रोक्ने कार्य प्रोजेस्टेरोनले गर्छ । डिम्ब र शुक्रकीट विपरित दिशाबाट आई डिम्बबाहिनी नलीको बीचमा भेट भई डिम्ब निषेचन कार्य पुरा भई जाईगोट (Zygote) बन्दछ । यसरी बनेको जाईगोट डिम्बबाहिनी नलीको माध्यम भएर पाठेघरमा आई भ्रुण (Embryo) को रुपमा विकास हुन्छ ।

३. पाठेघर (Uterus)  डिम्बबाहिनी नली जोडिएको भाग देखी पाठेघरको भित्रीमुख सम्मको भागलाई पाठेघर भन्ने गरीन्छ । गर्भाशय अथवा पाठेघरलाई 
साधारणतया निम्नलिखित ३ भागमा बाड्न सकिन्छ ।

Ø गर्भाशयको शरीर (Uterine body)

Ø गर्भाशयको सिंग (Uterine horn)

Ø  गर्भाशयको ग्रीवा (Cervix)

गर्भाशय वा पाठेघरको लम्बाई पशुको जात र उमेर अनुसार फरक फरक हुन सक्छ । तर गाई/भैंसीमा साधारणतया गर्भाशय शरीरको लम्बाई २–४ से.मी, गर्भाशय सिंगको लम्बाई ३५–५० से.मी र गर्भासय ग्रीवाको लम्बाई ५–१० से.मी तथा २–५  से.मी. चौडाई हुन्छ । यसको मुख्य काम भ्रुणलाई आश्रय दिने र पोषण उपलब्ध गराउने हो । डिम्बवाहिनी नलीमा निशेचन भएको भु्रणको बिकास पाठेघरमा हुन्छ । डिम्बवाहिनी नलीमा भु्रण निषेचन भए पश्चात् शुरुको अवस्थामा भु्रण डिम्बमा संचित रहेको पोषक तत्वबाट र पाठेघरबाट निस्कासन भएको पोषक तत्वको (Uterine milk) उपयोगबाट भु्रणको विकास हुने गर्दछ । कोष विभाजन प्रक्रियाद्धारा गर्भाशयको सिंगमा भ्रुणको बृद्धि हुने काम हुन्छ र भ्रुण अथवा वच्चाको पोषण यही पाठेघरको सिंगको भागमा हुन्छ । बच्चाको पालन पोषण आमाबाट साल (Placenta)  को मार्फत हुन्छ । पाठेघरमा भु्रण जोडिई सकेपछि सालको माध्यमबाट पोषक तत्व लिने र अनावश्यक पदार्थहरु रगतको माध्यमबाट निस्कासन हुने गर्दछ । गाई, भैसमिा पाठेघर त्यती विकसित नभै पाठेघरको हाँगा फाटेर दाहिने र देबे्र दुईवटा भागमा बिभाजन भएको हुन्छ । पाठेघरको हाँगामा भु्रणको विकास र बृद्धि हुन्छ । पाठेघरको हाँगा फाटेको भागको आकृति÷स्वरुप घुमेको सिङ जस्तो देखीने भएकोले यसलाई पाठेघरको सिंङ (Uterine horn) भनिन्छ ।

पाठेघरको भित्रपट्टि म्युकोसा (Mucosa) को बाक्लो तह वा ईन्डोमेट्रियम (Endomertium) हुन्छ । जसमा धेरै ग्रन्थीहरु हुन्छन् । यी ग्रन्थीहरुले भाले खोज्ने बेलामा एक प्रकारको रस उत्पन्न गर्दछन् । साथै भर्खर गर्भाधान भएको भ्रुणलाई पोषण प्रदान गर्दछन् । गाई, भैसी, भेडा, बाख्रा र अन्य उग्राउने पशुको पाठेघरको भित्तामा १०० भन्दा बढि बटन आकारको मासुका डल्ला जस्ता क्यारुङकल्स (Caruncles) हुन्छन् जसमा गर्भावस्थाको बेला सालको कटिलेडन (Cotyledon) टाँसिएर रहेको हुन्छ । बंगुर र घोडामा भने साल एकनासले फिजिएर पाठेघरको भित्तामा टाँसिएर बसेको हुन्छ ।

पाठेघरलाई ब्रोड लिगामेन्ट (Broad Ligament) भन्ने मांशपेशीले पेल्भिक क्याभिटी (Pelvic cavity) मा बाँधेर राखेको हुन्छ ।  ईस्ट्रोजन हर्मोनले पाठेघरलाई कडा र कसिलो आकारको बनाउँदछ भने प्रोजेस्टेरोन हार्मोनले पाठेघरलाई खुकुलो र नरम बनउँदछ । पाठेघरको माँशपेशीले उत्पादन गर्ने प्रोस्टाग्लान्डिन भन्ने हर्मोनले डिम्बाशयमा भएको करपस ल्यूटियमलाई हटाएर गाई भैसी व्याउने नभएको अवस्थामा बाहेक ऋतुचक्रलाई नियमित राख्दछ ।                       

योनी र पाठेघरको बीचमा अवस्थित कडा मांशपेशीले बनेको अंगलाई गर्भाशयको ग्रीवा भनिन्छ । यसको एक पट्टिको भाग पाठेघरमा खुल्दछ भने आर्को पट्टिको भाग योनीमा खुल्दछ । यो पोथी पशुले भाले खोजेको बेला र पशु ब्याउने बेलामा मात्र खुल्दछ तर अरु समयमा पुरै बन्द हुन्छ । गाई, भैसीको जात अनुसार यसको लम्बाई ५ देखी १० सेन्टीमीटर सम्म हुन्छ । यसको गोलाई २ देखी ५ सेमी सम्म हुने गर्दछ । यो भागलाई छामी हेर्दा अली कडा, गोलो, केही लाम्चो र बाङ्गोटिङ्गो आकारको अनुभव हुन्छ । गाई/भैंसीको गर्भाशयको ग्रीवामा ३ देखि ५ वटा सम्म रिङ्गहरु (Circular ring) पाइन्छन् । पोथीले भाले खोजेको वेला यो मोटो, खुल्ला र फुलेको हुन्छ । कृत्रिम गर्भाधान गर्दा सर्भिक्स भएर पाठेघरको मुखमा कृत्रिम गर्भाधान उपकरणबाट वीर्य राख्ने काम गरीन्छ । गाई, भैसी गर्भावस्थामा यसमा बाक्लो किसिमको पदार्थ (Mucus) भरिएको हुन्छ । यसमा जिवाणु बिरुद्ध लड्ने क्षमता (Antibacterial Effect) हुन्छ । यसलाई सर्भाईकल सिल (Gel Like plug) भनिन्छ । यो सिलले पाठेघरमा जिवाणुको संक्रमण र तुहिनबाट बचाउँदछ

४. योनी  (Vagina)  यो पोथी पशुको संभोग (Copulation) गर्ने अंग हो जसले भाले जनावरको वीर्य प्राप्त गर्दछ । गाई, भैसीमा साधारणतया यसको लम्बाई २५ देखी ३० सेन्टीमीटर हुन्छ । यो नली आकारको हुन्छ र सर्भिक्स देखि योनिद्धारसम्म फैलिएको हुन्छ । यसको अत्यन्तै तन्कने र खुम्चिन सक्ने स्वाभाव हुन्छ । ब्याउने बेलामा यसले जन्मनली (Birth- canal)  को  काम गर्दछ ।

५. योनीद्धार/सुत  (Vulva) पोथी प्रजनन् अंगको सबैभन्दा पछाडि खुलेको भागलाई योनीद्धार भनिन्छ । यो पोथी प्रजननको सवभन्दा बाहिरी अंग हो । यो मूत्र प्रणाली र प्रजनन् प्रणालीको साझा द्वारको रुपमा रहेको हुन्छ । यसमा उस्तै उस्तै आकारको २ वटा भल्भुलर लिप (Vulvular lip) हुन्छ । भित्री भल्भुलर लिपलाई लेबिया माईनोरा (Labia minora)  र वाहिरी भल्भुलर लिपलार्इ लेबिया मेजोरा (Labia majora) भनिन्छ । सुत १० देखि १२ से.मी. सम्म लामो हुन्छ । योनीद्धारको ठीक तल र वीचमा सानो र धेरै उत्तेजित अंग रहेको हुन्छ जसलाई क्लाईटोरिस (Clitoris) भनिन्छ । क्लाईटोरिस लाई पोथी पशुको लिङ्ग भनेर भनिन्छ । क्लाईटोरिसलाई उत्तेजित अंग (Sensitive organ) मानिन्छ । क्लाईटोरिस अरु जनावरमा भन्दा घोडामा ठूलो र विकसित हुन्छ ।

                बाली खोजेको गाई भैसीको सुतको आकारलाई हेरेर बाली खोजेको/नखोजेको छुट्याउन सकिन्छ । सुतबाट आएका श्रावहरुको मुल्याँकन गरेर ऋतुकालमा आएको अवस्था र पाठेघरमा भएको रोगको संक्रमणको बारेमा अनुमान लगाउन सकिन्छ ।

डा. विमल कुमार निर्मल, डा. खगेन्द्रराज सापकोटा र शिवनाथ महतोबाट लिखित पशु प्रजनन विकृति उपचार तथा निवारण नामक पुस्तकबाट सावार गरिएको